Comments Add Comment

पेशावरमा मुसा आतंक ! टाउकोको मूल्य ३० रुपैयाँ

Musa

मानिसहरुले मुसामाथि आक्रमण गरेको त देख्नु भएकै छ । कहिलेकाँही तपाईं हामीले पनि मुसालाई आक्रमण गरेका छौं । तर, मुसाले मान्छेलाई आक्रमण गरेर अस्पताल नै भर्ना हुनुपर्ने थाहा पाउनु भएको छ ?

यस्तै भएको छ पाकिस्तानमा । पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको राजधानी पेशावरमा मुसा आतंक फैलिएको छ । मुसाहरुले स्थानीयलाई आक्रमण गरेपछि स्थानीय प्रशासनले मुसा मार्ने अभियान नै चलाउनु पर्‍यो । त्यतिमात्रै होइन, एउटा मुसा मारेर ल्याउनेलाई ३० रुपैयाँको दरले पुरस्कारसमेत बाँडियो ।

शनिबार पेशावर शहरको लेडी रीडिङ अस्पतालमा मुसाको आक्रमणबाट घाइते भएका २२ जनालाई उपचारका लागि लगिएको छ । उनीहरु सबै मुसाको टोकाइबाट घाइते भएका छन् ।

यस महिनामा हालसम्म ३ सय ७४ जना मुसाको टोकाइबाट घाइते भएको बीबीसीले जनाएको छ । पेशावरमा मुसाको टोकाइले खतरनाक रुप लिएको छ । यसबाट शहरबासीमा त्रास फैलिएको छ ।

गर्धनभन्दा माथि टोकेमा खतरा

लेडी रीडिङ अस्पतालका प्रवक्ता सैय्यद जमील शाहले बीबीसीसँग भने यस महिनामा मुसाको टोकाइबाट घाइते भएकाहरुमा १७४ बच्चा र ७२ महिलाहरु छन् । शाहका अनुसार मुसाले गर्धनभन्दा तल टोकेको छ भने एकप्रकारको सुई लगाइदिइन्छ र गर्धनभन्दा टोकेमा चारवटा सुई केहि दिनको अन्तरालमा लगाइन्छ ।

मुसाले धेरैजसो बच्चाको गर्धनभन्दा माथि टोकेको शाहले जानकारी दिए । धेरैजसो घाइतेहरु पेशावरका ति क्षेत्रका छन् जहाँ खाद्यान्नका पसलहरु छन् ।

भुइँमा सुत्नेहरु धेरै पीडित

पेशावरका राशिद महमुदको अनुहारमा पनि मुसाले टोकेको छ । उनी भन्छन्, धेरैजसो राति र बिहानको समयमा मुसाहरु देखिन्छन् । ति मुसाहरुको शिकार धेरैजसो ति व्यक्तिहरु छन् जो भुइँमा सुत्छन् । केही व्यक्तिहरुले खाट र पलङमा सुतेका बेला पनि मुसाले टोकेको बताएका छन् ।

जिल्ला प्रशासनले मुसा मार्न स्थानीय जनताको सहयोग माग्दै मुसा मार्ने अभियान नै चलाएको थियो । एउटा मुसा मार्नेलाई तीस रुपैयाँको दरले वितरणसमेत गरिएको थियो । तर, हाल मुसा मार्ने अभियान बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment