Comments Add Comment

बहुमतीय सरकार बन्ने परिस्थितिले पछि हटेंः प्रचण्ड

'सहमतिको कुरा गर्दा सरकार गिराउन लागेको भनेर अर्थ्याइयो'

२३ वैशाख, काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतीय सरकार गठन हुने परिस्थिति सिर्जना भएकाले आफू पछि हटेको बताएका छन् ।

Prachand-New-photoकार्ल मार्क्सको १९८ औं जन्मजयन्तिको अवसरका बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूले राष्ट्रिय सहमतिको सरकारको कुरा गर्दा सरकार गिराउने खेलमा लागेको भनेर अर्थ्याइएको गुनासो गरे ।

‘अन्य पार्टी पनि राष्ट्रिय सहमतिको सरकार बनाउन तयार छन् भने हामी पनि तयार छौं भनेका हौं । यो राम्रो कुरा पनि थियो तर त्यो अवस्था देखिएन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हामीले भनेको कुरामा कुण्ड-कुण्ड पानी, मुण्ड-मुण्ड बुद्धि भनेजस्तो भयो ।’

एमाओवादीलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न आग्रह गरेकोमा उनले कांग्रेसलाई धन्यवादसमेत दिए । कम्युनिष्टको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने प्रचण्डको भनाइ छ ।

देश संकटमा पर्ने खतरा

उनले राष्ट्रिय सहमति नभए देश संकटमा पर्ने खतरा औंल्याए । देश असामान्य स्थितिबाट गुजि्ररहेको भन्दै प्रचण्डले सबै दललाई एकताबद्ध हुन आग्रह गरे ।

संविधान बनाउन रोक्ने शक्तिले अहिले कार्यान्वयनमा व्यवधान खडा गरेको भन्दै प्रचण्डले संविधान कागजको खोस्टो जस्तै हुने खतरा रहेको बताए । संविधानको सफल कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमति र एकता आवश्यक रहेको उनले बताए ।

‘जटिलता र परिवर्तनको बीचबाट नेपाली समाज गुजि्ररहेको छ,’ प्रचण्डले भने, ‘यस्तो बेलामा असाधारण एकता हामीले प्रदर्शन गर्न सकेनौं भने दुर्घटनामा पर्ने खतरा छ ।’

सरकारमा भएका पार्टीहरुसँग सरकार बाहिर रहेका कांग्रेस र मधेसी मोर्चाबीच राष्ट्रिय एकता कायम गर्न निरन्तर प्रयास जारी राख्ने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment