Comments Add Comment

एउटा एसएमएसले छुटाएको सम्बन्ध

गत साल पुस को महिना थियो । सायद महिनाको अन्तिम हप्ता जस्तो लाग्छ । सन्ध्या (नाम परिवर्तन) सँग फेसबुकमा साथी बनियो । एक हप्ताको अन्तरालपछि फेसबुकको म्यासेजमा सामान्य कुराहरु हुन थाले ।

मेरा बुबा आमाले मलाई नाम उच्चारण गरेर कहिल्यै नबोलाएका कारण ममा पनि नाम उच्चारण गरेर बोलाउने हिम्मत आएन । मैले उनलाई नानी भनेर सम्बोधन गर्न थालें । उनले पनि त्यसलाई सहज रुपमा लिन थालीन ।

एऋी नर्सिङ अध्ययनरत उनी हाल आइओएम अन्तर्गत विराटनगरमा अध्ययनरत छिन् । उनीसँग कुरा हुँदैगर्दा मैले उनको परिवारका बारेमा जान्न चाँहे र मैले उनलाई प्रश्न गर्दै भने

परिवारका बारेमा जान्न सक्छु ?

उनले भनिन्ः के कुरा होला अवस्य सक्नुहुन्छ ।

मैले सोधेंः  परिवारमा कोको हुनुहुन्छ ?

उनले हाँस्दैै भनिन्ः हा हा हा चार जना । ममी, बाबा, बहिनी अनि म ।

मैले भनेंः ओहो, कति सुखी परिवार रहेछ है ?

लगत्तै उनले सोधिन्ः हजुरको नि ?
मैले जवाफ दिएँः हजुरआमा, बाबा, ममी, दिदी अनि म ।

उनले पनि त्यस्तै जवाफ फर्काइन् हजुरको पनि सुखी परिवार रहेछ नि ।

उनले यसो भनिरहँदा मलाई कता कता नरमाइलो लागिरहेको थियो । हामी दिन दिनै नजिकिँदै गएका थियौं । अझ उनको परिवारमा दादा भाइ नभएको उनले परिवारका बारेमा जानकारी गराउँदै गर्दा थाहा पाएँ उतिबेलै ममा एक प्रकारको अन्तरंग पैदा भैसकेको थियो । जसका कारण अझ उनीप्रति म नजिक भएको अनुभूति गरें ।

arjun adhikariम कल्पनाको संसारमा डुब्न थालें । उनका लागि म दाजुभाइ लगायत सबै थोक बन्ने छु । मैले उनलाई त्यस्तो माया दिनेछु, जसले उसको जीवनमा नै ठूलो परिवर्तन आओस् । मेरो मनमा यस्ता यस्तै कुराहरु खेल्न थाले ।

उनी बिराटनगर देवकोटा चोक नजिकै रहेको आइओएमको होस्टलमा बसेकी छिन् । नर्सिङ पेशा भएर पनि होला उनी धेरै मेहनती, लगनशील छिन् । सुरुसुरुमा उनका सबै कुरा मैले बुझेको थिएँ, न त मलाई उनले नै बुझ्न सकेकी थिइन् । तर, हामी गहिरो प्रेममा  डुब्न थालिसकेका थियौं ।

उमेरले उनी मभन्दा चार बर्षले कान्छी थिइन् । हामी एक अर्का बीच नजिकिन थालिसकेका थियौं । हामीबीच दुःख-सुखका अन्नतरंग कुराहरु हुन थालिसकेका थिए । हामी फोनमा घण्टौैं गफिन्थ्यौं ।

यसैवीचमा मैले उनलाई प्रेम प्रस्ताव राखें । उनले मेरो प्रेम प्रस्तावलाई सहजै स्वीकारिन् । त्यसपछि हामी प्रेमीप्रेमिकाका रुपमा र सँगै जिउने बाचा गरेर अगाडि बढ्ने निर्णयमा पुग्यौं ।

त्यही सिलसिलामा एक दिन मैले उनलाई नराम्रोसँग ढाँटेको छु । उनको मन बुझ्न मैले आफू बिराटनगरमा रहेको कुरा सुनाएँ । बुधबारको दिन थियो ।  एक मिनेट भेट्न मिल्दैन सानु ?

उनले जवाफ फर्काइन् म होस्टेलमा छु, साँझको समय भयो निस्कन मिल्दैन । भोलि झापा विवाहमा जानुछ । त्यही समयमा भेट्छु नि है । उनले मायालु स्वरमा भनिन् । उनको त्यो आवाजले मलाई अत्यन्तै आनन्दित तुल्याएको थियो ।

हामी प्रेमी प्रेमिकाका रुपमा कुराहरु आदान-प्रदान हुँदै गए । जति नहुँदा खटपट हुन्थ्यो, भएपछि त्यति खटपट नहुँदोरहेछ । मैले उनलाई त्यसको भोलिपल्ट बिहानै फोन गरें । तेस्रो घण्टीमा फोन उठ्यो । त्यतिखेरै मैले ढाँटिसकेको थिए । उनलाई मैले भनें सरी, म इमरजेन्सी कामले गर्दा आजै काठमाण्डौं जानुपर्नेभयो । म एक हप्तापछि आउँछु, अनि भेटौला । उनले दुखेसो गर्दै हुन्छ भनिन् ।  तर, चाँडै आउनु ल भन्न भने छुटाइनन् ।

एकदिन उनले भनिन् साथीहरुले थाहा पाउँछन्, मैले मिस्कल एसएमएस नगरेसम्म फोन नगर्नु ल भनिन् । मैले ओके भनें । उनमा असहजता भएर पनि होला, हामीवीच कुराहरु बिहान र बेलुका गरी जम्मा दुईपटक हुन थाल्यो । उनले खबर नगरेसम्म म फोन गदिर्ँन थें ।

म उनको प्रेमको गहिराइसम्म पुगिसकेको थिएँ । हामीवीच कुनै शंका उपशंका थिएनन् । थिए त बस् जीवनका सफलताका बाटाहरुको खोजी मात्रै

सायद उनले पनि मेरा आनीबानी मन पराउँदै गएरै हुनुपछ, फाल्गुन ३ गते साँझको समय थियो, म घरबाट अनामनगरतिर निस्किएको थिएँ । एक्कासी मेरो मोवाइलको घन्टी बज्यो । मैले गोजीमा राखेको मोवाइल बाहिर निकालें उनै सन्ध्याले फोन गरेकी रहिछन् । उनी होस्टेलमा बसेर अध्ययन गरिरहेकी विद्यार्थी । उनीसँग अनावश्यक खर्च गर्ने पैसा हुँदैन भन्ने सोचेर सधैंझै उनको फोन मैले रिजेक्ट गरे ।

मैले लगत्तै उनको मोवाइल नम्बर दबाएँ । हामीवीच करिब आधा घण्टा कुराहरु भए । उनलाई पारिवारिक कुरा गर्न मन लागेको रहेछ । घर परिवार छाडेर बसेकी उनले भावुक बन्दै कयौ कुराहरु ममाझ सेयर गरिन् । एक वर्ष बिताइसकेकी उनलाई मैले सम्झाएँ बाँकी दुई वर्ष चाँडै बित्छ । किन पीर गछयौ । उनको ठुलो ममीको घर बिराटनगर मै छ । विदाका दिनहरुमा उनी ठूलो ममीको घरमा जाने गरेकी रहिछन् ।

उनले समयमा खाइन् कि खाइनन् त्यो मेरो पहिलो प्राथमिकतामा पथ्र्यो । एउटा प्रेमीले प्रेमिकाको विषयमा सोच्ने कुरा नै यही हो । किनकि म उनको प्रेमको गहिराइसम्म पुगिसकेको थिएँ । हामीवीच कुनै शंका उपशंका थिएनन् । थिए त बस् जीवनका सफलताका बाटाहरुको खोजी मात्रै ।

छोटो समयमा नजिक भए पनि यौनका विषयमा कुरा कोट्याउने जमर्को सम्म हामीले गरेनौं । हाम्रो प्राथमिकताको विषय यौन थिएन । मलाई अहिले पनि याद आउँछ, चैत्रको पहिलो साता जस्तो लाग्छ, झापा ठूलोममी कहाँ उनी गएकी थिइ । ठूलोममीले खर्च गर्न भनेर दिएको तीन हजार रुपैयाँ उनले होस्टेलबाटै हराइन् त्यो कुरा मलाई मात्रै भनिन् । तीन हजार रुपैयाँ ठूलो कुरा हैन, तर घर परिवारबाट टाढा रहेर अध्ययन गरिरहेकी उनका लागि त्यो तीन हजार तीन लाख जस्तो थियो ।

उनले विहान भालेको डाकसँगै मलाई फोन गरिन् र रुन्चे स्वरमा भनिन् मेरो तीन हजार रुपैयाँ कोठाबाटै हरायो । मैले एकछिन जवाफ फर्काउन सकिँन । उनलाई आवश्यक परेको थियो भन्ने बुझिसकेको थिएँ । एकछिनपछि मैले उनलाई भनें बाटोमा झर्यो होला हुन्देउ । मैले त्यही दिन आइएमई गरेर पैसाँ पठाइदिएँ ।

चैत्र १० गते उनले मलाई बिराटनगर आउन भनिन् । जतिबेला मेरी आमा वीर अस्पतालमा उपचार गराइरहेको थिएँ । मैले त्यो कुरा उनलाई सुनाएँ । दिनहुँ उनले ममीका बारेमा चासो र चिन्ता राख्न थालिन् । कहिले अस्पतालबाट डिस्चार्ज हुन्छ ?

हस्पिटलमा १५ दिनको बसाइ पछि हामी घर आयौं । उनको अनुहारमा पनि खुसी छाउन थाल्यो । कारण थियो, नयाँ बर्ष भन्दा अगाडि नै मलाई भेट्ने । उनले भनेअनुसार नै म चैत्र २६ गते बिराटनगर प्रस्थान गरें । म आएको खबरले उनमा खुसीको सीमा नै थिएन  । त्यो दिन हामीले भेट्न सक्ने अवस्था पनि थिएन । किनकि शनिबार मात्रै उनको बिदा मिल्थ्यो ।

हामीले शनिबार बिहान ८ बजे भेटेर जोगवनी जाने निर्णय गर्यौं  । सो रात म इटहरी बसें । बिहान  सबेरै उठेर देवकोटा चोकमा पुगें । उनले फोन गरिन् । मैले उनलाई देवकोटा चोकमा भएको कुरा सुनाए । ५ मिनेटमा उनी म भएको स्थानमा आइन् । हामी रिक्सा लिएर जोगवनी गयौं । त्यही यात्राका क्रममा धेरै जीवनका अन्तरंग कुराहरु भए ।

फोनमै सबै कुराहरु भएकाले भेटमा पनि त्यस्तो नौलो र नयाँ कुरा गर्नुपर्ने केही थिएन  । उनले खाना खाँदै गर्दा भनिन् म जेठमा काठमाडौं आउँछु । हामी गोदावारी घुम्न जाने है । अनि फोटाहरु पनि खिच्ने । मैले हुन्छ भने । किनकि म उनको खुसी नै आफ्नो खुसी ठान्न थालिसकेको थिएँ ।

म उनको प्रेमको गहिराइसम्म पुगिसकेको थिएँ । हामीवीच कुनै शंका उपशंका थिएनन् । थिए त बस् जीवनका सफलताका बाटाहरुको खोजी मात्रै

खाना खाएर उनलाई लिएर म उनी बस्ने होस्टेलतर्फ लागें । बाटामा एक्कासी उनले कुरा निकालिन् तपाईको त घरमा पनि थाहा छ, मेरो त घरमा पनि थाहा छैन । म एकैचोटि अब दुई वर्षपछि हाम्रो सम्बन्धका बारेमा जानकारी गराउँछु है । मैले तिमीलाई सहज हुने गरी कुरा गर भनेर म काठमाण्डौंतर्फ लागे । उनी होस्टल भित्र लागिन् ।

उनीसँगको त्यो भेटपछि हामी दुवैको मन चङ्गा बनेको थियो । फोन हुदै गयो । नयाँ बर्ष पनि प्रारम्भ भयो । दिनभरि एक अर्काप्रति नयाँ बर्षको शुभकामना आदान-प्रदान भए । उनी नयाँ वर्षमा ठूलोममीको घर गइन् । उनकै शर्तअनुसार मैले उनको मिस्ड कल र एसएमएसको पर्खाइमा ५२ घण्टा बिताएँ । मेरो मनमा खटपटी चल्न थाल्यो । एउटा व्यक्तिले निस्वार्थ गरेको प्रेममा यस्तो हुनु स्वाभाविक पनि थियो । किनकि उनलाई मैले मन भित्रैबाट माया गरेको थिएँ । तर, मेरो मनले मानेन मैले ५२ घण्टाको पर्खाइपछि उनलाई मोवाइलमा एसएमएस पठाएँ ।

उनले एक घण्टापछि रिप्लाई दिइन् । त्यो पनि रिसाएर पठाएको जस्तो थियो । मैले सो म्यासेजले चित्त बुझाउन नसकेपछि एक पटक मोवाइलमा फोन गरें । तर, फोन काटियो र म्यासेज आयो आफुलाई परिवारसँग भएका बेला म्यासेज गरेको र फोन गरेको बाहानाबाजी बुन्दै उनले आफ्नो पछाडि नलाग्न भनिन् ।

मैले उनलाई घण्टौं फोनमा सम्झाएँ । तर, उनले बुझ्ने कोशिससम्म पनि गरिनन् । हाम्रो सम्बन्धका बारेमा ठूलोममीको छोराले थाहा पाएर गाली गरेको कारणले पनि हुन सक्छ उनमा यस्तो कठोरपना आएको । तर, जति कोसिस गरे पनि मैले उनलाई सम्झाउन सकिँन ।

अन्ततः उनले त्यही एउटा म्यासेजको निहुँमा मबाट सदाका लागि टाढा हुने निर्णय लिन पुगिन् ।

आज उनलाई खुसी लागेको होला । तर, दीर्घकालीन सोचमा उनलाई आत्मग्लानी अवश्य होला । किनकि मैले हिजो, आज र भोलि उनलाई निस्वार्थ माया र सहयोग गरि नै रहने छु । उनी सदैव खुसी र सफल भएको हेर्न चाहन्छु । मलाई आशा छ एक दिन उनीबाट मेरो मायाको सच्चा मूल्याङ्कन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment