Comments Add Comment

ओलीजी अब प्रवासी कार्ड खेल्ने हो की ?

Kp-oli

ओली जी, देशमा जताततै हाहाकार, अत्याचार, भ्रष्टाचार र व्यभिचार छ । तर तपाईको सरकार कानमा तेल हालेर हल्लामा चमत्कार गर्दै छ रे । देशमा प्रकृतिक विपतिको रुपमा आएको भूकम्प र राजनैतिक रुपमा आएको नाकाबन्दीले जनजीबन अस्तव्यस्त छ । अनि तपाई र तपाईको मन्त्रीहरु भने भाषण र आश्वासनमा मस्त छन् ।

भूकम्प काठमाडौ केन्द्रित भएर आएन, शहर बाहिर र ग्रामिण भेग भएर आयो । त्यसैले त त्यहाँको जनताले मात्र आँशु खायो । अब त चाढै काठमाडौमा रेल जोडिने रे, जताततै केबुलकार देखिने रे । तपाई त नेताको पनि नेता, उत्कृष्ट नेता बन्ने दौडमा दौडिनु भएको छ । त्यसमा अर्का साथी कामरेडको पनि चर्को चर्चा छ बिदेशमा । देश र जनताले रासन पाओस नपाओस तर तपाईको तिलश्मी कल्पनाको अच्छा खासा भाषण र आश्वसन पाएका छन् । त्यसैले त तपाईका कार्यकर्ताको एकहोरो चमत्कारको डंका फुक्छन् । अनी “ल्याह्सामा सुन छ कान मेरो बुच्चै” हामीलाई भएको छ ।

पहिले दक्षिण दाहिना पार्न दक्षिण जानु भयो । भन्नुस् न हौ साँच्चै त्यहाँबाट के-के माग्नु भयो ? भ्रमणको सफलताको चर्को हल्ला चल्यो । त्यहि भएर त होला युरोपियन युनियनले खै के पो बोल्यो । छिमेकीले उधारो खातामा हस्ताक्षर गराएर भोलीको नाफा देखाएर ठग्नु ठग्यो हैन त गाँठे ! ख्याल हल्ला गर्दैनन् हौ तपाईंका राष्ट्रवादी कार्जेकर्ता । राष्ट्रियताका लागि नझुक्ने नेता वा क्या बात !

Nimesh-Giri
निमेष गिरी

विवेकविहीन भिजिलान्ते धेरै पाल्नु भएको छ हगी ? त्यसैले त कालोबजारी र तस्करीमा अहिले न्युनीकरण आएको छ । महिना दिन सम्म लाईन लागेर आधा सिलिण्डर हात लाग्छ । त्यो पनि बल्ल बल्ल दाउ लागेर ।

पहिले-पहिले त तपाईले पनि दक्षिणको स्तुति गान नगरेको कहाँ हो र ? उ बेलामा गणतन्त्र बयलगाडामा आउँदैन है भन्ने तपाई संविधान जारी पश्चात त्यहि गणतान्त्रिक नेपालको प्रधानमन्त्री लेख्न त किस्मतमा लेखेरै आउनु भएको छ । कहिले हावाबाट विजुली निकाल्ने हावागफ दिनु भाको छ, कहिले १ वर्षमा तुईन हटाउने सपना बाँड्नु भाको छ । अस्ति त १ महिनामा नै पुनर्निर्माण अन्त्य गर्ने मन्त्र फुक्नु भयो । धत्तेरिका ! तपाई त दक्षिणकाले दक्षिणा नदिएपछि कुना पस्नु भयो ।

त्यसपछि तपाईको ब्रम्हले त्यहि पहिले देखे सबैले पहिले नै देखेका थिए । उत्तर र दक्षिणको पत्तिमा दक्षिणले कलव्रेकमा पानको दुक्का ठानेपछि म्यारीजको जोक्कर बन्न उत्तर धाउनु भयो । खै त्यहाँबाट पनि उधारोमा सन्धी गर्नुभयो । लाह्सादेखि काठमाडौ जोड्ने रेल, उर्जाका लागि सम्झौतामा अनेक खेल, लुम्विनीमा भारतसंग चाईनाको हुने भो मेल । तपाई त महाभारतको कृष्ण भन्दा दुरदर्शी, चाणक्य भन्दा उच्चकोटीको राजनैतिक खेलाडी खै के भनौ र ओली जी ।

लाप्राकले जाडोमा मज्जाले डस्ना ओढेर सुत्यो । अब गोर्खाले एक महिनामा नै छाना छाउँदैछ । देशमा ८,९ घण्टाको लोडसेडिङ अर्को सालसम्म अन्त्य भै हाल्छ । अनि हाम्रा छोछोरीले भिडियो गेम खेल्छन् । हाम्री आमैले ईलेक्ट्रिक चुलोमा रोटा पोल्छिन् । बाबैले घरमा साना कारखाना खोल्ने रे ? हिजो फुनमा भन्दै थिए । पासाङ्गले पनि सोलुमा आमैलाई ल्यापटप पठाई दिने रे, आमासंग स्काईपमा कुरा गर्न । अहिलेदेखि नै खुत्रुकेमा पैसो हाल्दै छ ।

तपाई त पुरुषमात्र होइन ओली जी, तपाई महापुरुष नै पो हो की क्या हो । अचम्म लाग्छ । तपाईले प्रधानमन्त्री भएपछि गरेको कामको वर्णन त हजार जिव्रो भएको शेष नागले त भन्न सक्दैन । त्यो हाप्राकका जन्ताले कहाँ भन्न सक्छन् ।
नुन, तेल र चामल नपाएपछि ज्रिब्रो चल्न बल पुग्दैन रे । खाना नपाएपछि शक्ति कम हुदै जान्छ रे । विज्ञानअनुसार पनि शरीरको बोसो सकिएपछि शरीर निर्बल बन्दै जान्छ रे । गोर्खा, सिन्धुपालचोकमा १ वर्षसम्म जनता त्यही शरीरको बोसोमा त निर्भर थिए तपाईको कृपाले ।

तपाईले एक टेलिभिजनको कार्जेक्रममा देशमा कारखाना खोलिन्छ, सडक विस्तार गरिन्छ, त्यसका लागि यहाँको जनशक्ति नै परीचालन गरिन्छ भनेको सुन्दा कान तृप्त भयो । तर कहिले गरिने हो थाहा भएन ?

तपाई विदेशीसंग सम्झौता गर्दिन, राष्ट्रियतामा कुनै लेनदेन हुँदैन भन्दै सधैं कुर्लनु हुन्छ । अनि छिमेकतिर आँखा र हात चम्काउनु हुन्छ । देशका सबै दल र नेता कहिले दक्षिण कार्ड त कहिले उत्तरी कार्ड भन्दै कुर्लन्छन् । अब ती कार्डले हाम्रो समुल परीवर्तनमा नि:स्वार्थ सहयोग गर्ने छैनन् भन्ने कुरा बुझ्न जरुरी छ ।

मलेसिया र खाडीबाट नै हो देशको अर्थिक समृद्धि भएको । यहाँका नेपाली बालुवामा फूल फुलाएर होस या सयौ तल्लाको घर बाहिर झुण्डिएर होस्, रातो बाकसमा बन्द भएर वा रोग र वृद्धपनाले झुकाएर होस् फर्कने देशमा नै हो । त्यही छन् हाम्रा परिवार र आफन्तजनहरु । त्यसैले जल विद्युतमा, बाटोघाटो र साना कलकारखानामा लगानी गर्ने नियम बनाउनुस् । ती सबैमा केही न केही आर्थिक लगानी गर्न तयार छन् हाम्रा लाहुरेहरु ।

विदेशीले बनाइदिनु पर्ने बाटो हामी आफै खनौला । यहाँ विश्वका गगनचुम्बी महल खडा गर्ने सीपले त्यही धरहरा बनाउँछौ ।

अरु केही गर्नु परेन बस सरकार भ्रष्ट हुनु भएन । सरकारी कर्मचारी तस्कर हुनु भएन । हाम्रो लगानीको सुरक्षाको ग्यारेन्टी होस् । भोलि त्यही लगानीको अंशले जीबन धन्न सहज होस् । जब देशमा आवश्यक पुर्वाधार तयार हुन्छ । यहाँबाट फर्किएका नेपालीहरूले यहाँको सीप र दक्षताले स्वदेशमा नै काम गर्ने माहोल बन्छ । अनि अहिले बाँझो भएको खेत खनेर आधुनिक खेती गरौला ।

विदेशीले बनाइदिनु पर्ने बाटो हामी आफै खनौला । यहाँ विश्वका गगनचुम्बी महल खडा गर्ने सीपले त्यही धरहरा बनाउँछौ । युएईमा बनाएको मेट्रो ट्रेनको लेन हामी आफै सोझ्याँउछौ । हामीसँग सीप छ, अलि-अलि पैसा छ, काम गर्ने साहस र लगन छ । त्यसैले हामीलाई समुचित देश विकासका लागि पहल र लगानीको विश्वासको आवश्यक्ता छ ।

अब देशको विकास कोर्न दक्षिण र उत्तरलाई कन्याउनु पर्दैन । नमस्कार गर्दै झुक्नु पर्दैन । त्यसैले हाम्रो मातृभुमिको विकासका लागि उत्तर र दक्षिण कार्ड होईन ओली जी प्रवासी कार्ड खेल्ने हो की ?

म यो मरुभुमिमा

तिम्रो ईशाराको प्रतिक्षा गर्दैछु
देशको समपन्नताको सपना केर्दैछु ।यहाँका कालपत्रे सडकको कल्पना
मलाई मेरो देशमा कोर्न मन लाग्छ
आँकाश चुम्ने गगनचुम्बी महल
मलाई मेरो देशमा हेर्न मन लाग्छ
जुनकीरीको उज्यालोमा खुशी छोरोलाई

विजुलीमा पढाउने मन लाग्छ ।

बाँझो मेरो खेत अनि गह्रामा
लहलहाउदो हरियाली फूल फुलाउन मन छ
त्यसैले मलाई
तिम्रो निस्वार्थ आवाज चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment