आमा !
फोटो हेरिरहेँ तिम्रो !
अहिल्लै जस्तै लाग्छ पन्ध्र बर्ष अगाडी तिम्रो काख छोडेर शहर पसेको ।
फोनका टावरहरु ढलेको युग,
मैले चिठ्ठी पठाउथेँ तिम्रो नाममा ।
दिनहुँ पछि तिम्रो हातमा पुग्थ्यो,
र एक क्लास पनि नपढेकी तिम्ले चिठ्ठी लेख्थ्यौ मलाई,
‘यता सबै राम्रै छ बाबु !
खानेकुरामा ख्याल गर्नु !
पढाईमा ध्यान दिनु !
अनि घर सम्झेर नआत्तीनु !
आज पन्ध्र बर्ष पछि फेरि,
तिम्ले त्यति बेला पठाएको चिठ्ठी उस्तै छ आमा !
हातहरु थर्थराएर कति जोडबलले कोरेको चिठ्ठी त्यो,
अक्षरहरुको रङ् बिस्तारै धुमिल् बने जस्तै लाग्यो,
तर तिम्रो माया किन झन् झन् गाढा अनुभूत् भैरहेछ मलाई ।
हो आमा मलाई थाहा छ,
तिम्रा ती अक्षरहरु
तिम्रै शरीरका नसाहरु जस्तै घुमाउरा छन्,
शायद अक्षररुपी नसाहरुमा तिम्रै मायाको रगत बगिरहेछ हरपल ।
आमा !
म फेसबूकमा यी हरफहरु अपलोड गर्दै गर्दा
तिमी ठूलो घाँसको भारी लोड गर्दैछ्यौ होला ।
यी टाईप गरिएका अक्षरहरुमा पनि तिम्रै अक्षरहरुको प्रतिबिम्ब देख्छु म त ।
अँगेनाको डिलमा बसेर तिम्रा कथा सुनेको आनन्द
आज कम्प्युटर अगाडि ईलेक्ट्रोनिक बूक्स पढ्दा नहुँदो रहेछ आमा !
शरीर मिचीमिची नुहाईदिएर तिम्ले भोटो लगाईदिँदाको मज्जा
आज यि कोट, पाइन्ट र टाईको सतही जिन्दगीमा नहुँदो रहेछ आमा !
तिम्ले स्लेट पाटीमा कखरा सिकाउँदाको रमाइलो
ल्यापटपमा बसेर जबर्जस्त रिपोर्ट लेख्दा नहुँदो रहेछ आमा !
खोइ र आमा !
कुन क्षणलाई सम्झुँ कुन क्षणलाई बिर्सुँ !
तिम्रो औंला समाउँदै खरबारीमा गएर फर्किँदा
भारी सँगै तिम्ले मलाई पनि बोकेको क्षणलाई सम्झुँ कि
तिम्रो पछि लाग्दै पिक्निक गएर मेरो हातमा चोट लाग्दा
म होईन तिमी रोएको क्षणलाई सम्झुँ ।
तिम्रो बुई चढेर घण्टौँ लामो बाटो पार गर्दै मामा घर गएको कुरा सम्झुँ कि,
मैले नौनी घिउ चोरेर खाँदा उल्टै तिमी खित्का छोडेर हाँसेको क्षणलाई सम्झुँ !
उफ्
कति धेरै सम्झनाका लहरहरु !
आमा तिम्रो मन्द मन्द मुस्कानले भरिएको फोटोमा त मेरो आँसु पो झरेछ ।
आज पन्” बर्ष पछि फेरी तिम्रो त्यो चिÝीको प्रतिउत्तर लेख्न मन लाग्यो ।
‘मेरो केहि चिन्ता नगर्नु आमा ।
तिम्ले नयाँ चोली सिलाउनु
नयाँ सारि किन्नु।
तिम्लाई ढाड दुख्ने समस्या छ,
चिसो बाट जोगिनु ।
तिम्रा ति पुराना अक्षरहरुले मलाई मेरो गन्तब्यको बोध गराईहेछन् पलपल ।
तिम्रा ति घुमाउरा अक्षरहरु नै मेरो जीवनका बाटाहरु हुन् ।
तिम्रा ति भावनाहरु नै मेरो जीवनका लक्ष्यहरु हुन् ।’