Comments Add Comment

‘प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको छैन’

राष्ट्रिय सहमतिमा एमाले सकारात्मक छः गजुरेल

9_points_statement_UML&UCPNM2

२४ वैशाख, काठमाडौं । एमाले र एमाओवादीबीच ९ बुदेँ समझदारीपछि सरकार ढल्नबाट जोगिएको छ । जोगिएको मात्र होइन, दुई दलको गठवन्धन पहिलेभन्दा सुरक्षित र सुदृढ बनेको एमालेले महसुस गरेको छ । तर, धेरैले के प्रश्न उठाएका छन् भने बजेट पारित भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ भएको छ कि छैन ?

विहीबार राति ११ बज्न लाग्दा बालुवाटारमा सम्पन्न ९ बुँदे लिखित सहमतिबाहेक नेताहरुबीच सत्ता हस्तान्तरणबारे भद्र सहमति भएको भनेर बाहिर चर्चा चलेको छ । नीति-कार्यक्रम र बजेटपछि केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भनी चलेको चर्चालाई एमालेका नेताहरुले अस्वीकार गरेका छन् ।

‘कागजमा जे लेखिएको छ त्यत्ति हो,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले नेता विष्णु रिमाल भन्छन्, ‘सत्ता हस्तान्तरणका अरु कुनैखाले सहमति भएको छैन ।’

लिखित समझदारीपत्रको पहिलो बुँदामा राष्ट्रिय सहमतिबारे उल्लेख भए पनि अमूर्त कुरा गरिएको छ । त्यसमा ‘संविधान कार्यान्वयन र आर्थिक सामाजिक रुपान्तरणका लागि अनुकूल वातावरण सिर्जना गर्न राष्ट्रिय सहमतिको सरकार बनाउने पहल गर्ने’ भनिएको छ । एमाओवादीका लागि यही बुँदा आशाको त्यान्द्रो हुन सक्छ ।

हरिबोल भन्छन्- एमाले सकारात्मक छ

एमाओवादीका नेता तथा कृषि मन्त्री हरिवोल गजुरेलले सत्ता हस्तान्तरणबारे ठोस खालको सहमति नभए पनि राष्ट्रिय सहमतिको सरकार निर्माणमा एमाले सकारात्मक रहेको अनलाइनखबरलाई बताए ।

गजुरेलले भने, ‘मौखिक कुराकानीलाई आधार मान्दा एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सकारात्मक भूमिका खेल्ने हाम्रो विश्वास छ । यद्यपि त्यसका लागि कुनै समयसीमा हामीले तोकेका छैनौं ।’

उनी अगाडि भन्छन्, ‘राष्ट्रिय सहमतिको सरकारका विषयमा हामी दुई दलले सहमति गरेर मात्र हुने होइन, भोलि कांग्रेस पनि आउनुपर्‍यो । त्यसैले यो विषयले अहिले नै ठोस आकार लिन सक्ने अवस्था भएन ।’

दुई दलबीच ९ बुँदे सहमतिपछि वर्तमान सरकारप्रति एमाओवादीको असझदारी र संशयहरु हटेको व्याख्या एमाले नेताहरुले गरेका छन् । उनीहरुको भनाइमा एमाओवादीको चिन्ता सम्वोधन भइसकेपछि अब सरकार पहिलेभन्दा प्रखर रुपमा अगाडि बढ्नेछ ।

एमाले महासचिव ईश्वर पोखरेल भन्छन्, ‘एमाओवादीले केही संवेदनशील विषयहरु राखेको थियो । ती विषयहरुलाई हामीले गम्भीरतापूर्वक लियौं र सम्वोधन गर्‍यौं । अब असमझदारी बाँकी छैनन् ।’

दुई दलबीच भएको समझदारीमा नौलो र एमालेका लागि खासै अप्ठेरो बुँदा केही पनि छैन । एमाओवादीको सबैभन्दा ठूलो चासो द्वन्द्वकालीन मुद्दाहरुलाई ब्यूताउन थालिएकोप्रति थियो ।

नौ बुँदे समझदारीमा पनि शान्ति प्रक्रिया र द्वन्द्वकालीन मुद्दाहरुलाई केन्द्रमा राखिएको छ । नौमध्ये पाँचवटा बुँदा शान्ति प्रक्रियासँग जोडिएका छन् भने अन्य चार बुँदा समसामयिक विषयमा छन् । तेस्रो बुँदामा ‘विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालीन न्यायसम्वन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानून संशोधनसहितका प्रक्रिया अघि बढाउने भनिएको छ । समयसीमा तोकिएको भनेको यही एउटा बुँदा हो ।

ओलीको रणनीतिक चाल

सरकार जोगाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल एमालेले निकै सुझवुझपूर्ण र रणनीतिक चाल चलेका छन् । कांग्रेसले प्रधानमन्त्रीको ललीपप देखाएपछि लोभिएका पुष्पकल दाहाल प्रचण्डले अपर्झट प्रधानमन्त्री पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री ओली त्यसबाट उत्तेजित वा आक्रोशित भएनन् । बरु होसियारीपूर्वक प्रचण्डलाई ‘काउन्टर ललिपप’ देखाइदिए, बजेटपछि म आफैं तपाईंलाई प्रधानमन्त्री बनाउँछु भनेर । प्रचण्डलाई पग्लिन १२ घन्टा पनि लागेन ।

कांग्रेसको ललिपप खाएर प्रचण्ड राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न सम्भव थिएन । त्यो नभएपछि उनले ‘सहमति बमोजिम’ देउवालाई बहुमतको प्रधानमन्त्रीमा स्वीकार्नुपथ्र्यो । अर्कोतर्फ उनी भारतीय रणनीतिको शिकार बनेको आक्षेप उनीमाथि लाग्न थालिसकेको थियो । त्यसैले उनले एमालेको ललिपप स्वीकार्नु उनका लागि स्वभाविक र बुद्धिमत्तापूर्ण निर्णय थियो ।

तर, अन्तिमसम्म आउँदा प्रचण्डले खासै केही हात पार्न सकेनन् । एमालेको प्रस्तावप्रति उनको ढल्काईसँगै कांग्रेस बिच्किएर हिँड्यो । त्यसपछि एमालेसँग टालटुलेे सम्झौता प्रचण्डका लागि बाध्यकारी बन्न गयो । यसअघि ओलीले प्रस्ताव गरेको ‘बजेटपछि प्रचण्ड नेतृत्वको सरकार’ को ललिपपलाई पनि उनले कागजमा उतार्न सकेनन् । कागजमा उतार्न सकेनन् मात्र होइन कि भद्र सहमतिको रुप पनि दिन सकेनन् ।

यसरी हेर्दा प्रचण्डको राजनीतिक कौशलहीनता पुन एकपटक उजागर भएको छ । तर, यसो भन्दै गर्दा यो पनि भन्नुपर्ने हुन्छ कि प्रचण्ड यसपटक भीरबाट खस्नबाट बालबाल जोगिएका छन् । यदि भारतको इशारा र देउवाको दिशानिर्देशमा लागेर यो सरकार ढालेको भए प्रचण्डको सम्पूर्ण राजनीतिक साख धुलोमा मिल्ने थियो । उनी अलोकपि्रयताको पराकाष्टामा पुग्ने थिए । यसरी उनी खस्दाखस्दै जोगिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment