Comments Add Comment

राजतन्त्र ब्युँतिने आधार असम्भव

नेपाली जनता सयौं वर्षदेखि एक तन्त्रात्मक हुकुमी राज्य सत्ताबाट पिल्सिएर बल्लबल्ल जनताको अधिकारले बामे सर्न थालेको ०४६र४७ पछि हो ।

prakash shresthaचाहे शाहवंशीय राजाभन्दा पहिलेका शासकका बेला भनौं वा राणाशासन वा राजा महेन्द्र एवं वीरेन्द्रको पाला नै किन नहोस्, ती हरेक शासन प्रणालीमा केही सीमित व्यक्तिहरुको स्वार्थमा जनताका अधिकार कब्जा गरियो । ती जनताका नैसर्गिक अधिकार प्राप्तिमा २००७ सालदेखि पटक-पटक जनताले आन्दोलन गरे । तर, नेताहरुको अदुर्दर्शिताका कारण पुन निरंकुश शासकहरुकै पञ्जामा सत्ताको बागडोर पुग्न गएको इतिहास साक्षी छ ।

यसैक्रममा ०४६र४७ मा ठूलो परिवर्तन भएको मानिए पनि अन्ततः सीमित अधिकारसहितको संवैधानिक राजतन्त्रले शाहवंशीय पारिवारिक एकाधिकार र मनोमानी शासन प्रणालीको अन्त्य गर्न सकेन । अर्कोतिर २०१७ सालपछि भारतसँग गरिएको असमान र अनमेलका सन्धीहरु गर्ने  क्रम ०४७ सालपछि झनै बढी भयो । यतिसम्मकि जलस्रोतको धनी देश नेपाल नाममा मात्र सीमित हुन पुग्यो र हाल आएर कतिपय आफ्नै नदीमा नहर बनाउन र जलविद्युत निकाल्न समेत भारतको अनुमति बेगर नसकिने भैसक्यो ।

त्यतिमात्र हैन, अनाधिकृतरुपमा भारतीय नागरिकहरुलाई नेपाली नागरिकता दिने कामले तिव्रता पायो । साथै भारतमाथिको परनिर्भरता झन् झन् बढ्दै गयो । त्यस्तैगरी राजनैतिक दलगत छोटे राजाहरुले मनपरितन्त्र गर्न थाले । र, पुनः जनता आजित बन्न थाले ।

यसैवीच जनयुद्धको थालनी ०५१र५२ ताका शुरु भएर १० बर्षसम्म चलेको सत्तापक्ष र विद्रोही वीचको द्वन्द्वमा धेरैको अनाहकमा ज्यान गयो । ०५८ सालमा भएको दरवार हत्याकाण्डपछि त ज्ञानेन्द्र नामको अनधिकृत  राजाले झनै ताण्डव नृत्य देखाउन खोजेपछि दशतिर मुख फर्केका राजनैतिक दलहरु राजतन्त्रको समूल नष्ट गर्नका लागि विद्रोही माओवादीसँग सहकार्य गर्न बाध्य भए । अन्ततः ०६२र६३ को आन्दोलनबाट विधिवत राजतन्त्रको अन्त्य भयो ।

विडम्वनानै मान्नुपर्छ, राजनैतिक दलहरुको दलगत स्वार्थ आपसमा बाझिँदा पुनः राजाका हुनुमान दलका पूर्वपञ्चहरुले सत्तामा हालीमुहाली गर्ने अवसर पटक-पटक पाए ।

अहिले त हुँदाहुँदा कमल थापा नामका राजतन्त्रको हिमायतीले पुनः पूर्वराजाको स्थान पाएको ज्ञानेन्द्रलाई स्थापित गर्न हिन्दु धर्मको तुरुप फाल्दै सदन, सडक र विदेशमा समेत नांगो नाँच नाचिरहेका छन् । यसै नांगो नाचमा पार्टीलाई बाबुको पुर्खौली सम्पत्ति मान्दै प्रचारवाजीमा देशविदेशमा दौडाहामा हिँडेका नवनिर्वाचित काँग्रेस महामन्त्री वीपी पुत्र डा। सशांक कोइरालाले समेत राजतन्त्र र हिन्दु धर्मबारे एकपटक जनताले फेरि फैसला गर्नुपर्ने  कुरा घुमाउरो पारामा बोल्दै हिँडेका छन् ।

शायद उनलाई ०६२र६३ को आन्दोलन तिनको स्वार्थमा होइन कि सडकमा उत्रिने हामीजस्ता जनताको एजेण्डाले गर्दा नै राजतन्त्र हटेको, गणतन्त्र आएको भन्ने हेक्का हुनुपर्दछ । साथै पटक-पटक वीपीको मात्रै गुनगान गाएर हिँड्नुले मात्र जनताहरुको सेन्टिमेन्ट आफुतिर तान्न सकिने भ्रममा नपर्दा हुन्छ ।

जसरी नेपालका कम्युनिष्टहरु रुस, चीनलगायत देशका पूर्व कम्युनिस्ट नेताहरुको विचारधाराको भजन गाएर थाक्दैनन्, त्यस्तै काँग्रेसले पनि वीपीको मात्रै भजन गाएर थाक्दैन । वीपी र गिरिजा पनि दूधले नुहाएका गाई होइनन् इतिहासमा गम्भीर गल्ती गर्ने पात्रहरु पनि हुन् र ती पात्रलाई गणेशमान, कृष्णप्रसाद भट्टराई, सुवर्णशमसेर लगायतको साथ नभएको भए काँग्रेसका परिवर्तनका लागि गरिएका आन्दोलन सफल हुने थिएनन् ।

यति भनिरहँदा वीपी र वामपन्थीहरुका अन्तर्राष्ट्रिय नेताहरुको आलोचना र हैसियतलाई अवमूल्यन गर्न खोजेको होइन, मात्र सबैको योगदानको कदर गर्न र समायानुकूल परिवर्तनलाई आत्मसाथ गर्ने प्रवृतिको विकास गर्न अनुरोध मात्र हो ।

एउटा कुरा यो स्पस्ट होस् कि वीपीपुत्र हुँदैमा जनताले गरिसकेको फैसलामा धावा बोल्दै हिँड्ने अधिकार शशांकलाई छैन । र, बाबुले गरेको योगदानको ब्याज र स्याज खोज्दै हिँड्ने प्रवृति पनि नहोस् । किनकि उनी लामो राजनैतिक संघर्षबाट स्थापित नेता होइनन् ।

shasank koirala

खासमा कोइराला परिवारको उत्तराधिकारी प्रथा कायम गर्नुपर्ने  मान्यताका वीच उदाएका नेता हुन् उनी । हो, उनी केही फरक भिजन र कार्यशैली अपनाउन सक्ने होलान्, त्यो कुरा भविष्यका गतिविधिले नै देखाउला । अब उनले नेपाली राजनीतिको यथार्थ धरातल र जनताको यथार्थता बुझेर आफ्नै बाहुबलमा राजनीति गर्न सके उनको राजनीतिक आकाश फराकिलो हुनेछ अन्यथा उनकै दाजु प्रकाश कोइरालाको हैसियतमा उनी पुग्न कुनै समय लाग्ने छैन । किनकि कांग्रेसलगायत वामपन्थी दलहरु नेपालमा सुध्रिनु जरुरी छ ।

एक किसिमले तराईका दलहरु अप्रत्यक्षरुपमा भारतको इन्ट्रेस्टमा सञ्चालित छन् भन्दा कुनै दुविधामा पर्नु पर्दैन त्यो विगतको भारतीय नाकावन्दीले नै प्रष्ट देखाइसकेको छ । यदि ०६२र६३ को उपलब्धीलाई संस्थागत गर्ने हो भने त्यो उपलव्धीमा सहकार्य गर्ने योद्धाहरु जुटेर नयाँ  संविधानको कार्यान्वयन  यथार्थ भूराजनीतिक धरातललाई ख्याल गरेर गर्नुपर्छ नत्र भने फेरि पूर्वपञ्चहरुको हातमा सत्ता र शासनको बागडोर नजाला भन्न सकिँदैन ।

स्मरण रहोस् संविधानमा धर्मनिरपेक्षता लेखिँदैमा हिन्दु धर्म लोप हुन्छ भन्ने भ्रम छर्न खोज्नेहरुले अमेरिकालगायत अन्य देशका संविधानमा धर्मनिरपेक्षताको स्वरुप नै कायम हुँदासमेत क्रिस्चियन धर्म लगायतका धर्महरु विनास भएको छैन, बरु विकास नै भएको छ । तसर्थ आस्था कतै लिपिवद्ध नहुँदैमा घट्छ र विनाश नै भएर जान्छ भन्नु सत्य नभई यसलाई माध्यम बनाएर अरु अभिष्ट पूरा गर्ने  खराव नियतमात्र मान्नुपर्ने हुन्छ । त्यस्तै भएको मात्रै हो नेपालमा ।

-बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment