Comments Add Comment

काठमाडौंमा सुरू भयो तेह्रौं हस्तकला व्यापार मेला

२३ वैशाख, काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।

Hastakala Mela (23)मेलाको आज उद्घाटन गर्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले नेपालको अर्थतन्त्र सुदृढीकरणका लागि नेपाल हस्तकला महासङ्घले ठूलो भूमिका खेलेको बताए ।  “नेपाल र नेपालीको पहिचान कला, संस्कृति, वेशभूषा र भाषा चिनाउन मेलाको ठूलो महत्व छ,” उनले भने ।

स्रोत र साधनको भरपुर उपयोग गरी मुलुकलाई विकासको बाटोमा अगाडि लैजान आवश्यक रहेको र जागिर खाने मानसिकता छाडेर उद्योग क्षेत्रमा लाग्न मन्त्री पाण्डेयले आग्रह गरे ।

वाणिज्यमन्त्री जयन्त चन्दले मुलुकमा पर्यटनका धेरै सम्भावनायुक्त क्षेत्र रहेका र पर्यटनमार्फत नेपाली हस्तकलालाई विदेशमा चिनाउनुपर्नेमा जोड दिए । उनले निर्यातलाई प्रतिस्पर्धी बनाउन वाणिज्य नीति–२०७२ ल्याएको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले हस्तकलाका कारण नेपालको अर्थतन्त्रको विकासमा सहयोग पु¥याएको बताउँदै नयाँ पुस्तालाई यो व्यवसाय सिकाउनुपर्नेमा जोड दिए ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष लोकमान्य गोल्छालगायतले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हस्तकला चिनाउन सके व्यापार घाटामा कमी आउने बताए ।

हाल हस्तकलाको निर्यात अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, जापान, चीन, भारतलगायत ८० भन्दा बढी मुलुकमा ५० भन्दा बढी हस्तकलाका वस्तु निर्यात हुँदै आएको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुती र ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेशा, बाँसका सामानलगायत प्रदर्शनीमा राखिएका छन् ।

महासङ्घले मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलालाई विकसित गरी समुन्नत बनाउने, मौलिक कलाको खोजीनीति गर्न २०४८ सालदेखि हस्तकला प्रदर्शनी गर्दै आएको छ । मेलामा बङ्गलादेश, भुटान, भारत, चीन, जापानलगायतका देशमा उत्पादित वस्तुका १७७ कक्ष राखिएका छन् ।

तीन लाख आगन्तुक आउने अनुमान गरिएको सो मेलामा रु १० करोडभन्दा बढीको कारोबार हुने लक्ष्य महासङ्घले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment