Comments Add Comment

पर्यटकीय सिजनसँगै पर्यटकको चहलपहल बाक्लियो

Tourist at Annapurna Region१५ चैत, काठमाडौँ । मुख्य पर्यटकीय याम सुरु भएसँगै पर्यटकीय चहलपहल बाक्लिएको छ ।

पदयात्रा र पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । यो याममा भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रले गति लिने अपेक्षा गरिएको छ । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यो याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।

त्यस्तै, नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ । यतिखेर धेरै आरोहीहरु पर्वतारोहणका लागि नेपाल आएका छन् । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । औषत आरोही सगरमाथा नै रोज्छन् ।

अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्य चुम्ने तर्खरमा छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेरा झैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ ।

मुख्य पर्यटकीय मौसम सुरु भएसँगै धेरै आरोहीहरुको चहलपहल बढेको बताउनुहुन्छ, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पा । सगरमाथासहित उच्च हिमाल आरोहणका लागि आरोहण अनुमति लिएका आरोही दललाई आगामी दुई वर्षसम्म निःशुल्क आरोहण अनुमति दिने सरकारी निर्णयले आरोहीको सङ्ख्या बढ्न सक्ने उनको ठम्याइछ ।

“पर्यटन विभागले समयमै आरोहण अनुमति दिएको भए आरोही अझ बढ्ने थिए । स्प्रिङ सिजन मार्चबाट सुरु हुने भए पनि फेब्रुअरी २९ मा मात्र अनुमतिपत्र दिइयो । यसले ढिलो हुने भो,” शेर्पाले भने ।

अघिल्लो वर्ष यही मौसममा सगरमाथा आरोहणका लागि मात्र ४१ वटा आरोहण दलले अनुमति लिएका थिए । यद्यपि गत वैशाखमा गएको भूकम्पका कारण सबै आरोहण रद्द भएको थियो । सरकारले पुनः दुई वर्षका लागि अघिल्लो वर्ष अनुमति लिएकालाई आरोहणका लागि अनुमति दिने निर्णयले पनि यस पटक आरोही बढ्ने बताइएको छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले अहिलेसम्म सगरमाथासहितका हिमाल आरोहणका लागि निवेदन दिनेको सङ्ख्या बढेको जानकारी दिए । “अहिले सगरमाथा आरोहणका लागि १५ टोलीले निवेदन दिएका छन् । वैशाखसम्म आरोही दलले दर्ता गराउने भएकाले यसपटक सङ्ख्या बढ्ने सहजै अनुमान गर्न सकिन्छ,” उनले भने ।

एनएमएको विवरणअनुसार हालसम्म सात हजार ४०० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै तीन हजार ८०० ले आरोहण गरेका छन् । पुरातात्विक महत्वका सांस्कृतिक सम्पदा, मठ, मन्दिर देवालयहरुको आकर्षण पनि उत्तिकै छ । धार्मिक गन्तव्यमा रमाउन समेत पर्यटक उल्लेख्य रुपमा आउने गर्छन् ।

“यो याम पर्यटन व्यवसायीका लागि निकै महत्वपूर्ण हुनेगर्छ, सङ्क्रमणको चपेटामा परेका व्यवसायीमा आशाको त्यान्द्रो पलाएको छ । पर्यटकीय याम सुरु भएसँगै उत्साहजनक रुपमा पर्यटकको आवागमन बढेको छ” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष मधुसूधन आचार्यले भने ।

पर्यटन व्यवसायी भवि शर्मा पनि पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको र मुख्य पर्यटकीय याममा व्यावसायिक पर्यटक बढेको बताउँछन् । ठमेलमा अन्तर्राष्ट्रियस्तरको स्पा व्यवसाय ‘रियल थेरापी एण्ड ब्युटी प्वाइन्ट’ सञ्चालन गर्दै आउनुभएका शर्माले विगतमा झैँ पर्यटकको चाप बढेको बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव कर्णबहादुर लामाले मुख्य पर्यटकीय यामको सुरुवाती चरण उत्साहजनक रहेको बताए ।

नेपालका चर्चित पदमार्ग लाङ्टाङ, मनास्लु, अन्नपूर्ण, खुम्बुलगायत पर्छन् । अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ । यो याममा अन्नपूर्ण, खुम्बुलगायतका क्षेत्रमा बढी पर्यटक गएका छन् । लाङ्टाङ र मनास्लुमा भने कम पर्यटक गएको बताइन्छ ।

टानका अनुसार पदयात्रा पर्यटनका लागि युरोपका विभिन्न मुलुकबाट बढी सङ्ख्यामा पर्यटक आएका छन् । पर्यटन उद्योगलाई थप गति दिन सरकार र निजी क्षेत्रले राष्ट्रिय सङ्कल्पका साथ रणनीतिक योजना ल्याउनुपर्ने महासचिव लामाको सुझाव छ ।

होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले ४५ होटल बुकिङ भएका छन् । सामान्य अवस्थामा यो याममा ८० प्रतिशत होटल बुकिङ हुने गरेका थिए । हानका महासचिव विनय शाह अहिले व्यावसायिक पर्यटक बढेका बताउनुहुन्छ । विगतमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी हुने गरेको भए पनि अहिले बढीमा ४५ प्रतिशत र त्यसमा पनि बढी तारे होटल रहेका छन् ।

मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करिब एक हजार पर्यटकस्तरीय होटल छन् । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ र सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटक नेपाल आएका थिए ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाइँ १३ दिन र दैनिक खर्च ४५ डलर छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार प्रतिशत छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment