हामीकहाँ हप्तामा एक दिन शनिवार तथा अन्य केही सार्वजनिक विदाका दिनमा सरकारी कार्यालय बन्द हुँदा समेत पत्रिकाहरुमा सरकारी विदा बढि भयो भनेर ठूलै कोकोहोलो हुन्छ । तर यो दुनियामा एउटा यस्तो देश पनि छ जहाँ हप्तामा केवल २ दिनमात्रै सरकारी कार्यालय खुल्दछन् र अरु पाँच दिन सरकारी कार्यालयमा विदा हुन्छ । हो, दक्षिण अमेरिकी देश भेनेजुयलाले हप्तामा पाँच दिन सार्वजनिक विदा घोषणा गरेको छ ।
यद्यपि यस्तो कदम खुसीले उठाइएको भने होइन, बाध्यताले हो । खासमा विद्युत संकटका कारण सरकारले यस्तो कदम उठाएको हो ।
भेनेजुयलामा विद्युत संकट निकै गम्भीर बनेको छ । सोही कारण गत बुधबारदेखि सरकारले २ दिनको हप्ता घोषणा गरेको हो । अब हप्तामा केवल २ दिनमात्र सरकारी तथा निजी कार्यालयहरु खुल्नेछन् ।
उपराष्ट्रपति एरिस्तोबुलो इस्तुरिजले बुधबार टेलिभिजनमार्फत यो घोषणा गरेका हुन् । विजुली संकटको समाधान नहुँदासम्म अबदेखि सोमबार र मंगलबार मात्र कार्यालय खुल्ने उनले बताए । सरकारी कर्मचारीहरु पनि दुइ दिन बाहेक अन्य दिन अफिसमा जानुपर्ने छैन । निकै महत्वपूर्ण काम परेमा मात्र बुधबार, बिहिबार तथा शुक्रबार कार्यालय जान सकिनेछ ।
स्मरण रहोस् विजुली बचाउन भन्दै अपि्रल र मे महिनाका लागि यसअघि नै २८ लाख सरकारी कर्मचारीलाई शुक्रबारको अतिरिक्त सार्वजनिक विदा दिइसकिएको थियो ।
भेनेजुयला अहिले ठूले खडेरीको चपेटामा परेको छ र त्यहाँका जलविद्युतका बाँधहरुमा पानीको सतह निकै घटेको छ जसका कारण विद्युत उत्पादन भारी रुपमा घटेको छ ।