Comments Add Comment

साहित्यमा सिण्डिकेट र सुष्माको कविता

नेपाली साहित्यिक बजारमा पूर्णरूपमा सिण्डिकेट छ । साहित्यिक कोलम हेर्ने मिडियाका मित्र र मित्रहरू मिलेर नै साहित्य बजारको ठेक्कापट्टा लिएका छन् । यिनीहरूको गुट-उपगुट पनि छ । कसलार्इ कविको पगरी गुथाइदिने ।

कसलार्इ आख्यानकार भनिदिने, कसलार्इ समालोचकको रुपमा खडा गराइदिने भन्नेबारे उनीहरू निर्णय गर्छन् । अनि पापड, सलाद, भट्ट  र मासु खान्छन् । एउटा कवि जन्माउनका लागि एउटा कालो कफी उनीहरूका लागि काफी हुन्छ ।

दिल निसानि मगर
दिल निसानि मगर

मानौ उनीहरुको सम्बन्ध एउटा प्रकाशक, पत्रकारको र कविको रुपमा छैन । मित्र-मित्रको रुपमा छ । त्यसैले कविता प्रेमीहरुले हमेसा झूर कविता पढिरहनुपरेको छ ।

जतिसुकै गम्भीर कविता लेख्ने कवि वा कवियत्री किन नहोस्, यदि मिडियामा उस्को मित्र छैन भने उसको कविता छापिने सम्भावना नै छैन । बरू कपटी मित्रहरुले राम्रोलाई रोक्न कोशेली गर्छन्, थाहा नपाए जस्तो गर्छन् । आफै-आफै मात्र अघि सर्छन् । कसैले रुचाओस् न रुचाओस्, अघि सरेको छ, सरेको छ ।

यिनलाई पाठकहरूको रूचि कहाँ छ थाहा छैन । नयाँ पिँढीको चेतना, विचार र धारणाहरूलाई यी मोफसलको सिकारू भन्छन् । अस्तित्व स्वीकार गर्नै सक्दैनन् । बरू जबरजस्ती दबाउन खोज्छन् टाउको उठाउनै नदिने गरेर । तर, ती खुद आफैं भने खास गम्भीर केही लेख्दैनन् ।

मलाई अचम्म लाग्छ कि मुलधारे भनिएका अखबारका साहित्यिक कोलमहरू किन कुनै व्याक्तिका पेवा झैँ भएका छन् । उनीहरू किन सन्तुलित र समानुपातिक छैनन् । हिमालको भोटेले किन कविता लेख्दैन ? मधेसको चमारको मनमा कविता नै उब्जिन्न ?

प्रिय मित्रहरूको यस्तो किसिमको खतरनाक साहित्यिक सिण्डिकेटले नेपाली साहित्यलाई साँघुरो कुनामा खुम्चाइदिएको छ । आफ्नो प्रिय वाहेक अरू पनि कवि छन् यो मुलुकमा भन्ने चिज उनीहरुको दिमागमा कठोर लाग्दा लाग्दै पनि घुस्नू आवश्यक छ । केवल यो कविताको मात्र कुरा होइन । साहित्यका हरेक विधामा सिण्डिकेट छ । मुलधारका अखबारहरू अध्ययन गर्नुहोस्, हरेक साता, हरेक दिन, हरेक महिना वा हरेक वर्ष उही मित्रको प्रिय मित्र दोहोरिइरहन्छ ।

मिडियाको मित्र नचिने सम्म, उसँग नजिक नभएसम्म, जी हझुरी नगरेसम्म कवि, लेखक र कथाकारको दर्जा पाउन मुस्किल हुन्छ

केही समययता मुलधारे मिडियाका साहित्यिक कोलमहरूबारे मैले गहिरो अध्ययन गरिरहेको छु । नियालिरहेको छू । ती कोलम तयार पार्ने मनुष्य, कोलममा समेटिने विषयका पात्र र प्रवृत्तिहरूलाई संश्लेषण गर्दा खुब हाँसो लाग्छ । तिनीहरूको बस्ने आवास एउटै छ । संगै खाना खान्छन् । संगै सुत्छन् । संगै चिया पिउँछन् । संगै घुमफिर गर्छन् । तर, अखबारमा आउँदा एउटा बडो ठूलो पत्रकारका रुपमा निस्किन्छ, एउटा यो देशको होनाहार कविका रुपमा जन्मिन्छ । अनि सामाजिक सञ्जालमा चाहिँ “थ्याङ्कस दाइ” कविता छापिदिएकोमा रे ।

के नेपालि साहित्यको धरोहर दाइ र भाइको मात्र हो ? संगै चिया पिउने मित्रहरूको मात्र हो ? काठमाण्डौको नियमित जीवनसँग घुलमिल हुन सक्ने मानिसहरू मात्र यो देशका कवि हुन् ? लेखक हुन् ? कथाकार हुन् ?

मिडियाको मित्र नचिने सम्म, उसँग नजिक नभएसम्म, जी हझुरी नगरेसम्म कवि, लेखक र कथाकारको दर्जा पाउन मुस्किल हुन्छ ? के सिण्डिकेट पूर्ण अखबारका कोलमहरूमा आफ्नो कविता छपाउनका लागि कविता आवश्यक पर्दैन ? मित्र भए पुगिहाल्छ ?

यहाँ कस्तो रहेछ भने, साहित्य बजारका नाममा गुटबन्दी गरेर हिँड्ने, हुलबन्दी गरेर हिँड्ने । समूह-समूहका रुपमा अगाडि बढ्ने । तर ब्यर्थ, एकदमै फकिर । जस्तोसुकै पुस्तकलाई वाह ! खास्साको किताब ! भनेर लेपन लगाइदिने तर उस्को कलमले समाजलाई दिन खोजेको विचार र दिशा के हो थाहा नै छैन । उसले लेख्न खोजेको, भन्न खोजेको, अभिव्यक्त गर्न खोजेको, पहिचान गर्न खोजेको, प्रष्ट्याउन खोजेको मूल मर्म के हो, त्यो पनि थाहा छैन । बस, प्रिय चिनारू मित्र र हरेक दिनसँगै चिया पिउने प्रिय मित्रका आधारमा उ अखबारमा छापिन्छ ।

अनि यिनै मानसिहरू यति सङ्कूचित हुन्छन् नि मानौं कि उनीहरू अलौकिक हुन् । र, कुनै नयाँ ग्रहबाट पृथ्विमा फुत्त खसेका अजीव प्राणी हुन् । मानिस हुन् पनि, होइनन् पनि । यिनको बोली बहुमूल्य हुन्छ । प्रिय कवि ज्यू भनेन भने बिजुली झै चम्किन्छन् उनीहरू ।

डिजिटल दुनियाँमा अचेतहरू त सचेत भैसकेका छन् । मूलधारे मित्रको कृपावश एकपाते अखबारमा झूर कविताहरू छापियो भन्दैमा आकाश नै खस्छ र भन्या ?

हुन त यो अपरम्पार मित्रता प्रथाबारे साहित्यमा रूचि राख्ने, दक्खल राख्ने मानिसहरूले बुझिसकेका छन् । तर तिनका सम्पादकहरुले के बुझिराखेका छैनन् भने यो त गलत भैरहेको छ, वा तिनको ध्यान यसतर्फ मोडिन सकेको छैन ।

सिङ्गो जीवनमा एक अक्षर नलेखेको मानिस विभिन्न लेखक संघहरुमा नेता पल्टिएर आसन ग्रहण गर्छ । अरुलाई लेख्न सिकाए जस्तो पनि गर्छ । अनेक थरि उपदेश दिन्छ । आफुले चाँहि केही लेख्ने होइन । तर, अखबारमा अन्तरवार्ता छपाउँदै हिँड्छ ।

साहित्य बारे उनीहरुको दक्खल र प्रवृत्ति के हो ? त्यो पनि बहसको पाटो बन्न सक्छ । तर, उत्साहित भएर पुस्तक किन्न गइन्छ, अनि यसो पाना पल्टाउँदै जाँदा बडो पीडा हुन्छ

उसलार्इ यस्तो खाना मन पर्छ रे । लुगा यो रङ्ग को रे । गीत फलानाको मन पर्छ रे । उसको विचारमा सेक्स यो हो रे । पहिलो प्रेम यस्तो यस्तो भयो रे । को हो त्यो यी सब सुनाउने हँ ? उसको हैसियत के हो ? नेपाली सामाजप्रति उसको विचार के हो ? उसको दृष्टिकोण के हो ? उसको चिन्तन के हो ? हामीजस्तो गम्भीर पाठकका सामु हावादारी कुरा सुनाउने ? अनि हाम्रो अपमान गर्ने यार ? उउसलार्इ जन्माउने मिडियाको मित्रको जन्मकुण्डली के हो ?

यद्दपि यी सिण्डिकेटीय अक्षरहरुको समुदायमा कति प्रभाव छ, पहुँच कति छ भन्ने बारेमा अर्को बहस गर्न सकिएला । तिनका कामदारहरुले प्रस्तुत गरेको सामाग्रीबारे पाठक तहमा, साहित्यका पारखीहरूको तहमा कस्तो प्रभाव छ, त्यो पनि विश्लेषण गर्न सकिएला । उनीहरुले सामाजलाई दिन खोजेको चिज के हो ? गम्भीर साहित्यदेखि किन भाग्छन् ? किन डराउँछन् मोफसलका जब्बर स्रष्टाहरूसँग ? साहित्य बारे उनीहरुको दक्खल र प्रवृत्ति के हो ? त्यो पनि बहसको पाटो बन्न सक्छ । तर, उत्साहित भएर पुस्तक किन्न गइन्छ, अनि यसो पाना पल्टाउँदै जाँदा बडो पीडा हुन्छ । ती समीक्षकप्रति, प्रचारकप्रति भावपूर्ण शब्दहरू ब्यक्त गर्न मन लाग्छ ।

जो चर्चामा छन् । भूइँमान्छेहरु कम छन् । एलिटहरू ज्यादै छन् । प्रिय मित्रको निगाहमा धेरै भएछ भने भूइँमान्छे कविता छपाउँछ । एउटा पुस्तकको बढाइ चढाइ गरेर केही लाख हात पार्न सफल पनि हुन्छन् ती । तर, तिनका पाठक भनेका एसएलसीमुनिका अल्हारे केटाकेटीहरू हुन् । कलेजका बतासजस्ता युवा  युवती हुन् । तर, ती गम्भीर पाठक होइनन् । ट्वीटर र फेसबुकका प्रयोगकर्ताहरू हुन् ।

कतिपयलाई के बाध्यता छ भने आफू साहित्यकारको नामावलीबाट कतै विलीन भइन्छ कि ? विरासत समाप्त हुन्छ कि भनिकन जस्तोलाई पनि जयजयकार गर्न बाध्य छन् ।

एक जब्बर कवियत्रि-

मुलधारे मिडियामा मित्र नभएका वा खासै प्रचारमा नआएका, नल्याईएका स्रष्टाहरू पनि कम वजनदार छैनन् भन्ने मेरो मूल आशय हो । कवि बन्नका लागि उनीहरू ( सिण्डिकेट ज-जस्ले गरेका छन् ) कै कृपामा अखबारमा छापिनुपर्छ भन्ने भ्रमको अन्त्य हुनुपर्दछ भन्ने पनि हो ।

काठमाण्डौ बाहिर पनि गम्भीर चेतना बोकेका रचनाकारहरू छन्, कवि-कवियत्री छन्, लेखकहरु छन् । यो सत्यतालाई स्वीकार गर्नुपर्दछ । जबरजस्ती सिण्डिकेट लादेर हुँदैन । अड्डी कसेर हुँदैन । अरुको अस्तित्वलाई स्वीकार गर्न नसक्नेहरुको अस्तित्व नै हुँदैन ।

आज एकजना जब्बर कवियत्रीको चर्चा गरौं, कविता पढौं । साक्फारा इलामकी सुस्मा रुपाबुङ राईको । उनी सम्भवत गुमनाम कवियत्री हुन् । तर, सामाजिक सञ्जालमा उनको कविताको चर्चा चुलिँदो छ ।

susma rupabung
इलामकी सुस्मा रुपाबुङ

स्थानीय अखबारहरुमा उनी कहिलेकाँही आफ्न कविता छपाउँछिन् । कवितालाई निकै माया गर्छिन् । तर, मित्रहरुको मूलधार धेरैपटक उनीदेखि बेखबर भयो । डर मान्यो । काँप्यो । भाग्यो ।

उनले प्रयास नगरेकी होइनन् मेरा कविताहरू लोकवासीले पढुन, बुझुन् र मनन गरुन् । तर मुलधारले उनलाई मोफसल सम्झियो । तर, भ्रमपूर्ण मोफसल । तिनीहरू काठमाण्डौका काग त थिए । कहाँका दक्षिण एशिया वा संसारलाई हल्लाएका थिए र ?

शुष्माका कविताहरू प्रायः जब्बर लाग्छन् । सानैदेखि कवितालाई माया गरेर हुर्केकी उनी सरकारी शिक्षकसमेत हुन् ।  जिल्लाका सार्वजिक समारोह र साहित्यिक गोष्ठीहरुमा उनी सहभागी हुन्छिन् । कविता वाचनशैली पनि ‍निकै दमदार छ ।

शुष्मा भन्छिन्-“ठूला-ठुला पत्रिकाहरूमा खालि एउटै मान्छेको कविता छापिन्छ । मानौं कि उनकै कविता छाप्नका लागि पत्रिका निस्किन्छ ।” उनी थप्छिन्-“एउटा झूर कवितालाई कविता भन्नू र लासलाई जिवित छ भनेर खाना खान दिनू उस्तै हो ।”

शुष्माको एउटा कविता

‘उनको अयोग्य लडाकु म’

हिजो उडेर जिन्दगीलाई लखेटिरहेको म
आज त्यही जिन्दगीले घस्रेर मलाई
पछ्याइरहेछ,,
सोचेर कहिलेकाहीँ अवाक हुन्छु
जिन्दगी मेरो हो कि
म जिन्दगीको ?
हिजो र भोलिवीच अल्झिएको
मेरो आज कहाँ छ ? खोज्दा खोज्दै
दिन बित्छ, रात बित्छ

कतै भेट्दिँन
हिजो, आज र भोलीलाई बिर्सिसकेकी म
वरिपरि पट्किएको

तिहारे पटकाहरुको आवाजले तर्सेर

एक्कासी हिजो, आज र भोलिहरु सिनेमाका पर्दाहरुमा जस्तै
आँखा सामु आइदिन्छ

अस्ति भर्खरैको तिहारमा दाइले पटका
पट्काउँदा को आवाजले डराउँदै आमाको
गुन्यु भित्र बेरिएर लुक्ने म
घरको आँगनबाट परतिरको बारीमा
जानलाई बाबाको औंला समाउने म
हिजो बाघ र भालु हराउने जङलहरुमा
एक निमेषमै सन्सार ध्वास्त पार्ने
बम र बारुद सँग कसरी खेल्न सकें ?
कानको जाली फुट्ने आवाजहरुमा
नाच्ने शक्ति, आँट कहाँबाट आयो ?
के त्यो हिजो मेरै थियो ?

हो, त्यो हिजो पक्कै मेरै हो
आमाको गुन्युभित्र लुक्न छोडेर
बाबाको हात समाउन छोडेर
शक्तिशाली बम र बारुदसँग खेल्ने
घर र आँगनलाई माया मारेर
जङलमा बसाइ सर्ने
अनि पाठशालाको बाटो हिँड्न
छोडेर सङ्गीनको धारमा हिँड्ने
आफ्नो पहिचान स्थापित गर्न,
वर्गीय असमानताको अन्त्य गर्न भनेर

आफ्नो पथलाई मोडेर उसको पथमा हिँड्ने
मै हुँ ।

त्यो हिजो मेरै हो
अस्तिलाई बिर्सेर हिजो निर्माण गर्ने मै हुँ

तर मेरो आज रित्तो रित्तो छ
उसको पथले उसलाई चिनायो
उसलार्इ बनायो, मेरो सबै हरायो, बिर्सायो
आफ्नो पहिचान बनाउँछु भनेर

आफ्नो बलि दिन गाको मैले सबथोक गुमाएँ
मेरा सबै सबै शरीरका अङ्ग गुमाएँ
मन, विचारका अङ्ग गुमाएँ
अनि हिजो सबैभन्दा बहादुर भनेर बोलाउने
उनैले अयोग्य लडाकु उपनाम दिएर
सडकमा कतै फ्यालिदिए

आज फेरि त्यही तिहारे पटकाले बल्ल ब्युँझायो
र महसुस गरायो त्यो पथ
मेरो थिएन ।

मात्र मेरो आँट र जोशसँग

सौदा गरेर म हरुलाई मासेर
माथि पुग्ने स्वार्थको भर्याङ
थियो उसको पथ
अब फेरि समयसँग त्यही हिजोको आँट
र जोस पैंचो मागी आज आफ्नै पथ
निर्माण गर्नेछु
आफ्नै पहिचान र अस्तित्वको
लडाइँ लड्नेछु
अनि आजको फालिएको अयोग्य लडाकु म
भोलि संसारकै योग्य भर्इ उनको पथलाई
चुनौती दिनेछु र स्वतन्त्रता र
उन्मुक्ततामा म आफू हुनुको
आभाष दिलाउनेछु
सदासदाका लागि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment