Comments Add Comment

पर्यटक तान्दै गाईघाटको झरना

jharna
१४ वैशाख, बागलुङ । अमरभूमि–४ स्थित गाईघाट झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । आकर्षक प्राकृतिक झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण भएपछि पर्यटन गतिविधि बढेको हो ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्र झरनालाई पर्यटन गन्तव्य बनाउन लागिपरेको छ । गत वर्ष पर्यटन मन्त्रालयबाट प्राप्त रु सात लाख र स्थानीयवासीको एक लाख ५० हजार बराबरको जनश्रमदानमा झरनामुनि पौडी पोखरी समेत निर्माण गरिएको छ ।

झरना अवलोकन, पौडीसँगै प्राकृतिक वातावरणमा रम्न दैनिक रुपमा आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । झरनाको भित्रपट्टि भेटिएको करिब ४० जना अटाउने गुफाले समेत पर्यटकलाई लोभ्याउने गरेको छ । पौडी पोखरीले झरनाको स्वरुप नै बदलेको छ ।

पौडी पोखरी, गुफा आदिले गर्दा झरना अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव राज थापाको भनाइ छ । विभिन्न विद्यालयले अध्ययन भ्रमणका लागि पनि विद्यार्थी त्यहाँ लाने गरेका छन् ।

झरना आसपास भएर हटिया–ताराखोला सडक बनेपछि घुम्न जानेको सङ्ख्या बढ्दै गएको छ । केन्द्रले गत वर्ष जग्गा व्यवस्थापन, पोखरीको संरचना निर्माणको काम गरेको थियो ।

यस वर्ष वनभोजस्थल र गाईघाट झरना–भूताह गल्छी पदमार्ग निर्माण गर्ने योजना रहेको सचिव थापाले बताए ।

दरमखोला किनारमा अवस्थित झरना माछा मार्न रुचाउने पर्यटकको समेत रोजाइमा पर्छ । झरना नजिक पर्यटक आकर्षित गर्ने बराह ताल रहेको छ । बागलुङ सदरमुकामदेखि १० कोष पश्चिममा यो झरना अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment