Comments Add Comment

मरिष्का भन्छिन्-‘आर्यनको छायाँमा पर्दिन, चलचित्र हेरेपछि कामको मुल्यांकन हुन्छ’

आर्यनको जवाफ-'प्रेमको रुपमा हेरेकै छैन'

aaryan and mariska
मरिष्का पोख्रेलका आँखाहरु सपना देख्दैछन् । यस्तो, सपना जुन उनले पहिलो पटक देख्दैछिन् । हरेक दिन क्यालेन्डरमा आँखा घुमाउँदा उनको मन धड्किन्छ । घर परिवारसँग बस्दा होस् या बिहान आँखा खोल्ने वित्तिकै होस्, मरिष्काका आँखा क्यालेन्डरमै पुग्छन् र भविष्यका लागि खुल्दै गरेको बाटो कस्तो होला भनेर सोच्न थाल्छन् ।

यता, मरिष्काको जस्तो हाल आर्यन अधिकारीमा छैन । आर्यन केही आशावादी सुनिए । उनले भने-‘म त एकदमै उत्साहित छु । वैशाख ३१ गते कहिले आउला र दर्शकलाई आफ्नो काम देखाउन पाइएला भनेर कुरिरहेको छु ।’

अनलाइनखबरको कार्यलयमा आइपुगेका ‘के म तिम्रो होइन र’का प्रेम जोडी आशावादी र रमाइलो सुनिए । ट्रेलर रिलिज भएपछि आएको प्रतिक्रियाले त तपाइलाई स्टार भए जस्तो लाग्दै होला है, आर्यन यो प्रश्नमा यसो भन्छन्-‘त्यस्तो एकदमै ठूलो सफलता पाएँ जस्तो लाग्दैन । हामी माटोको भाडो हौ, जसलाई पकाउन राखिएको छ । कस्तो पाक्छ वैशाख ३१ मै थाहा हुन्छ ।’
केही दिन अगाडि आर्यनलाई मरिष्काले नयाँ सुपरस्टार भनेकी थिइन् । के यो आर्यनप्रतिको मरिष्काको लचकता हो ? मन्द मुस्कान छर्दै मरिष्काले भनिन्-‘आर्यनमा कुनै पनि खोट छैन । पढेर, परेर, सबै देखेर आएको मान्छे हो आर्यन । उबाट मैले धेरै कुरा सिक्न पाएँ । आर्यन पर्दामा मात्र होइन पर्दा बाहिर पनि एउटा राम्रो मानिस हो ।’

मरिष्काको जवाफमा आर्यनप्रतिको प्रेम झल्कन्थ्यो । सायद, उनका आँखा पनि यस्तै भन्दैथिए । फेरि, मरिष्कालाई नै प्रश्न सोधियो, आर्यनमा स्टारमा हुनुपर्ने ५ वटा गुण के-के छन् ? मरिष्काले वुँदागत रुपमा आर्यनको राम्रा कुरा यसरि ओछ्याइन्ःMariska (1)

१. गुड लुक, उचाई र शरीर ।
२. कामप्रतिको लगाव छ । कुनै पनि काम गर्नु अगाडि नै त्यसमा पूर्ण तयारी हुन्छ ।
३. काममा एकहोरो लागिपर्ने मात्र होइन, अरुलाई पनि हेर्ने बानी छ ।
४. जुन तरिकाको व्यवहार उसले गर्छ, त्यो निकै लोभलाग्दो छ ।
अनी पाँचौ, मरिष्का हाँसिन् र भनिन्-
५. ४ वटा यति राम्रो गुण भएपछि आर्यन यसै स्टार हुन् ।

के कुनै यूवतीले ५ वटा यति राम्रो गुण भएको यूवक पायो भने, प्रपोज गर्छ होला ? यहाँ यूवती भनेर मरिष्कालाई इङ्गीत गरिएको थियो । सायद, उनले यो वुझेको हुनुपर्छ । तर, पनि मरिष्काले लजाउँदै जवाफ दिइन्-‘खोज्नेले खोज्छन् होला । खोज्छ नै भन्न पनि सकिन्न ।’ अनी तपाइले । मरिष्का जवाफविहिन भइन् । तर, मनले पक्कै मनलाई केही जवाफ दिएको थियो होला ।

प्रश्न एकहोरो सुन्दरीमाथि थियो । आर्यन मोबाइल चलाउँदै थिए । के तपाइलाई मरिष्काले यति नजिकबाट आफ्नो कुरा व्यक्त गरेकी थिइन्, अनलाइनखबरको प्रश्नमा आर्यन लामो हाँसे र भने-‘यति धेरै चै मैले पनि अनुभव गरेको थिइन । कुनै कुरामा छलफल गर्दा नगरौ भन्ने, नाई भन्ने उसमा बानी छैन । उनी धेरै सहयोगी छिन् ।’ आर्यनको प्रशंसाले मरिष्काको नाक अझ ठूलो भयो ।
aaryan adhikari (2) Mariska (3)
आर्यन मरिष्काको खुबै केयर गर्छन् । सार्वजनिक कार्यक्रममा पनि आर्यन र मरिष्का एक अर्काको केयरिङमा ध्यान दिन्छन् । आर्यनले यसलाई साँचो भने । ९ महिनासम्म चलचित्रको काम गर्दा एकसाथ भएकाले पनि यस्तो केयरिङ बढेको वुझाई यी दुइको छ । मिस भने कति गर्छन् होला त यी दुइले, मरिष्काले जवाफ दिइन्-‘दुई जना एकसाथ नहुँदा मिस गरिन्छ । तर, हामी रेगुलर जसो नै भेटिरहेका छौ ।’

आर्यनले मरिष्कासँग फोन भन्दा पनि च्याट र एसएमएसमा कुरा हुने खुलाए ।  अब, कुरा आर्यन र मरिष्काको व्यक्तिगत  जीवनबाट चलचित्र ‘के म तिम्रो होइन र’ तर्फ मोडियो ।
००००
ट्रेलर रिलिज भएसँगै आएको प्रतिक्रियाले आर्यन दंग छन् । जुनसुकै बिषयको चर्चा भएपनि त्यो आफ्ना लागि सुखद भएको आर्यन बताउँछन् । उनले चलचित्र ‘के म तिम्रो होइन र’लाई एक्सन लभ स्टोरी चलचित्र बताए ।

मरिष्काले आफ्नो भूमिका यसरि प्रष्ट्याइन्-‘म आमाकी प्यारी छोरी । आफ्नो जीवनमा भएको हरेक व्यक्तिलाई उस्तै माया गर्ने ।’ पर्दामा देखिएका आर्यन जस्ता यूवक वास्तविक जीवनमा मरिष्का चाहन्छिन् कि चाहन्न् । मरिष्कालाई थाहा थियो, प्रश्नले जवाफ के खोजिरहेको छ । उनी बारम्बार भन्दै थिइन्-‘ममाथि मात्र किन खनिदैछ प्रश्न ?’ तर, पनि उनी हाँस्दै जवाफ दिन्थिन् ।
उनले भनिन्-‘आर्यन जस्तो क्यारेक्टर भएको केटा भन्दा पनि यूवतीले आफ्नो सुरक्षा गर्ने केटा चाहन्छे । आर्यन नै भनेर मैले सोचेको छैन । तर, म चाहन्छु केटाले नै मलाई प्रस्ताव गरोस् ।’ के यो कतै आर्यनका लागि ग्रिन सिंग्नल त थिएन ?
aaryan adhikari (1)
अब, कुरोको चुरोमा प्रवेश गरौ । मरिष्काले त आर्यनलाई घुमाउरो तरिकाले प्रेम प्रस्ताव राखोस् भन्ने संकेत दिएकी थिइन् । तर, यसमा आर्यन केही घुमाउरो सुनिए । ‘अहिलेसम्म मेरो दिमागमा मरिष्काको बारेमा फरक सोच आएको छैन । हामीले ९ महिना एकसाथ काम गर्दा धेरै समय बिताएका छौ । कुनै यूवतीसँगको पल मनपर्छ भने त्यसलाई प्रस्ताव नै गर्नुपर्छ भन्ने छैन । यसलाई म मित्रताको रुपमा हेर्छु ।’

आर्यनको जवाफले मरिष्काको अनुहार केही कालो भयो । सायद, आर्यनले खुलाउन चाहेनन् या मरिष्काको मनको कुरा वुझेनन् । मरिष्काले मन मनै सोचिन् होला-‘आर्यन के म तिम्रो होइन र ?’

चलचित्र ‘के म तिम्रो होइन र’लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । ‘कोहिनुर’ जस्तो हिट चलचित्र बनाएका निर्देशक आकाश अधिकारी र उनको टिमसँग काम गर्न पाउँदा मरिष्का आफूलाई भाग्यमानी ठान्छिन् ।
०००
चलचित्र भित्र यो जोडीले लिप किस पनि गरेको छ । मरिष्का आर्यनलाई राम्रो किसरको रुपमा संज्ञा दिन्छिन् । चुम्बनको कुरा आएपछि आर्यन र मरिष्का लामो समयसम्म हाँसे । अनी कतिपटक चुम्बन गरेका छौ भनेर गन्न थाले ।
aaryana and mariska jodi
‘३, ४, ५, साच्चै कतिपटक हो, आर्यन भुलक्कड देखिए । मरिष्का लामो हाँसिन् । ३ पटक देखिने र २ पटक सामान्य खालको चुम्बन भन्दै यो जोडीले ५ पटक पुर्‍यायो । मरिष्काले आर्यनलाई ‘गुड किसर’ त भनिन्, मरिष्का चै के त ? आर्यन केही बेर घोत्लिए । यी नयाँ हिरो सिधा जवाफ दिदैनन् । यीनलाई घुमाएर जवाफ दिने बानी छ । ‘जब ५० जना मान्छे, क्यामेराको नजिकको दुरी हुन्छ नि, चुम्बन गर्दा रियल फिलिङ नै आउँदैन । तर, पनि मरिष्का ‘गुड किसर’ हुन् ।

के आर्यन गोप्य रुपमा चुम्बन गरेर आफू कस्तो किसर हुँ भनेर देखाउन चाहन्थे ? उनको जवाफ त्यस्तै शैलीको थियो ।
०००
चलचित्र भित्र आर्यनले गरेको एक्सन दृश्यले अहिले सर्वाधिक चर्चा पाएको छ । तर, आर्यनलाई यो एक्सन गर्न त्यती सहज भएन । उनी जुन तरिकाले तयारीमा थिए त्यो भन्दा धेरै गाह्रो भयो काम गर्न । क्लाइमेक्सको दृश्यमा त आर्यन ३ पटकसम्म घाइते पनि भएका छन् । तर, आफूले उत्कृष्ट दिन कुनै कसर बाँकी नराखेको यी उदाउँदा स्टारको भनाई छ ।

आर्यन आफ्नो काम बक्स अफिसमा हिट होस् भन्ने खोज्दैछन् कि हेर्ने जतीले मनपराइदिए हुन्छ भन्ने सोच्दैछन्-‘त्यो त दुबै चाहिन्छ । धेरै दर्शकले हेरेनन् भने कामको मुल्यांकन पनि खासै हुँदैन ।’
चलचित्रको ट्रेलरबाट जुन खालको प्रतिक्रिया उनले पाएका छन्, यो उनले कहिल्यै सोचेका थिएनन् रे । आर्यनका अनुसार यो उनले आशा गरेको भन्दा धेरै बढी रहेछ । यता, मरिष्का आफैले मिहिनेत गरेर यो स्थानमा आएको बताउँछिन् । आर्यनको छाँयामा आफू नपर्ने मरिष्काको दाबी छ । चलचित्र लागेपछि आफ्नो कामलाई पनि दर्शकले उत्तिकै मुल्यांकन गर्ने मरिष्काको दाबी छ ।
०००
आर्यन र मरिष्काले चलचित्र हेर्नुपर्ने कारण यसरी प्रस्तुत गरेः
मरिष्काः चलचित्रको लोकेशन, प्रोपर्टीहरु धनी छन् । नयाँ कलाकारले पुराना कलाकारसँग काम गर्दा कस्तो काम गरे भनेर पनि दर्शक हेर्न आउनुहुनेछ । यो चलचित्रमा मायाको कुरा छु । आमा-छोरा, आमा-छोरी, प्रेमी-प्रेमिकाको मायाको कथा छ । आखिर, मायाको कथा मन नपराउने दर्शक त को हुनुहुन्छ होला र ?

आर्यनः यो चलचित्र एउटा प्याकेज इन्टरटेन्मेन्ट हो । आफ्नो सम्पूर्ण तनाव दर्शकले विर्सनुहुन्छ । मिहिनेत गरेर २ जना नयाँ कलाकार चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् भनेर पनि दर्शक हेर्न आउनुहुन्छ । फेरि, ‘कोहिनुर’ निर्देशकले बनाएको चलचित्र पक्कै पनि राम्रो छ भन्ने उहाँहरुमा विश्वास छ ।
aaryan and mariska close
यी दुई कलाकार अहिले आशातित रुपमा चलचित्र क्षेत्रमा उदाएका छन् । कलाकारको विकल्प नहुँदा एउटै अनुहार दोहोरिएको पक्कै हो । यस्तै अवस्थामा आर्यन र मरिष्का चलचित्र क्षेत्रका लागि नयाँ स्टार हुनसक्छन् ।

नामले नै चर्चा पाएको ‘के म तिम्रो होइन र’ बाट आर्यन-मरिष्काको करिअर उदाउने र सुस्ताउने पक्का हुनेछ । तर, यो जोडीमा आफूहरु सुस्ताउछौ भन्ने नै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment