Comments Add Comment

एकै रातमा प्रचण्डको कोल्टे फेराइ

prachanda२४ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि एकाएक तातेको राजनीतिक वृत्तले २४ घण्टामै कोल्टे फेरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दाहाललाई समर्थन गर्ने जनाएपछि नयाँ सरकार गठनमा अग्रसरता देखाएको एमाओवादी बिहीबार बिहान आइपुग्दा त्यसबाट पछि हटेको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

बिहीबार बिहान एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम दाहाललाई भेट्न उनको लाजिम्पाटस्थित निवास पुगेका थिए । उनीहरूले नीति तथा कार्यक्रम र बजेट ल्याउन दिन आग्रह गर्दै त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सरकारका लागि मार्गप्रशस्त गर्नेमा आश्वस्त पारेको एमाओवादीका एक नेताले जानकारी दिए ।

खनाल र गौतमपछि लाजिम्पाट पुगेका कांग्रेस सभापति शेरवहादुर देउवालाई भने दाहालले तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन नसकिने बताएका थिए । ‘प्रधानमन्त्री र हाम्रो पार्टी अध्यक्षबीच बुधबार राति भएको भेटवार्तामा प्रधानमन्त्री भावुक तरिकाले प्रस्तुत हुनु र बिहीबार बिहान बजेटपछि राष्ट्रिय सहमतिको सरकारका लागि एमालेले मार्गप्रशस्त गर्ने सहमति भएकाले अध्यक्ष पछि हट्नुभएको हो,’ दाहालनिकट एक नेताले बताए ।

माओवादी केन्द्रीय सदस्य हेमराज भण्डारीले पनि तत्काल राष्ट्रिय सहमतिको सम्भावना नदेखिएकाले दाहाल पछि हटेको जानकारी दिए । ‘विदेशी शक्तिले दाहाल-देउवा मिलाउने र प्रधानमन्त्रीलाई उक्साएर संसद् भंग गर्ने अनि राष्ट्रिय सहमति हुन नदिनेसम्मका खेल खेलेपछि राष्ट्रिय सहमतिबिना मुलुकमा झन् अस्थिरता बढ्ने देखियो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment