Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्ज शून्य चोरी शिकार वर्ष मनाउन सफल

gaida_chitawan२० बैशाख, चितवन । नेपालको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जले लगातार दुई बर्ष शून्य चोरी शिकार बर्ष मनाउन सफल भएको छ । योसँगै निकुञ्जमा  लगातार दुई बर्ष अर्थात् ७ सय ३० दिनमा कुनै पनि वन्यजन्तुको चोरीशिकार हुन पाएन ।

शुन्य चोरी वर्ष मनाएकोमा संरक्षणकर्मीहरु उत्साहित बनेका छन् । दुर्लभ बन्यजन्तु एक सिङ्गे गैडा र पाटेबाघ संरक्षणमा नेपाली सेना, मध्यवर्ती क्षेत्रका स्थानिय र संरक्षणकर्मीकै पहलमा यो सफलता मिलेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँलले अनलाइनखबरलाई बताए ।

२०७१ वैशाख २० गते देखि ०७३ साल बैशाख २० सम्म आइपुग्दा निकुञ्जमा दुर्लभ एक सिँगे गैँडा, बाघ लगायत कुनै पनि जङ्गली जनावर चोर-सिकारीका कारण नमारिएकाले दुई बर्ष अर्थात् ७ सय ३० दिन शुन्य चोरी शिकार बर्ष  भएको कडेँलले बताए ।

निकुञ्जको तथ्याङ्कअनुसार चोरी सिकारबाट सबैभन्दा बढी आर्थिक वर्ष २०५८/५९ मा ३७ वटा र आर्थिक वर्ष २०५९/६० मा ३२ वटा गैँडा मारिएका थिए । कालगतिले मर्नेमा सबैभन्दा बढी आर्थिक वर्ष २०५५/५६ मा २३ वटा रहेका छन् ।

२०६९ मा आठ वटा, २०७० मा नौ वटा, २०७१ मा सात र २०७२ मा १० गैँडा मरेकोमा १/१ वटा तस्करले मारेका थिए । निकुञ्जको निगरानीमा कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेनासँगै नेपाल प्रहरी र उसको अपराध अनुसन्धान ब्युरोसमेत सशक्त रुपमा लागे पनि सेनाको गस्ती र पोट्रोलिङ्ग बढी प्रभावकारी बनेको कडँलले दावी गरे ।

यस्तै लगातार रुपमा शुन्य चोरी शिकार बर्ष मनाउन पाउदा आफुहरु निकै उत्साहित बनेको निकुञ्ज सुरक्षार्थ खटिएको श्री जगंगणका गणपति प्रमुख सेनानी माधव थापाले बताए । उनले भने-अब संरक्षणमा सेना सूचना प्रविधिको प्रयोगसँगै सशक्त रुपमा लाग्नेछ ।

यसअघि मारिए

यस अघि निकुञ्जले शुन्य चोरीशिकारी बर्ष मनाएको २० दिन पनि नबित्दै निकुञ्ज मुख्यालय कसरा नजिक एक गैडा तस्करले मारेका थिए । रातिको समयमा गोली हानी गैडा मारि बञ्चरो प्रयोग गरी खाग समेत काटेर तस्करले नै लगेका थिए ।

gaida_killedगैडा संरक्षणमा एक पछि अर्को सफलता पाउदै गएको निकुञ्जले नेपाली बर्ष २०७० लाई शुन्य चोरी शिकार बर्ष मनाएको २० दिन पनि नबित्दै २०७१ साल बैशाख १९ गते राति पश्चिम चितवनको जगतपुर-२ र ७ वडामा पर्ने प्रस्तावित दोभान मध्यवर्ती सामुदायिक वन भित्र गस्तीको क्रममा खटिएको निकुञ्जको एक टोलीले अन्दाजी २०-२५ बर्ष भाले गैडा मृत अवस्थामा फेला परेको थियो ।

यस्तो थियो सुरुवात

चितवन राष्ट्रिय निकुञ्ज देशकै पहिलो राष्ट्रिय निकुञ्ज हो । एक सिङ्गे गैडा र पाटे बाघका लागि प्रख्यात रहेको यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो  ।

२०४० सालमा विश्व सम्पदा सूचीमा सूचिकृत भएको थियो भने सुरुमा गैडागस्तीले जिम्मा लिएको निकुञ्जको सुरक्षा २०३२ सालदेखि नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको इतिहास छ । मुलुकमा चलेको १० बर्षे सशस्त्र द्वन्द्वको समयमा वन्यजुन्त संरक्षणमा निकै चुनौती खेपेको थियो ।

जसका कारण चितवनसहित देशैभरका विभिन्न निकुञ्ज तथा आरक्षमा रहेका दुर्लभ वन्यजन्तु तस्कारका निसानामा परेका थिए । जसमध्ये विश्वमा नै दुर्लभ मानिएको एक सिङ्गे गैडा, पाटे बाघ मुख्य निशानामा परे । धेरै मारिए । अनि संरक्षणमा बढी चासो बढ्यो ।

संरक्षणमा नेपाली सेना 

सेनाले २०६७ सालपछि प्रकृति संरक्षणलाई मुख्य प्राथमिकतामा राखि विभिन्न अवधारणा अपनाएपछि चोरी शिकार बर्ष मनाउन सफल भएको थियो । तत्कालिन नन्दाबक्स गणका गणपति रामचन्द्र केसी रहँदा सन् २०११ मा पहिलोपटक शुन्य चोरी शिकारी बर्ष मनाउन सफल भएको थियो ।

chitwan_armyत्यसैलगतै २०१३ मा तत्कालिन गणपति चक्र शाह रहँदा समेत शुन्य चोरी शिकार बर्ष मनाइएको थियो भने निकुञ्जका तत्कालिन प्रमुख संरक्षण अधिकृत कमलजंग कुवंर र २०७० चैत मा श्री जंग गण निकुञ्जमा आएपछि तत्कालिन समयका गणपति संजय देउजाको पहलमा वन वन्यजन्तुका लागि आधुनिक सूचना प्रविधि अपनाइएको थियो ।

गणपति देउजाकै पालामा सुरक्षा तालिम प्राप्त कुकुर, ड्रोन, महिला नेपाली सेना प्रयोग, मार्ट पोट्रोलिङ्ग र रियल टाईम मोनिटरिङ्ग प्रविधिबाट सुरक्षा गर्दै आएकोमा हाल सिसि क्यामरा जडान भएपछि हालसम्मकै सबैभन्दा धेरै ७ सय ३० दिन बढी शुन्य चोरी शिकार दिन मनाइएको छ ।

निकुञ्जमा सुरक्षाका लागि सेनाले थालेको अभियानलाई थप प्रभावकारी र गतिशिल बनाउन सिसि क्यामराको अवधारणासहित सेनाको सूचना प्रविधिको प्रयोग मार्फत संरक्षण कार्य अझै मजबुद बनाउने कामलाई जारी राखेको गणपति माधव थापाले बताए । यस्तै पछिल्लो पटक छिटो छरितो रुपमा निरीक्षण तथा अनुगमन गर्न मोटरसाइकल गस्ती समेत सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment