Comments Add Comment

काठमाडौंमा साना हतियार खोज्दै प्रहरी

विक्रीमा राखिएका देखि लागुऔषध कारोवारीसँग पनि हतियार

hatiyar

१६ वैशाख, काठमाडौं । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले काठमाडौंमा आपराधिक समूहका साथमा रहेका हतियारको खोजीलाई तीब्र बनाएको छ ।

बिहीबार लमजुङका  विवेक गुरुङलाई एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोलीसहित पक्राउ गरेको छ । प्रहरी टोलीले गुरुङको कोठामा खानतलास गर्दा लागुऔषध समेत फेला परेको थियो । गुरुङले पेस्तोल प्रयोग गरेर काठमाडौंमा लागूऔषधको कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पोखरेलले बताए ।

करिब १६ वर्ष देखि काठमाडौंमा बस्दै आएका गुरुङका साथबाट लागुऔषध विक्री गरेर संकलन भएको २ लाख ६१ हजार नगद समेत बरामद भएको थियो । डीएसपी पोखरेलले भने, ‘बरामद गरिएको पेस्तोल तेल लगाएर एकदम सही हालतमा राखिएकाले यो हतियारसहित लागुऔषध विक्री गर्ने ठूलै गिरोह जस्तो  देखिन्छ, हामी अनुसन्धान गर्दैछौं ।’

विशेष गरेर कलेजका विद्यार्थी तथा दुर्व्यसनीहरुलाई लागुऔषध विक्री गर्ने भएकाले निकै खतरनाक समूह हुन सक्ने प्रहरीको अनुमान छ ।

गुरुङबाट दुर्व्यसनीलाई लागुऔषध प्रयोग गर्न आवश्यक पर्ने सिरिन्ज बरामद भएको थियो । यसबाट आपराधिक समूहलाई लागूऔषधको ग्राहक बनाएको र आफनो सुरक्षाका लागि हतियार राखेको हुन सक्ने प्रहरीको बुझाइ छ ।

हतियार कारोवारी राजधानीमा सक्रिय

महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डीएसपी सोमन्द्रसिंह राठौरलाई २ साताअघि काठमाडौंमा गुण्डाहरुलाई हतियार विक्री गर्ने समूह सक्रिय छ भन्ने एउटा सुराक  आयो ।

उनले सूचनाका आधारमा हतियार विक्री गर्ने समूहको खोजी गर्ने थाले, उनले पाएको सुराकमा हतियार कुनै गुण्डाको समूहलाई विक्री हुँदैछ भन्ने थियो । गत वैशाख १० गते सुराकीको सूचनाअनुसार उनी बानेश्वरको शान्तिनगरस्थित एक घरमा छापा मार्न पुगे ।

त्यहाँ भेटिए काभ्रे भकुण्डेबेंसीका २१वर्षीय कारसाङ लामा । प्रहरीले लामाको कोठामा छापा मार्दा खाटको घर्राबाट नाइन एमएमको एकथान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गाली बरामद गर्‍यो । सोह्रखुट्टे वृत्तका डीएसपी राठौरका अनुसार कार्साङले उक्त पेस्तोल विक्रीका लागि राखेका थिए । मोरङका तेन्जिङ शेर्पा नाम गरेको व्यक्तिले ३ लाखमा विक्री गर्न उक्त पेस्तोल आफुलाई दिएको लामाले प्रहरीसँगको वयानमा बताएका छन् ।

करिब तीन महिना अगाडि काठमाडौंमा चिनजान भएको तेन्जिङसँग कारसाङले आफूलाई हतियार चाहिएको बताएका थिए । तेन्जिङले भनेको केहीदिनमै हतियार र गोली ल्याएर ३ लाखमा विक्रीका लागि दिए, त्यसवापत कारसाङले ५० हजार पाउने सहमति भएको प्रहरीको भनाइ छ ।

उक्त हतियार काभ्रेका गुण्डाहरुले मगाएको डीएसपी राठौले बताए । उनले भने,- त्यही समूहले दुईवटा हतियार मगाएको देखिन्छ, तर अर्को हतियार नआउँदै हामीले पक्राउ गर्‍यौं । भूकम्पपछि ठेक्कापट्टाको काम बढ्ने भएकाले त्यसका लागि गुण्डाहरुले हतियार खरिद गर्न खोजेको हुन सक्ने प्रहरीको अनुमान छ ।

हतियार खोज्न इन्टेलिजेन्स सक्रिय: एसएसपी थापा

पछिल्लो ७ महिनामा मात्रै काठमाडौंमा ६ वटा हतियार बरामद भएका छन् । वानेश्वर वृत, बौद्ध, तथा काठमाडौं परिसरको विषेश टोलीले काठमाडौंमा लुकाई राखिएका हतियारहरु बरामद गरेको हो । पहिले नै ल्याएर राखिएको हतियार बरामद भएको काठमाडौं परिसरका एसएसपी विक्रमसिंह थापाले बताए ।

एसएसपी थापाले भने- काठमाडौंमा पहिले नै ल्याइएका हतियाहरु थुप्रै छन् भन्ने सूचनाका आधारमा इन्टेलिजेन्स परिचालन हुँदा ती हतियारहरु बरामद भएका हुन् ।

हतियार प्रयोग गरेर धम्क्याउने तर्साउने समूह त्यति सक्रिय छैनन् तर हतियार ल्याएर राखिएको थाहा पाएपछि हामीले सक्रियता बढाएका हौं, एसएसपी थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment