Comments Add Comment

साँइली बज्यैको नयाँ वर्ष

झ्याउँकिरीको शास्त्रीय सँगीतमा लट्ठिएर

झमम्क मुद्रामा निदाउन खोज्दै थियो साँझ

एक भारी सुनौला ताराहरुको बिस्कुन सुकाएर छातिभरी

आफैँ अन्धकार बाँचिरहेको थियो आकाश

बास बस्दै गरेका चराहरुको चिर्बिराहट साक्षी राखेर

आफ्नो मुडुलो टाउको लुकाउन खोज्दै थियो सिङ्गो पहाड

साँइली बज्यै ०७२ को डिलमा बसेर पर्खिरिहिथिन् ०७३

Keshab-acharyaनिभ्नै लागेको बत्ति साक्षी राखेर

घरबिनाको आँगनमा रहेको पालमा ओर्लिँदै थियो

एक टुक्रा अँध्यारो ‘न्यू ईएर ईभ’

रात कठ्याङ्ग्रिदै जाँदा कोसौँ टाढाको शहरले चर्को आवाजसँगै

एकसाथ मनाइरहेथ्यो एउटा झिलीमीली ‘ह्याप्पी न्यू इयर’

ठानिन् बिहान ब्यूँझिदा शहरबाट आईपुग्नेछ

उनको पालमा पनि त्यो झिलीमीली ‘ह्याप्पी न्यू इयर’

उठिन् साँइली बज्यै!

चराहरुको लगातारको चिर्बिराहटबिच

झिसमिसे मुद्रामा ब्यूँझिन खोज्दै थियो बिहान

एउटा तातो सिक्का उदाउन खोजिहेथ्यो पूर्वी पहाडमा

र उज्यालिन खोज्दै थियो आकाश

एकटकले हेरिरहिन् नयाँ वर्ष तर कतै थिएन त्यो

पोहोर साल भत्किएको ‘नयाँ घर’ पुरानै थियो

त्यहि घरभित्र पुरिएका नाति-नातिना र बुहारीको

सम्झनामा धड्किरहने छाति पुरानै थियो

खाडीको मरुभूमीमा ‘मातृभूमी’ सम्झेर छट्पटाइरहेको छोराको

यादमा एकोहोरिने मन पुरानै थियो

सरकारी आगमनको प्रतिक्षामा टोलाइरहने आँखा पुरानै थिए

र एक बर्षदेखी निदाउन नसकेको उनको गाउँ पुरानै थियो

शायद सबै-सबै पुराना देखेर होला

खोई आएन त साँइली बज्यैको पालमा

त्यो झिलीमीली ‘ह्याप्पी न्यू इयर’ शहरबाट

थकाई मार्दै होला कतै बाटोमा

र बर्षौँ कुरेपछी लखतरान मुद्रामा

आउला ‘ह्याप्पी न्यू इयर’ साँइली बज्यैको झुपडीमा पनि शायद

उनले धर्ति छोडेको एक बिहान!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment