Comments Add Comment

मलाई गालीले छुन छोडिसक्यो: गणेश थापा

Ganesh Thapa (3)

१७ वैशाख, काठमाडौं । गणेश थापा ३५ वर्षसम्म नेपाली फुटबलका पर्याय भएर रहे । पहिले खेलाडीका रुपमा र पछि एन्फा अध्यक्षका रुपमा उनले नेपाली फुटबलमा लामै समय राज गरेका छन् । यद्यपि, फुटबलबाट उनको बहिर्गमन भने नमीठो ढंगबाट भएको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थापालाई आर्थिक अनियमितताको आरोपमा  १० वर्षका लागि निलम्बन गरिदियो । यो निलम्बन उनको जीवनमा ठूलो टर्निङ प्वाइन्ट बनेको छ ।

फुटबलका कुनै जिम्मेवारीमा पनि रहन नसक्ने भएपछि उनी राजनीतितर्फ हुत्तिएका छन् । सहोदर दाजु कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबाट समानुपातिक सभासद बनेका थापा अहिले आफ्नो गृहजिल्ला मकवानपुरमा राजनीतिक तथा सामाजिक गतिविधिहरु अगाडि बढाइरहेका छन् ।

अनलाइखबरको टीमले थापासँग भेट गर्दा उनी निकै भावुकरुपमा प्रस्तुत भए । ‘अफ द रेकर्ड’ कुराकानीमा उनले आफूमाथि भएको ‘अन्याय’ का विषयमा गुनासो र कुण्ठाको ठूलै भारी बिसाए । औपचारिक अन्तरवार्तामा भने फुटबलका विवादित विषयहरुमा खासै खुल्न मानेनन् ।

प्रस्तुत छ, फुटबल र राजनीतिमा केन्द्रित रहेर अनलाइनखबरका चिरञ्जीवी पौडेलकुशल तिमल्सिनाले थापासँग गरेको कुराकानीः

आजकाल त फुर्सदमा हुनुहुन्छ होला, दिनचर्या कसरी बितिरहेको छ ?

फुर्सदमा छैन म । फुटबलबाट बाहिर निस्केपछि आफूलाई राजनीतिक तथा सामाजिक कामहरुमा व्यस्त राखिरहेको छु । महिनामा १५ दिन जस्तो मकवानपुरमा बित्छ । काठमाडौंमा हुँदा पनि गाउँका समस्या लिएर मन्त्रालयहरुमा धाइरहन्छु ।

राजनीतिमा होमिनु तपाईंको रहर हो कि वाध्यता ?

फुटबलबाट अलग भएपछि मेरो अगाडि दुई विकल्प थिए । पहिलो विकल्प भनेको बाँकी जीवनलाई रिटायर्ड लाइफका रुपमा आराम गरेर बिताउने । दोस्रो राजनीतिक-सामाजिक काममा आफूलाई व्यस्त राख्ने । मैले दोस्रो विकल्प रोजेँ । यो कठिन विकल्प हो । यसलाई म रहर वा वाध्यता भन्दा पनि भवितव्य भन्न रुचाउँछु । म भगवानमा विश्वास गर्ने मान्छे । सायद भगवानले नै यो बाटो कोरिदिएका हुन् ।

दाइ पार्टी अध्यक्ष नहुनुभएको भए भगवानले चाहेर पनि तपाईं यति सजिलै राजनीतिमा स्पेस बनाउन सक्नुहुन्नथ्यो होला र ?

हेर्नुस, म जतिको स्ट्याटस भएको मान्छेलाई कसैले हात समाएर हिँडाउनुपर्ने आवश्यकता छ जस्तो लाग्दैन । मेरो सम्वन्ध र पहुँच अरु पार्टीमा पनि नभएको होइन । जुनमा पनि जान सक्थेँ । म राप्रपा नेपालमा आउनु पार्टीका लागि ठूलो कुरा हो । मैले यो पार्टी यसकारणले रोजें कि मेरो राजनीतिक दृष्टिकोणलाई यो पार्टीले मात्रै प्रतिविम्वित गथ्र्यो । म राजसंस्था र हिन्दूराज्यमा विश्वास राख्ने व्यक्ति भएकाले राप्रपा नेपालभन्दा अर्को पार्टी रोज्न सक्ने स्थिति थिएन । म दाइ-भाइका सम्वन्धका आधारमा आएको होइन ।

Ganesh Thapa (8)

तपाईं भ्रष्टाचारको आरोपी व्यक्ति हुनुहुन्छ । आफ्नो दाग पखाल्न राजनीति र समाजसेवालाई हतियार बनाउन खोजिरहनुभएको त छैन ?

भ्रष्टाचारको सन्दर्भमा कुरा गर्दा देशभित्रको इस्यूमा मैले क्लीन चिट पाइसकेको छु । यसमा कसैले मलाई औंलो ठड्याउन सक्दैन । देश बाहिरको कुरामा म अहिले केही पनि बोल्दिँन । म फेरि अपील गर्ने तयारीमा रहेकाले अहिले बोल्नु ठीक हुन्न । तर, यति विश्वस्त छु कि समयले मेरो निर्दोषिता सावित हुनेछ ।

जहाँसम्म समाज सेवालाई हतियार बनाएको कुरा छ, मेरो कामबाट मकवानपुरका सयौं हजारौं जनता लाभान्वित बनिरहेका छन् । भूकम्पमा हताहत भएका व्यक्तिका परिवारलाई प्रत्येक घरमा पुगेर आफ्नो खल्तीबाट २५ हजार रुपैयाँका दरले राहत बाँडे । घरवास गुमाएकालाई हजारौं पालहरु बाडेँ । पाँचवटा गाविसमा एम्बुलेन्सको व्यवस्था गरिदिएको छु । उपचार नपाएका बिरामीहरुलाई काठमाडौं ल्याएर पचासौं हजार खर्च गरेर उपचार गराइरहेको छु । खेल मैदानदेखि मन्दिर र स्कुलहरु बनाउने काममा सहयोग गरिरहेको छु । मैले विशुद्ध सेवाको भावनाले यी कामहरु गरेको हुँ । यसलाई कुनै हतियारका रुपमा हेर्नु मप्रतिको पूर्वाग्रह मात्रै हो ।

त्यसोभए अर्को चुनावका लागि धरातल बनाउँदै हुनुहुन्छ ?

अर्को चुनावको विषय मरो दिमागमै छैन । चुनाव आउन अझै डेढ दुई वर्ष बाँकी छ । सम्भवतः म चुनाव लड्दिँन पनि होला । दाइ पार्टी अध्यक्ष र उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँका राष्ट्रिय दायित्वहरु धेरै भएकाले जिल्लामा समय दिन भ्याउनुहुन्न । यसैले एक हिसाबले हामीले जिम्मेवारीको भागबण्डा गरेका छौं । राष्ट्रिय जिम्मेवारीहरु उहाँले हेर्नुहुन्छ, जिल्लाका कामहरु म हेर्छु । मैले गरेको कामले दाईलाई र पार्टीलाई फाइदा भयो भने म खुशी नै हुन्छ ।

मैले आज जिल्लामा गएर जनताको मन जित्ने काम गरिरहँदा अन्य दलका सभासदहरुले दबाव महसुस गरेका छन् । म यही चाहन्छु । चुनावको १५ दिन अगाडि गाउँ गएर मीठा आश्वासन बाँड्ने अनि अरुबेला हराउने नेताहरुको आम प्रवृत्तिलाई चिर्न चाहन्छु । सामाजिक काममा राजनीतिक दल र नेताहरुबीच प्रतिस्पर्धा हुनुपर्छ । मैले पाँचवटा धारा बनाइदिएँ भने अर्कोले आएर १० वटा बनाओस् न ।

मैले फुटबलको विषयमा जे बोल्दा पनि नकारात्मक टीका-टिप्पणीहरु हुन्छन् । तर, यति भन्छु कि मेरो नशा-नशामा फुटबलको रगत बगेको छ

तपाईंले गर्ने समाजसेवाको आर्थिक स्रोत के हो ? सरकारी स्रोत-साधन दुरुपयोग गरिरहनुभएको त होला नि ?

सानोतिनो कामहरु व्यक्तिगत तवरबाटै गर्छु । त्योबाहेक आफ्नो पहुँच र सम्वन्धहरु प्रयोग गरेर स्रोत जुटाइरहेको छु । सबैलाई थाहै छ, एएफसीका भुतपूर्व अध्यक्ष मोहम्मद बिन हमामसँग मेरो पुरानो घनिष्ठता छ । उहाँ कतारका अबरपति हुनुहुन्छ । उहाँले मैले गरेका हरेक सामाजिक कामहरुमा चासो लिएर सहयोग गर्नुभएको छ । मकवानपुर जिल्लाको विकास-निर्माणका लागि चाँडै हामी उहाँसँग औपचारिक सम्झौता नै गर्दैछौं ।

अर्को कुरा सभासद वापत आउने तलवभत्ता मैले एक रुपैयाँ पनि आफ्नो खल्तिमा हाल्दिनँ । सबै पार्टीलाई बुझाउँछु । यो पैसा पनि जनताको काममा खर्च हुन्छ ।

कुनै समय थियो, तपाईं आफूलाई फुटबलबाट अलग रहेको कल्पना पनि गर्न सक्नुहुन्नथ्यो । तर, परिस्थितिले तपाईलाई कल्पना नगरेको अवस्थामा पुर्‍यायो । यो कत्तिको पीडादायी छ ?

म यतिबेला फुटबलका विषयमा धेरै कमेन्ट गर्न चाहन्न । अहिले माहोल के छ भने, मैले फुटबलको विषयमा जे बोल्दा पनि नकारात्मक टीका-टिप्पणीहरु हुन्छन् । तर, यति भन्छु कि मेरो नशा-नशामा फुटबलको रगत बगेको छ । यो कहिले पनि हराउँदैन ।

Ganesh Thapa (10)

फुटबलबाट निस्केपछि म खाली बसेको भए सायद निकै गाह्रो हुन्थ्यो होला । तर, अर्को फिल्डमा उत्तिकै तन्मयका साथ लागिपरेको छु । मैले भौतिक रुपमा मात्रै नभएर मानसिकरुपमा पनि फुटबलबाट टाढा हुनुछ । त्यसैले सामाजिक कार्यमा भुलिएर फुटबल बिर्सिन प्रयासरत छु ।  धेरै हदसम्म बिर्सिइ पनि सकेँ । तर, कहिलेकाहीँ झल्यास्स हुन्छु ।

म सामाजिक कार्यमा एकदमै महत्वाकांक्षीरुपमा प्रस्तुत भएको छु । यसमा आफ्नैखालको आत्मसन्तुष्टि छ । मैले यो फिल्डमा जसरी पनि आफूलाई सावित गरेर देखाउने छु ।

फुटबल बिर्सिन लागेँ भन्नुभयो, पछिल्लो समय नेपालले खेलेका अन्तर्राष्ट्रिय म्याचहरु हेर्नुभयो कि हेर्नुभएन ?

विलकुल हेरेँ । फुटबल बिर्सिनुको आशय यो होइन कि नेपाली फुटबलप्रति मेरो माया-मोह नै सकियो । मैले परिवार र साथीभाइसँग बसेर टेलिभिजनमा नेपालका हरेक म्याचहरु हेरेँ ।

विगतमा मैदानमा उभिएर हेर्दा जस्तो बेचैनी र छट्पटाहट हुन्थ्यो, अहिले टेलिभिजनमा हेर्दा पनि त्यस्तै हुन्छ । म अरु देशको र विदेशी क्लवको फुटबल कहिले पनि हेर्दिन । तर, नेपालको म्याच ढुकढुकी रोकेर हेर्छु ।

म कुर्सीमा छैन भन्दैमा नेपालको जितमा नरमाउने भन्ने हुँदैन । पछिल्लो समयमा आएका सुखद नतिजाले मलाई निकै उत्साहित बनाएको छ । यतिका वर्ष नेपाली फुटबलमा बिताएको व्यक्तिका लागि नेपालले निकालेका हरेक जीत अविस्मरणी हुन्छन् । प्रत्येक नेपाली फुटबलरप्रति म गौरव गर्छु ।

तपाईं एन्फाको कुर्सीमा रहुञ्जेल फुटबलमा नेपालको सँधै निराशाजनक नतिजा रह्यो । तपाईं कुर्सीबाट हटेपछि राष्ट्रिय टोलीले एकपछि अर्को सफलता पाइरहेको छ । फुटबल समर्थकहरु यसलाई संयोग मात्र मान्न तयार छैनन् । तपाईं के मान्नुहुन्छ यसलाई ?

हो, मेरो कार्यकालमा फुटबलमा चाहेजस्तो नतिजा आएन । यसलाई आ-आफ्नो ढंगले ब्याख्या गर्ने छुट सबैलाई छ । तर, नेपालको फुटबल पहिले पनि कमजोरचाहिँ थिएन । हरेक साफ गेममा नेपाललाई दाबेदारका रुपमा हेरिन्थ्यो । हामीले दक्षिण एशियामा सबैलाई हराएका छौं । तर, एकैसाथ सबैलाई हराउन चुक्यौं । कहिलेकाहीँ आफ्नो ब्याडलक जस्तो पनि लाग्छ ।

सामाजिक सञ्जाल हेर्ने गर्नुभएको होला । आफ्नो विषयमा फुटबल समर्थकहरुले लेख्ने गरेका टिप्पणी र आक्षेपहरु पढ्दा कत्तिको आहत बन्नुहुन्छ ?

हेर्नुस भाइ, सामाजिक सञ्जालमा जे पनि लेखिन्छन् । नपढ्ने होइन, म पढ्छु । वास्तवमा मैले आफ्नो जीवनकालमा ताली र गाली दुवैको पराकाष्टा व्यहोरेको छु । विगतमा मानसम्मान यति पाएँ कि अब मानसम्मानको भोक बाँकी नै छैन । गाली पनि यति तल्लो स्तरमा खाइसकेँ कि मलाई अब गालीले खासै छुँदैन । म आफ्नो समयको प्रतिक्षामा छु । आज मलाई तल्लो स्तरमा गाली गर्नेहरुले नै मेरो बचाउ गर्ने दिन आउनेछ । अहिले कसैलाई मेरो केही पनि जवाफ छैन ।

नेपाली फुटबल पदाधिकारी र खेलाडीहरुसँग कत्तिको टचमा हुनुहुन्छ ?

खासै टचमा छैन । यद्यपि सबैले मलाई माया गर्नुहुन्छ, आदर गर्नुहुन्छ । खेलाडीहरुको कुरा गर्दा उनीहरुको मप्रति त्यही सद्भाव छ, जुन पहिले थियो । मेरो पनि उनीहरुप्रति त्यही स्नेह छ, जुन पहिले थियो । भित्री मनले सबै मसँग नजिक छन् । सम्पर्क चाहिँ विरलै हुन्छ ।

राष्ट्रिय टिममा आएका नयाँ खेलाडीको प्रदर्शन कस्तो लागिरहेको छ ?

मेरा निम्ति उनीहरु नयाँ होइनन् । राष्ट्रिय खेलाडीहरु रातारात जन्मिँदैनन् । लामो गु्रमिङपछि मात्र उनीहरु राष्ट्रिय टोलीसम्म आएका हुन् । जोसुकै खेलाडीले राम्रो प्रदर्शन गर्दा म खुशी नहुने कुरै छैन ।

तपाईंले भविष्यमा फेरि कुुनै भूमिकामा फुटबलसँग जोडिने कल्पना गर्नुभएको छ ?
त्यो गाह्रो छ । सायद अब म फुटबलबाट अलग रहँदा नै ठीक हुन्छ । फेरि अर्को क्षेत्रमा गइसकेँ । राजनीतिमा पसिसकेपछि सहजै निस्कन कहाँ सकिएला र ?

फुटबलमा छँदा भविश्यमा राजनीति गर्नेछु भनेर सोच्नुभएको थियो ?

अहँ थिएन । मैले त घोषितरुपमै राजनीतिमा जान्न भनेर बोलेको थिएँ । जीवनमा म बोलेको कुरामा चुकेको भनेको सायद यही हो ।

राजनीतिमा तपाईंको महत्वाकांक्षा के छ ? कति लामो होला यो यात्रा ?

राजनीतिमा मेरो महत्वाकांक्षा नै छैन । मेरो रगतमा फुटबल भए जस्तो राजनीति छैन । म कहिलेसम्म राजनीति गर्छु भन्ने मलाई नै थाहा छैन । तर, पसिसकेपछि यसलाई एउटा तार्किक निस्कर्षमा पुर्‍याएर निस्कन्छु । मेरो अनुहार हेरेर अहिले जिल्लामा अन्य पार्टीका युवाहरु राप्रपा नेपालमा आउनुभएको छ । म यत्तिकै हिँडे भने उहाँहरुलाई धोका हुन्छ । त्यसैले यो जिम्मेवारीवोधका साथ म राजनीति अघि बढाउँछु ।

राजनीति गर्नेहरुले ‘हेरौंला, विचार गरौंला, भइहाल्छ नि’ जस्ता शब्दहरु प्रयोग गर्नुपर्दोरहेछ । म त्यो जान्दिनँ

राजनीति गर्दाको यो छोटो अनुभवमा आफ्नो खुबी र कमजोरी के पाउनुभयो ?

खुबी माने पनि कमजोरी माने पनि एउटै छ । त्यो के भने म स्ट्रेट फरवार्ड छु । कुटनीतिक र टालटुले पारामा जवाफ दिन जान्दिँन । हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन भनिदिन्छु । ठाडै हुँदैन भन्दा धेरै मानिसहरु रिसाउँछन् ।

राजनीति गर्नेहरुले ‘हेरौंला, विचार गरौंला, भइहाल्छ नि’ जस्ता शब्दहरु प्रयोग गर्नुपर्दोरहेछ । म त्यो जान्दिनँ । मेरो यस्तो स्ट्रेटफरवार्ड जवाफले अहिले कति मानिसहरु दुःखी भए पनि दीर्घकालमा यही शैली ठीक हो जस्तो मलाई लाग्छ । दोस्रो कुरा, मभित्र अलिकति धैर्यताको कमी छ । कहिलेकाहीँ आवेशमा आइदिन्छु । मरीमरी काम गर्दा पनि कोही रिसायो भने म पनि पड्किदिन्छु । यसले पनि हानी गर्दोरहेछ ।

Ganesh Thapa (12)

नेपालमा राजसंस्था फर्कनेमा कति विश्वस्त हुनुहुन्छ ? कि यो एजेन्डा राप्रपा नेपालको राजनीति गर्ने मसला मात्रै हो ?

म पहिलेदेखि नै राजसंस्थाको पक्षपाती हुँ । खेलकुदमा छँदा आफ्नो राजनीतिक आस्थालाई आफूभित्रै दवाएर राख्नुपर्ने हुन्थ्यो । राजनीतिमा आएपछि खुला वकालत गर्न पाएको छु ।

राजसंस्था नेपालमा फर्किन्छ वा फर्किँदैन भनेर ठोकुवा गर्न चाहन्न, बस यति भन्छु, नेपालमा राजसंस्था आवश्यक छ । राजा आउँदैमा देशका सारा समस्या निदान हुन्छन् भन्ने होइन ।  नेपाललाई टुृक्रिन नदिनलाई राजसंस्था चाहिन्छ भन्ने मेरो मान्यता हो । तर, अब पहिलेको जस्तो सक्रिय राजसंस्था नेपालमा नआउला । फर्कियो भने त्यो सेरेमोनियल प्रकृतिको हुन्छ ।
विगतमा दाइले राजसंस्था र हिन्दु राज्यको कुरा गर्दा मलाई पनि डर लागेको थियो । तर, आज सबै जनताले हिन्दू राज्यको कुरा गर्न थालेका छन् । यसैगरी राजसंस्थाको पनि बहस हुनेछ भविश्यमा ।

पूर्वराजासँग तपाईंको भेटघाट हुन्छ ?

छुट्टै व्यक्तिगत भेटघाट भएको छैन । विवाह-व्रतवन्धमा कहिलेकाहीँ भेट भएको छ ।

पूर्वराजा चाहिँ नागरिक भएर आनन्दले बस्नुभएको छ, तपाईंहरुलाई चाहिँ उहाँलाई गद्दीमा राख्ने छट्पटी किन ?

मैले माथि नै भनेँ कि राजसंस्था हाम्रो सिद्धान्त हो । पूर्वराजाले कुन रुपमा लिनुभएको छ हामीलाई थाहा छैन । तर, हामी आफ्नो सिद्धान्तमा अडिग छौं ।

तपाईं गाउँमा जाँदा जनताले कस्तो रेस्पोन्स गर्छन् ?

विगतमा चुनावको मुखमा मात्रै नेताहरुको चहलؘपहल हुन्थ्यो । विकास-निर्माणका कुरा हुन्थे । अहिले मानिसहरुलाई नौलो भएको छ । सुरु-सुरुमा मैले बोलेका कुराहरुलाई धेरैले फोस्रो आश्वासनका रुपमा लिए । गरेर देखाएपछि मप्रति विश्वास बढिरहेको छ ।

अरु कुनै काममा हात हाल्ने सोच्नुभएको छ कि छैन ?

केही सोचेको छैन । मैले चाहेको भए अहिले पनि बिजनेस व्यापार गरेर पैसा कमाउन सक्थेँ । त्यसमा आफ्नो राजनीतिक पहुँचको दुरुपयोग गर्न सक्थेँ । गाउँ-गाउँ डुलेर दुख गरेर हिँड्न पर्दैनथ्यो । तर, पैसा कमाउनेभन्दा पनि आत्मसन्तुष्टिको खोजीमा छु । मैले गाउँ-गाउँमा पुगेर जनतालाई जे वाचा गरेर आएको छु, त्यसलाई पूरा गर्नु नै अबको मेरो अभिष्ट हो ।

आफूले विगतमा गरेको कुनै गल्तिमा प्रायश्चित गर्नुभएको छ ?

मैले पश्चाताप गर्नुपर्ने कुनै कर्म गरेको छैन । नेपालीहरुको मानमर्दन गर्नेखालको कुनै काम गरेको छैन । आज मैले बोलेको कुरामा कमैलाई विश्वास होला, तर मेरो विश्वास यही छ कि समयले सबै प्रश्नको जवाफ दिनेछ मैले बोलिरहनुपर्दैन ।

३५ वर्षसम्म फुटबलमा लागेर देशलाई के दिएँ भन्ने ठान्नुहुन्छ ?

यो तपाईंहरुले मूल्यांकन गर्ने कुरा हो । मैले व्याख्या गर्न थालेँ भने एउटा किताब नै तयार हुन्छ । नेपाली फुटबल हिजो कस्तो थियो र भोलि कस्तो हुनेछ ।

किताब त लेख्दै हुनुहुन्छ क्यारे, यही व्याख्या गर्नलाई त होला नि ?

हो, लेख्दैछु । आफ्नो बखान गर्नलाई होइन, जीवनका अनुभूतिहरु सेयर गर्नलाई लेख्दैछु । पछिल्ला घटनाक्रमहरु अपडेट गर्नुपर्ने भएकाले लेखनमा अलिकति ढिलाइ भएको छ ।

(तस्बिरः  श्रीधर पौडेल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment