Comments Add Comment

आन्तरिक पर्यटकको रोजाइ बनेको घान्द्रुक कस्तो छ ?

ghandruk-2
१८ वैशाख, बुटवल । पर्यटक भनेकै विदेशी पाहुना ठान्ने अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसायीलाई यस वर्ष भने दिगो पर्यटनको प्रमुख आधार भनेकै आन्तरिक पर्यटक हो भन्ने महसुस भएको छ ।

गत वैशाखको भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण बाह्य पर्यटकबाट थलिएको अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यटनलाई गएको वर्षभरि आन्तरिक पर्यटकले धानेको छ ।

भूकम्पपछि दशैं तिहारको विदाको समयमा दैनिक दुई–तीन सयको अनुपातमा आन्तरिक पर्यटक अन्नपूर्ण पदमार्गको प्रथम पर्यटकीय विश्रामस्थल घान्द्रुक भित्रिएका थिए । लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकांश पर्यटकको प्रमुख रोजाइ घान्द्रुक क्षेत्र नै थियो ।

यस वर्षको भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण विदेशमा नकारात्मक सन्देश प्रवाह भई घान्द्रुकको पर्यटनलाई नराम्रो सँग असर पारेको घान्द्रुक होटल व्यवसायी सङ्घका अध्यक्ष किसम गुरुड बताउँछन् – “यस वर्ष सबैभन्दा दुःख नाकाबन्दीबाट भयो । बन्द गर्न पनि नहुने, चलाउन पनि निक्कै गाह्रो ।”

भूकम्प र नाकाबन्दीबाट विदेशी पर्यटकहरुको आगमनमा अझै पनि सुधार हुन नसकेको उनको दुखेसो छ । भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण पर्यटक आगमनमा कमी आएको भएपनि यसलाई पूरै धान्ने गरी आन्तरिक पर्यटकहरुको घुइँचो निक्कै बढेर ‘दिगो पर्यटनको मुख्य आधार नै आन्तरिक पर्यटन हो’ भन्ने राम्रो पाठ भूकम्प र नाकाबन्दीले घान्द्रुकका पर्यटन व्यवसायीलाई सिकाएको अध्यक्ष गुरुङ भन्छन् ।

घान्द्रुकको पर्यटनको महत्वपूर्ण विशेषता हो – समुदायमा आधारित पर्यटन । यहाँका पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको सम्बन्धले नै यहाँको पर्यटन व्यवसायले फड्को मारेको अध्यक्ष गुरुङको बुझाइ छ । उनी भन्छन्– “यहाँका पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको राम्रो सम्बन्धले नै यहाँका सबैमा घान्द्रुक आउने पर्यटक आफ्नै पाहुना हुन् भन्ने अनुभूति दिलाएको छ ।”

छ हजार ७ सय फिट उचाइमा रहेको घान्द्रुक पुग्न कास्कीको नयाँपुल पुगेर गाडीबाट ओर्लिएपछि करिव पाँच घन्टा पैदल हिँड्नुपर्छ । यो मार्गबाट हिँडेर घान्द्रुक पुग्न धेरै पर्यटकहरु लालायित हुने गरेका छन् । अझ यो महिनामा घान्द्रुक पुग्ने पर्यटकले वनपाखामा फुल्ने राताम्मे गुराँसको मोहकता पनि देख्न पाउँछन् ।

यहाँका सबै होटलको सेवा सुविधामा एकै किसिमको दर तय गरिएको छ । घान्द्रुकमा पुग्ने कोही पनि पर्यटकले आफ्नै रोजाइमा सेवा र सुविधा प्राप्त गर्न सक्दछ । “यहाँ सेवा सुविधाको मेनु समान कायम गरेका छौँ, हरेक वर्ष सामूहिक रुपमै यसलाई परिवर्तन गर्छौं” – अध्यक्ष गुरुङले भने ।

भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण गत वर्ष भन्दा यस वर्ष बाह्य पर्यटक आगमनमा ठूलो कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र घान्द्रुकको तथ्याङ्क छ । कार्यालयको तथ्याङ्क अनुसार सन् २०१४ मा अन्नपूर्ण आधार शिविरको पदयात्रामा लागि १ लाख २९ हजार ६ सय २४ विदेशी पर्यटक आएका थिए ।

सन् २०१५ मा यस क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या घटेर ७९ हजार पुगेको छ । यस अवधिमा अन्नपूर्ण साउथ अर्थात घान्द्रुक क्षेत्रबाट पदयात्रामा जाने पर्यटकको सङ्ख्या ३७ हजार रहेको थियो । यो पनि अघिल्लो वर्षको तुलनामा निक्कै कम हो ।

अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । विदा र फुर्सदको समयमा देशभित्रकै पर्यटकीय स्थलहरु घुमेर प्राकृतिक सौन्दर्यमा रमाउने नेपालीहरुको चाहनाले आन्तरिक पर्यटन फस्टाउन पुगेको हो ।

कोलाहल, प्रदूषण र व्यस्त जीवनबाट केही दिन टाढिएर पदयात्रामा रमाउने व्यवसायी, सरकारी, गैरसरकारी र वित्तीय संस्थाका कर्मचारी, दश जोड दुई र कलेजका विद्यार्थीको भरमा भूकम्प र नाकाबन्दीले थलिएको यहाँको पर्यटन व्यवसाय धानिएको छ ।

यहाँ ओइरिने विदेशी पर्यटक धान्न सक्ने गरी नै नेपालीबाट पनि व्यवसाय सञ्चालन हुने गरेको घान्द्रुकमा होटल व्यवसाय सञ्चालन गरिबसेका विक्रम गुरुड बताउँछन् । गुरुडका अनुसार सशस्त्र द्वन्द्वपछि यहाँ आन्तरिक पर्यटकको आगमन बढ्दै गएको हो ।

ghandruk
घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर जाने घोरेपानी पुनहिल क्षेत्रमा पश्चिम नेपालकै ठूलो गुराँसको जङ्गल रहेको छ । यो मार्गमा झण्डै १५ घण्टा गुराँस जङ्गलको बाटो हिँड्न पाएर पर्यटकहरु दङ्ग पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र घान्द्रुकका प्रमुख विदुर कुँइकेलको अनुभव छ ।

विदेशीहरुका लागि समयका हिसाबले छोटो, सस्तो र फरक फरक अनुभुति हुने यो पदमार्ग प्राकृतिक मनोरम र जैविक अनुसन्धानको हिसावले पनि आकर्षक गन्तव्य बन्दै आएको उनले बताए ।

यो पदमार्गको यात्रा कास्कीको बिरेठाटीबाट सुरु हुन्छ र अन्नपूर्ण आधार शिविरसम्म पुगेर फर्कंदा झण्डै ५ दिन लाग्छ । यात्राका बीचमा पर्यटकहरुले घान्द्रुक, सेनुवा, बम्बु, हिमालय, देउराली, माछापुच्छ्रे आधार शिविर जस्ता रमाइला स्थलहरुको अवलोकन गर्न पाउँछन् ।

चम्किला किरण छर्दै सूर्योदय हुँदा घान्द्रुकबाट सुन टल्किएकै भान हुने हिमशृङ्खलाको अद्भूत लहर दृश्यावलोकन गर्न सकिन्छ । आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने २० भन्दा बढी हिमचुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु यस क्षेत्रको आकर्षण हो ।

यस पदमार्गमा चैत–वैशाखमा करिव १५ प्रजातिका लालीगुराँस फुलेको देख्न पाइन्छ । पुस र माघमा सेताम्मे हिउँ पर्छ । पर्यटकहरुका लागि यो आधार शिविर क्षेत्रमा आकर्षक हिमालहरुको मनोरम दृश्य आँखा अगाडि नै पर्ने हुनाले आधार शिविरसम्मको यात्रा सहज बन्ने गरेको कुँइकेल बताउँछन् ।

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । बिदा र फुर्सदको समयमा देशभित्रकै पर्यटकीय स्थल घुमेर प्राकृतिक सौन्दर्यमा रमाउने नेपालीहरुको चाहनाले गर्दा आन्तरिक पर्यटनको विकास हुँदै गएको हो ।

हिमशृङ्खला, सूर्योदय, ग्रामीण बस्ती, फरक संस्कृति, वन जङ्गल र मनोरम भूगोलको अवलोकन गर्न पाउँदा आफ्नो देश कस्तो रहेछ भनेर बुझ्ने अवसर पनि मिल्ने गरेको घान्द्रुकमा तीन दिन बिताएर फर्कनुभएका रुपन्देही व्यापार सङ्घका अध्यक्ष मोतीलाल पाण्डे बताउँछन् । पाण्डे नेतृत्वको सङ्घको सिङ्गो टोली नै केही दिन अघि घान्द्रुकमा तीन दिन बसेर संस्थाको रणनीतिक कार्ययोजना गोष्ठी सम्पन्न गरेर फर्किएको थियो ।

भूकम्पपछि सुरक्षित रहेका पदमार्गका बारेमा सकारात्मक सन्देश प्रवाहका साथै पर्यटन क्षेत्रलाई बन्द हडताल मुक्त बनाउन सकिए जुनसुकै पर्यटकीय गन्तव्यमा पनि पर्यटक आगमन बढेर जाने अध्यक्ष पाण्डेको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment