Comments Add Comment

प्रचण्डलाई प्रधानमन्त्री बनाउन शेरबहादुर देउवा तयार

ओलीलाई बजेट ल्याउन नदिने रणनीति

Prachanda_4

२१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार देखिएको छ ।व्यवस्थापिका संसदको अधिवेशन मंगलबारदेखि सुरु भएको अवस्थामा यो बजेट अधिवेशन नै भएता पनि पहिले नयाँ सरकार बनाउने प्रयास कांग्रेसले थालेको छ ।

कांग्रेसले आफ्नो नेतृत्वमा सहमति नजुटे एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिएर भए पनि तत्कालै नयाँ सरकार बनाउने निष्कर्ष निकालेको छ ।

शेरबहादुर देउवा कांग्रेस सभापति र संसदीय दलको नेतामा निर्वाचित भएपछि राजनीतिक वृत्तमा उनी आफैं प्रधानमन्त्री बन्न चाहन्छन् भन्ने । तर, गठबन्धन सरकार चलाउन माहिर देउवा महत्वपूर्ण मन्त्रालय लिएर प्रधानमन्त्री छाड्न तयार देखिएका छन् ।

sherbahadur deuba

सम्भवतः अबको केही दिनमा नै देउवाले नयाँ सरकार गठनबारे एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्नेछन् र प्रधानमन्त्रीको अफर गर्नेछन् ।
एमाओवादी पनि केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति सन्तुष्ट छैन । सरकार हरेक मोर्चामा असफल भएको उसलाई लागेको छ तर, कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहेको छैन ।

त्यस्तोमा देउवाको प्रस्तावले प्रचण्डलाई सहजै आकर्षण गर्ने अनुमान छ ।

तर, त्यसअघि प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई वामपन्थीहरुको सरकार नै चलाउने हो भने अब मलाई प्रधानमन्त्री बनाउनुस् भन्नेछन् । किनकि अहिलेसम्म एमाओवादीले एमालेलाई धेरैपटक प्रधानमन्त्री बनाएको छ । तर, एमालेले छैन ।

कांग्रेसलाई सरकार छाड्नुभन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउने विकल्पमा ओली सहजै तयार हुने अवस्था रहेको एमाओवादीका एक नेताले बताए । त्यस्तो अवस्थामा प्रचण्डको नेतृत्वमा कांग्रेस र मधेसीवादी दलहरुको सरकार गठनको प्रयास हुनेछ ।

कांग्रेस स्रोतले अनलाइनखबरसँग भन्यो, गृह र अर्थ आफूले राखेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा आफैं तयार देखिएका छन् ।’

महराले थालेका थिए सरकार फेर्ने खेल

आफ्नै जोडबलमा बनेको ओली सरकार ढाल्न प्रचण्ड आफैं अघि सरेका छैनन् । उनले महासचिव कृष्णबहादुर महरालाई परिचालन गरेका छन् ।

krishna-bahadur-Mahara

स्रोतका अनुसार देउवा दिल्ली भ्रमणमा रहेकै बेला महरा पनि पुगेका थिए । महराले त्यहीँ देउवासँग नयाँ सरकार गठनबारे छलफल गरेका थिए ।

महराकै निवासमा सोमबार राति एमाओवादी शीर्ष नेताहरुको गोप्य बैठक बसेको थियो । बैठकमा महराले आफू वर्तमान सरकार परिवर्तन गर्नैपर्ने पक्षमा रहेको भन्दै अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई यसबारे तपाईंहरुको भनाइ के छ भनेर सोधेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले यसबारे स्पष्ट जवाफ दिएनन् । तर, उपाध्यक्ष श्रेष्ठले सरकारको कार्यशैली ठीक नभए पनि सरकारै परिवर्तन गर्ने विषयमा सोच विचार गर्नुपर्ने बताएका थिए ।

ओलीलाई बजेट ल्याउन नदिने

मंगलबारदेखि संसद अधिवेशन सुरु भएको छ । तर, प्रि-बजेट छलफलअघि समयसामयिक विषयमा छलफल हुनेछ । सरकार र संसद सचिवालयले प्रि-बजेटमा छलफल गराउने तयारी गरेको थियो । तर, देउवाकै पहलमा भूकम्पपछिको पुनर्निर्माण लगायतका समयसामयिक विषयमा छलफल गर्ने कार्यसूची राखिएको छ ।

यो ओली सरकार ढाल्न प्रयास गर्ने समय हो । यही दुई दिनमा कांग्रेसले एमाओवादीसँग शीर्षस्तरमा सम्वाद गर्ने तयारी गरेको छ ।

कांग्रेस र एमाओवादी नेताहरु यदि सरकार परिवर्तन गर्ने हो भने तत्काल नै कदम चाल्नुपर्ने बताउँछन् । किनकि नयाँ संविधान अनुसार जेठ १५ मा बजेट ल्याउनैपर्ने हुन्छ ।

यदि सरकार परिवर्तनको प्रयास लम्बिने हो भने एमालेले एकलौटी रुपमा लोकप्रिय कार्यक्रमहरुको बजेट ल्याउने दुबै दलको अनुमान छ ।
‘एमालेले त फुलबुट्टा भरेर बजेट ल्याउँछ, त्यसमा हाम्रो कुनै कार्यक्रम पनि पर्दैन’ एमाओवादी स्रोतले भन्यो, त्यसैले ओली सरकारलाई बजेट नै ल्याउन नदिने गरी सरकार गठनको प्रयास हुनेछ ।’

अहिले नढले कम्तिमा ६ महिना ओली सरकार

KP Oli

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार फेर्न प्रयास गर्दैमा सम्भव छैन । उसलाई एमाओवादीको साथ अनिवार्य चाहिन्छ । यदि बजेटअघि नै सरकार ढाल्ने कांग्रेसको प्रयास सफल नभए ओली सरकारको आयु कम्तिमा ६ महिना लम्बिनेछ ।

प्रधानमन्त्री ओलीले अहिले पनि ‘राष्ट्रवाद’को नारा दिएकै छन् । रेल गुडाउनेदेखि घरघरमा पाइपबाट ग्यास पुर्‍याउने सपना पनि बाँडेकै छन् । अब कांग्रेसले आफूलाई हटाउन प्रयास गरेको थाहा पाइसकेकाले बजेटमा पनि यस्तै लोकपि्रय कार्यक्रमहरुले प्राथमिकता पाउने सम्भावना रहन्छ ।

त्यस्तो अवस्थामा कांग्रेस आफैं पनि सरकार ढालेर भोलिका दिन एमालेलाई राजनीति गर्ने बाटो दिन चाहँदैन । स्रोतले भन्यो, यदि अहिले सरकार परिवर्तन भएन भने ओली सरकारको आयु केही लम्बिनेछ । बजेट आएलगत्तै सरकार ढालेर त्यो अपजसको भारी बोक्ने पक्षमा कांग्रेस र एमाओवादी दुबै छैनन् ।’

यो पनि पढ्नुस्

सरकार फेर्ने बहसः अबको प्रधानमन्त्री देउवा कि प्रचण्ड ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment