Comments Add Comment

मुखमै आएको प्रधानमन्त्री छाड्न किन बाध्य भए प्रचण्ड ?

prachanda२६ वैशाख, काठमाडौं । सरकार बनाउन निर्णायक भूमिका खेलेका प्रचण्ड आफैं प्रधानमन्त्री बन्न अघि सरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरुले हरेस खाइसकेका थिए । तर, प्रचण्ड एकाएक पछि हटे । अन्ततः ओली नेतृत्वको सरकार अब केही दिनका लागि जोगिएको छ । र, बजेटको तयारीमा जुटेको छ ।

आखिर किन छाडे त प्रचण्डले मुखैमा आएको प्रधानमन्त्री ? दिन बित्दै जाँदा वास्तविकता खुल्न थालेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड पछिल्लो केही समयदेखि केपी ओली सरकार प्रति सन्तुष्ट थिएनन् । र, उनलाई पटक-पटक प्रधानमन्त्री हुने अफर आएको थियो । तर, पार्टी समीकरणका कारण अघि बढ्न सकेका थिएनन् ।

तर, योपटक द्वन्द्वकालीन मुद्दाहरुका विषयमा भएको भद्र सहमति ओलीले बेवास्ता गरेपछि एमाओवादी नेतृत्व दबावमा पर्‍यो । एमाले र एमाओवादीबीच वार्ताका लागि लिखित पत्र नै पठाउँदा समेत सुनुवाइ भएन । र, वामपन्थीहरुको सरकार टिकाइराख्नुपर्छ भन्ने नारायणकाजी श्रेष्ठहरु पनि के हो भन्ने अवस्थामा आइपुगे ।

एमाओवादी स्थायी कमिटीको बैठकले एमालेसँग वार्ता गर्ने र सरकारलाई प्रभावकारी बनाउनेसहितको तीन बुँदे निर्णय गरेको थियो । जसको दोस्रो बुँदामा कांग्रेस र तेस्रोमा मधेसवादी दलहरुसँग वार्ता गर्ने उल्लेख थियो ।

तर, प्रचण्ड दोस्रोबुँदालाई टिपेर कांग्रेससँग वार्ता थाले । र, कांग्रेसलाई ओली सरकारलाई हटाउने यो उपयुक्त मौका थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर कि कांग्रेसले मलाई समर्थन गरिसक्यो, एमालेले पनि गर्नुपर्‍यो । होइन भने हामी समर्थन फिर्ता लिन्छौं भनिदिए । ओलीले कुरा गर्न खोज्दा पनि उनी मसँग समय छैन भनेर हिँडे । प्रचण्ड ‘बोल्डली’ अघि बढेको देखेपछि एमाले नेताहरु अब सरकार त ढल्ने भयो भन्ने निष्कर्षमा पुगे । र, उनीहरुले निराश थिए ।

तर, एमाओवादीभित्र अहिले नै सरकार छाड्नेबारे एक मत थिएन । अहिले सरकारमा भएका मन्त्रीहरु र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वामपन्थीहरुको सरकार छाडेर कांग्रेससँग मिलेर सरकार बनाउने पक्षमा थिएनन् । किनभने उनीहरुलाई कांग्रेससहितको सरकार केही दिनका लागि मात्र हो, त्यसपछि हटाइदिन्छन् भन्ने परेको थियो ।

एमाओवादीको स्थायी समितिमा प्रचण्डले आफूले ओलीसँग गरेको कुराकानी राखे । उपाध्यक्ष श्रेष्ठले आफू अहिले नै त्यसको पक्षमा नरहेको बताए । उनले सरकारमा र एमाले नेतृत्वसँग गर्नुपर्ने संघर्षहरु नै नगरी सरकार छाड्दा जनतामा गलत सन्देश जाने र पार्टी एकता प्रक्रिया पनि अवरुद्ध हुने तर्क अघि सारेका थिए ।

तर, प्रचण्ड कन्भिन्स भइसकेका थिएनन् । स्रोतका अनुसार यसबीचमा श्रेष्ठले एमाले र आफ्नै पार्टीभित्रका नेताहरुसँग ‘वान टु वान’ कुरा गरे ।

श्रेष्ठसहितको समझदारीमा नै एमालेलाई दबाव दिन आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनको अपीलसहित प्रचण्डको वक्यव्य आयो ।

परिणाम, एमाले माओवादीका मागहरु सम्बोधन गर्न तयार भए । यसमा वामदेव गौतम, प्रदिप ज्ञवाली र विष्णु पौडेलले एमाओवादी नेताहरुसँग कुरा गरेर ११ बुँदे सहमतिको मोटामोटी मस्यौदा बनाएका थिए । जुन ९ मा आएर टुंगिएको छ ।

यो समझदारीपछि एमाओवादी स्थायी समितिमा सरकार फेर्ने पक्षमा  अडान राख्दै आएका जनार्दन शर्मा प्रभाकर मौन बसिदिए । गृहमन्त्री शक्ति बहादुर बस्नेतले सरकार फेर्न नहुने भन्दै कडा रुपमा प्रचण्डको आलोचना गरे ।

अब सरकार फर्ने पक्षमा कृष्णबहादुर महरा, वर्षमान पुन र गोपाल किराती मात्र भए । अर्थात अहिले नै सरकार छाड्न हुन्न भन्नेहरु हावी भए । स्रोतले भन्यो, आफ्नो प्रस्ताव पास नहुने देखेपछि सुरुमा त प्रचण्ड एकदमै रिसाएका थिए । तर, भोलिपल्ट उहाँ ठीक छ भन्दै हाम्रो लाइनमा आउनु भयो र एमालेसँग वार्ता भयो ।’

समझदारीका लागि एमालेसँग भित्रभित्रै भएको वार्ता यो पटक प्रचण्डले त्यसपछि मात्र थाहा पाएमा थिए । र, २२ गते राति र २३ गते विहानको वार्तापछि एमाले र एमाओवादीबीच नौबुँदे सहमति भएको छ, जुन बाहिर आइसकेको छ ।

यसबाहेक एमाले र माओवादीबीच तीनबुँदे भद्र सहमति पनि भएको छ । यो लिखित सम्झौता गर्ने तयारी भने अन्तिममा आएर रोकिएको छ र नेताहरुले तीनबुँदेमा हस्ताक्षर नगरी आ-आफ्नो गोजीमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment