Comments Add Comment

दर्जनौ गाउँहरुमा खानेपानीको हाहाकार

5water२० वैशाख, धनुषा । अत्याधिक गर्मी र लामो समय देखि वर्षा नहुँदा धनुषाको पूर्व पश्चिम राजमार्ग छेउछाऊका उत्तरी तथा पूर्वी भेगका दर्जनौ गाउँहरुमा खानेपानीको ठूलो समस्या सृजना भएको छ ।

लामो समय देखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या भएको छ ।

नक्टाझिज, ढल्केवर, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुर सहित दर्जन बढी गाउँहरुमा पानीको समस्या चर्किंदै गएको छ । मुहान धमाधम सुकेका छन् भने वनमा जतासुकै डढेलो देखिन्छ । सर्वसाधारण धारा र कुवामा रातभर लाइन बस्न बाध्य छन् । पानीको सतह भासिएको कारण इनार, बोरिङ, हातेपाइप, पोखरी लगायतका अधिकांश पानीका श्रोत सुकेको स्थानीयबासीहरु बताउँछन् ।

‘पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो,’ पुष्पवलपुर ३ का हिरण लामाले भने, ‘नुहाउने र सरसफाइ त टाढाको विषय भयो ।’ नुहाउनु परे गाउँले तीन घण्टा टाढासम्म पुग्न बाध्य भएको उनले बताए । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा, धुन र नुहाउनको लागि नै भनेर कमला नदी पुग्नु पर्ने बाध्यता रहेको छ ।

पानीको अभावले किसानले धानको बिउ समेत राख्न पाएका छैनन् । तत्कालिन लक्ष्मीनिवासमा झण्डै १० ओटा इनार छन् । तर सात ओटा इनारमा हिजोआज पानी पाउन छोडि सक्योे । तीनवटा इनारमा मात्र पानी छ । त्यो इनार पनि छिट्टै सुक्ने छाँटकाँट देखिन्छ । ती इनारमा दिनभरि पानी भर्ने महिला र पुरुषको लाम लाग्ने गर्छ ।

सामुदायिक वन उपभोक्ता महासंघ धनुषाका अध्यक्ष सोमप्रसाद शर्माको अनुसार अत्यधिक चुरे दोहनले चुरे क्षेत्र विनाशको कारण पानीको मुहानहरु सुक्न थालेकोले राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको हो ।

जनकपुरको पीडारीचोक, रमानन्द चोक, किशोरी नगर, आनन्द नगर लगायतका क्षेत्रमा वैशाखको पहिलो सातादेखि नै अधिकांश कल सुक्न थालेका छन् । १ सय देखि २ सय फिट सम्मको कल पुरै सुकेको छ भने २ सय ५० फिट र त्यो भन्दा बढी गाडिएका कलहरुमा समेत दिनभरि पानी नआउने समस्या देखिएको मुजेलियाका सतीश लाल कर्णले बताए ।

जिल्ला विकास समिति र संसदीय निर्वाचन क्षेत्र विकास कोषको अधिकांश रकम खानेपानी व्यवस्थापनमा खर्च हुने गरेपनि समस्याको स्थायी समाधान नदेखिएको उत्तरी भेगका बासिन्दाहरु बताउँछन् । गाउँ गाउँमा ठूला खानेपानी आयोजना निर्माण गरिदिन आम जनसमुदायको माग रहेको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment