Comments Add Comment

बाबुरामले भनेपछि नाइँ भन्न सकिँन

'लालसलाम र स्यालुट गर्न भएन, हामी मेल्टिङ हुँदैछौं'

 पूर्वएआइजी गणेश राई ब्रिटिस आर्मीका लागि अन्तिम छनोटमा परिसकेका थिए, एकाएक छाडेर हिँडे । ०३७ सालतिर काठमाडौं आए र व्यवस्थापन पढ्न थाले । उनका भाइ भने लाहुरे भए । बुबाको सपना थियो, एक भाइ छोरा नेपाल प्रहरीमा आओस्, किनभने उनी आफैं पनि प्रहरीमा थिए ।

काठमाडौंमा पढ्दै गर्दा नेपाल प्रहरीमा भर्ना खुल्यो, उनले आकस्मिक रुपमै भर्ना हुने निर्णय लिए । र, ३० वर्ष सेवा गरेर एआइजी हुँदै अवकास पाए । ट्राफिक प्रहरीको उपत्यका प्रमुख हुँदा सडक विस्तारका क्रममा बढी चर्चामा आएका राई अवकाश लगत्तै आकस्मिक रुपमा नै राजनीतिमा होमिएका छन् ।

उनको अहिले दैनिकी फेरिएको छ । फौजीबाट नेता बन्ने प्रयास गरिरहेका छन् । उनै नेपाल प्रहरीका पूर्व एआइजी राईसँग गरिएको कुराकानी ।

ganesh rai (1)

३० वर्षे लामो फौजी जीवनबाट अवकास पाए लगतै राजनीतिमा आउनुभयो । राजनीति गर्छु भनेर कहिल्यै सोच्नुभएको थियो ?

मैले न फौजी जीवनमा, न त्योभन्दा अगाडि विद्यार्थी जीवनमा, कहिल्यै यस्तो सोचेको थिइँन । नेपाल प्रहरीमा ३० वर्ष सेवा गरेँ । त्यहाँबाट रियायर्ड हुने दिनसम्म पनि राजनीति गर्छु भनेर सोचेको थिइनँ । नयाँ शक्ति प्रवेश मेरो जीवनको अत्यन्त ठूलो आकस्मिकता मध्येको एउटा हो जस्तो लाग्छ ।

केले आकर्षण गर्‍यो त्यस्तो ?

नेपाल प्रहरी यस्तो संगठन हो, जसले केही कुरासँग निकट भएर काम गर्नुपर्छ । एउटा आम जनताको दैनिक, अर्को, राजनीतिक घटनाक्रम । यसले देशको राजनीतिक अवस्था कस्तो छ, कुन-कुन दलले के गर्दैछन्, ठीक, गलत भन्ने प्रहरी अफिसर भएकाले हामीलाई थाहा हुन्छ । पञ्चायत, बहुदल र मधेस आन्दोलनलाई हामीले हेरेका छौं । कतिपयको व्यवस्थापन नै हामीले गरेका छौं । तर, नयाँ शक्तिमा आउनुपर्ने एउटै कारण डा. बाबुराम भट्टराई हो ।

किन ?

म उपत्यकाको ट्राफिक प्रहरी प्रमुख हुँदा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । र, राजधानीको सडक विस्तारमा हामी तीनजना डा. बाबुराम भट्टराई, म र भाइकाजी तिवारी (नगर नियोजक) एकदमै इन्टरलिंक भएर जोडियौं ।

हाम्रो टिमवर्कले ०३३ सालदेखि हुँदै आएको अतिक्रमण हटाएर सडक विस्तार गर्‍यो । यो निकै चुनौतीपूर्ण पनि थियो । विपक्षी दल, ज-जसको घर भत्कियो, उनीहरु त छँदै थिए, सत्तारुढ पार्टीकै नेताहरुको समेत विरोधको सामना गर्नुपर्‍यो । तर, सडक विस्तार सफल भयो ।

ganesh rai (2)

शायद डा. बाबुराम भट्टराईको प्रधानमन्त्री हुँदाको सफलता या उपलब्धि भनेको त्यही हो । मैले पनि पछि फर्किएर हेर्दा सम्झन सक्ने काम गरेँ । किनकि डोजरमै बसेर भत्काउने काममा म आफैं संलग्न थिएँ । यसले राम्रो लिडरसिप भयो भने काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ ।

उहाँ प्रधानमन्त्रीबाट हटेपछि पनि मेरो राम्रो सम्वन्ध रहृयो । उहाँले जहिले पनि भन्नुहुन्थ्यो, देशको विकासका लागि तपाई-हामी जोडिएर काम गर्नुपर्छ । मैले यो सामान्य रुपमा लिएको थिएँ । किनकि राम्रो कामको समर्थन गरिन्छ नै । तर, यसरी नयाँ शक्ति पार्टी नै खोल्नुहुन्छ भनेर मैले सोचेको थिइँन ।

उहाँको नयाँ शक्ति पार्टी खोल्ने र मेरो अवकासको समय एउटै पनि भयो । यदि यो समय अलग-अलग भएको भए पनि शायद म प्रवेश गर्न सम्भावना हुँदैनथ्यो । टाइम फ्याक्टर पनि मिल्यो । डाक्टरसा’बले तपाई हामी मिलेर देशको मुहार फेरौं भनेपछि मैले नाइँ भन्ने आधार देखिँन ।

गणेश राईलाई एआईजी हुन डाक्टर सा’बले सहयोग गरेको भन्नेहरु पनि छन् । त्यही कारण डा.साबले भनेको टार्न नसकेको हो कि ?

होइन, होइन । एआइजी बढुवा प्रकरणमा व्यक्तिगत रुपमा ममाथि अन्याय भएको थियो । मेरिटका हिसाबले म त दोस्रो हुनुपर्ने हो, जुन पछि उजुरी समितिले नै भन्यो । तर, मलाई तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम, गृहसचिव सूर्य सिलवाल र हाम्रो आइजीपी पूर्वाग्रही भएर ७ नम्बरसम्म पनि  राखिएन र आठौंमा पारियो । पछि उजुरी समितिले भनेपछि ७ को ठाउँमा नौ जनाको बढुुवा भयो ।

त्यतिबेला इन्ट्रेस्टिङ फ्याक्टर चाहिँ के भने डा. भट्टराईले गृहमन्त्रीलाई उहाँ (गणेश राई) राम्रो मान्छे हुनुहुन्छ, प्रमोसन गरिदिनुस् भन्दा उल्टो नेगेटिभ भएको छ । (हाँस्दै) … ए यो त हाम्रो होइन, बाबुरामको मान्छे रहेछ भनेर एउटा नर्मल मान्छेलाई असर गरेको छ ।
 
तपाईँकै भाषामा भन्दा अन्यायमा परेको गणेश राईलाई न्याय दिलाउन डा. भट्टराईले प्रयास गर्नुभएछ । त्यसले पनि उहाँँको कुरा टार्न नसकेको हो कि ?

मलाई अन्याय भयो भनेर न्याय दिलाउन सहयोग गर्ने धेरै हुनुहुन्थ्यो । यसमध्येमा उहाँ पनि एक हो । त्यसले पनि केही त काम गर्छ ।

यदि बाबुरामको ठाउँमा अरु कोही भएको भए र उहाँले आग्रह नगरेको भए तपाईँ नयाँ शक्तिमा आउनुहुन्नथ्यो ?

डा. बाबुराम भट्टराईको ठाउँमा अरु कसैले भनेको भए म आउने सम्भावना थिएन । किनभने म राजनीति गर्छु भनेर हिँडेको मान्छे होइन । उहाँको व्यक्तित्व र टिमवर्क डिसाइडिङ फ्याक्टर रहृयो ।

तपाईले प्रहरी अधिकृतका रुपमा धेरै प्रधानमन्त्रीसँग काम गर्नुभो । तर, बाबुरामको केले त्यस्तो आकर्षण गर्‍यो ?

बाबुरामभन्दा अगाडि कांग्रेस, एमालेका धेरै प्रधानमन्त्रीसँग काम गरेँ । तर, डा. भट्टराईले कुनै कुरा राख्दा गम्भीर रुपमा सुन्ने र यदि उहाँ कन्भिन्स हुनुभो भने पूर्ण समर्थन गर्नुहुन्छ ।

हामीले सडक विस्तारको प्रस्ताव लिएर जाँदा उहाँले व्यक्तिगत सक्रियता देखाउनुभो र ओनरसिप पनि लिनुभो । सडक विस्तारका क्रममा कृष्ण पाउरोटी, होटल एभरेष्ट, विमल होडादेखि धेरै नेताहरुको घर भत्कियो । प्रधानमन्त्रीलाई कति दबाव आयो होला ? यदि प्रधानमन्त्रीले गणेशजी यसमा स्लो डाउन गरौं भनेको भए यति गति लिन त सक्दैनथ्यो । तर, उहाँले कहिल्यै त्यसो भन्नुभएन । गो अहेड, म सबै फेस गर्छु भन्नुभो ।

ganesh rai (3)

तर, एउटा महानगर प्रमुखले गर्ने काम प्रधानमन्त्री आफैंले गर्नु पर्थ्यो र ?

तपाईँले ठीक भन्नु भो । नेपालका सडकसम्वन्धी मापदण्ड ०३३ सालमा बनेको हो । जतिबेला पञ्चायत थियो र राजा शक्तिशाली हुन्थे । तर, ०३३ सालदेखि नै सडक अतिक्रमण सुरु भयो । यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनीहरु नै संलग्न भए । त्यसपछि बहुदल आयो । कांग्रेस, एमाले मात्र होइन,  एमाओवादीका अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्री भए । र, सबैलाई अतिक्रमण भएको थाहा थियो । तर, नो बडी डेयर्ड ।

यो यस्तो अवस्थामा पुगिसकेको थियो कि नगरपालिका प्रमुखभन्दा धेरै माथि पुगिसकेको थियो । र, त्यो देशको सीईओ अर्थात प्रधानमन्त्रीले मात्र गर्नसक्ने अवस्था थियो ।

तर, भट्टराईले काम गर्ने सिस्टम बनाउनुभन्दा सिस्टम बाहिरबाट काम गर्नुभो, छोटो अवधिका लागि, राजनीतिक लोकप्रियताका लागि काम गरे पनि भन्छन् नि ?

नेपालजस्तो अविकसित देशको इतिहास हेर्नुभो भने सिस्टम बसाउन सिस्टममाथिबाट काम गर्नुपर्ने हुन्छ । यदि ०३३ सालदेखि नै कानुनबमोजिम नै गरेको भए त यस्तो अवस्था आउने थिएन । राजा वीरेन्द्रले काठमाडौंलाई सुन्दर बनाउन चाहेका थिए रे भनिन्छ । तर, ज्ञानेन्द्रको शाही शासनकालमा पनि भएन । किनभने उनले जोखिम नै लिन चाहेनन् । भनिन्छ नि, समयमा हिरा फोर्नु । डा. भट्टराईको राजनीतिक ‘ज्ञाम्वल’ पनि त थियो नि ।

सडक विस्तार गर्ने क्रममा त उनी यति अलोकप्रिय थिए कि निरंकुशकै रुपमा गनिए । गणेश राई चोर भनेर त भित्ता-भित्तामा लेखिएकै हो । अहिले पो हाइ-हाइ भएको हो, त्यसबेला त रिस्क फ्याटर त थियो नि । यदि त्यो असफल भएको भए त फेलियर प्रधानमन्त्री त हुनुहुन्थ्यो ।

अहिले पनि त नयाँ पार्टी बनाउनुभएको छ । सफल हुने नहुने रिस्क नै छ नि होइन ?

पहिलेजस्तो टीका लगाएर न पद चाहिएको छ, न लिनु परेको छ । म त्यसै पनि स्थापित भइसकेको छु ।

हामी भर्खर पार्टी गठनको क्रममा छौं । यो पार्टी बन्न पनि सक्छ, नबन्न पनि सक्छ । पार्टी बनेपछि चुनावमा जाँदा सफल हुन पनि सक्छ, नहुन पनि सक्छ । त्यसैले त उनी अरु नेताहरुभन्दा फरक छन् । मैले अघि भनेँ नि ४० वर्ष राजनीति गरेको पार्टी, त्यही पार्टीबाट प्रधानमन्त्री भएको, उपाध्यक्ष र सांसद पदमा रहेको । त्यो सबै त्यागेर शून्यबाट सुरु गर्ने अरु कोही छ  ? बरु झगडा गरेर बस्छन्, तर, आँट गरेका छैनन् ।

बाबुराम भट्टराईले नयाँ पार्टी खोल्छु र नयाँ भिजनसहित जान्छु भन्ने त रिक्स लिएको हो ।

यदि यो असफल भयो भने के गर्नुहुन्छ ?

मान्छेलाई असफल हुन्छु भनेर डराएर बस्यो भने त के भन्नु । यदि नयाँ शक्तिमा नलागेको भए म के गर्थेँ भन्दा घरमै बस्थें, खेतिपाती गर्थेँ । अथवा व्यावसाय गर्थें वा कुनै मिसनमा जागिरका लागि जान्थेँ ।

तर, नयाँ शक्तिमा किन आएँ भने ३० वर्ष प्रहरीमा जागिर खाँदा मैले सबै दललाई बुझेको छु र उनीहरुको खाने र देखाउने दाँत थाहा छ । एउटा आशाको किरण, नयाँ पोलिटिकल भिजनसहित आएको हुनाले म यसमा आएँ ।

पार्टीमा तपाईँको भूमिका के छ अहिले ?

म त अहिले सामान्य अभियानकर्ता मात्र हो । भूमिका भनेको पहिलेजस्तो टीका लगाएर न पद चाहिएको छ, न लिनु परेको छ । म त्यसै पनि स्थापित भइसकेको छु । ३० वर्ष जागिर खाएर एआइजीबाट अवकास पाएको मलाई यो पद चाहिन्छ भन्ने छैन ।

पदको हिसावले भन्दा पनि बाबुराम भट्टराई अलि आइडोलोजिकल मान्छे । तपाईँले व्यवस्थापन पढेको र नेपाल प्रहरीमा एआइजी भइसकेकाले पार्टीमा म्यानेजरियल भूमिका खेल्ने हो कि ?

म केन्द्रीय सचिवालय सदस्य पनि छु । तर, यो सबै अन्तरिम नै हो । हाम्रो पार्टी नै दर्ता भएको छैन । डा. बाबुराम भट्टराईको संयोजकत्वदेखि सबै अन्तरिम हो । पार्टी जेठ अन्तिम साता दर्ता हुन्छ र त्यसपछि काम, क्षमता हेरेर जिम्मेवारी तय होला ।

अभियन्ताहरुको दैनिकी चाहीँ कस्तो हुन्छ ?

अहिले त्यसरी रेगुलर छैन । नयाँ कार्यालय छ तर, संरचना सबैलाई पुग्ने छैन । हामी नियमित सम्पर्कमा बस्छौं र पार्टीले खटाएको ठाउँमा संगठन विस्तार, प्रशिक्षणमा जान्छौं ।

अनुभवका हिसावमा चाहिँ राजनीति कस्तो हुँदोरहेछ ? फौजी संगठनमा माथिबाट आदेश दिइन्छ, दलमा त जनतादेखि कार्यकर्ताको कुरा धेरै सुन्नुपर्छ ।

निश्चय पनि नयाँ वातावरणमा असहज अवस्था हुन्छ । र, मलाई पनि भएको छ । भर्खर विद्यालय जान सुरु गरेको बालकजस्तो सिक्दैछु । तर, मूल उद्देश्य भनेको राष्ट्र र जनताको हितमा काम गर्ने हो । त्यसैले अरु कुरा गौण हुनुपर्छ ।

तर, नेता भएपछि अरुका कुरा धेरै सुन्नुपर्छ । प्रहरी, त्यसमाथि माथिल्लो ओहदामा बसेकाहरुले त आदेश दिने हो, सुन्ने क्षमता कम हुन्छ भन्छन् नि ?

अहिलेको मोर्डन प्रहरी पहिलेको भन्दा धेरै परिर्वतन भइसकेको छ । सुन्न सक्ने क्षमता अहिलेको प्रहरीमा छ जस्तो लाग्छ मलाई । (हाँसो) हा.. हा.. हा.. ।

तर, यहाँ आएर सुन्ने क्षमता चाहिँ बढी नै राख्नुपर्छ । सुरुमा असहज भए पनि विस्तारै हुन्छ । र, हुनु पनि पर्छ ।

नयाँ शक्तिको विचार नीतिबारे तपाईलाई प्रशिक्षण कसले दिन्छ ?

क्लास नै लिने भनेर भएको छैन । डा. भट्टराईसँग बसेर विभिन्न मिटिङहरुमा अन्तरक्रिया हुन्छ र अहिले बन्दै गरेको नीतिहरु अध्ययन गर्छौं । पार्टी आफैं पनि लर्निङ चरणमा नै छ । नीतिहरु बन्दैछन् र यसमा लेनिनवाद, मार्क्सवाद भनेको जस्तो अलरेडी प्रेसक्राइव केही छैन ।

ट्राफिक प्रहरीकै भाषामा भन्दा वान वे हो ? अर्थात आइडोलोजिकल भिजन डा. भट्टराईले राख्नुहुन्छ र तपाईहरुले फलो गर्ने हो ?

होइन, यो मेल्टिङ पटजस्तै हो । पूर्वमाओवादीका साथीहरु पनि हुनुहुन्छ । हामी गैरमाओवादी पनि आएका छौं । मेल्टिङ पटमा सबैलाई उमालेर नयाँ ढाँचामा बनाउने हो ।

अहिलेसम्म बनेका दस्तावेजहरुमा तपाईको सहमति छ कि केही विमति पनि छ ?

यसमा कतिपय कुरामा सहमति र केहीमा विमति पनि छ । यो सबै बन्ने क्रममै  छ । र, यो माझिँदै अघि बढ्ने हो ।

विमति के-के छ  ?

जस्तो माओवादी लिगेसी भएका अभियन्ताहरु हुनुहन्छ र गैरमाओवादी पनि छौं । सबैले आ-आफ्नोपना नछोडी आएका छौं । त्यसैले हामीले तिमीहरु हाम्रोमै आउनुपर्छ भन्नुहुँदैन र उनीहरुले पनि हामीले भनेकै हुनुपर्छ भन्नुहुन्न । नयाँ परिवर्तित सन्दर्भमा दुबै ढालिनुपर्छ । जस्तो हामी यस्तो (मुठ्ठी कसेर लालसलाम) गर्दैनौं हा..हा..हा.. । यस्तो पनि (स्यालुट) पनि गर्नुभएन । अब यस्तो (नमस्ते) गर्नुपर्‍यो । यसरी हामी मेल्टिङ हुँदैछौं ।

तपाईँ प्रहरी संगठनबाट आउनुभयो । तपाईँको पदचापलाई पछ्याएर आउनेहरु पनि छन् कि ?

हा.. हा.. । यसमा म आफैंले के भन्छु भने यो पार्टीले जनताको हितका लागि देशको सम्वृद्धिका लागि केही गर्छ भनेर आएको हुँ । पार्टी यो कार्यदिशामा हुँदासम्म म आवद्ध हुन्छु । त्यसमा तलमाथि भएको दिन आफूले पनि सोच्नुपर्ने अवस्था आउन सक्छ ।

ganesh rai (6)

जहाँसम्म मेरो पदचाप भन्ने छ, यो पार्टीले भोलि कस्तो काम गर्छ र मेरो भूमिका र योगदान के हुन्छ भन्ने आधारमा हुन्छ । पार्टीले राम्रो काम गर्‍यो र मैले पनि राम्रो भूमिका खेल्न सकेँ भने अरु पनि आउने हो ।

गणेश राई गएका छन् अब हामी पनि जानुपर्छ भनेर आउने जमाना छैन र त्यसरी आउनु पनि हुँदैन । मेरो एक-दुई जना साथीहरुले भनेका छन् कि तिमी त गयौं । तर, अब तिम्रो सफलता असफलतालाई हेरेर हामी निर्णय गर्छौं भन्छन् । मलाई लाग्छ, उनीहरु सही छन् ।

तपाईले राजनीतिमा आएपछि देखेको सपना चाहिँ के हो ?

जागिर र व्यक्तिगत भ्रमणका क्रममा मैले धेरै विकसित मुलुकहरु हेर्ने मौका पाएँ । तर, नेपालजस्तो प्राकृतिक स्रोतले सम्पन्न, एकै दिनमा तीन प्रकारको मौसम भएको देश अरु छैन । तर, नेपाल यति पछौंटेपनमा छौं । दुबईमा मरुभूमिलाई गुलजार गरेका छन्, हामीले गुलजारलाई मरुभूमि बनाउँदैछौं । आखिर लिडरसिपले नै गर्दोरहेछ नि यो कम । राम्रो नेतृत्व भयो भने परिवर्तन सम्भव छ भन्ने त सिंगापुर र मलेसियाले देखाउँछ । त्यसैले देशको विकास हुनुपर्छ ।

अर्को, नेपालमा जातीय विभेद छ । त्यहाँ पञ्चायतकालमा जागिर खाएँ । राना ठकुरीहरु जन्मिँदै जर्नेल कर्नेल । अहिले शासक वर्गमा ब्राम्हणहरु आए । अनुहार मात्र परिर्वतन भयो, राणाको ठाउँमा ब्राम्हणहरु आए । भोलि राईहरु आए भने पनि त्यस्तै होला ।

तर, नयाँ शक्तिले खस आर्य, जनजाति र मधेसी तीन क्लस्टरको समानुपातिक प्रतिनिधित्वको कुरा गरेको छ । र, कुनै जाति विशेष शासक हुने र अरु शासित हुने अवस्था नआओस् भनेको छ ।

तपाईँले जातको कुरा गरिहाल्नुभो । तपाईँलाई नयाँ शक्तिमा बोलाउनु कारण पनि एआइजी हुनुसँगै राई भएकाले पनि हो ? किनभने क्लस्टर मिलाउनुपर्‍यो नि त…

यो त डा. बाबुराम भट्टराईलाई सोध्दा नै राम्रो हुन्छ (हा.. हा ..हा.) तर, सबैभन्दा पहिलो आहृवान सडक विस्तार नै हो । तर, यो पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment