Comments Add Comment

नयाँ शक्तिको ‘ट्रेन्ड सेट’ यस्ता हुनेछन् पाँच रणनीतिक चरण

बीसौं शताव्दीको उत्तरार्धमा समाजवादी भनिएका ‘एकदलीय अधिनायकत्व’ र ‘राज्य अर्थव्यवस्था’ भएका शासनसत्ताहरु भकाभक ढले । नवउदारवादको एकछत्र दिग्विजयको हल्ला त भयो, तर त्यसको व्यवहारमा पुष्टि भएन । त्यतिखेर एक्काइशौं शताब्दि संघार थियो ।  यसका प्रारम्भिक विशेषताहरु प्रष्ट भइसकेका थिएनन् । आज एक्काइशौं शताब्दिका करिब २ दशक वित्न लागेकाछन । यस बीचमा विकास भएका विभिन्न प्रवृतिहरुले भविष्यको बलियो संकेत गर्दछन् ।

Dambar-Khatiwadaराजनीतिमा यसको संकेत ‘बैकल्पिक लोकतन्त्र’ र ‘बैकल्पिक अर्थव्यवस्था’ को खोजी हो । त्यो कुनै एक कोणबाट हैन, दुबै कोणबाट हो । बीसौं शताब्दिसम्म जेलाई समाजवाद, सर्वहारा राज्य, वा कम्युनिष्ट लोकतन्त्र भनिन्थ्योे, आज मान्छेहरुलाई त्यसको पनि बिकल्प चाहिएको छ । जेलाई पूर्ण प्रतिस्पर्धामा आधारित स्वतन्त्र खुल्ला बजार र उदार लोकतन्त्र भनिन्थ्यो, त्यसको पनि बिकल्प चाहिएको छ । तसर्थ ‘बैकल्पिक राजनीति’ आज विश्वकै एक महत्वपूर्ण मुद्दा भएको छ ।

यही सन्दर्भमा शताब्दिको पहिलो दशकको अन्त्यतिरबाट नयाँ दलहरुको जन्म प्रक्रिया प्रारम्भ भएको छ । यी दलहरु ठ्याक्कै उस्तै त छैनन् तर धेरै कुरा मिल्दाजुल्दा छन् । भारतको ‘आप’, पाकिस्तानको ‘तेहरिक इ इन्साफ’, इटलीको ‘फाइभ स्टार’, डेनमार्कको ‘द अल्टरनेटिभ’ आदि यसका उदाहरणहरु हुन् । नेपालमा पनि नयाँ शक्तिको बहस देशीय र वैश्विक, दुबै प्रक्रियाको गतिशील उपज हो । नेपालका दुई ठूला आधुनिक दलहरु ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ पार्टीमा व्याप्त असक्षमता, अकर्मण्यता, जडचिन्तन र निराशाले यो प्रक्रियालाई गति दिएको छ ।

यो कुरा लुकाउन जरुरी छैन कि नेपालमा कांग्रेस र कम्युनिष्टभन्दा फरक वैकल्पिक लोकतान्त्रिक दलको खोजी वैश्विक रुपमा कथित राज्यकेन्दि्रत समाजवाद र नवउदारवादभन्दा फरक उत्तरआधुनिक, उत्तरमार्क्सवादी र उत्तरपुँजीवादी दलकै खोजीको एक कडी हो । यो न वामपन्थी, न लोकतान्त्रिक बरु एकसाथ बाम-लोकतान्त्रिक अर्थात् अग्रपन्थी (फ्रन्टिष्ट) दलको आवश्यकतावोध हो । बीसौं शताब्दिसम्मको चिन्तनधारा र विश्लेषण पद्दतिको सीमामा बसेर यो यथार्थलाई बुझ्न सकिन्न । तसर्थ वैकल्पिक राजनीतिक दर्शन र  विश्लेषण पद्दतिलाई  पनि ‘अपडेट’ गर्ने प्रक्रिया हो ।

युगले मागेको छैन भने मान्छेका रहर वा कस्तै ठूलो प्रयासले पनि दल बन्दैन, चाहे ती मान्छे जति नै सक्षम, विद्वान र ज्ञानी किन नहुन्

कुनै पनि राजनीतिक दलको निर्माणमा  युगवोध र संगठित प्रयत्न, दुबैको कलात्मक संयोग हुनु पर्दछ । युगले मागेको छैन भने मान्छेका रहर वा कस्तै ठूलो प्रयासले पनि दल बन्दैन, चाहे ती मान्छे जति नै सक्षम, विद्वान र ज्ञानी किन नहुन् । युगले मागेको छ भन्दैमा ठीक ढंगले संगठित प्रयास अगाडि बढेन भने फेरि त्यो सम्भव हुँदैन । तसर्थ अबको युगमा पार्टी निर्माणबारे स्पन्टेनियस (स्वस्फूर्ततावादी), ट्रि की (चातुर्यपूर्ण) र ट्याक्टफूल (कार्यकौशलवादी) दृष्टिकोणहरु काम लाग्दैनन्, त्यसको साटो सिधै स्ट्राटेजिक (रणनीतिक) दृष्टिकोण अपनाउन आवश्यक हुन्छ ।

नयाँ शक्ति निर्माण पनि रणनीतिक विषय हो । मुख्यतः यसलाई पाँच चरणमा विभक्त गर्न र फरक-फरक चरणमा फरक-फरक कलात्मक संयोग निर्माण गर्न सक्नुपर्ने हुन्छ ।

ट्रेन्ड सेट

पहिलो चरणमा ट्रेन्ड सेट गर्ने हो । किन नयाँ शक्ति, कस्तो नयाँ शक्ति, के-के कुरा नयाँ, कसरी नयाँ आदि विषयमा प्रष्टता ल्याउने हो । अहिले यो चरण जोडतोडले चलिरहेको छ । यस चरणमा बहस, छलफल, अन्तक्रिर्या र भेटघाट असाध्यै धेरै हुनुपर्छ । मूलतः यो विचार मन्थन र प्रचारात्मक कार्य प्रक्रिया हो ।

यस चरणमा कसैसँग कुनै बनिबनाऊ विचार छ, उसले प्रस्तुत गर्छ, अरुले सुन्नुपर्छ भन्ने हैन । छलफलमा उठेका अनेक साना कुराहरु संकलन र सामञ्जस्यपूर्ण मिलान गर्नुपर्छ । अर्थात् विचार निर्माण नै सहभागितामूलक हुन जरुरी छ । कोही नेता वा विद्धानले कोठामा बसेर दस्तावेज लेख्ने र अरुले अनुमोदन गर्दिँन पर्ने युग अब रहेन ।

आज जनसाधारणहरु आफैं छलफल गर्न सक्ने भएका छन्, विचारहरु जनसुदायकै बीचमा छन् । जनसमदाय स्वयं आफैंमा छरिएका विचारकहरु हुन् । यो चरणमा गर्नुपर्ने कामका हिसाबले नयाँ शक्ति अभियान ठीक ढंगले अगाडि बढेको निष्कर्ष निकाल्न सकिन्छ । तीन महिना नवित्दै हज्जारौंको संख्यामा देशभरि अन्तर्क्रिया कार्यक्रम र छलफल भएका छन् । विधिवत् पार्टी निर्माण नहुँदै भएका यी छलफलहरु विचार निर्माणका दृष्टिकोणले निक्कै उपयोगी हुनेछन् । केही निष्कर्षहरु सामुन्ने आएका छन् । जस्तो,

एक- यो न त उदारवादी,  न त केन्द्रिकृत समाजवादी, अर्थात् न त वामपन्थी (लेफ्ट) न दक्षिणपन्थी  राइट, (डेमोक्रयाट), बरु एकसाथ लेफ्ट-डेमोक्र्याट, अर्थात् अग्रपन्थी (फ्रन्टिष्ट) पार्टी हुनेछ ।

दुई- यसले उत्तरआधुनिक, उत्तरमाक्र्सवादी र उत्तरपुँजीवादी युगको चरित्र ग्रहण गर्नेछ । अर्थात् बीसौं शताब्दिसम्मको चिन्तनधारा र विश्लेषण पद्दतिको पूर्वाग्रहबाट बाहिर निस्केर एक्काइशौं शताब्दिमा काम गर्नु यसको चरित्र हुनेछ ।

तीन- कार्यक्रमिक हिसाबले यसका एजेण्डा स्वाधीनता, सम्वृृद्धि, सुशासन, सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद अर्थात् ‘५ स’ हुनेछन् ।

चार- आन्तरिक पार्टी जीवनमा यसले समानुपातिक, समावेशिता र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने छ । पार्टी एक्टिभिष्टहरुको सार्वभौमसत्तामा आधारित प्रत्यक्ष निर्वाचनहरु अन्तरपार्टी जीवनमा लागू हुनेछन् । आर्थिक पारदर्शिता, निर्वाचनको स्वच्छता, सदाचारलाई उच्च महत्व दिनेछ ।

पाँच-यसले नेपाली राष्ट्रियताको पुनव्र्याख्या र विनिर्माण गर्ने छ ।  ‘त्रिसामुदायिक एकता’, दुई ठूला अर्थतन्त्र बीचको ‘गतिशील पुल’, राजनीतिक आत्मनिर्णय र अन्तर्निभरतामा आधारित स्वाधीन अर्थतन्त्र नेपाली राष्ट्रियताका चार आधार हुनेछन् ।

यी निष्कर्षहरुलाई अहिले राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान, सुशासन र सम्वृद्धिको मार्गचित्र, गरी चार मस्यौदा दस्तावेजमा ढाल्ने काम भइरहेको छ ।  यस रणनीतिक चरणमा गर्नुपर्ने कामहरु आगामी जेष्ठ ३०, ३१ र ३२ गते हुने पार्टी स्थापना राष्ट्रिय भेलासँगै एक हदसम्म पूरा हुनेछन् ।

फेस र बेस

दोस्रो रणनीतिक चरण संगठन निर्माणको हो । यो अहिलेदेखि नै जारी छ । पार्टी विधिवत् निर्माण नहुँदै ७ वटै प्रदेशमा अन्तरिम प्रदेश परिषद  र ७३ जिल्लामा अन्तरिम जिल्ला परिषद गठन हुनु, विदेशमा रहेका नेपालीहरु बीच उल्लेख्य फैलाब हुनु, करिब १ एक लाख पार्टी एक्टिभिष्ट निर्माण हुने सम्भावना देखिनु,  सयाद  संसारकै पार्टी निर्माण प्रक्रियामा विरलै पाइने घटना हो । तत्कालका लागि  यो सन्तोषजनक भए पनि पर्याप्त छैन । यो चरणको वास्तविक चुनौति पार्टी संस्थापना राष्ट्रिय भेला पश्चात शुरुवात हुनेछ ।

नेपाली जनताको मनोविज्ञान हेर्दा केवल मास पार्टी बनाउन गाह्रो छ । कम्तिमा हरेक गाउँपालिका र  नगरका वडामा कमिटी,  करिब ३-५ लाख एक्टिभिष्ट नभएको पार्टीलाई नेपाली जनताले विकल्प मान्दैनन्

नयाँ शक्तिभित्र संगठनबारे अहिले दुईखाले चिन्तन छन् । पहिलो चिन्तनलाई ‘फेस भ्यालू’ चिन्तन र दोस्रोलाई ‘बेस भ्यालू’ चिन्तन भन्न थालिएको छ  । ‘फेस भ्यालू’ चिन्तनले ठूला, नाम चलेका, सेलिव्रेटी नामहरु जोडिएपछि मास पार्टी आफै बन्छ, तसर्थ संगठनमा त्यतिधेरै जोड दिइरहन वा संगठनको चिन्ता गर्न आवश्यक छैन भन्ने गर्दछ ।

यसको ठीक विपरीत ‘बेस भ्यालू’ चिन्तनले गाउँबस्तीमा गएर काम गर्ने पूर्णकालीन र पेड कार्यकर्ताको ठूलो पंक्ति नहुन्जेलसम्म संगठन बन्ने छैन भन्ने धारणा राख्दछ । मेरो विचारका यी दुबै गलत धारणा हुनेछन् । यी दुई चिन्तनबीच बलियो अन्तरसम्बन्ध वा गतिशील सन्तुलन कायम गरेर मात्रै पार्टी निर्माण गर्न सकिने छ ।

नेपाली जनताको मनोविज्ञान हेर्दा केवल मास पार्टी बनाउन गाह्रो छ । कम्तिमा हरेक गाउँपालिका र  नगरका वडामा कमिटी,  करिब ३-५ लाख एक्टिभिष्ट नभएको पार्टीलाई नेपाली जनताले विकल्प मान्दैनन् । जनतालाई दिनन्दैनी जीवनका समस्या, विकास, प्रशासनिक सहयोग, पञ्चकचहरी, दुःख सुःखमा साथ दिने पंक्ति नभए टाढाबाट नाम सुनेका ठूला नामले मात्र पुग्दैन । तर, ठूला नामहरुको पनि संगठन निर्माणमा ठूलै भूमिका हुन्छ । फेस भ्यालूवाला साथीहरुले इमेज बिल्डिङ र स्थानीय संगठनलाई अभिप्रेरणा र सहयोगको काम गर्नु पर्दछ ।

बेस भ्यालुवाला साथीहरुले जनतासँग दिनन्दैनी सम्पर्कमा रहने काम गर्नुपर्दछ । तर, अहिलेको युगमा हिजोका कम्युनिष्ट संगठनहरुले जस्तो ठूलो पूर्णकालीन पंक्ति निर्माण गर्न सकिन्न । पार्टी अर्थतन्त्रले पनि त्यो धान्दैन र त्यसले व्यक्तिको जीवनलाई पनि सजिलो बनाउँदैन ।

बरु सबैले आ-आफ्नो स्थानीयतामा केही पेशा व्यवसायको सम्भावना पनि हेर्ने, टीम र कमिटी अलि ठूला बनाउने, धेरै मान्छेले काम बाँडेर थोरैथोरै काम गर्दा नै समग्रमा धेरै काम हुने मोडेल अपनाउन जरुरी छ ।

ठूला नाम हुन वा आधारभूत एक्टिभिष्ट दुबै पक्ष एकअर्कामा यसरी घोलघाल हुनुपर्दछ कि दुबै भ्यालूवाला साथीहरु बीच कुनै मनोवैज्ञानिक दूरी नरहोस् । अहिले पनि धेरै मान्छेहरु संगठनको सम्पर्कमा आउँन आतुर छन् । तर, सम्पर्क दिने र संगठित गर्ने संगठकहरुको अभाव हुन थालिसकेको छ । पार्टी स्थापना कार्य पूरा हुनेवित्तिकै यो अभावलाई तुरुन्तै हल गर्न आवश्यक छ ।

यस चरणमा गर्नुपर्ने अर्को महत्वपूर्ण काम वैकल्पिक राजनीतिको कुरा गर्ने सम्पूर्ण समूह, व्यक्ति र व्यक्तित्वसँग अझै गहिरो सम्बन्ध निर्माण र एकतावद्ध गर्नु हो । थुप्रै त्यस्ता समूहहरु नयाँ शक्ति अभियानमा सामेल हुने स्थिति वन्न लागेका बेला कयौं मनोवैज्ञानिक भ्रम वा दुरीका कारण अनिच्छापूर्वक टाढिएका छन् । थुप्रै मान्छेहरु ‘पर्ख र हेर’ को स्थितिमा छन् । पार्टी संस्थापना राष्ट्रिय भेलालगत्तै यी यावत पक्षहरुलाई समेट्न विशेष पहल र योजना हुनुपर्दछ ।

स्यापिङ

यो पार्टी निर्माणको तेस्रो रणनीतिक चरण हो । यो चरण अहिले शुरुवात् नै भएको छैन । करिब ३ महिनापछिदेखि यो चरणको महत्व बढी देखापर्ने छ र करिब दुई वर्षसम्म यो काम असाध्यै महत्व दिएर गर्नु पर्नेछ ।

यो चरण भनेको पार्टी पंक्तिमा केही साझा चरित्र, गुण र इमेज निर्माण गर्नु हो । यो चरणमा तालिम र प्रशिक्षणको ठूलो खँाचो हुनेछ । अबको युगमा बैचारिक तालिमले पुग्दैन, पेशागत सीप र दक्षतासम्बन्धि तालिम,  कर्मसंस्कार सम्बन्धी तालिम पनि दिनुपर्ने हुन्छ । कर्म संस्कारजन्य सुधारका लागि योग, ध्यान, विपश्यना, मनोसाधना, आधारभूत स्वास्थ्यजस्ता ज्ञान पार्टीपंक्तिमा दिन आवश्यक छ ।

प्रविधिजन्य ज्ञान आधारभूत कम्प्युटर शिक्षा, इन्टरनेट चलाउने क्षमता, ड्राइभिङ, बैकिङ प्रणालीमा आवद्ध भएर पार्टीको आर्थिक क्रियाकलाप गर्ने तत्परता आदि सिक्न, सिकाउनुपर्ने हुन्छ । आधारभूत संगठन ज्ञान माइन्यूट लेखन, एजेण्डा सेटिङ, छरितो गरी बैठक चलाउने विधि, कार्यक्रम सञ्चालन विधि, लेखन तथा छोटो प्रभावकारी वक्तत्वकला सम्बन्धी तालिमहरु चलाउनुपर्ने हुन्छ ।

त्यसैगरी आधारभूत व्यवस्थापन ज्ञान विशेषतः समय व्यवस्थापन,  समूह व्यवस्थापन, अन्तरसर्ंगठन तनाव वा द्वन्द्व व्यवस्थापन, इभेन्ट व्यवस्थापन आदि ज्ञानहरु पार्टीपंक्तिमा प्रसारित हुनु पर्दछ । यी सबैका अतिरिक्त प्रत्येक पार्टी सदस्यमा कुनै न कुनै व्यवसायिक तथा पेशागत दक्षता पनि होस् भन्ने कुरामा उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । राजनीति, प्रशासन, अर्थतन्त्र, संगठन र सिद्धान्त सम्बन्धी आधारभूत प्रशिक्षण त छँदैछ । यी काम गर्न सक्ने हो भने पार्टीपंक्ति निश्चित ढाँचामा आकारित हुनेछ । त्यसैले भिन्नै साझा गुण र चरित्र निर्माण गर्ने छ । त्यसको सुवास समाजमा छाउन थाल्नेछ । वस्तुतः यो अन्तसर्ंगठन क्षमताको विषय हो । पार्टी अभियन्ताहरुमा यति सीप, क्षमता र दक्षता विकास गर्ने हो भन्ने त्यो सिंगो देश र समाजको लागि पनि निक्कै ठूलो योगदान हुनेछ ।

आफ्ना कर्महरुलाई केवल चुनावी सफलता वा असफलतासँग मानक बनाएर हेर्नुहुँदैन । नयाँ शक्तिले चुनाव जित्यो कि जितेन भन्दा पनि नेपाली लोकतन्त्रमा वैकल्पिक धारलाई स्थापित गर्न सक्यो कि सकेन भन्ने कुरा बढी महत्वपूर्ण हुनेछ

ट्रष्ट

तेस्रो चरणसम्मका कार्यले पार्टी निर्माणको चरण एक हदसम्म पुरा हुनेछ । चौथो चरणमा जनतासँग घुलमिल हुने, जनविश्वास हासिल गने, जनकार्यलाई तीव्र पार्नुपर्दछ । मूलतः आउने हिउँददेखि यो कार्यलाई तीव्र पार्नु पर्दछ । संगठनले एउटा निश्चित क्षमता हासिल नगरिकन प्रभावकारीरुपमा सार्वजनिक कार्य गर्न सकिन्न । सर्वसाधारणले अहिले नै नयाँ शक्तिले के गर्छ भनेर प्रतीक्षा गर्ने, उत्सुकतापूर्वक हेर्ने, कतिपय ठाउँमा सार्वजनिक हस्तक्षेपको अपेक्षा गर्न थालिसकेका छन् । तर, त्यो अपेक्षालाई पूरा गर्न सक्ने संगठनात्मक क्षमता  हासिल भइसेको छैनौं । संाकेतिक रुपमा अहिले नै गर्न सकिन्छ, तर प्रभाववकारी रुपमा गर्न अझै केही समय लाग्छ । त्यो धैर्यता गर्ने पर्छ ।

इलेक्सन

यो कुरा लुकाउन जरुरी छैन कि नयाँ शक्ति, निर्वाचनबाटै बैधानिक तवरले नेपालको राजनीतिमा छाउन चाहन्छ । तसर्थ आगामी निर्वाचनमा सबै हिसाबले पूर्ण प्रतिस्पर्धात्मक क्षमतासहित निर्वाचनमा जानसक्ने बनाउनु पार्टी निर्माण सम्बन्धी रणनीतिक महत्वको पाँचौं र अन्तिम चरण हो । कम्तिमा नयाँ शक्तिले आउने निर्वाचनसम्म देशका सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने, उम्मेदवारहरुको प्रतिस्पर्धी क्षमतालाई विकास गर्ने, निर्वाचन कानुन, लोकतन्त्रको पवित्रता र सदाचारको सीमाभित्र बसेर पूर्ण क्षमतामा स्रोत र साधनको उपयोग गर्ने, पार्टीको मुख्य एजेण्डा, स्वाधीनता, सम्वृद्धि, सुशासन, समावेशी-सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद अर्थात् ‘पाँच स’ लाई व्यापकतम् प्रचार-प्रसार गर्ने  गर्नु पर्दछ ।

नयाँ शक्तिका अभियन्ताहरु पुग्न कुनै घरको आँगन बाँकी रहनुहुँदैन । कम्तिमा हरेक जनताले थाहा पाउनुपर्छ कि देशमा फरक, नयाँ, र बैकल्पिक राजनीतिको अभ्यास भइरहेको छ, त्यो नागरिकका लागि एउटा फरक अप्सन हुन सक्छ ।

यी कामहरु पूर्ण क्षमतामा समर्पित भावले गर्नु, एउटा चरणका कार्य अर्को चरणका कार्यसंग धेरै मिसमास नगर्नु, रणनीतिक चरणलाई मद्धत नगर्ने अपेक्षा नराख्नु नयाँ शक्ति निर्माणमा महत्वपूर्ण हुनेछ ।

अन्त्यमा

मानिस कर्म गर्न मात्र स्वतन्त्र छ । सफल हुन, नहुन स्वतन्त्र छैन । संसारमा अनेक असल कर्महरु पनि असफल हुन सक्छन् । खराब कर्महरु पनि सफल हुन सक्छन् । तर, सफलता तिनैलाई हात लाग्छ, जो समर्पित भावले कर्म गर्छन् । फुटबल खेल्ने सबै पेले, रोनाल्डो र मेसी हुँदैनन, तर तिनैमध्ये हुन्छन, जो फुटबल खेल्दछन् । तसर्थ नयाँ शक्तिका अभियन्ताहरुले आफ्ना कर्महरुलाई केवल चुनावी सफलता वा असफलतासँग मानक बनाएर हेर्नुहुँदैन । नयाँ शक्तिले चुनाव जित्यो कि जितेन भन्दा पनि नेपाली लोकतन्त्रमा वैकल्पिक धारलाई स्थापित गर्न सक्यो कि सकेन भन्ने कुरा बढी महत्वपूर्ण हुनेछ ।

उपरोक्त पाँच रणनीतिक चरणसँग तारतम्य मिलाएर हिँड्ने हो भने सम्भवत् जनताले नयाँ शक्तिलाई एक अवसर दिनेछन् भन्ने आशा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment