Comments Add Comment

संस्थागत निक्षेपकर्ताले बैंकसँग व्याजदरमा ‘बार्गेनिङ’ गर्न थाले

bank२१ वैशाख काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी योग्य पुँजी (तरलता) लगभग शून्य भएपछि संस्थागत निक्षेपकर्ताहरुले व्याजदरमा बार्गेनिङ गर्न थालेका छन् ।

तीन हप्तायता संस्थागत निक्षेपकर्ताहरुले अहिले ६.५० प्रतिशत व्याजदर नपाए निक्षेप नदिने भन्दै वार्गेनिङ गर्न थालेको बैंकहरहरु बताउँछन् ।

‘महिनादिन अघिसम्म ५.२५ प्रतिशत व्याजदर पाउँदै आएका संस्थागत निक्षेपकर्ताहरु अहिले ६.५० प्रतिशत व्याज नपाए निक्षेप नराख्ने बार्गेनिङ गर्न थालेका छन्,’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले अनलाइनखबरसँग भने ।

भारतीय नाकाबन्दी खुलेपछि निक्षेपको तुलनामा कर्जा दोब्बरले बढेको र अहिले बैंकहरुसँग भएको अधिक तरलता सकिएको उनले जानकारी दिए ।

सीइओ महर्जनका अनुसार बैंकहरुसँग तरलताको अधिक चाप हुँदा बैंकहरहरुले निक्षेपकर्तालाई कस्छन्, जब तरलता संकुचन हुँदै आउँछ तब निक्षेपकर्ताहरु बार्गेनिङ गर्न थाल्छन् ।

‘तीन हप्तायता संस्थागत निक्षेपले बढी व्याजदर माग गर्दै बार्गेनिङ गरिरहेका छन्,’ उनले भने- ‘बैंकले निक्षेप र कर्जा दुबैको व्याजदर बढाउन थालेका छन्, तर यो अल्पकालका लागि मात्रै हो ।’

सीइओ महर्जनका अनुसार महिनादिनसम्म २ प्रतिशत रहेको कल डिपोजिटको व्याजदर अहिले ५/६ प्रतिशत पुगेको छ ।

भारतीय नाकाबन्दी खुलेपछिका तीन महिनामा करिब १०० अर्ब रुपैयाँले कर्जा विस्तार भएको तर ५०/५५ अर्ब रुपैयाँ मात्रै निक्षेप बढेको बैंकरहरु बताउँछन् । जसकारण बैंकहरुको कर्जा र निक्षेपबीचको अनुपात (सीडी रेसियो) डेढ वर्षयताकै उच्च पुगेको छ ।

अहिले बैंकहरुको सीडी रेसियो ७८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले बताए ।

‘सीडी रेसियो ७८ प्रतिशत पुग्नु भनेको बैंकहरुमा तरलताको अवस्था शुन्य भएको प्रमाण हो,’ उनले भने- ‘बैंकहरुले अव निक्षेप नबढाई कर्जा बढाउन सक्दैनन् ।’

थप लगानी गर्न बैंकहरुले निक्षेप थप्नुपर्ने भएकाले महिना दिनदेखि बैंकहरुले निक्षेपको व्याजदर बढाउन थालेका हुन् ।

किन रित्तियो बैंकमा तरलता ?

अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकले उठाएकोमध्ये ८० अर्ब रुपैयाँ अझै राष्ट्र बैंककै होल्डमा रहेको र सरकारले पनि करिब ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । त्यसैगरी, सबै गरेर सरकारको होल्डमा २ खर्ब रुपैयाँको हाराहारीमा भएको उनले बताए । यस अवधिमा सरकारले ८० अर्ब रूपैयाँ अान्तरिक ऋण पनि उठाएको छ ।

यसरी बैंकहरूसँग भएको मोटो रकम सरकारको ढुकुटीमा गएर थुप्रिएकाले बैंकहरूसँग तरलता सकिएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । अार्थिक वर्षको अन्त्यमा सरकारले खर्च बढाएपछि बजारमा तरलता पर्याप्त हुने दाहालको भनाइ छ ।

‘अहिलेको व्याजदर वृद्वि असार सम्मका लागि मात्रै हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment