Comments Add Comment

उत्कृष्ट ५ नायकः दयाहाङलाई अनमोलको चुनौति

नेपाली चलचित्रका लागि फलिफापपुर्ण मानिएको वर्ष २०७२ कलाकारहरुका निम्ति समेत उत्साहप्रद रह्यो । चलचित्रको व्यापारसँगै कलाकारको क्रेज पनि यस वर्ष निकै बढेको महसुस गरिएको छ ।

हामीले गत वर्षजस्तै चलचित्रको व्यापार र कलाकारको लोकप्रियतालाई मापदण्ड मानेर यस वर्षका उत्कृष्ट ५ को छनोट गरेका छौं । अघिल्लो वर्षको सुचीमा यसपाली निकै फेरबदल आएको छ । गत वर्ष टप ५ मा रहेका जीवन लुइंटेल र सौगात मल्ल यसपटक बाहिरिएका छन् । को-को हुन् त २०७२ का ५ उत्कृष्ट नायकहरु ?5_Khagendra
५. खगेन्द्र लामिछाने:
चलचित्र ‘टलकजंग भर्सेस टुल्के’मा छाप छोड्ने अभिनय गरेरे स्वदेश तथा विदेशमा बस्ने नेपाली दर्शकको नजरमा परेका कलाकार हुन् खगेन्द्र । यो बर्ष उनको ‘पशुपति प्रसाद’ चलचित्र प्रदर्शनमा आयो ।

चलचित्रको पटकथा तथा संवादसमेत आफै लेखेका खगेन्द्रले भेरी आफ्नो अभिनय क्षमताको पुष्टी गरेका छन् । उनको अभिनयलाई समक्षिकदेखि दर्शकले निकै रुचाए । चलचित्रले ५ हप्तासम्म राम्रो कमाई गर्‍यो र निर्मातालाई मुनाफा दिलायो । अनलाइनखबरमा उनको बारेमा प्रकाशित समाचारलाई पनि पाठकले निकै पढेका छन् । गतबर्ष उनी हाम्रो उत्कृष्ट ५ को सूचीमा थिएनन् ।
 4_Aaryan Sigdel४. आर्यन सिग्देलः
गतबर्षका नम्बर १ नायक आर्यन सिग्देल यो बर्ष भने अनलाइनखबरको ‘उत्कृष्ट ५ नायक’ को सूचीमा चौथो नम्बरमा झरे । आर्यनको यो बर्ष ३ वटा चलचित्र प्रदर्शनमा आए । जसमध्ये ‘क्लासिक’ले आंशिक व्यापार गर्‍यो भने ‘सुश्री र आवेग’ पूर्ण रुपमा असफल बने । आर्यन यो बर्ष केही महिना पूर्ण रुपमा खाली पनि देखिए । यद्यपि, चर्चाको हिसाबले भने आर्यन लगातार मिडियामा आइ नै रहे । आर्यनले यो बर्ष अबदेखि अरु ब्यानरका चलचित्र नखेल्ने घोषणा नै गरिसकेका छन् ।
3_Nikhil Upreti३ निखिल उप्रेतीः
कुनै समयका नम्बर १ नायक निखिल उप्रेति ५ वर्षको ग्यापपछि नेपाली चलचित्रमा फर्किएका छन् । यो बर्ष निखिलका २ वटा चलचित्र रिलिज भए, जसले लगानीसम्म उठाए । भैरव र लुटेरामा निखिलको एक्सन राम्रै बिक्यो । त्यसैले उनलाई चर्को मुल्य तिर्न तयार भए निर्माता । निखिल अहिले सर्वाधिक व्यस्त छन् । उनको हातमा एकपछि अर्को चलचित्र छ । उनको कमब्याक समग्रमा सुखद देखिन्छ । अनलाइनखबरमा पनि निखिलका बिषयमा थुप्रै समाचार छापिएका छन्, जसलाई पाठकले विभिन्न कोणबाट प्रतिक्रिया दिएका छन् ।
2_Anmol KC२. अनमोल केसी :
गतबर्ष नम्बर ४ मा रहेका नायक अनमोल केसी यो बर्ष २ स्टेपमाथि उक्लदै दोश्रो स्थानमा पुगेका छन् । अहिलेसम्म ३ वटा चलचित्र मात्रै प्रदर्शन भए पनि अनमोलप्रति नेपाली दर्शकको अभूतपुर्व क्रेज देखिएको छ ।

यो बर्ष अरु नायकका २-३ वटा चलचित्रले कमाएको पैसा अनमोलको एउटै चलचित्र ‘ड्रिम्स’ले कमायो । देशभरका हलबाट निर्देशक भूवन केसीले २ करोडभन्दा बढि नाफा आर्जन गरेका छन् । चलचित्रले ५ करोड माथिको ग्रस कलेक्शन गरेको थियो ।

अनमोलको चर्चा यो बर्ष उनको स्टारडमले बनायो । सुपरस्टार राजेश हमालको पनि कहिल्यै नदेखिएको स्टारडम अनमोलको देखियो । उनलाई हेर्नकै लागि दर्शक हलमा उर्लिए । अनमोलले बडिगार्ड नै लिएर हलमा पुगेको दृष्य नेपाली चलचित्र जगतमा नौलो थियो । यो बर्ष अनलाइनखबरमा अनमोलका बारेमा लेखिएका सबैजसो समाचार सर्वाधिक पढिएका छन् ।
 1_Dayahang Rai१. दयाहाङ राईः
गत बर्ष नम्बर २ मा रहेका नायक दयाहाङ राई यो बर्ष एक स्थान माथि उक्लदै सर्वाधिक चर्चित र उत्कृष्ट नायक बनेका छन् । दयाहाङको यो वर्ष ‘वडा नम्बर ६, कबड्डी कबड्डी, फन्को र राहदानी’ गरि ४ वटा चलचित्र रिलिज भए । यसमध्ये ‘वडा नम्बर ६ र कबड्डी कबड्डी’ले राम्रो व्यापार गरे । २ वटा चलचित्र असफल भएपनि दयालाई खासै फरक परेन ।

‘कबड्डी कबड्डी’ त दयाहाङकै बलमा  चल्यो र ५ करोड माथिको ग्रस कलेक्शन गर्न सफल भयो । दयाहाङको जीवन्त र वास्तविक अभिनयको फ्यान यो बर्ष ह्वात्तै बढेका छन् । चैत्रको अन्तिम साता चलचित्र ‘वीर विक्रम’को प्रिमियरका लागि यूके पुगेका दयाहाङलाई फ्यानले अत्याधिक माया र सम्मान दिए । जसले गर्दा उनको स्टारडम पनि बिक्यो । अनलाइनखबरमा यो बर्ष दयाका सफलताका कथादेखि थुप्रै समाचार छापिए । जसलाई पाठकले सर्वाधिक पढेका छन् । यसैले यो बर्षको उत्कृष्ट नायकको सूचीमा दयाहाङ पहिलो स्थानमा आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment