Comments Add Comment

विजुलीको विल तिर्न जाँदा खुद्रा पैसा छैन भन्छन् तर, तपाईं नसहनुस्

धेरै मान्छेहरुले भन्ने गर्छन्, मुलुकमा यति धेरै भ्रष्टाचार छ । म के गर्न सक्छु ? म केही पनि गर्न सक्दिँन । यो भनाइको तात्पर्य के हो भने भ्रष्टाचार बढ्नुमा म आफैं पनि कारक हो । सामान्य अवस्थामा हामीलाई त्यस्तो लाग्दैन । तर, यसको अन्तिम नतिजा त्यही हुन्छ । म पदमा छैन, म के गर्न सक्छु र भन्ने हो भने ‘म’ भ्रष्टाचार गराउन सहयोगी भएको छ । त्यसकारण म केही गर्न सक्दिैन होइन, सक्छु भन्ने प्रतिवद्धता आवश्यक छ ।

Lila-Mani-Paudelयसका लागि धेरै ठूलो केही गर्नु पर्दैन । हामीले सामान्यतया गर्ने गल्ती कहाँ हो भने हामी एकैचोटी धेरै ठूलो परिवर्तन भएको देख्न खोज्छौं । कतिपय अवस्थामा अरु कोही आएर गरिदिओस् भन्ने ठान्छौं । आउँदैन कोही, समस्या झन् बल्भिmएर जान्छ । कुनै-कुनै बेला म प्रयास गर्छु, अलिकति प्रयास गर्दा मैले खोजेको जस्तो नतिजा आउँदैन । अनि आ…. यो गरेर हुँदैन भनेर निराश भएर छोडिदिन्छु । कतिपय अवस्थामा समाजमा राम्रा काम गर्ने मानिसहरु पनि हुन्छन् । उनीहरुलाई एउटै घानमा हालेर कुरा गरिदिन्छौं । कर्मचारीको कुरा गर्‍यो सबै भ्रष्टाचारी, व्यापारीको कुरा गर्‍यो सबै कालाबजारी, पत्रकारको कुरा गर्‍यो सबै एल्लो जर्नालिजम गर्नेहरु, प्रहरीको कुरा गर्‍यो सबै अपराधीलाई संरक्षण गर्नेहरु, राजनीतिज्ञको कुरा गर्‍यो सबै चोर फटाहहरु ।

यो सबैभन्दा खतरनाक हो । त्यसैले हामीले गर्नैपर्ने प्रण के हो भने सबैलाई बराबर देख्नेछैनौं । जो भ्रष्टाचारमा आफैं संलग्न छ, त्यस्तैले अफवाह फैलाउँछ, सबै भ्रष्टाचारी हुन् । त्यो भनेपछि असल मान्छेहरु निस्कन सक्दैनन्, अगाडि बढ्न सक्दैनन् र त्यस्तै मान्छेहरुको बोलवाला हुन्छ । कतै हामी पनि त्यस्तो सन्देश दिन त संलग्न भएका छैनौं ? अहिले भ्रष्टाचार विरोधी समाज बनाउने त्यस्ता मान्छेहरु हुन्, जसले सबैलाई एउटा डालोमा हालिदिन्छन् । अब हामीले छुट्याउनुपर्छ ।

अर्को कुरा म केही गर्न सक्दिँन, मैले गरेर हुँदैन भन्ने धारणा राख्नु हुँदैन । मैले गरेर हुन्छ र म गर्छु भन्नुपर्छ । र, म यस्तो कल्पना गर्ने हो कि मैले केही काम गरेँ भने भ्रष्टाचारजन्य काममा संलग्न हुन्नँ । म कुनै सरकारी अड्डामा गएर घुस दिन्नँ भनेर प्रतिज्ञा गर्नुपर्‍यो । तर, पहिलो गाँसमै ढुंगा ! तपाई कुनै अड्डामा जानुभयो भने, तपाईले पाउनु पर्ने स्वाभाविक न्याय पनि पाउनु भएन । अब तपाईँसँग दुई वटा बाटो हुन्छ ।

एउटा, अरुले जे गरेको छ, त्यस्तै गर्दै जाने । भनसुन अथवा खल्तीमा २/४ पैसा हालिदिने, आफ्नो काम पट्याउने हिँड्ने । अर्को बाटो, होइन म यो गर्दिँन भन्ने प्रतिज्ञा गर्नुभयो भने एउटा परीक्षा पास भयो । कक्षा एकको परीक्षा पास हुँदैमा ब्याचलर लेभल त पुग्दैन ।

भ्रष्टाचार विरोधी अभियानमा लाग्दा धेरै जोखिम खेप्नु पर्ने हुन्छ, पाइला-पाइलामा लात हानेर लडाउन खोज्छन्

तपाईंले धेरै चुनौतीहरु सामना गर्नुपर्ने हुनसक्छ । पैसाको सट्टा अरु धेरै त्याग गर्नुपर्ने हुनसक्छ । तपाईँको एक घन्टामा हुने कामका लागि दुई दिन छुट्टी लिनु पर्ने हुनसक्छ । कुनै मान्छेसँग विवाद गर्दा बैयक्तिक दुश्मनी हुनसक्छ । तपाईँले त्यसबाट व्यक्तिगत रुपमा धेरै नोक्सानीहरु खेप्नुपर्ने पनि हुनसक्छ । त्यो गर्न तपाई तयार हुनु भयो भने दोस्रो परीक्षा पास हुनु भयो । संसारमा यस्तो कहि पनि छैन, जहाँ अलिकति त्याग विना परिवर्तन भएको होस् । अहिले हाम्रो समाज जुन किसिमको भ्रष्टाचारजन्य समस्यामा छ । यदि हामीले यसको समाधान चाहान्छौं भने त्यसले हामीबाट कलिकति त्यागको अपेक्षा गरेको छ । अलिकति दुःख, कष्ट र जोखिमको पनि माग गरेको छ ।

तेस्रो स्टेपमा सबैभन्दा कठिन परीक्षा हुन्छ । त्यो भनेको समाजमा गलत काम गर्ने मान्छेहरुले गलत काम गरेर पर्याप्त फाइदा लिइरहेको हुन्छ । अब तपाईं त्यस विरोधी अभियानमा लाग्नुभयो भने तपाईँको प्रशंसाबाट सुरु हुन्छ । तपाईको प्रशंसा गर्न मान्छेहरु आउँछन् । तपाईँ त क्या राम्रो मान्छे, खुब राम्रो काम गर्नुभयो, मिलेर काम गरौं भन्छन् । तपाईँ त्यहाँ चिप्लिनु भयो भने अब अर्को परीक्षामा बस्नु पाउनु हुन्न ।

चिप्ल्याउन खोजेको हो मलाई, म त्याग्न पनि तयार छु, जोखिम उठाउँछु भन्नुभयो भने त्यतिबेला तपाईँलाई चिप्ल्याउन खोज्ने अस्त्रहरुले जोखिम उठाउँदा हुने नोक्सानीहरुबारे जानकारी गराउँछन् ।

तपाईँका आफन्त, शुभचिन्तक बनेर अलि नराम्रो पनि होला, दुःख पाउनु होला भन्छन् । अब पनि तपाई थाक्नु भएन भने धम्की आउँछ । व्यक्तिगत आक्रमण हुनथाल्छ । चरित्रमाथि मनगढन्ते कुनै आरोप लगाउन थालिन्छ र कमजोरी खोजेर खुइल्याउन खोजिन्छ ।

भ्रष्टाचारजन्य क्रियाकलाप गर्ने मान्छेले यति धेरै कमाएको हुन्छ कि सानो हिस्सा खर्च गर्‍यो भने पनि विरोधी अभियानमा लाग्ने मान्छेहरुलाई सजिलै पाखा लगाउन सकिन्छ भन्ने ठान्छ । त्यसकारण उनीहरु अब विस्तारै तपाईको मनोबल गिराउन लाग्छन् ।

विजुलीको विल तिर्न जाँदा खुद्रा पैसा छैन भन्छन् । ल्याउनुस् भन्नोस् । रिसाउनुहुन्छ, झर्किनुहुन्छ । तर, तपाई नसहनुस्

तपाईँ यसबाट पनि पछि हट्नु भएन र ज्याद्रो भएर भ्रष्टाचार गरेका मान्छेहरुलाई चुनौती दिन थाल्नुभयो भने ‘अब यो धेरै बकबक गर्‍यो, एकदुई चोटी थकाइदे, सक्यो भने सिध्याइदे,’ भन्छन् । बुझ्नु भो नि मैले भनेको । त्यसकारण भ्रष्टाचार विरोधी अभियानमा लाग्दा धेरै जोखिम खेप्नु पर्ने हुन्छ, पाइला-पाइलामा लात हानेर लडाउन खोज्छन् ।

तपाई मुख्य सचिव हुनुभयो । भ्रष्टाचारविरोधी ठूलाठूला गरेर हिँड्नु हुन्छ । खै त के गर्नुभयो भनेर प्रश्न मलाई पनि आउँछ । मैले भन्ने गरेको छु म, त्यसो भए तपाईँ चाहनुहुन्छ म पनि यतै लागौं । उहाँहरु चाहनुहुन्छ, म पनि त्यता लाइनमा लागूँ । किनभने मैले गरेर त केही भएकै छैन । त्यस्ता मान्छेहरु सबैभन्दा खतरनाक हुन् । किनभने नेपालमा सबै कर्मचारी भ्रष्टाचारी छैनन् । मानिलिनुस् ५० हजार कर्मचारी भ्रष्ट छन् । म लागिन भने के हुन्छ ? ४९ हजार ९९९ । त्यो परिर्वतन हो कि होइन ?

त्यसैले मेरो प्रश्न छ, ५० हजार भ्रष्टाचारी छन् भने म ५० हजार १ बनोस् भन्ने चाहनुहुन्छ ? होइन म ४९ हजार ९९९ बनाउन चाहन्छु । म जस्ता एक-एक जना तयार हुने हो भने परिवर्तन सम्भव छ । त्यसैले हामी मबाट र अहिलेबाट सुरु गर्छौं ।

त्यसैले मैले भन्न खोजेको के हो भने सरकारी कार्यालय जाँदा आजबाट अतिरिक्त शुल्क तिर्ने छैनौं भनेर एक्लाएक्लै प्रण गर्ने । तर, पर्‍यो भने सामूहिक हस्तक्षेप पनि गर्ने । तपाईहरु धेरै मोटरसाइकल चढ्नुहुन्छ । मोटरसाइकल, गाडी नविकरण गर्न जाने ठाउँमा धेरै खुस चल्छ । एक्लै जाँदा तपाईँले दुःख पाउन सक्नुहुन्छ । तर, मिलेर जाने र हामी यो कार्यालयमा घुस दिँदैनौं र न्यायोचित सेवा चाहिन्छ भन्नुभयो भने हेप्न सक्दैन ।

सबै ठाउँमा सामूहिक रुपमा जान पनि सकिँदैन । विजुलीको विल तिर्न जाँदा खुद्रा पैसा छैन भन्छन् । ल्याउनुस् भन्नोस् । रिसाउनुहुन्छ, झर्किनुहुन्छ । तर, तपाई नसहनुस् । सरकारी कार्यालयमा जाँदा कुनै गलत काम गर्न लगाइयो भने सहनशील नबन्नुस् । त्यही तपाईको सहनशीलता नै भ्रष्टाचार गर्ने मान्छेका लागि सबैभन्दा ठूलो सहयोगी बन्छ । तपाईँलाई सँधै त्यही व्यवहार गर्छ । तपाईँले मलाई त हतार छ भन्नुभयो भने ढिलो गराइदिन्छ र अतिरिक्त पैसा दिएर हिँडिहाल्छ भन्ने मानसिकता बुझेर दुःख दिन्छ । र, भ्रष्टाचार गर्ने मान्छले निरन्तरता, प्रोत्साहन हुन्छ । दलालहरु हतोत्साहित पनि गर्न खोज्छन् । त्यस्तो बेला तपाईंलाई संगठित शक्ति आवश्यक पर्न सक्छ । सञ्जाल बनाउनुस्, अफ्ठ्यारो परेका बेला सहयोग लिनुस् ।

(भ्रष्टाचारविरोधी अभियान अन्तरगत शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व मुख्य सचिव लिलामणि पौडेलले राखेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment