Comments Add Comment

युरोपबाट फर्केपछि अनन्त भन्छन्ः अब उतै करिअर बनाउँछु

Aananta Tamang (8)

२४ वैशाख, काठमाडौं । आधुनिक फुटबलको जन्मथलो युरोपमा फुटबल खेलेर फर्केका छन् नेपालका आशालाग्दा युवा फुटबलर अनन्त तामाङ । अन्तर्राष्ट्रियस्तरका साथै क्लव स्तरमा पनि तहल्का मच्चाइरहेको स्पेनको एकेडेमी क्लव मार्भेला युनाइटेडमा करिव डेढ महिना ट्रायल सकाएर फर्किदा उनमा अर्कै आत्मविश्वास जागेको छ ।

‘मेरो खेललाई धेरैले प्रशंसा गर्नुभयो,’ अनन्त ढुक्कसँग भन्छन्, ‘अब म यूरोपमै आफ्नो फुटबल करिअर बनाउनेछु  ।

अहिले युरोपको फुटवल सिजन सकिएको छ । आगामी जुलाईपछि फेरि सिजन सुरु हुन्छ । त्यतिबेलासम्म युरोपको कुनै क्लवमा अनुबन्धित भइसक्नेमा उनी विश्वस्त छन् ।

बंगबन्धु गोल्डकप र १२औं सागमा स्वर्ण जितेपछि अनन्तका साथै नेपाली टोलीका स्ट्राइकर अञ्जन विष्ट र बिमल घर्तीमगरलाई मार्वेलाले ट्रायलका लागि बोलाएको थियो । बिमल इन्जुरीका कारण जान नसकेपछि उनी र अञ्जनले ट्रायल दिएर फर्केका छन् ।  तीन महिना भनिए पनि ५१ दिनको मात्रै भिषा पाएकाले छिट्टै फर्कनुपरेको अनन्तको भनाइ छ ।

अनन्तका अनुसार मार्वेला युनाइटेड अमेरिकीको लगानीमा खोलिएको एकेडेमी क्लव हो । जसमा संसारभरीबाट फुटबलर बन्ने चाहना राखेकाहरुले पैसा तिरेर प्रशिक्षण लिने गर्छन् । मार्वेलाले युरोपका बिभिन्न मुलुकमा पुगेर त्यहाँका एकेडेमीहरुसँग फुटबल खेल्ने गर्छ । त्यहाँ क्लवका एजेन्टहरु पनि उपस्थित हुन्छन् । त्यहाँ गरेको प्रदर्शन अन्य क्लवका प्रतिनिधिले मन पराए भने उनीहरुलाई किनेर लान सक्छन् ।

अनन्तले भने-‘हामी चाहीँ स्कलरसिपमा गएका हौं । हाम्रो बेल्जियमका एजेन्ट हुनुहुन्छ । उहाँले नै कुरा गरेर हामीलाई त्यहाँ ट्रायलका लागि जाने व्यवस्था मिलाउनुभएको हो ।’

मारवेलामा रहँदा अनन्तले नदेरल्याण्ड्स, जर्मनी र बेल्जियममा पुगेर थुप्रै खेल खेले । त्यसबीचमा फ्रान्सको एफसी ट्रोएसमा पनि एक साताका लागि ट्रायल दिन गए । मार्वेलाको पहिलो टूर नेदरल्याण्ड्सको थियो । त्यसमा गो इगाल्स गो भन्ने क्लवबाट उनले पहिलो खेल खेलेका थिए । पहिलो खेल नै उनका लागि अविस्मरणीय रहृयो । त्यस खेल भलै बराबरीमा सकिएको थियो, तर उनले भने टिमबाट राम्रै प्रतिक्रिया पाए । त्यसपछि टोलीका सबै खेलमा उनलाई समाबेश गरियो ।

उनले सबैजसो खेलमा अञ्जनसँगै खेले । अनन्त भन्छन्-‘सुरुदेखि नै हामीले सँगै खेल्यौं । हाम्रो क्लवको दुईवटा टिम थियो । कहिलेकाहीँ छुट्टएिपनि प्राय हामी एकै टोलीबाट खेल्न पायौं ।’

Aananta Tamang (2)
फुटबलस्तरमा आकाश-जमिनको फरक

डेढ महिनाको युरोप बसाईमा चार मुलुकको भ्रमण गरे अनन्तले । त्यहाँ थुप्रै खेलहरु खेले र युरोपेली एजेन्टलाई प्रभावित पारेर फर्किए । आफ्नो प्रदर्शनबाट मारवेलाका प्रशिक्षक लगायत अधिकारीहरु सन्तुष्ट बनेको उनको दावी छ ।

युरोप बसाईका क्रममा उनले नेपाली फुटबलस्तरको तुलनामा युरोपको फुटबल स्तरमा आकाशजमिनको फरक महसुस गरेका छन् ।

अनन्त भन्छन्-‘युरोपको खेलस्तर हेरेपछि मैले नेपाल लगायत दक्षिण एशियाली मुलुकको स्तर बढाउन धेरै कुराहरुमा सुधार गर्नुपर्ने देखेको छु । टेक्निकल्ली र ट्याक्टिकल्ली दुवैमा हामीले सुधार गर्नुपर्ने हुन्छ ।’

सानैदेखि डिफेन्डर

फुटबलर खेलाडी बन्ने सपना बुनेकाहरुमध्ये धेरैले आफुलाई स्ट्राइकरको भूमिकामा देख्न चाहन्छन् । तर अनन्त तामाङले सानैदेखि आफुलाई डिफेन्डर पोजिसनमा राखे ।

फुटबल खेलमा डिफेन्डर भनेको निक्कै अपजसे पोजिसन हो । फुटबल पण्डितहरु यसै भन्छन् । स्ट्राइकरको प्रदर्शन गोलका आधारमा गरिन्छ । तर डिफेन्डरले जति राम्रो खेले पनि प्रशंसा पाउदैन ।  एक गोल खायो भने अपजस लिनुपर्छ ।

तर अनन्त यसलाई मान्दैनन । भन्छन्-‘विश्वमा फुटबलमा धेरै सुधार भइसकेको छ । मोर्डन फुटबलमा स्ट्राइकरको भूमिका जति महत्वपूर्ण हुन्छ डिफेन्डरको पनि त्यति नै हुन्छ ।’

बाल्यकालमा फुटबल खेल्दा सिनियर दाईहरुले स्ट्राइकर पोजिसनमा खेलेर अनन्तलाई डिफेन्डर बनाउथे । पछि उनी यही पोजिसनमा रमाउन थाले । पाँच बर्षअघि झापाबाट एन्फा एकेडेमीमा छनौट भएपछि उनले डिफेन्डरको पोजिसनबाटै फुटवल खेले । स्ट्राइकर नभएकै कारण उनले राष्ट्रिय टोलीबाट ढिला डेब्यू पाए । जवकि उनकै ‘ब्याजी’ बिमल घर्तीमगर र अञ्जन विष्टले राष्ट्रिय टोलीबाट दुई बर्षअघि नै डेब्यु गरिसकेका थिए ।

अनन्तका अनुसार दक्षिण एशियाका टोलीहरुको स्तरमा खासै फरक छैन । त्यसैले समान स्तरका टोलीहरुसँगको खेल रक्षात्मक बढि हुन्छ । रक्षात्मक खेल्ने र काउन्टर एट्याकमा गोल गर्ने रणनीतिमा खेलिएको हुन्छ । त्यस्तै अवस्थामा डिफेन्डरको भूमिका पनि बढि हुने र चुनौति पनि बढि हुने अनन्तको अनुभव छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा स्पेन र रियल म्याड्रिडका डिफेण्डर सर्जियो रामोस उनका रोल मोडल हुन् । नेपाली टोलीमा भने उनलाई रोहित चन्दको खेल असाध्यै मन पर्छ । रोहित पनि राष्ट्रिय टोलीका डिफेन्डर हुन् ।

Ananta-Tamang
तस्वीर मार्वेला युनाइटेडको फेसबुक पेजबाट

साफ च्याम्पियनसीप जित्ने सपना

गत बर्ष भारतबिरुद्धको मैत्रिपूर्ण खेलमार्फत उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् । त्यसपछि उनी प्रत्येकपटक राष्ट्रिय टोलीमा पर्दै आएका छन् ।

नेपालले गत बर्षको अन्त्यतिर खेलेका साफ च्याम्पियनसीप, बंगबन्धु गोल्डकप र १२औं सागमा उनी नेपाली टोलीका सदस्य भए । जसमध्ये बंगबन्धु र सागमा नेपालले उपाधि नै जितेको थियो । साफ च्याम्पियनसीपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

यसअघि उमेर समूहमा उनले अण्डर १६ र अण्डर नाइन्टिन टोलीबाट  नेपालले खेलेका कुनै पनि खेल छुटाएनन् । उमेर समूहका एन्फा एकेडेमीको उनीहरुको ब्याच शक्तिशाली थियो । नेपालले अन्डर नाइन्टिन साफको उपाधि गत भदौमा जित्दा फाइनलमा भारतबिरुद्ध अनन्तले नै विजयी गोल गरेका थिए । टोलीको नियमित उपकप्तान भए पनि त्यस खेलमा उनैले कप्तानी गरेका थिए । उनी त्यो क्षण आफ्नो अहिलेसम्मको खेलजीवनको अविस्मरणीय क्षणका रुपमा सम्झान्छन् ।

उनको अबको सपना छ नेपाललाई साफ च्याम्पियनसीपको उपाधि दिलाउने । उमेर समूहमा उनले त्यो उपलब्धि हाँसिल गरिसकेका छन् । सिनियर टोलीबाट साफ जित्न सजिलो नभएको कुरा उनले बुझेका छन् । भन्छन्- हामी गत बर्षको सुरुमा नराम्रो कालखण्डबाट गुजि्रयौं, म्याच फिक्सिङ र एन्फा विवादका कारण नेपाली फुटबलले बदनामी खेप्नुपर्‍यो । तर बर्षको अन्त्यतिर दुई महत्वपूर्ण उपाधि जितेर हामीले फुटबललाई पुनरागमन गरायौं र अहिले फुटबलको स्तर पनि माथि उठेको महसुस मैले गरेको छु ।’

तर साफ जित्ने लक्ष्य लिँदै गर्दा टोलीको स्तर अझै माथि उठ्नुपर्छ भन्छन् उनी । ‘ठूला प्रतियोगिताअघि १/२ महिनाको प्रशिक्षणले हाम्रो खेलस्तर माथि उठ्न सक्दैन, नियमित प्रशिक्षण हुनुपर्‍यो, नभए लिग प्रणाली राम्रो हुनुपर्‍यो,’ उनले थपे, ‘युरोपतिर नौ महिना लिग खेलिन्छ, खेलाडीहरु फिट रहन्छन् । १/२ साताको प्रशिक्षणपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइन्छ, तर हाम्रो न लिग राम्रो छ न राष्ट्रिय टोलीको प्रशिक्षण नियमित छ, अनि कसरी हुन्छ फुटबलको बिकाश ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment