Comments Add Comment

वैदेशिक रोजगारीमा जानेहरुका लागि १० टिप्स

Golf country

२० वैशाख, काठमाडौं । कामका लागि विदेश जानेबारे सोच्दै हुनुहुन्छ ? पर्खनुस्, तपाईं विदेश जानुअघि केही आधारभूत कुरामा चुक्नुभयो भने तपाईंले भविष्यमा ठूलो दुःख पाउने सम्भावना हुन्छ ।

आफ्नो बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन कामदार आफैं सचेत हुनुको विकल्प छैन । दलालको फन्दामा परेर ठगिने सम्भावनालाई कम गर्न पनि तपाईंमा यस विषयमा सचेतना र जागरण आवश्यक छ ।

श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् ।

यसैकारण विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश र्फकन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्नेसम्म हुनसक्छ । त्यसैले रोजगारमा जाने व्यक्तिले आफ्नो विदेश यात्राबारे विभिन्न कुरामा ध्यान दिनैपर्छ ।

१. नहतारिनुस, सीप सिक्नुस्

विदेश जाने योजना हतारमा नबनाउनुस् । ‘हतारमा लतारपतार’ भन्ने नेपाली उखानलाई मनन गरेर सुझबुझपूर्ण तवरले काम गर्नुभयो भने तपाईंलाई विदेशमा हैरानी हुने छैन ।

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीले विदेशमा दुःख पाएको सुनिन्छ । त्यसमा एउटा महत्वपूर्ण कारण छ-‘अदक्षता ।’ तपाईंसँग विदेशमा गएर काम गर्न हातमा कुन सीप छ ? छैन भने सोच्नुस्-हातमा सीप नभएकाले विदेशमा के काम गर्लान् ? पक्का पनि त्यहाँ निकृष्ट प्रकारको श्रम गर्नुको विकल्प हुँदैन ।

म्यानपावरहरुले सीप नभएपनि कम्पनीहरुमा ‘यो काम, ऊ काम हुन्छ’ भन्लान् । तर, तपाईंसँग हातमा कुनै सीप छैन भने गाह्रो प्रकारको काम गर्नैपर्छ । आफुले जानेको काम गर्न विदेश जानुभयो भने आम्दानी पनि सोचेजस्तै हुन्छ ।

यो भाग्यमा हैन, सीपमा विश्वास गर्ने समय हो । त्यसैले आफैं सीप सिकेर भाग्य र भविष्य र्कोर्नुस् । सके देशमै काम गर्नुस्, वातावरण नमिले विदेशको लागि प्रयास गर्नुपर्छ ।

सिकेको सीपले तपाईंलाई सँधै बलियो बनाएर राख्नेछ । विदेश जाने मामिलामा हतारिनु प्रत्युत्पादक हुन सक्छ, सबै कुरा राम्रोसँग बुझेरमात्र त्यसका प्रक्रियामा अघि बढ्नुस् ।

२. वैधानिक संस्था समात्नुस्

तपाईं सकेसम्म कुनै व्यक्ति विशेष भरमा परेर अवैधानिक रुपमा विदेश नजानुहोला ।  त्यस्ताको साथमा लागेर म्यानपावर कम्पनी नजानुस्, सकेसम्म आफैं म्यानपारमा सिधा जानुस् । कुनै व्यक्तिले आफैं मिलाएर विदेश पठाउँछु भन्छ भने विनाआधार विश्वास नगर्नुस् ।

कन्सल्टेन्सी र्फम, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट वा अन्य कुनैपनि संस्थालाई वैदेशिक रोजगारमा पठाउने अधिकार छैन । यी कसैलाई पनि विदेश जाने आशामा रकम नदिनुस्, ठगिने सम्भावना हुन्छ ।

Baidesik-Rojgari-Manpawarसंस्थागत रुपमा कामदार विदेश पठाउने काम म्यानपावर कम्पनीले गर्छन् । तर, शहरमा सञ्चालनमा रहेका सबै म्यानपावर पनि सरकारबाट अनुमति लिएर चलेका छन् भन्ने निश्चित छैन ।

तपाइर्ंले विदेश जान सम्पर्क गरेको म्यानपावर कम्पनीले सरकारबाट इजाजत लिएको छ की छैन ? पहिलो चरणमा यसको उत्तर खोज्नुस् ।

म्यानपावरको काम कारवाही रोक्का भएको छ छैन ? खारेजीमा परेको छ छैन  ? यी कुरा बुझ्नुपर्छ । यो जानकारी तपाईंलाई वैदेशिक रोजगार विभागले दिन्छ ।

किन यस्तो झन्झट गर्नु ? भन्ने पटक्कै नसोच्नुस्, विभागको अनलाइनमा पनि म्यानपावरको विवरण हेर्न पाइन्छ । व्यक्तिगत प्रयासबाट भिसा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावास प्रमाणित सक्कल कागजातसहित श्रम स्वीकृति लिन सक्छ । कुन संस्था वा को मार्फत जाने हो त्यसका बारेमा यथेष्ठ जानकारी राख्नैपर्छ ।

३.काम, सुविधा र लागतबारे जानकार हुनुस्

रोजगारीका लागि कुन देश र कुन काममा जाने भने निर्णय तपाईंले लिने हो । त्यसका लागि लागि कति खर्च लाग्छ ? काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता ? करार अवधि लगायतका बारेमा राम्ररी जानकारी लिनुस् ।

म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कामका लागि कति अवधिभित्र, कति लागतमा पठाउने भन्ने एकीन गरेर भर्पाईका साथमा मात्रै सक्कल पासपोर्ट बुझाउनुस् ।

आफ्नो नाममा भिसा आएर विदेश निश्चित भएपछि म्यानपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनुस् । बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिएर सुरक्षित रुपमा राख्नुहोला । कुन देश जान कति रकम लाग्छ भन्ने जानकारी तपाईंले राख्नैपर्छ ।

पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएकोभन्दा बढी रकम कसैलाई नदिनुस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवा सर्तहरुबारे चित्त बुझेमा मात्र सम्झौतापत्रमा सही गर्नुपर्छ ।

सम्झौताको एकप्रति आफूसँग सुरक्षित पनि राख्नुहोला । एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुस्, दोहोरो सम्झौता गर्दा ठगिनुहोला ।

Dubai

४.आफु जाने देशबारे जानकारी राख्नुस्

विदेशमा काम गर्न जानु पक्का पनि सजिलो छैन, त्यसैले आफु जान लागेको देशको बारेमा राम्रो जानकारी राख्न आवश्यक छ । त्यो देशको भाषा संस्कृति, रहन-सहन, चालचलन, रितिरिवाज र कानूनको बारेमा साथिभाइ वा अग्रजसँग जानकारी लिनुस् ।

त्यहाँ पुगेर फर्किएकाहरु र त्यहाँ रेकाहरुसँग यस्ता जानकारी सजिलै पाइन्छ । आफू जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र क्याक्स नम्बर डायरीमा टिपेर साथैमा राख्नुपर्छ । अप्ठेरो त्यसले निकै सहयोग पुग्नेछ ।

५. श्रम, भिसा र पासपोर्टबारे सचेत हुनुस्

वैदेशिक रोजगारमा जान व्यक्तिगत र संस्थागत गरी २ किसिमका श्रम अनिुमति जारी गरिन्छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयबाट विदेश जाने श्रम स्वीकृति पाउन सकिन्छ ।

पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रुपले पुनःश्रम स्वीकृति (नविकरण) लिनुपर्छ । करार अवधि सकिएपछि पनि स्वीकृति बिना गैरकानूनी तरिकाबाट भिसाको म्याद भन्दा बढी समय नबस्नुस् ।

त्यसो गर्दा सम्बन्धित देशको कानून अनुसार कारवाही हुन सक्छ । आˆनो राहदानीको म्याद समयमा नै नवीकरण गर्नुपर्छ ।

६. बीमा गराउनुस्

विदेश जानुअघि सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुहोला । सरकारले तोकेको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिन नचुक्नुस् । विदेशबाट स्वास्थ्य परीक्षण्मा फेल भएर फर्किनु पेरमा यसले क्षतिपूर्ति माग्न आधार प्रदान गर्छ ।

सरकारले तोकेको बीमा कम्पनीमा करार अवधि अनुसार जीवन बीमा गराउनुस् । बीमाका लागि रकम बुझाएर रसिद लिनुस् र सुरक्षित राख्नुस् । बीमाको रकम नतिरी श्रम स्वीकृति पाइँदैन । बीमा शुल्क दलाललाई नबुझाउनुहोला, बीमा कम्पनीमै गएर रकम आफैंले बुझाउनुस् ।

७. अभिमुखीकरणमा सहभागी हुनुस्

विदेश जानुअघि अभिमुखीकरण तालिम पनि लिनु आवश्यक छ । यसले तपाईंलाई विदेशमा पर्ने समस्याहरुसँग जुध्न सहज गराउँछ ।

सरकारले तोकेको संस्थामा अनिवार्य रुपमा २ दिनको अभिमुखीकरण तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी  लिनुपर्छ ।

अभिमुखीकरण तालिमबाट आफु जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी हुन्छ । तपाईंले कमाएको पैसा वैधानिक रुपमा नेपाल पठाउने विधिबारे पनि जानकारी लिनुपर्छ ।

८. कागजात सुरक्षित राख्नुस्

वैदेशिक रोजगारीमा जान विदेश प्रस्थान गर्नु्अघि आफुले प्राप्त गरेका रोजगारसम्वद्ध सबै कागजातहरुको प्रतिलिपि एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्नुपर्छ ।

passport of nepalआफ्नो साथमा लिएर जानपर्ने सबै कागजातपत्रहरु रुजु गर्नुस् । किनकि अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर कागज नभएर समस्या झेल्नुपर्ने हुनसक्छ ।

कागजात तपाईंको कानुनी हतियार पनि हो । त्यसैले यसलाई परिवार र आफ्नो साथमा रहने सुनिश्चित गर्नुस् । विदेश जाँदा प्रतिवन्धित वस्तुहरु नबोक्नुहोला । विमानस्थल र विदेशमा पक्राउ पर्ने सम्भावना हुन्छ । के-के वस्तुहरु प्रतिवन्धित छन् भन्नेबारे तपाईंले पहिल्यै जानकारी लिनुपर्छ ।

९. विदेशी बाटोबाट नजानुस्

वैदेशिक रोजगारीमा ठगी गर्न सक्रियले विभिन्न बाहना बनाएर भारतीयसहित विदेशी एरपोर्टबाट लैजाने प्रलोभन देखाउन सक्छन् ।

कामका लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुस् । अन्यथा ठगिने सम्भावना अधीक हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुँदै हवाई टिकट पनि खरीद नगर्नुहोला । अन्य देशको विभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोला ।

यदि कसैले तपाईलाई ललाई-फकाई लैजाँदै छ, भने स्थानीय प्रहरीलाई खबर गर्नुपर्छ । लुकीछिपी जाँदा ठगिने, कानूनी कारबाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार पाउन कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने अवस्था आउँछ ।

१०.सूचना लिनुस्-दिनुस्

आफु ठगिए वा वैदेशिक रोजगारीबारे कुनै समस्या भएर सरकार वा प्रहरीलाई जानकारी दिन सकिन्छ । आफैं ठगिनुभयो वा विदेशमा उद्धारको प्रतिक्षामा हुनुहुन्छ भने नेपाल प्रहरीले सञ्चालनमा ल्याएको ९७७-११७७ नम्बरको हटलाइनमा सम्पर्क गर्न सकिन्छ । तपाईंलाई प्रहरीले आवश्यक सहयोग गर्नेछ ।

यस्तै सरकारको हटलाइन फोन नम्बर ९७७-१-४११२३५० मा टेलिफोन गरेर गुनासो टिपाउन र आवश्यक जानकारी लिन सकिन्छ । यस्तै वैदेशिक रोजगार प्रवर्द्धवन बोर्डको टोल फ्री नम्बर १६६००१५०००५ मा पनि आफ्ना समस्या राख्न सकिन्छ ।

कुनै पनि व्यक्तिले विदेश पठाइदिन्छु भनेर रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी, वैदेशिक रोजगार विभागमा सूचना दिनुपर्छ ।

मेनपावर कम्पनीको नाम ठेगाना परिवर्तन भएको कारणले सम्पर्क गर्न नसकिए विभागमा सम्पर्क गर्न सकिन्छ । पत्रपत्रिकामा प्रकाशित हुने वैदेशिक रोजगारीका सूचनाको आधिकारिकता बुझ्नु परेमा विभाग वा बोर्डमा सम्पर्क गर्न सकिन्छ ।

(वैदेशिक रोजगार विभागको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment