Comments Add Comment

निर्माण गर्ने पक्षको टुङ्गो नलाग्दा मेलम्ची सडक जोखिमयुक्त

२४ वैशाख, मेलम्ची । मेलम्ची खानेपानी आयोजना, सडक विभाग र जिविस कसले जिरो किलोदेखि मेलम्चीसम्मको सडकखण्ड निर्माण गर्ने भन्ने कुराको टुङ्गो नलाग्दा हेलम्बु राजमार्ग बेवारिसे हुनपुगी यातायात सञ्चालनमा नै कठिनाइ उत्पन्न भएको छ ।

विसं २०४० देखि यातायात सञ्चालन हुँदै आएको पाँचखाल–मेलम्ची २३ किमी लम्बाइको सडकलाई सडक विभागले निर्माण गरी सडक डिभिजनबाट मर्मत र सञ्चालन हुँदै आएकोमा २०५८ सालदेखि मेलम्ची खानेपानी आयोजनाले प्रवेश मार्गका रुपमा जिम्मा लिएको थियो ।

आयोजनाले सो सडकखण्डलाई पक्की सडकका रुपमा विकास गर्न करिब ७५ करोड रुपैयाँ खर्च गरेको भएपनि केही वर्षदेखि निर्माण कम्पनी र आयोजनाको विवादले सडककोे मुद्दा अन्तर्राष्ट्रिय अदालतमा पुगेकाले सो सडक निर्माण गर्न न त आयोजनाले नै चासो दियो न त निर्माण कम्पनीले नै ।

Tato-pani-sadakहाल आएर नेपाल सरकार सडक विभागबाट मोडेल सडक निर्माण गर्ने अवधारणा तथा लक्ष्य रहेको बताइएको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र काठमाडाैं समेतका ५० भन्दा बढी गाविसलाई प्रत्यक्षरुपमा यातायात सेवा दिँदै आएको यो सडकलाई मेलम्ची आयोजनाले प्रवेशमार्गका रुपमा अवलम्बन गरेपछि थप सुधार गरी पक्की बनाउन सुरुमा ४९ करोड रुपैयाँको ठेक्का लगाएको थियो ।

ठेकेदार कम्पनी मारुसिन सिताका (टुन्डी जेभीले २०६० सालदेखि निर्माण कार्य सुरु गरेको यो सडक निर्माण कार्यमा ठेकेदार कम्पनीले अनेकौँ कारण देखाई भेरिएसन अर्डरबाट लागत ७५ करोड पुर्‍याए पनि अन्तमा काम नै नसकी छोडेकाले सडक हालसम्म बेवारिसे हुन पुगेको हो ।

सडक भत्किएर जीर्ण भई यातायात नै नचल्ने भएपछि स्थानीय बासिन्दाले सडक विभाग र मेलम्ची आयोजनाको ध्यानाकर्षण गराउँदा कतैबाट पनि जिम्मेवारी नलिएको नेपाली काँग्रेस सिन्धुपाल्चोकका क्षेत्र नं ३ का अध्यक्ष आइतमान तामाङले बताए ।

जिविस, सडक विभाग र मेलम्ची आयोजनाका कुनै पनि निकायले मर्मत र हेरचाह नगरेकाले सडक दिनप्रतिदिन जीर्ण भएपछि खोजी गर्दै अगाडि जाँदा पनि कुनै पनि निकायले वास्ता नगरेपछि ज्यामिरे–२ का बासिन्दा दानबहादुर कार्कीले सूचनाको हकसम्बन्धी ऐनअनुसार लिखित जवाफ मागेपछि अन्ततः मेलम्ची आयोजनाले सो सडक आफ्नो जिम्माको भएपनि मर्मत र हेरचाह गर्न भने मुद्दाले गर्दा कठिनाइ भएको जानकारी दिए ।

आयोजनाका पदाधिकारीले भ्रष्टाचारको पोल खुल्ने डरले सो कुराको जानकारी तत्कालीन सहरी विकासमन्त्री डा नारायण खड्कालाई समेत गराएका थिए । ठेकेदार कम्पनीले अझै थप ६ करोड  रूपैयाँ भुक्तानी माग गरी अन्तर्राष्ट्रिय अदालतसमक्ष मुद्दा पुर्‍याएको र सडक हस्तान्तरण पनि भइनसकेको मेलम्ची आयोजनाले बताएको छ ।

मेलम्ची आयोजनाका तत्कालीन फिल्ड इन्जिनियर भरत जिसी, आयोजनाको कन्सल्टेन्ट रामकृष्ण शर्मा र ठेकेदार कम्पनीको मिलेमतोमा सो सडक निर्माणमा व्यापक भ्रष्टाचार भएकाले हाल सहरी विकास मन्त्रालयबाट अनुसन्धान भइरहेको पनि आयोजनाका एक कर्मचारीले जानकारी दिए ।

कालोपत्रे भएको केही महिनादेखी नै सडकमा खाल्डो परेको र अहिले त पिचको अवशेष पनि देखिँदैन, काभ्रेको सिपाघाटका बासिन्दा किशोर विद्याधरले भने, “यत्रो ठूलो लगानीमा निर्माण गरेको यो सडककोे अवस्था यति नाजुक छ कि जुन सडक निर्माणमा लागेको लगानी कति छ भन्दा पनि लाजमर्दो हुन्छ, असार साउनमा यातायात नै चल्दैन, सडकको स्तरोन्नति नहुँदा काभ्रे र सिन्धुपाल्चोेकका बासिन्दाले निकै दुःख खेप्नु परेको छ ।”

राष्ट्रलाई करोडौँ क्षति हुनेगरी सडक निर्माणमा भएको अनियमितताको छानबिन र कारबाही हुनुपर्ने माग सूचना मागकर्ता दानबहादुर कार्कीले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment