Comments Add Comment

२०७२ मा लोकसंगीतः भुकम्पले क्या उत्तानो पार्यो

uttano

काठमाडौं । गत वैशाखमा आएको विनाशकारी भूकम्पले नेपाली लोकगायक-गायिकालाई पनि ठूलै धक्का दियो । नयाँ वर्षका कार्यक्रम भ्याएर घर फर्किन पनि नभ्याउदै उनीहरु भूकम्पले थलिए ।

भूकम्पपछिको दुई महिनासम्म सांगीतिक बजार ठप्प भयो । गीत रेकर्डिङको काम शून्य रह्यो भने भिडियो निर्माणले पनि गति लिएन । भूकम्पले जनजीवन तहसनहस बनाउदा केही कलाकारले भने भूकम्पकै प्रसंग समेटेर गीत गाए । कमल बीसी, पुष्कल शर्मा (सपनाको घर), प्रकाश कटुवाल, (आयो बरै भूकम्प आयो) जीवन दाहाल, (भुईचालोले ढलायो धरहरा), संगीता पौडेल, हेमराज आशाराम लगायतका गायक-गायिकाले विपत्तिलाई पनि संगीतमा ढाले ।

प्रायः गीतमा भूईचालोले विनाश गरेका प्रसंग थिए भने भिडियोमा मृत्यू भएकाहरुको लाश र भत्किएका घरको विभत्स दृष्यहरु भरिभराउ थिए । अरुभन्दा अलि ढिलो गरी चर्चित गायक पशुपति शर्मा पनि भूईंचालो संगीतमा मिसिए । उनले आफ्नै शैलीमा गाएका भूईचालो केन्दि्रत दुई गीत ‘आयो सातो फूकौं’ र ‘क्या उत्तानो पार्‍यो’ ले राम्रै चर्चा पाए । पछि उनले नाकाबन्दीको प्रसंगमा पनि गीत गाए, ‘हामी नेपाली…’ बोलको ।

बैशाख र जेठ लोकगीतका लागि सुनसान जस्तै भए पनि असार लागेपछि चहलपहल बढ्यो । नयाँ लोक तथा दोहोरी गीत रेकडिङ गर्नेदेखि तीजको गीतको रेकडिङसमेत असारमै सुरु भएको थियो । असारदेखि भदौसम्म प्राय सबै कलाकार ब्यस्त भए ।

यद्यपि, यो वर्ष न कुनै लोकगायक/गायिकाले रेकर्ड ब्रेक गरे, न त कुनै गीत उत्पात चल्यो । कलाकारकै भनाई अनुसार निराशाजनक रह्यो यो वर्ष । गायक बद्री पंगेनी भन्छन्, ‘गीत-संगीतको प्रभाव औसत रहे पनि प्राकृतिक विपत्तिले नराम्ररी प्रताडित भए लोककलाकार ।’ अर्का गायक पशुपति शर्मा पनि पंगेनीकै भनाईमा सहमति जनाउँछन् ।

लोककलाकारका लागि दशैं जस्तो मानिन्छ तीजलाई । तर, यसपालाको तीजमा पनि खासै केही भएन । भूकम्पको पीडा आलै भएकाले कलाकारहरु खुलेर नाच्न-गाउन सकेनन् । काठमाडौंलगायत मोफसलका शहरमा तीज शीर्षकमा कार्यक्रम त भए, तर त्यति भड्किलो भएन ।

badri-pangani

चलेका कलाकार विदेशमै व्यस्त

आधुनिक र पपको तुलनामा धेरै गायकगायिका लोकदोहोरी क्षेत्रमै क्रियाशिल छन् । तर, बजारमा प्रभाव भने सिमित कलाकारको मात्रै हुने गरेको छ ।

पशुपति शर्मा, बद्री पंगेनी, खुमन अधिकारी, नारायण रायमाझी, कोमल वली, जानकी तारमी मगर, रमिला न्यौपाने, रामजी खाँण, मन्जु पौडेल, सम्झना लामिछाने मगर लगायतलाई चल्तिका कलाकार मानिन्छ । स्वदेशमा मात्रै होईन विदेशमा आयोजित स्टेज कार्यक्रममा पनि यीनै कलाकारको ‘हाई डिमान्ड’ हुने गर्छ । यो वर्ष पनि यीनै कलाकारको हालीमुहाली रह्यो ।

परदेशमा सबैभन्दा लोकपि्रय गायक पशुपति शर्मा सांगीतिक कार्यक्रमको सिलसिलामा यो वर्ष चार महिना जति विदेशमै रहे । धेरै वर्षपछि गाउँमा दसैं मानेका शर्माले तीजको अवसरमा कतारदेखि अष्ट्रेलियासम्मको यात्रा गरेका थिए भने अंग्रेजी नयाँ वर्षको अवसरमा पनि विभिन्न मुलुकमा स्टेज कार्यक्रममा सहभागी भए ।

स्टेजमा दर्शक उचाल्ने गायिका कोमल वलिले पनि यसपाली पहिलो पटक १२ भन्दा बढी युरोपियन मुलुकमा पुगेर गीत गाईन् । अर्का गायक बद्री पंगेनीले पहिलो पटक अमेरिकामा बस्ने नेपालीका विचमा गाएर आए । उनले डेढ महिना अमेरिकाको विभिन्न शहरमा गीत गाएका थिए ।

खुमन अधिकारीको ब्यस्तता पनि उस्तै लोभलाग्दो रह्यो । प्राय नेपाली चाडको छेकोमा विदेश पुग्ने खुमनलाई अहिले स्वदेशमै आयोजित स्टेज कार्यक्रममा भ्याईनभ्याई छ । कार्यक्रम प्रस्तोता समेत रहेकी मन्जु पौडेल स्टेजमा उत्तिकै ब्यस्त छिन् भने रमिला न्यौपानेको पनि सक्रियता लोभलाग्दो छ ।

नारायण रायमाझीले धेरै गीत गाएनन् यसपाली । उनको संगीत एवं निर्देशन रहेको चलचित्र ‘परदेशी’को गीत सर्वाधिक चर्चामा रह्यो । संगीतको प्रभावको कुरा गर्दा उनी सबैभन्दा अगाडी रहे ।

haridevi-koirala

पुराना सुस्ताए

हरिदेबी कोईराला, बमबहादुर कार्की, बीमाकुमारी दुरा, प्रेमराजा महत, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सिन्धु मल्ल, भगवान भण्डारी लगायतका कलाकारको प्रभाव निकै थियो एक समय । यी मध्ये कुनै पनि कलाकारले यो वर्ष दर्शकसँग साइनो गाँसेनन् ।

कोइराला पोखरामा बस्दै आएकी छिन्, भने कार्की फाट्टफुट्ट कार्यक्रममा सहभागी हुन्छन् तर, पछिल्लो समय उनले नयाँ गीत गाएका छैनन् । भगवान र प्रेमराजा अमेरिकामा रमाउदैछन् । कुनै वेलाकी चर्चित गायिका सिन्धु मल्ल गृहस्थी सम्हालेर बसेकी छिन् ।

स्टेजकै भर

एल्बम वा भिसिडी बिक्री गरेर कमाउने मौसम यसपाली पनि सुरु भएन । गीत रेकर्डिङदेखि भिडियो निर्माणसम्मको खर्च स्टेजवाटै गाएर उठाए गायक-गायिकाले ।

‘एल्बम त निरन्तरताको लागि हो लगानी उठाउन त स्टेजमै गाउनुपर्छ,’ खुमन अधिकारी भन्छन् । वर्षमा आधा दर्जनभन्दा बढी भिडियो सार्वजनिक गरेका पशुपति शर्मा पनि दर्शकले बिर्सेलान् कि भनेर भिडियो निकालेको बताउछन् ।

धेरै गायक-गायिकाको राय लगभग उस्तै छ । उनीहरुको भनाई अनुसार एउटा गीत रेकर्ड गराएर भिडियोसमेत बनाउदा कम्तिमा डेढलाख खर्च हुन्छ । स्टेजमा राम्रै कमाई हुने भएकाले धेरै गायकगायिका भिडियो निर्माण गर्न अन्कनाउदैनन् ।

नग्नता बेचेरै चर्चा

योउ वर्ष अत्यधिक चर्चा र विवादमा आइन् ज्योती मगर । टेलिभिजनको पर्दामा ऋषी धमलासंग ‘हट टक’ देखि भिडियोहरुमा अश्लिल संवाद र अंगप्रदर्शनले उनलाई चर्चामा ल्यायो ।

द्विअर्थि शब्दमा गीत गाउने श्रीदेवी देबकोटाको प्रायः गीतमा ज्योतीले मोडलिङ गरिन् भने विदेशमा आयोजित कतिपय स्टेज कार्यक्रममा अंग प्रदर्शन गरेकै कारण उनको आलोचना समेत भयो ।

‘भन्नेहरुले जे सुकै भनुन् मलाई मेरै स्टाइल ठिक छ,’ भन्ने ज्योती दर्शकको चाहन अनुरुप अंग प्रदर्शन गरेको दाबी गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment