Comments Add Comment

रसुवामा पाशविक हत्याः ‘बोक्सो’ को आरोपमा जिउँदै गाडियो

हत्यामा आफन्तजन नै संलग्न रहेको प्रहरीको दाबी

१९, वैशाख, काठमाडौं । समाजमा अन्धविश्वासले जरा गाढेपछि मानवता हराउँदा रसुवामा एक व्यक्तिले जिउँदै गाडिनुपरेको छ । बोक्सोको आरोपमा नजिकका आफन्तले एक वृद्धलाई जिउँदै गाडेर हत्या गरेका छन् ।

Murderकरिब एक महिना अघिदेखि गाउँलेले लुकाएर राखेको यस हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

रसुवाको विकट गाउँ घुर्मु गाविसको यार्सा ९ का ५५ वर्षीय तुलु सार्की थिङको हत्या भएको घटना गाउँलेले नै लुकाएर राखे पनि प्रहरीको सफल अनुसन्धानबाट एक महिनापछि आरोपीहरु पक्राउ परेका छन् ।

तुलु सार्की थिङको हत्या आरोपमा प्रहरीले उनकै भतिज २७ बर्षीय कान्छा शेर्पा थिङ, ५० वर्षीय छेनुर्बु तामाङ र मृतककै भाइबुहारी पर्ने ४० बर्षीया ल्याङबुटे तामाङलाई जिल्ला प्रहरी कार्यालय रसुवाबाट निरीक्षक प्रमेश विष्टको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

ज्युँदै गाडियो

जिल्ला प्रहरी कार्यालय रसुवा इन्पेक्टर प्रमेश विष्टका अनुसार विगत एक वर्षदेखि विरामी भैरहेका आरोपी कान्छाका दाजु साङबो तामाङको गत चैत ४ गते निधन भएको थियो ।

साङबोेको मृत्यु तुुलुसार्की थिङले बोक्सो लागेका कारण भएको भन्दै भाइ कान्छासहितको समूहले ४ गते नै तुलुसार्कीलाई मलमूत्र खुवाएर कालोमोसो समेत दली गाउँबाट निकालेको प्रहरीको भनाइ छ ।

गाउँ निकालापछि श्रीमती र सन्तानलाई अन्तै पठाएर तुलु केरुङमा मजदूरी गर्न पुगे । तर, गाउँ निकाला गर्दा पनि चित्त नबुझेर कान्छा थिङसहितको समूहले तुलुसार्कीलाई विभिन्न बहाना बनाएर फेरि गाउँमा बोलाएको प्रहरी स्रोत बताउँछ ।

स्रोतका अनुसार आफन्तको विश्वासमा पुनः गाउँ फर्केका तुलुलाई कान्छा तामाङले वैशाख ४ गते बोलाएर आफ्नै घर लगे । करिब २५ मिनेट हिँडेर घरमा पुगेपछि रक्सी खुवाएर भतिज पर्ने कान्छा, बिरामी भएर मृत्यु भएका साङबोकी श्रीमतीसहितको समूहले दाउराको चिरपट, लाठी लगायतले आक्रमण गरे ।

आक्रमणबाट अर्धचेत भएपछि नजकैको सल्लाघारीमा लगेर खाल्डो खनेर गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनको टाउको बाहिरै निकालेर पुरिएको र टाउकोमा ठूलो ढुंगाले थिचेर हत्या गरिएको प्रहरीको भनाइ छ ।

गाउँलेले घटना लुकाए

चैतको अन्तिमतिर जिल्ला प्रहरी कार्यालय रसुवामा नजिकैको एउटा गाउँमा जिउँदै गाडेर मान्छेको हत्या सूचना आएपछि प्रहरीले सुराकी परिचालन गरेको थियो । इन्स्पेक्टर विष्ट आफैले यस घटनाको सुरुवातदेखि नै अनुसन्धान गरे ।

जिल्ला प्रहरी कार्यालयबाट करिब ४५ किलोमिटर टाढा भएको घटनाको बारेमा जानकारी दिन गाउँका कोही पनि तयार भएनन् । इन्सपेक्टर प्रमेश विष्टसहितको टोलीले एक साता लामो अनुसन्धानपछि र्घुमु यार्सामा मान्छे मारिएको एकिन गरेर पहिलो चरण कान्छा शेर्पा थिङलाई पक्राउ गर्‍यो ।

अनुसन्धानका क्रममा कान्छाले तुलुसार्कीको हत्या गरेको स्वीकार गरेपछि प्रहरीले घटनामा संलग्न अन्य दुईजना पक्राउ गर्‍यो । प्रहरीले तुलुसार्कीको शव ढुंगाले थिचेर पुरिएको अवस्थामा उत्खनन् गरेको थियो ।

रसुवाका डीएसपी अवदेश विष्ट भन्छन् -‘चैतमा पनि त्यही मान्छेलाई मानव मलमूत्र खुवाएर गाउँ निकाला गरिएको रहेछ, त्यो घटना लुकाउँदा तुलु सार्कीको ज्यान गयो ।’

‘हत्या गरिएको घरको आसपास खासै घरहरु थिएनन्, तर नजिकै रहेका गाउँलेहरुले थाहा पाए पनि प्रहरीलाई खबर गरेनन्’ डीएसपी विष्टले भने ।

अन्धविश्वासको पराकाष्टा: प्रहरी

बोक्सीको अन्धविश्वास अहिले पनि कस्तो अवस्थामा छ भन्ने रसुवाको घटना एउटा गतिलो उदारण भएको प्रहरी बताउँछ । तराईका जिल्लाहरु मात्रै होइन, पहाडी जिल्लाका गाउँमा पनि अझै बोक्सीजस्तो अन्धविश्वासका कारण तुलुले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।

डीएसपी विष्ट भन्छन्- ‘अहिले पनि बोक्सोको आरोपमा ज्युँदै गाडेर मान्छेको हत्या हुन्छ, त्यो पनि आफनै परिवारबाट । यस्ता घटना विरुद्धमा प्रहरी कठोर रुपमा प्रस्तुत हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment