Comments Add Comment

यी हुन् भारतको सबैभन्दा कान्छा ‘एकल पिता’

Aditya-Tiwari

पुनेमा बस्ने सफ्टवेयर इन्जिनीयर हुन् आदित्य तिवारी । उनले पहिलो ‘लभ एट फस्ट साइट’ को अनुभव संगालेका छैनन् भन्नु असत्य हुन्छ । तर, यो तपाईंले सोचेजस्तो केटा र केटीबीचको प्रेमकथा होइन ।

‘जब बिन्नीे पहिलोपटक मेरो औंला समातिन्,’ अतितमा फर्किँदै २८ वर्षे ठिटा भन्छन्, ‘मैले प्रेमको अनुभुति गरेँ, र त्यो औंला कहिल्यै छुट्न दिइनँ ।’ बिन्नीलाई हालै धर्मपुत्र बनाएका आदित्य भारतकै सबैभन्दा कलिला एकल बाबु बनेका छन् ।

एक वर्ष नौ महिनाका भए बिन्नी । मुटुमा प्वाल परेको र ‘डोन सिन्ड्रोम’बाट ग्रस्त भएको उनलाई बाबुआमाले भोपालमा त्यागिदिएका थिए । आदित्यले बिन्नीलाई पहिलोपटक एउटा बालगृहमा देखेका हुन् ।

२०१४ को सेप्टेम्बरमा आफ्ना बाबुको जन्मदिनमा बालबालिकाहरुलाई उपहार बाँड्न उनी त्यहाँ पुगेका थिए । ‘त्यहाँ थुप्रै बालबालिकाहरु थिए । तर, बिन्नीमा मेरो आँखा अडियो किनकी उनी सबै रमाइलोबाट टाढा आफ्नै झोलुंगोभित्र खेलिरहेका थिए । जब म उनीसँग खेल्न गए, उनी एकैचोटीमा मसँग झ्याम्मिए र म उनीप्रति मोहित बनेँ ।’

यद्यपि त्यतिबेला बिन्नीलाई छोरा बनाउने कुरा उनको दिमागमा थिएन । एक महिनापछि आदित्य फेरि त्यही बालगृहमा पुगे । बिन्नीको अनुहारले धेरै दिनदेखि उनलाई पछ्याइरहेको थियो । उनले थाहा पाए कि अरु थुप्रै बालबालिकालाई सन्तानविहीन बाबुआमाले लगेपनि बिन्नीलाई कसैले लैजान इच्छा गरेका रहेनछन् ।

त्यसपछि उनले निर्णय लिए बिन्नीलाई छोरा बनाउने । ‘सुस्मिता सेनको किताब पढेपछि म एउटा धर्मपुत्र/धर्मपुत्री लिने सोचाईमा पुगेको थिएँ । त्यसका लागि मैले बिन्नीलाई उपयुक्त पात्र ठहर गरेँ,’ उनी भन्छन् ।

तर, उनले बिन्नीलाई छोरा बनाउन त्यति सजिलो थिएन । सबैभन्दा अगाडि उनका बुवाआमाले आपत्ति जनाए । त्यसपछि बालगृहका अधिकारीहरुले एकल पुरुषलाई बच्चा जिम्मा लगाउन नसकिने अडान लिए । कयौं दिनसम्म आदित्य सो बालगृहको चक्कर काटिरहे अधिकारीहरुलाई सम्झाउने प्रयत्नमा ।

गत मार्चमा आदित्यलाई भनियो, बालकलाई दिल्ली पुर्‍याइएको छ । तर, त्यसको एक सातापछि उनले थाहा पाए, यो सबै उनलाई बच्चाबाट अलग गर्ने षड्यन्त्र रहेछ र बच्चा भोपालमै छन् । ‘त्यसपछि मैले महिना तथा बालकल्याण विभागमा सम्पर्क गरेँ । त्यहाँकी मेनका गान्धीलाई करिब एक सयवटा इमेल पठाएँ,’ आदित्य भन्छन् ।

त्यहाँबाट पार नलागेपछि उनले प्रधानमन्त्रीको कार्यालयमा समेत गुहार मागे । बल्ल गान्धीले उनलाई फोन गरिन् र आफूले यस विषयमा सेन्ट्रल एडप्सन रिसोर्स अथोरिटी (कारा) लाई भोपाल बालकल्याण समितिसँग छलफल गर्न भनेको अवगत गराइन् । त्यसपछि बच्चालाई भोपालकै बालगृहमा स्थानान्तरण गरियो ।

तर, त्यहाँका अधिकारीले पनि उनलाई बच्चा दिन आनाकानी गरे । गत अगष्टमा बल्ल उनको धोको पुरा भयो । काराले बच्चा अपनाउनका लागि ३० वर्ष उमेर पुगेको हुनुपर्ने नियम सच्याएर २५ वर्ष बनायो ।

त्यसपछि आदित्यले बिन्नीलाई एडप्ट गर्न सक्ने भए । त्यसको १५ दिनमा आदित्यले सबै औपचारिक प्रक्रिया पुरा गरे । मेनका गान्धी आफैं बालगृहमा पुगेर तुरुन्त सो बच्चा आदित्यलाई सुम्पिन आदेश दिइन् ।

तर, अझै पनि बालगृहका अधिकारीहरु तयारी भएनन् । उनीहरुले प्रक्रियामा आलटाल गरिरहे । त्यसपछि उनले फेरि प्रधानमन्त्री कार्यालय र बालकल्याण विभागमा उजुरी गरे । त्यसपछि केन्द्र सरकारले राज्य सरकारलाई एउटा सूचना पठायो र तीव्र दवावका बीच सेप्टेम्बर २०१५ मा जनवरी १ देखि ८ भित्रमा बच्चा लिएर जाने पत्र आदित्यले प्राप्त गरे ।

आदित्यले छोरालाई घरमा ल्याइसकेका छन् । उनलाई नयाँ नाम दिएका छन् अब्निस तिवारी । उनले बच्चाको उपचारका लागि चिकित्सककहाँ पुर्‍याए । चिकित्सकहरुले बच्चाको तत्काल शल्यक्रिया गर्नुपर्ने बताएका छन् । डाउन सिन्ड्रोमका कारण बच्चाको मानसिक विकास ढिला हुने चिकित्सकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment