Comments Add Comment

एकै रातमा प्रचण्ड फेरिनुका पाँच कारण !

देउवा र भारतको भर भएन, ओलीले बुद्धिमत्ता देखाए

Prachand

२३ वैशाख, काठमाडौं । बुधबार बिहान बसेको एमाओवादी पदाधिकारी बैठकले प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गर्‍यो । प्रचण्डले अन्य दललाई पनि आफूलाई समर्थन गर्न अपील गरे । तर, २४ घण्टा नबित्दै प्रचण्ड केपी ओलीकै सरकारलाई निरन्तरता दिने पक्षमा उभिए । आखिर एकै रातमा प्रचण्ड किन यसरी फेरिए ? हेर्नुहोस् यसका भित्री रहस्य यस्ता छन्ः

१. ओलीसँग सम्बन्ध तोड्ने प्रचण्डको इच्छा थिएन

बुधबार बसेको पदाधिकारी बैठकपछि प्रचण्डले नयाँ सरकार गठनको सार्वजनिक अपील गरेता पनि उो उनको भित्री ईच्छाबाट गरिएको अपिल थिएन ।

एमाओवादीको पदाधिकारीमा रहेका मध्ये उपाध्यक्ष नारायणकाजी श्रेष्ठ केपी ओलीसँग वैचारिक संघर्ष गर्नुपर्छ र सरकारमा पार्टीको प्रभावकारी उपस्थिति देखाउनुपर्छ भन्ने पक्षमा त थिए, तर उनी ओली सरकारलाई ढालेर कांग्रेससँग सहकार्य गर्ने लाइनको विपक्षमा थिए ।

केपी ओलीसँग प्रचण्ड नरम रुपमा प्रस्तुत भएको मन नपराए पनि उपाध्यक्ष श्रेष्ठले ओलीलाई दबाव दिने रणनीतिको मात्रै वकालत गरेका थिए । प्रचण्ड र नारायणकाजीसँग कार्यनीतिक भिन्नता थियो तर सरकारै ढाल्ने तहमा थिएन । तर, बुधबारको पदाधिकारी बैठकमा सरकार ढाल्नुपर्छ भन्ने नेताहरुको दबावमा प्रचण्ड र नारायणकाजी दुबैजना परे ।

पदाधिकारीमा रहेका मध्ये सचिव गिरीराजमणि पोखरेल शिक्षा मन्त्रीसमेत रहेकाले उनले सरकार ढाल्ने वकालत गर्ने कुरै भएन । तर, भर्खरै भारत भ्रमणबाट आएका महासचिव कृष्णबहादुर महरा भने एमाले-एमाओवादी गठबन्धन टुटाएर कांग्रेससँग मिल्नुपर्ने पक्षमा उभिए । व्यवस्थापिका संसदको सदस्य नरहेका अर्का सचिव वर्षमान पुन पनि ओली सरकार ढाल्नुपर्छ भन्ने लाइनमा कडारुपमा प्रस्तुत भए । अर्का नेता टोपबहादुर रायमाझी आफैं उपप्रधानमन्त्री भएकाले सरकार फेर्ने लाइनमा उभिने कुरै भएन ।

यसरी एकातिर ओलीलाई दबाव दिनुपर्छ भन्ने नारायणकाजीको लाइन र अर्कोतर्फ ओलीलाई ढाल्नैपर्छ भन्ने महराको लाइनवीच घालमेल भयो र बुधबार प्रचण्डले नयाँ सरकारबका लागि अपील गर्दै वक्तव्य निकाले । तर, प्रचण्डको भित्री इच्छाविनै आन्तरिक ‘प्रेसर’मा गरिएको ‘अपील’ हुनाले यसको कार्यान्वयन भएन ।

२. देउवाले प्रचण्डलाई आश्वस्त पार्न सकेनन्

कांग्रेस नेता शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने आश्वासन दिए पनि बहुमतीय भए आफैं प्रधानमन्त्री हुने र सहमतीय भएमात्रै प्रचण्डलाई प्रधानमन्त्री बनाउने खालको भनाइ बाहिर आयो । साथै प्रचण्डलाई केही महिनामै सरकारबाट ढालेर देउवा आफैं प्रधानमन्त्री बन्ने चर्चा पनि चल्यो । र, देउवाले यसलाई चिर्न र प्रचण्डलाई विश्वासमा लिन सकेनन् ।

कांग्रेसभित्रका पदलोलूपहरुले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा नरुचाइरहेको परिस्थितिमा उनले ओली गठबन्धन तोड्दाका जोखिमहरु देखे । देउवाले आफूलाई खेलाउन मात्रै खोजेको जस्तो लागेपछि प्रचण्ड पछि हटे । ओलीसँग मन नलागी नलागी फायर खोलेका प्रचण्डलाई आफ्नो पक्षमा ल्याउन देउवाले जति मेहनत गर्नुपथ्र्यो, त्यो गरेनन् ।

३. ओलीको भावनात्मक पक्षले प्रचण्डलाई प्रभावित बनायो

प्रधानमन्त्री केपी ओली र प्रचण्डको सम्बन्ध शान्ति प्रक्रियाको प्रारम्भिक कालमा राम्रो थिएन । तर, पछि उनीहरु अति निकट भएर संविधान निर्माणमा भूमिका खेलेका थिए । यसैक्रममा केपी ओलीले बुधबार साँझ बुद्धिमत्तापूर्वक प्रचण्डलाई फकाए । ओलीले देखाएको लचकता र भावनात्मक कुराबाट प्रचण्ड प्रभावित भए ।

अहिले नीति तथा कार्यक्रम एवं बजेट ल्याएपछि प्रचण्डको प्रधानमन्त्रीत्वमा यही गठबन्धनलाई टिकाउने र स्थानीय चुनावमा पनि मिलेर जाने ओलीको प्रस्ताव प्रचण्डलाई कम जोखिमयुक्त लाग्यो, देउवासँग मिल्नुभन्दा ।

४. सार्वजनिक आलोचना र सामाजिक सञ्जालको प्रभाव

एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको अपील गर्नासाथ सामाजिक सञ्जालमा उनको निकै ठूलो आलोचना भयो । प्रचण्डविरुद्ध धमाधम लेख र खुल्लापत्रहरु आउन थाले । सरकार ढाल्ने खेलमा लागेर एमाओवादी पार्टी बदनाम हुने स्थितिमा पुग्यो । राप्रपा नेपाल लगायतका सत्तारुढ दले पनि प्रचण्डलाई साथ दिएनन् ।

यो सबै देखिसकेपछि सहमतिको सरकार नबन्ने र शेरबहादुर देउवाका हातमा सत्ताको साँचो जानसक्ने देखेपछि प्रचण्ड २४ घण्टा नपुग्दै ‘लिक’मा फर्किए ।

५. र, भारतको चलखेल बुझेपछि…….

विगतमा सांसद खरीदका लागि चीनियाँसँग पैसा मागेको आरोप लागेका एमाओवादी नेता कृष्णबहादुर महरा केही समय पहिले दिल्ली गएका थिए । अख्तियारले घाँटीमा त्रासको घण्टी बाँधिदिएपछि महरा यतिबेला भारतीय एजेण्डामा लागेको आरोप लागिरहेको थियो ।

महरा र देउवाकै कुरो सुनेर ओली सरकार ढाल्ने भारतीय एजेण्डामा प्रचण्डले सामान्य सहमति जनाए पनि एक रात सोचेपछि उनले महरा र देउवाको लाइनबाट आफूलाई मुक्त गरे ।

कुनै पनि निर्णय लिनका लागि प्रचण्ड ‘डाइनामिक’ नेता मानिन्छन् । त्यसैले उनले एउटा गल्तीलाई ढाकछोप गर्न अरु गल्तीहरु गर्दै जानुभन्दा २४ घण्टामा फनक्कै घुमेर पहिलेकै ठाउँमा फर्किए ।

प्रचण्डको पछिल्लो निर्णयलाई सामाजिक सञ्जालमा धेरैले सही निर्णय भन्दै प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment