Comments Add Comment

खण्डहर लाङटाङ गाउँ पुग्दा (फोटो फिचर)

Watching Vulture in Langtang-Rajendra Gurung

महाभूकम्पको २०७२ को पहिलो वार्षिकीको एक दिन अघि ०७३ वैशाख ११ गते हामीहरु लाङटाङ गाउँको प्रवेशद्वार थाङ्सेपमा थियौं । लाङटाङ राष्ट्रिय निकुञ्जमा दुर्लभ गिद्ध र अन्य चराहरुको अवस्थाबारे अध्ययनका लागि नेपाल पंक्षी संरक्षण संघबाट म लगायत संस्थाका महासचिव राजेन्द्र गुरुङ र एक बेलायती सहकर्मी टोबि ग्यालिगन लाङ्सिसासम्म पुगेर फर्केका थियौं ।

वैशाख १२ मा फेरी पनि ठूलो भूकम्प आउँछ रे भन्ने निराधार हल्लाले आम मानिसहरु त्रसित र आतंकीत देखिन्थे । गड्याङ गुडुङसहित सिमसिम वर्षा भइरहँदा त्रासदीपूर्ण भावमा सबैले ॐ माने पेमे ॐ को मन्त्र उच्चारण गर्दै शिरै माथिको भिर तर्फ हेरिरहेका थिए ।

खान र बस्न मिल्ने एक मात्र होटल बुक भैसकेको थियो तर अरु विकल्प पनि थिएन । करीब ६० वर्षीया होटल सञ्चालक आमा डरले लग-लग काँप्नु भएको थियो । हामीले ढाडस दिँदै भन्यौं, ‘नडराउनुस् आमा जे लेखेको छ त्यही हुन्छ ।’ हिमपहिरोमा आफ्नो जेठो छोरा र आफन्त गुमाएकी ति आमाका भूकम्पको बेला बाँच्दाका क्षण र पुनःस्थापित हुन गरेका संघर्षका कथाले साँच्चै जिन्दगी के रहेछ त भन्ने बोध गरायो । Haso Pharkadai-Thangshep ka yek dampati-Rajendra Gurung

अगेनो वरीपरी गुडुल्कीएर र पुनर्निर्माण हुँदै गरेका घरमा रात कटाइयो, विउँझदा लाग्यो बाँचिएकै छ । यात्रा अवधिभर पुरिएका र भत्किएका घरहरुमा देखिने असरल्ल कपडा र सामानहरु, कुच्चीएका भाँडाहरु, च्यातिएका र माटोले पोतिएका तस्वीरहरुसँगै आफन्त गुमाएका र बाँच्नेहरुका कथा सुन्दा हजारौंपटक मन छिया-छिया हुदै भक्कानिन्छ ।

भौगोलिक क्षतिका हिसाबले हेर्ने हो भने लाङटाङ भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको स्थान हो । थाङ्सेप नजिकै चम्कीबाट उत्तर-पूर्वमा हेर्दा देखिने त्यो सुन्दर लाङटाङ उपत्यका र मिलेको तामाङ बस्ती बगर र भग्नावशेषमा परिणत भएको छ । पारीपट्टि पाखोका रुखहरु लाङटाङ पहिरो जाँदा हावाको शक्तिले कहिलै नउठ्ने गरी जमिनमा सुताएको छ ।

तिब्बती भाषामा ‘लाङ’ भनेको गोरु र ‘टाङ’ भनेको अघाएको भन्ने बुझिन्छ । यसको मतलव गाई-गोरु अघाउन्जेल चरन गर्ने क्षेत्र हो लाङटाङ । तर अहिले आफ्नो स्वरुप, रितिरिवाज, संस्कार र समग्र बनावट नै गुमाएको छ लाङटाङले । Buried Langtang village-Rajendra Gurung

ओढारमा रहेको ठिले लामाको घर बाहेक लाङटाङ गाउँका सबै ५५ घर पुरिएका छन् । भूकम्प पश्चात लाङटाङ हिमालबाट आएको हिमपहिरोले गाउँ नै पुरिँदा स्वदेशी र विदेशी गरी २ सय १० जनाको मृत्यु भएको थियो । अझै पनि कतिपय बटुवा, भरीया र पथपदर्शकहरु हराइरहेको स्थानियले आशंका गर्दछन् ।

एक सञ्चारमाध्यमका अनुसार लाङटाङमा आएको हिमपहिरो दोस्रो विश्वयुद्धताका जापानको हिरोसिमा र नाकासाकीमा खसालिएको परमाणु बमको आधा शक्ति हो ।

आजभन्दा करिब ६ वर्ष अघि वन्यजन्तुविद तथा प्रध्यापक डा. मुकेशकुमार चालिसेको नेतृत्वमा सहपाठी मित्र कुलचन्द्र अर्याल, नारायण पौडेल र प्रमोद टण्डनसहित त्यस क्षेत्रका वन्यजन्तु अध्ययनका क्रममा पुगेका लाङटाङका ति दृश्यहरुसँग वर्तमान दाँज्न खोज्दछु तर पटक्कै मेल खाँदैन । Langtang village after landslide-Rajendra Gurung

भन्न मन लाग्दछ निष्ठुर प्रकृती । बौद्ध धर्मालम्बीका रंगीचंगी ध्वजा पताकाको फरफराई, स्थानियरुपमा उत्पादित १४ मेगावाट जलविद्युत, फोन, इन्टरनेट, स्वास्थ्य चौकी, प्रहरी चौकी, नेपाली सेनाको चेकपोष्ट सब एकैचोटी विलिन बन्न पुगे ।

पुरानो लाङटाङको भग्नावशेष माथि पाल्साङ तामाङले ठडाएका छन् न्यू लाङटाङ होटेल, यसले लाङटाङ पुनर्निर्माणतर्फ जुरमुराउदै गरेको संकेत गर्दछ । आमा, बुवा, भाई, छोरी सहित २५ जना आफन्त गुमाएका पाल्साङ भन्दै थिए, ‘के गर्नु बाँच्नेले केहि त गर्नै पर्‍यो ।’

पहिरो, बेम्बो, रिम्चे, लामा होटेल, रिभरसाईड, घोडातबेला, थाङ्सेप, चम्की र केन्जीनमा पनि होटल तथा घरहरु पुनर्निर्माण हुँदैछन् । पद मार्ग खुलिसकेको छ । पुनर्निर्माणका लागि आवश्यक छड र प्लाई हेलिकप्टरबाट र सिमेन्ट खच्चडबाट ढुवानी भइरहेको छ । स्थानियले आफ्नै पहलमा लाङटाङको पुनर्निर्माणना गर्न लाङटाङ पुनर्निर्माण तथा पुनःस्थापना समिति बनाएको समितिका उपाध्यक्ष सुब्बा लामाले बताए । Old Langtang Village-Krishna Bhusal (1)

यद्यपी त्यस क्षेत्रमा बस्ती पुनःस्थापना गर्न भौगोलिक रुपमा थप जोखिम छ कि छैन भन्ने विषयमा अध्ययन भने गरिएको पाइएन ।

लाङटाङ नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल हो जहा वर्षेनी करीव २० हजार पर्यटकहरु पदयात्राको लागि आउने गर्दछन् । राजधानीबाट १ सय ३२ किमी बस यात्रामा स्याफ्रुबेशी र त्यहाँबाट करीब अढाई दिनको पदयात्रामा लाङटाङ गाउँ पुग्न सकिन्छ । दोर्जे लाक्पा, लाङटाङ, लिरुङ तिब्बती रेन्जको हिमाली दृश्य, लाङटाङ नदी किनारै किनार १५ सय मिटरदेखि ४ हजार मिटरसम्म उचाईगत जैविक विविधतायुक्त पदयात्रा, ग्लासियर, मौलिक परम्परागत सँस्कृति र भूबनोटले जो कोहीलाई पनि यस स्थानले लोभ्याउँछ ।

निश्चय नै भूकम्पको असर बहुआयामिक क्षेत्रहरुमा परेको छ । लाङटाङ हिउँ पहिरो र अन्य अनगिन्ती पहिरोहरुले वन्यजन्तुको बासस्थान विनाश तथा खण्डीकरण हुनुका साथै त्यस क्षेत्रमा सामुहिक विनाश भएको हुन सक्दछ । लाङटाङ पारीको पाखो कस्तुरी मृग, मुनाल, चिलिमे, फोक्रासको बासस्थान हो जहाँ सबै रुख र बुट्टयानहरु सोत्तर परेका छन् ।

Earthquake landslide damage trees-Rajendra Gurungहिउँ चितुवा र हिमाली थार पनि प्रभावित भएका हुन सक्दछन् । भूकम्प पश्चात लाङटाङमा ५० हिमाली थार, एक हिउँ चितुवा, ५ बँदेल, कतिपय रतुवा र कस्तुरी मृगका मरेका भेटिएका थिए भने धेरै पुरीएको आशंका गरीएको छ ।

उक्त समय यि वन्यजन्तुको प्रजनन गर्ने र गि्रष्मकालीन आगन्तुक चराहरुको पनि बच्चा कोरल्ने समय भएकाले प्रजनन र नवजात शिशु प्रभावित भएका छन् । एक साताको अध्ययन अवधिभर लाङटाङमा अति सामान्यरुपमा देखिने गंगा खोलेधोबिनी कतै देखिएन । तातोपानीका कुण्डहरु र कतिपय पानीका मुहानहरु सुकेका छन् ।

तस्वीरः राजेन्द्र गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment