Comments Add Comment

सरकार परिवर्तन भएपछि बजेट परिवर्तन हुन्छ कि हुँदैन ?

२२ वैशाख, काठमाडौं । नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सरकार परिवर्तनको प्रक्रिया सुरु भएको छ । सरकार परिवर्तन भयो भने यो सरकारले बनाएको बजेट परिवर्तन होला कि नहोला भन्ने चासो उत्पन्न भएको छ ।

Budgetकेपी ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ का लागि ९ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढीको बजेट तयारी गरिरहेको छ । आगामी आर्थिक वर्षका लागि नयाँ कार्यक्रमहरुको छनोट र बजेटको व्यवस्था पनि भइसकेको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

तर, नयाँ सरकार आएसँगै कार्यक्रमहरुको प्राथमिकतामा केही परिवर्नत गर्नु पर्ने भएकाले आफूहरु अन्योलमा परेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले अनलाइनखबरसँग गुनासो गरे ।

‘बजेट नियमित प्रक्रियाबाट बन्ने भएपनि त्यसमा सरकारमा रहेको दलले इच्छाएका कार्यक्रम र आयोजनाहरु हुन्छन्,’ ती अधिकारीले भने- ‘बजेट अघि नै सरकार ढल्यो भने रातारात कार्यक्रमहरु फेर्न हामीलाई तीब्र दबाव पर्छ ।’

नयाँ संविधानले जेठ १५ गते नै नयाँ बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । जेठ १५ गते साँझ ४ बजे अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो बजेट नयाँ संविधान जारी भएपछिको पहिलो बजेट हो । संविधानको कार्यान्वयनका लागि पनि संविधान जारी गर्ने दलहरुले तोकिएको समयमै बजेट ल्याउनुपर्ने हुन्छ ।

अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार सरकार परिवर्तन भएसँगै बजेटमा ठूलो परिवर्तन भने केही हुँदैन । तर, सरकारले ल्याउने केही नयाँ कार्यक्रमहरुमा भने सरकारको राजनीतिक विचारधारा र अर्थमन्त्रीको क्षमताअनुसार परिवर्तन गर्नुपर्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘अहिलेका अर्थमन्त्रीले आफ्नो राजनीतिक विचारधारा अनुसारका केही कार्यक्रमहरु तयार पारिसक्नुभएको छ,’ ती अधिकारीले भने- ‘सरकार परिवर्तन भयो भने ती कार्यक्रमहरु काटिन्छन् र नयाँ अर्थमन्त्रीको राजनीतिक विचारधारा र प्राथमिकताहरु समेट्नुपर्ने हुन्छ ।’

मन्त्रालयका अधिकारीहरुका अनुसार बजेटको आकार, प्राथमिकता, सिद्धान्तलगायत भने परिवर्तन हुँदैनन् । किनभने ती नियमित प्रक्रियाबाट निर्माण भएका आएका विषयवस्तु हुन् ।

सरकारले अहिले अधिकतम आर्थिक वृद्धि, रोजगारी सिर्जना, भूकम्पपछिको पुनर्निर्माण, उर्जा, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तयार पारिरहेको अर्थमन्त्री विष्णु पौडेले जानकारी दिएका छन् ।

मन्त्री पौडेलले वैशाख २३ गते बिहीबार आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकताहरु संसदमा प्रस्तुत गर्दैछन् । २४ र २५ गते बजेटका प्राथमिकतामाथि संसदमा छलफल गर्ने कार्यसूची छ ।

त्यसपछि वैशाख २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यसूची छ । वैशाख २७ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म राष्ट्रपतिले प्रस्ताव गरेको नीति तथा कार्यक्रममाथि संसोधन प्रस्ताव गर्न सकिने छ ।

बजेट भाषण गरेपछि लगत्तै नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणको प्रक्रिया सुरु हुने भएकाले सरका परिवर्तन हुनेवित्तिकै धेरै कुरा परिवर्तन गर्न नसकिने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment