Comments Add Comment

दुई लाख तिर्नुस्, इन्जिनियर बन्नुस् !

प्रहरी भन्छ- लहरो तान्दा पहरो थर्कियो

duplicate engineer
नक्कली इन्जिनियरहरू

१९ वैशाख, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली डाक्टरविरुद्ध चलाएको अपरेशनपछि अपराध महाशाखाले सामाजकै अर्को प्रतिष्ठित पेशा मानिने नक्कली इन्जिनियरहरुविरुद्ध कार्वाही सुरु गरेको छ ।

इन्जिनियरिङ पढे पनि फेल भएपछि नक्कली प्रमाणपत्र खरिद गरेर इन्जिनियर बन्नेहरु अपराध महाशाखाको कार्वाहीमा परेका छन् । नक्कली प्रमाणपत्रको काण्डमा नोटरी पब्लिक पनि मुछिएको छ ।

दुई लाखमा इन्जिनियरको प्रमाणपत्र

प्रहरीको अनुसन्धानबाट गिरोहले दुई लाख तिरेमा इन्जिनियर बनेको नक्कली प्रमाणपत्र बनाइदिने गरेको पाइएको छ ।

काठमाडौं बौद्धका सन्तोष लामा अहिले महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । उनी कुनै चोरी वा अन्य जघन्य अपराधको आरोपमा प्रहरी हिरासतमा पुगेका होइनन् ।

उनी हाम्जा प्रोजेक्टका इन्जिनियर हुन् । तर लामाले इन्जिनियर भन्दै जुन शैक्षिक प्रमाणपत्र पेश गरेका थिए त्यो नक्कली पाइएपछि अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

२००६ सालमा पोखरा विश्वविद्यालय अन्तर्गतको भक्तपुर इन्जिनियरीङ कलेजमा इन्जिनियर पढ्न पुगेका लामा ८ सेमेष्टरसम्म पढ्दा प्राय सबै सेमेस्टरमा फेल भए । पास आउट हुने वर्ष अर्थात २०१० सम्म आउँदा पनि उनले पासै भएर  इन्जिनियर हुने छाँट देखेनन् ।

त्यहिक्रममा उनको ललितपुरका अंकित खड्कासँग चिनजान भयो । उनै अंकितले पोखरा विश्वविद्यालयमा राम्रो सम्बन्ध भएको मान्छे आफूले चिनेकाले पास गराउन सक्ने आश्वासन दिए ।

अंकितले त्यसका लागि साढे २ लाख रुपैंया आवश्यक पर्ने बताए । गुमिसकेको इन्जिनियर बन्ने सपना पूरा हुने भएपछि लामाले पनि आवश्यक रकम बुझाए ।

केही दिनपछि उत्कृष्ट नम्बरसहित पास भएको प्रमाणपत्र लामाको हात पर्‍यो । प्रमाणपत्र पाएपछि जब उनी कलेजमा ग्रेड सिट लिन पुगे तब थाहा पाए, आफूले पाएको प्रमाणपत्र नक्कली रहेछ ।

लामा नक्कली प्रमाणपत्रको विरुद्धमा गएनन् । बरु इन्जिनियरिङ परिषदमा दर्ता गरिदिए । जसबाट लामा इन्जिनियर कहलिए ।

कम्प्युटर डिजाइनरले बनाइदिए कैयौंलाई इन्जिनियर

Ankit Khadka and Subit Khadka

अपराध महाशाखाले पक्राउ गरेको मध्य सन्तोष लामा अंकितमार्फत नक्कली प्रमाणपत्र बनाएर इन्जिनियर बन्ने पहिलो व्यक्ति हुन् । अंकितले लामा बाहेक कयौंलाई इन्जिनियर बनाइदिएको तथ्यांक महाशाखामा आइपुगेको छ ।

तीन दिनमा मात्रै महाशाखाले नक्कली प्रमाणपत्र बनाएर इन्जिनियर बनेको आरोपमा १० जनालाई पक्राउ गरिसकेको एसएसपी सर्वेन्द्र खनालले बताए ।

थप १० भन्दा बढी अनुसन्धानको घेरामा छन् । महाशाखाले पक्राउ गरेको अधिकांश एउटै ब्याजका छन् । एक अधिकृतका अनुसार सुरुमा एकले अर्कोलाई ल्याउने गरेर सबै एउटै ब्याजका परेका हुन् ।

२०१० ब्याजमा ७० जना रहेकामा ३० जना मात्रै पास भएका थिए । बाँकी सबै नक्कली प्रमाणपत्र बनाएर इन्जिनियर बनेको सूचना महाशाखाले पाएको छ ।

कसरी बन्छ नक्कली प्रमाण पत्र ?

ललितपुर गाबहालका २९ वर्षीय अंकित खड्का कम्प्युटर डिजाइनर हुन् । तिनै अंकितले थुपै्रलाई इन्जिनियर बनाइदिएका छन्, नक्कली प्रमाणपत्र बनाइदिएर ।

अंकितले सुरुमा एकजना मार्फत इन्जिनियरीङ पास भएको प्रमाणपत्र स्क्यान गरेर ल्याएका थिए । त्यसैलाई आधार बनाएर अरु नक्कली प्रमाणपत्र बनाउन थालेको अनुसन्धानबाट खुलेको छ । त्यसका लागि उनले एक जनाबाट दुईदेखि सात लाख रुपैयाँसम्म लिने गरेको पाइएको एसएसपी खनालले बताए ।

उनले बनाउने नक्कली प्रमाणपत्रमा विश्वविद्यालयको रजिस्ट्रेसन नम्बरलगायतका विवरणहरु सक्कली नै राख्दछन् । यदि कुनै विषयमा आफैं पास भएको छ भने त्यसमा त्यहि पास भएकै नम्बर राखिदिने र फेल भएको विषयमा आफूखुसी नम्बर मार्कसिटमा चढाइदिएर ‘पास’ लेखिएको नक्कली प्रमाणपत्र बनाइदिने गरेको प्रहरीले जनाएको छ ।

नक्कली प्रमाणपत्र नोटरी पब्लिकबाट प्रमाणित

Duplicate-Certificate-of-Engineerइन्जिनियरीङ पास भएपछि त्यसलाई इन्जिनियरीङ परिषदमा दर्ता गराउनु पर्छ । त्यसका लागि आवश्यक प्रमाणपत्रहरुको फोटोकपी नोटरी पब्लिकबाट प्रमाणित गराउनुपर्छ ।

प्रमाणित गर्नुअघि नोटरी पब्लिकले सक्कली प्रमाणपत्र पनि अध्ययन गर्नुपर्ने हुन्छ । तर, हचुवाको भरमा नोटरी पब्लिकले नक्कली सर्टिफिकेट प्रमाणित गरिदिएको पाइएको छ ।

नोटरी पब्लिकका सञ्चालकहरु दण्डपानी अधिकारी (दर्ता नम्बर १७९०), अम्बिकाप्रसाद मेनेङबो (दर्ता नम्बर १२३), गोपालदत्त पाण्डे (दर्ता नम्बर ०९५), विदुर खतिवडा (दर्ता नम्बर १३८७)ले नक्कली शैक्षिक प्रमाणपत्रको फोटोकपीलाई ठीक छ भनेर प्रमाणित गरिदिएको पाइएको अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ ।

डिजाइनर अंकितले नोटरी पब्लिकमार्फत फोटोकपी प्रमाणित गराउनेदेखि इन्जिनियरीङ परिषदमा लगेर दर्तासमेत गराइदिने गरेका थिए । यो काममा अंकितलाई सुबित खड्काले सघाउने गरेको प्रहरीले जनाएको छ । सुबित र अंकितलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र बनाउन प्रयोग हुने सरकारी किर्ते कागजात, छाप र उपकरणहरु प्रहरीले बरामद गरेको छ ।

कसरी सुरु भयो अपरेशन ?

अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई केहि दिनदेखि नक्कली प्रमाणपत्र बोकेर इन्जिनियर बनेकाहरुको बारेमा सूचना आएको थियो ।

त्यहि सूचनाको आधारमा महाशाखाको टोलीले इन्जिनियरीङ परिषदबाट केहि सूची लियो । त्यहि शंकास्पद सूचीको आधार सुरु भएको अनुसन्धानको पहिलो कारबाहीमा सन्तोष लामा परेका थिए ।

अपराध महाशाखाका प्रमुख खनाल भन्छन्, ‘त्यसपछि लहरो तान्दा पहरो थर्कियो भनेजस्तै भयो । एकपछि अर्को गर्दै नक्कली इन्जिनियरहरु पक्राउ पर्दै गएका छन् । कतिपय नक्कली प्रमाणपत्रधारी इन्जिनियरहरु विदेश पुगिसकेका छन् । नेपालमा भएकाहरुको खोजि गरिरहेका छौं ।’

यो पनि पढ्नुस्

एकसाता नबित्दै १० नक्कली इन्जिनियर पक्राउ

नक्कली ३ इन्जिनियर पक्राउ, कम्प्युटर डिजाइनर पनि समातिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment