Comments Add Comment

एउटा उद्यमीले जहाँ अवसर भेट्छ, त्यहीँ लगानी गर्ने हो

चौधरी समुहअन्तर्गतका अरुण चौधरी होटल व्यवसायमार्फत पर्यटन उद्योगमा प्रवेश गरेका छन् । चितवनमा टाइगरल्यान्ड सफारी रिसोर्ट खरिद गरेका उनले पाँच वर्षभित्र होटलको संख्या पाँच पुर्‍याउने घोषणा गरेका छन् ।

अटोमोबाइल, रियल स्टेट, म्यानुफेक्चरिङ क्षेत्रमा जमिरहेको चौधरीसँग पर्यटन उद्योगमा प्रवेश गर्नुको कारण, पर्यटन क्षेत्रमा देखेका सम्भवना लगायतका विषयमा अनलाइनखबरले गरेको कुराकानी :

  Arun Chaudhary (7)

अरुण चौधरी, अध्यक्ष, सिजी होल्डिङ्स

अटोमोबाइल र रियल स्टेटमा जमिरहेको तपाई होटलमार्फत पर्यटन उद्योगमा प्रवेश गर्नुभएको छ । पर्यटनमा कसरी आकषिर्त हुनभयो ?

एउटा उद्यमीले लगानीको अवसर खोजिरहेको हुन्छ । जहाँ अवसर भेटिन्छ, त्यहाँ लगानी गर्ने हो । नेपाल पर्यटनमा सबैभन्दा बढी सम्भवना भएको मुलुक हो । तुलनात्मक लाभको हिसावले पनि पर्यटन अग्रपंक्तीमा आउँछ । त्यही भएर हामी ‘हस्पिटालिटी इन्डष्ट्री’मा लगानी गर्न तम्सिएका हौं ।

‘हस्पिटालिटी इन्डष्ट्री’ भनेको होटलमात्र होइन होला । ‘हस्पिटालिटी’का अन्य पाटोहरुमा पनि लगानी गर्नुहुन्छ की ?

हस्पिटालिटी भनेको पाहुनालाई वेलकम गरेर, होटलमा राखेर, सेवा सुविधा दिएर सन्तुष्ट बनाई बाईबाई गर्ने हो । वेलकमदेखि बाईबाईसम्म गर्नु हस्पिटालिटीभित्र पर्छ । पाहुनलाई वेलकमदेखि बाईबाई गर्दासम्म दिइने हस्पिटालिटीमा हामी लगानी गर्छौं ।

पाँचवटा होटलहरु कसरी खोल्दै अगाडि बढ्ने योजना छ ? 

होटलमा पाँच वर्षभित्र करिव ५ सय करोड लगानी हुन्छ । सबैभन्दा पहिला चितवनमा टाइगरल्यान्ड सफारी रिसोर्ट सञ्चालनमा ल्याइसको छौं । त्यसपछि पुल्चोकमा होलि डे इनको काम अगाडि बढाउँछौं । यो होटल निर्माण कार्य मन्सुन पछाडि सुरु गर्दैछौं ।

लगत्तै त्रिपुरेश्वरमा बिजनेश होटल र बुढानिलकण्ठमा वेलनेस रिट्रिट सेन्टरको काम पनि अगाडि बढाउँछौं । त्यसपछि पोखराको सराङकोटमा होटल बनाउँछौं ।

arun chaudharu_455X290पुल्चोकमा बन्ने पाँचतारे होटलको व्यवस्थापनमा अमेरिकी बहुराष्ट्रिय ब्रान्ड ‘होली डे इन’ भित्राउने भन्नुभयो । उसँग सम्झौता भइसक्यो ?

होली डे इनसँग एक किसिमको समझदारी भइसकेको छ । हाम्रो होटलको व्यवस्थापन सम्हाल्न आउन तयार छ । यसलाई औपचाकिता दिन छिट्टै दुई पक्षीय सम्झौता हुने छ ।

त्रिपुरेश्वरको होटलमा विदेशी चेन आउने भयो । अरु होटलहरु कसरी सञ्चालन गर्ने योजना बनाउनु भएको छ ?

अरु होटलहरुमा पनि हामीले विभिन्न एभिन्यूजहरु हेरिरहेका छौं । हाम्रो उद्देश्य भनेको देशमै म्यानेजमेन्ट एविलिटीहरु विकास हुनुपर्छ । त्यसकारण हामीले होली डे इनमार्फत बेष्ट प्राक्टिसेसहरु सिक्नुपर्छ । त्यसपछि हामी आफ्नै म्यानेजमेन्ट कम्पनी पनि खोल्छौं की ।

भोली अरु होटलमा विदेशी चेन ल्याउनुपरेमा होली डे इनलाई नै रोज्नुहुन्छ कि, अन्य चेनसँग पनि सहकार्य गर्ने योजना छ ?

यो बिजनेशमा डिपेन्ड हुने कुरा हो । भोली कस्तो अवस्था आउँछ, अहिले नै भन्न सकिदैन । हामी अरु होटलमा ‘होली डे इन’ रोज्न पनि सक्छौं, अरु चेनहरु पनि खोज्न सक्छौं । हामी आवश्यकताको आधारमा निर्णय लिँदै अगाडि बढ्छौं ।

पछिल्लो समय तारे होटलमा विदेशी चेन भित्राउने होडबाजी देखिन्छ, किन ?

अन्तर्राष्ट्रिय चेनहरुको सञ्जाल विश्वभर फैलिएको हुन्छ । उनीहरुको मूख्य काम भनेकै होटलमा पर्यटक ल्याउने हो । विश्वभर सञ्जाल फैलिएको हुँदा उनीहरुलाई मार्केटिङ गर्न समेत सजिलो हुन्छ । त्यसैले होटलको व्यवस्थापन यस्ता चेनलाई जिम्मा लगाउँदा उनीहरुले आफै ग्राहक खोज्छन् । त्यही भएर विदेशी चेन भित्राउन खोजिएको हो ।

तपाईका होटलहरु कुन लेवलका पर्यटकलाई लक्षित हुनेछन् ?

मध्यम बर्गका पर्यटकलाई लक्षित गरी हामी होटलहरु सञ्चालन गर्छौं । भ्रमणमा निस्कने ठूलो जमात पनि यही वर्गभित्र पर्छन् । हामी स्वदेशी ग्राहकलाई पनि प्राथमिकतामा राखेका छौं । यी पनि हाम्रा होटलका मुख्य ग्राहक हुनेछन् ।

म पुरै कन्फिडेन्ट भएर होटलमा लगानी गर्न कस्सिएको हुँ । कसैको लहडमा लागेर होटल क्षेत्रमा लागेको होइन । हामीले पुरै क्याल्कुलेटिभ रिस्क लिएर लगानी गर्न लागेका छौं ।

नेपालमा पर्यटकको संख्या र गुणस्तर बढाउन सकिएको छैन । तर, लक्जरी तारे होटलहरु खुल्ने क्रम भने हृवात्तै बढेको छ । नयाँ होटलहरु कसरी सञ्चालन होलान ?

पर्यटकको संख्या र गुणस्तर बढाउन नसक्नु हाम्रो कमजोरी हो । कमजोरी भयो भन्दैमा उद्यमै नगर्ने भन्ने हुँदैन । जसले होटल खोल्छ, उसले आफ्नो होटल सञ्चालन गर्नका लागि गेष्टहरु पनि खोज्न थाल्छ । जसले मुलुकमा पर्यटकको संख्या बढाउने छ ।

नेपालमा होटलमा लगानी गर्नेहरु प्रशस्त छन् । तर, पर्यटक लोभ्याउने खालका गतिविधिहरु सञ्चालन गर्न कोही अगाडि सर्दैनन् । अब हामी पर्यटक लोभ्याउने प्रोडक्टको विकासमा पनि लाग्नुपर्ने हो की ?

पक्कै पनि । हामीले पर्यटकीय पूर्वाधार विकासमा पनि जोड दिनुपर्छ । पर्यटकले मोटो रकम खर्च गर्ने स्पोट्सहरु सञ्चालन गर्नुपर्छ । ‘हाइ भेल्यू प्रोडक्ट’ डेभलपमा पनि हामीले जोड दिनुपर्छ । पर्यटकको संख्या र गुणस्तर बढाउन होटल खोलेर मात्र हुँदैन, पर्यटकलाई थुप्रै आकर्षणहरु देखाउनुपर्छ ।

तपाईले नेपालमा आइरहेका पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गर्न लाग्नुभएको हो कि आफै पर्यटक खोज्नुहुन्छ ?

हाम्रो होटललाई आवश्यक गेष्टहरु आफै खोज्छौं । त्यही भएर हामीले अन्तर्राष्ट्रिय चेनसँग सहकार्य गर्न खोजेका हौं । यस्ता चेनहरुले आफुलाई आवश्यक ग्राहक आफै खोज्ने गर्छन् । सायद हामी आउने दिनमा ट्राभल एन्ड टुर अपरेसनमा पनि लाग्छौं । आउने दिनमा हाम्रो विभिन्न रेष्टुरेन्ट चेनमा पनि लगानी गर्ने हाम्रो योजना छ ।

अहिले होटलमा लगानी गर्ने उपयुक्त समय हो ?

मैले अरुका बारेमा केही भन्न सक्दिन । म पुरै कन्फिडेन्ट भएर होटलमा लगानी गर्न कस्सिएको हुँ । कसैको लहडमा लागेर होटल क्षेत्रमा लागेको होइन । हामीले पुरै क्याल्कुलेटिभ रिस्क लिएर लगानी गर्न लागेका छौं ।

Arun Chaudhary (10)

पर्यटन उद्योगमा प्रवेश गरेसँगै तपाईको बिजनेश प्राथमिकता फेरिन्छ कि सबैलाई सँगसँगै उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउनुहुन्छ ?

हामी हरेक सेक्टरलाई हेर्दा पृथक रुपमा हेर्छौं । यदि म अटोमोबाइल हेरिरहेको छु भने त्यसैलाई हेर्छु । रियल स्टेटलाई हेरिरहेको छु भने त्यसैमा केन्द्रीत हुन्छु । पर्यटनलाई हेर्दा, त्यसमै फोकस हुन्छु । भन्नुको मतलव हाम्रो प्राथमिकता भनेको सबै क्षेत्र हुन् । अहिले तपाइले हस्पिटालिटीको कुरा गरिरहँदा मेरो प्राथमिकता भनेको हस्पिटालिटी हो ।

होटलको अन्तर्राष्ट्रिय विस्तारमा पनि जाने योजना पनि छ की ? 

अहिले त्यस्तो कुनै योजना बनाएको छैन । बल्ल पर्यटन क्षेत्रमा प्रवेश गरिएको छ, सबैभन्दा पहिला देशभित्रै बलियो बन्नुपर्छ । यो क्षेत्रमा म  नयाँ छु, अहिले नै ठूला ठूला कुरा गर्नु मेरो लागि उपयुक्त हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment