Comments Add Comment

यसरी मनाइँदै छ गणतन्त्र दिवस, मूल समारोह समिति गठन

बजेट ल्याउने दिन सार्न सकिन्छ: प्रधानमन्त्री

KP Oli

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।

आज बसेको मूल समारोह समितिको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरुलगायत रहनुभएको मूल समारोह समिति गठन गरिएको छ ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईको संयोजकत्वमा मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको संयोजकत्वमा ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ ।

बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचनाको सङ्गालो प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ ।

सोही दिन बिहान ८ बजे मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरु, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारण टुँडिखेलमा उपस्थित हुने कार्यक्रम छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरुको समेत उपस्थिति रहनेछ । सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास, विविध कार्यक्रम र झाँकी प्रदर्शन गरिनेछ । सोही दिन साँझ दीपावली गरिने छ ।

जेठ १६ गते प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता र साँझ दीपावली गर्ने कार्यक्रम छ ।

त्यसैगरी, उपत्यका बाहिरसमेत जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र दिवस मनाउन विविध कार्यक्रमको आयोजना गरिने छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वास्तविक लोकतन्त्रमा गणतन्त्र अनिवार्य रहेको बताए ।

उनले जनता सार्वभौम भएको दिनका रुपमा गणतन्त्र दिवसलाई भव्य र उल्लासमय वातावरणमा मनाउन आग्रह गर्दै दिवसलाई जनस्तर र नयाँपिँढीमा समेत लैजान आवश्यक रहेकामा जोड दिए ।

उनले भने, ‘राजतन्त्र हट्नु भनेको अन्धविश्वास र आधारहीन व्यवस्था हट्नु हो । समाज आधुनिक हुन पनि गणतन्त्र आवश्यक थियो ।’

उनले जन्मसिद्ध श्रेष्ठता सिद्धान्तमा आधारित राजतन्त्र सामाजिक न्याय र समानताविरुद्धको व्यवस्था भएको बताए ।

उनले भने, ‘जन्मसिद्ध सिद्धान्त अवैज्ञानिक, आधारहीन, तर्कहीन सिद्धान्तमा आधारित छ । यो तर्कमा नभई बलमा आधारित व्यवस्था हो ।’

बजेटको दिन सार्न सकिन्छ’

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस र बजेट आउने दिन एकै दिन परेकाले बजेट आउने दिनलाई सार्न सकिने बताए ।

जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले दलहरुबीच सहमतिका आधारमा आगामी दिनमा बजेट ल्याउने दिन परिवर्तन गर्न प्रयास गरिने उनले बताए ।

उनले भने, ‘गणतन्त्र दिवस अर्को दिन सार्न सकिन्न । बजेट ल्याउने दिन अर्को दिन सार्ने व्यवस्था मिलाउन सकिन्छ ।’  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment