Comments Add Comment

कविता: मान्छेहरु

यहाँ मान्छेहरु…
जो हाँसेजस्ता देखिन्छन् ती रोएका हुन्छन्
जो रोएको अभिनय गर्छन् ती हाँसेका भेटिन्छन्
जो अंकमाल गर्छन् ती छुरा बोकेका हुन्छन्
जो टाढा हुन्छन् ती अंकमालको आतुर हुन्छन्
वास्तवमा मान्छे
जे देखिन्छ त्यो होइन
जे देखिन्न त्यो पनि होइन
म मान्छे भएर पनि मान्छेलाई बुझ्न सकिन
थाहा छैन यहाँ
को मान्छे हो
को मान्छे होइन ।

Ajit-Chhetriहिउँद याममा
ब्रम्हपुत्र नदी किनारमा
समागमका लागि आतुर फिरन्ते बकुल्ला झैं
तम्तयार छन् मान्छे
मान्छेकै बध गर्न
हो, मान्छेका बस्तीहरु
बधशाला झैं लाग्छन् मलाई
मान्छेका भिडहरु
कसाईले पालेका
बिकासे खसीको बथान लाग्छन् मलाई
तर हेर्नुस् न कस्तो अचम्म भने नी !
उही सिकारी भएको छ
उही सिकार भएको छ ।

पानी र हावाले खिइदा खिईंदै
एउटा विवश पत्थर आज
भगवान बनेको छ
र पुजिन थालेको छ दोबाटोमा
हिंजोसम्म कुकुरले मुत्ने त्यो ढुङ्गो
आज साक्षात् भगवान भएको छ
बधशालामा आफन्तकै बध गरेर मान्छे
धुन्छ पाइखानामा आफ्ना रक्ताम्य हात
अनि पुग्दछ उही दोबाटोको
पत्थरको ईश्वरमा ढोग्न
र बर माग्दछ कहिल्यै नमर्ने ।

परस्त्रीसँग रातभर खेलेर फर्कन्छ मान्छे
अनि आफ्नी स्त्रीलाई भन्छ:
तिम्रो यादमा रातभर निदाउन सकिन
परपुरुषको शयनबाट फर्कन्छे उसकी स्वास्नी
र बस्छे सोमवारे एकादशी ब्रत
र रोप्छे तुलसीको बोट पनि
श्रीमानको दीर्घायुका लागि
हेर्नुस् न कस्तो अचम्म !
दुबैले दुबैलाई ढाँटेका छन्
तर दुबैले दुबैलाई बुझेका छन्
त्यहि भएर दुबै चुपचाप छन्
सम्झौतामा बाँचेको मान्छे
चङ्गाको डोरी भन्दा कमजोर छ
मान्छे मान्छे सँगै असुरक्षित छन्
किनकी बधशालामा मान्छेले मान्छे
किनबेच थालेको छ
खुद्रा मुल्यमा
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।

हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।

-अजित क्षेत्री, स्याङजा, हालः युएइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment