Comments Add Comment

गर्मीका कारण तराईको जनजीवन अस्तव्यस्त

Garmi,-Rikshwa१८ वैशाख, धनुषा । धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लामा केही दिनदेखि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

तापक्रम बढ्नुको साथै चल्ने तातो हावा, हुरी, धुलो सँगैसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावा हुरीकै कारण आँप, हरियो तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिकी कष्टकर बनेको छ ।

तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्न गाह्रो भएको छ । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुन थालेका छन् । हावा हुरी उडाएको धुलोका कारण आँखा दुख्ने समस्या बढेको छ ।

तातो हावा, हुरीकै कारण बजार सुनसान देखिन थालेको छ । लगातारको तातो हावाले किसानको खेतमा रहेको लहरे तरकारी लौका, काक्रो र करेला सुक्न थालेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ । पश्चिमबाट आउने तातो हावाले जमिन सुक्खा भएर लहरे तरकारी बाली उत्पादनमा ह्रास आउनुका साथै सुक्न थालेको हो ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जनकपुरका अनुसार शुक्रबारको तापक्रम ४०.८ डिग्री मापन गरिएको छ ।

लामो समयदेखि पानी नपरेका कारण गर्मी बढ्दै गएको मौसम विभागको भनाइ छ । वैशाख महिनाको दोस्रो सातामै गर्मीको पारो ४० डिग्रीभन्दा माथि गइसकेकाले आगामी दिनमा तापक्रम अभै बढी हुनसक्ने सम्भावना बढेको छ । वर्षा हुने सम्भावना थोरै रहेकाले आगामी दिनमा पनि गर्मीबाट राहत मिल्ने अवस्था नदेखिएको फिल्ड कार्यालयका प्राविधिक राजेन्द्र राउतले बताए ।

शैक्षिक सत्र सुरु भएको दुई साता नबित्दै प्रचण्ड गर्मी कारण विद्यालय जाने साना बालबालिकालाई निकै कठिनाइ भएको छ । कक्षा कोठामा झ्याल नभएको र विद्युत् भार कटौतीको कारण पङ्खासमेत नचल्ने भएकाले झनै समस्या बढेको छ ।

यता गर्मी बढेसँंगै महिना दिनदेखि ग्रामीण क्षेत्रमा ठेउलाको प्रकोप देखा परेको छ । प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका सिनियर अहेव अशोक साहका अनुसार अस्पतालमा मात्र दैनिक पाँचदेखि सातजनासम्म यस्ता बिरामी आउने गरेका छन् । सुरुमा जीउ र टाउको दुख्ने, ज्वरो आउने, शरीरभरि रातो फोका आउने र पछि पाकेर दुख्ने लक्षण देखिएको छ ।

ठेउलाबाट सबैभन्दा बढी पाँच वर्षमुनिका बालबालिका सङ्क्रमित भएको अस्पतालले जनाएको छ । सङ्क्रमण भएपछि बिरामीले खाना नरुचाउने, पानीसमेत निल्न गाह्रो हुने, फोका पाकेपछि चिलाउने पोल्ने लक्षणका कारण बिरामीले सास्ती पाउने गरेका छन् । डा वसन्त साहका अनुसार ठेउलाको सङ्क्रमण भेरिसेला जोस्टर नामक भाइरसको कारण देखा परेको हो ।

श्वासप्रश्वासको माध्यमदेखि रोगीसँगको संसर्गबाट समेत रोग फैलने हुँदा यसले प्रकोपको रुप लिएको डा साहले बताउनुभयो । अहिले बाहिर निस्किँदा छाता प्रयोग गर्नुपर्ने, चिसो पानी प्रसस्त पिउनु पर्ने र चिसो फलफूल मेवा, उखु, तरभुजा, काँक्रा आदिको सेवन अत्यधिक गर्नुपर्ने डा साहले सल्लाह दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment