Comments Add Comment

मित्रनगरमा फुलेकी सयपत्री

model

शनिवारको दिन कार्यालयहरु बन्द थिए । बैंक स्ट्रीटको दाँया पट्टीको दोश्रो बिल्डिङमा माझीतला मुन्तिरको सिसा सफा गर्न ब्यस्त देखीन्थे आधा दर्जन मजदुरहरु । कसैले साबुनपानी दल्दै थिए त कसैले सिसा टल्काउदै थिए । आठ लेनको फराकीलो स्ट्रीटमा गाडीहरु यसरी वेतोडले हुँईकिदै थिए कि मानौं पछाडिबाट कुनै प्रलयले तिनीहरुलाई लखेटीरहेछ । म मनमनै गम खान्छु कहाँ पुग्नको हतारो हो कुन्नी । विजुलीको रफ्तारमा दौडिरहेछन् सबैजना ।

स्ट्रीटको दायाँतर्फ सुन्दर पार्क छ । भुईमा विच्छ्याईएको कलकलाउदो दुवो । केही पिपलका रुख अनि केही वयरका बोटहरु..। हो यत्ति हो त्यो पार्कको विशेषता, तर पनि बाह्रैमास थकाई मार्नेहरुको ताँती हुन्छ पार्कमा । कोही भेटघाटको लागि आउछन् । कोही किनमेलका लागि आएकाहरु यतै रमाउछन् ।  कोही भने मजस्तै खास उद्देश्यविहीनहरु सुस्ताइरहेको देख्न सकिन्छ ।

०००

एकोहोरो हेर्दै थिएँ ।  त्यत्तिकैमा मेरो एकोहोरोपन चिर्दै दायाँतिरबाट कक सुजको आवाज आइरहृयो टक… टक… टक… । गमबुटको ड्याम ड्याम आवाजमा अभ्यस्त मेरा कानहरु ककसुजको आवाज सुन्दा चनाखो हुनु स्वाभाविकै थियो । त्यसमाथी त्यो ध्वनी आफैतिर नजिकीदै गैरहेको आभासले मलाई फर्केर हेर्ने बनायो ।

सुरुमा त म झुक्किएँकी भनेर आफैलाई चिमोटें । चिने-चिने जस्ती युवती आफुतिरै आइरहेकी थिई । उ मलाई नहेरी सरासर अगाडी बढीरहेकी छ । चिन्न त मैले चिनें जस्तो लाग्यो तर ठम्याउन अझै सकिनँ । कतै भिडियोमा पो देखें की..! मलाई शंका लाग्यो । पातली टिमिक्क मिलेको जिउडालमा टिपिक्क मिलेको कालो वानपिस । घुँडासम्म झरेको वानपिस मुनी सेता सुडौल पिंडुला । आकर्षक खुट्टामा कालै कक सुज लगाएकी । कालो ब्याग छड्के पारेर भिर्दा ब्यागको फित्ताले विचभागको कपडालाई भित्र दवाएर वक्षस्थल लाई अझै उन्नत बनाएको । आँखामा कालै चस्मा लगाएकी । ओठमा हल्का लिपिस्टिक लगाएकी, कानमा सेतो एयरफोन ठुसेर आफ्नै पारामा ठमक ठमक गर्दै युवती जति नजिक आउदै गई मैले ठम्याउदै गएँ..। नजिक आएपछी मलाई देख्छे र चिन्छे केटीले भन्ने मेरो सोच तातो हाबासँगै त्यतिवेला उड्यो जब लमक-लमक गर्दै ऊ मलाई देब्रे पारेर अगाडी बढी । मेरो मुखबाट अनायासै फुत्क्यो.. सयपत्री..!

०००

सयपत्रीको कथा लामो छ । नयाँ वसपार्कको पछाडी हृवास्स गन्हाउने गल्ली । म पछिल्लो गेटबाट निस्केर रोधी डिजीटल तिर जाँदै थिएँ । मित्रनगरको त्यो गल्ली सायद काठमाडौकै सबैभन्दा बदनाम गल्ली होला । दोहोरो रंगीचंगी लाइटले चौकाचौंध रेष्टुरेन्टमा उत्पातै उत्ताउलो मेकअप गरेका युवतीहरुले खुलेआम अश्लिल पाराले ग्राहक आकषिर्त गर्ने ब्यवसाय फस्टाएको उक्त गल्लीलाई खुल्ला रेडलाईट एरीया भने पनि हुने हो । तर क्याविन रेष्टुरेन्ट भन्छन् सभ्य भाषामा ।

पछि अन्तै भेट भए पनि सर्वप्रथम सयपत्रीलाई मैले त्यही गल्लीको कुनै एउटा रेष्टुरेन्टमा ग्राहक बोलाउदै गर्दा देखेको थिएँ । दैनिक त्यो बाटो हिड्नुपर्ने मलाई कुनै-कुनै अनुहार परिचित लाग्न थालेका थिए । तिनै मध्ये एक यही केटी थिई ।

उसको नाम सयपत्री कसरी रहृयो मलाई थाह भएन । एकदिन म र्फकदै थिएँ, अगाडीको फोन पसलको पेटीमा उ थिइ । त्यत्तिकैमा पारीको रेष्टुरेण्टबाट एउटी उस्तै युवतीले चिच्याई, ‘ओई सयपत्री, तेरो गेस्ट आको छ, आइज रे । साहुजीले नि बोलाउनुभाछ…।” केटी जुरुक्क उठी र धुलो टक्टक्याई । मटक मटक मट्कदै होटलभित्र छिरी । त्यसका साथीहरु उसलाई सयपत्री भनेर बोलाउदा रहेछन् । कारण के हो थाह भएन । हेर्दा उ सयपत्री जस्तै थिई सायद त्यसैले होला । उसको बास्तविक नाम सोध्न कहिल्यै उसँग बोल्ने मौका पनि मिलेन र जाँगर पनि चलेन मलाई । उसलाई अरु कसैले अर्को नामले बोलाएको पनि सुनिनँ मैले । प्राय होटलको पेटीमा या फोन पसलको अगाडी एउटै तरिकाले ज्यान फालेर विन्दास पाराले बस्दिने सयपत्रीको अनुहार नविर्सने गरी छाप परेको थियो मेरो मनमा, उसको नाम जस्तै ।

त्यसको केही महिनापछि अचानक सयपत्रीलाई मैले अर्कै रुपरंगमा देखें । सायद भृकुटीमण्डपभित्र हुनुपर्छ । साइडमा चर्को आवाजमा लोकदोहोरी गीत बजिरहेको थियो । लाइट, क्यामरा र निर्देशकको वान टु थि्र फोर अनि एक्सन कट चलिरहेको । पार्क भित्रको पोखरीको रेलिङ समाउदै सयपत्री अभिनय गरिरहेकी थिई । ब्यवसायिक मेकअप आर्टिस्टले सिंगार्दा उ धपक्कै बलेकी थिई । त्यसमाथी रिफ्ल्याक्टरको किरण उसको अनुहारमा पर्दा हिरोनी झैं देखीएकी थिई सयपत्री । अर्को टेक लिने बेला सम्मको लागी निर्देशकले लोकेसन फेर्दै र्र्थि । पुरुष मोडललाई के के कुरा सिकाउदै गर्दा उ सुस्ताइरहेकी थिई ।

त्यसले मलाई देखी अचानक । म उ भएको ठाउमै पुगें र सोधेँ,  ‘आच्या नानी तिमी त मोडल पो भईछौ, कहिलेदेखी हो म्युजिक भिडियोमा तिमी ?’ मेरो प्रश्नले केटी अकमकाई । अनि पुलुक्क मलाई हेरेर भनी, ‘यो भिडियो बनाउने पैसा मैले नै हालेको नी दाजु..!’

मलाई थाहा भयो फुच्ची मुर्गा बनिसकी छे । रेस्टुरेन्टमा अथक मेहनत (?) गरेर कमाएको उसको पैसा म्युजिक भिडीयोले झ्वाम पार्नेभो । म दुख मान्दै थिएँ । अचानक सयपत्रीको उत्साहीत आवाज आयो ।
‘एकपटक टिभीमा म आएँ भनें यस्तो पैसा त धेरै कमाइन्छ भन्नुभाछ दाईहरुले । पहिलो पटक मात्र हो रे आफै लगानी गर्नपर्ने..।’ उ निश्चिन्त देखीई, मैले केही कुरा थप्न आवस्यक ठानिनँ, म चुप लागें ।

त्यसपछी आजसम्म उसलाई मैले कतै देखेको थिइनँ । उसको गीत टिभीमा बज्यो या बजेन त्यो पनि मलाई थाहा थिएन । तर आज यसरी सात समुऽ पारीको यो मरुभुमीमा एक्लै लमक-लमक हिडीरहेकी सयपत्री देख्दा म आश्चर्यचकीत परें.. । केटीको दुबै कानमा एयरफोन ठुसीएको थियो । मैले बोलाएको उसले सुनिनँ । उता अलिक पर एउटा भाईले काम गर्दै थियो । नियमित भेट भइरहने भाइलाई मैले ईशारा गरेर भनें, ‘त्यो केटीलाई यता हेर्न भन त..! त्यो भाइले केटीको अगाडी बाटो रोकेर मतिर देखायो । केटीले फन्क्क फर्केर हेरी र मुखा आँ पारेर ट्वाँ परी…। अनी अचानकै चिच्च्याई..आप्पुई… दाई तपाई यहाँ…!’

म दंग परें । ‘मेरो जिन्दगीको दश वर्ष यहीँ पार हुन लाग्यो फुच्ची । म त नेपालमा कहिलेकाहीँ मात्र हुन्छु । तिमीले त्यहाँ मलाई जति देख्यौ त्यो म छुट्टी विताउन जाँदा देखेकी हौ । म यतै काम गर्छु ।’ मैले यति भनेपछी केटी विश्वस्त भई । मैले उसलाई सोधें, ‘नानी तिमी कताबाट आयौ यो ठाउमा ?’  केटीले बडो सरल पारामा जवाफ दिई ‘त्यो साँस्कृतीक कार्यक्रमको लागी आकोनी दाजु । पन्ध्र दिन भैसक्यो..! केटी मोडल मात्र होइन हिट मोडल भैसकीछ । नेपाली सँस्कृतीको प्रतिनिधित्व गरेर विदेशमा समेत सँस्कृति झल्काउन पुगिसकी भनेसी ठुलै कलाकार बनिसकी छ । मैले मनमनै गम खाएँ । नेपाली संस्कृति बदलिएर यो नानीको पुरानो ब्यवसाय जस्तो बनेको हो की यो सयपत्री वदलिएर साँच्चै कलाकार बनेकी होली..! मेरो प्रश्न मनमै दवाएँ मैले..।

कुराको सिलसीला अगाडि बढ्यो । ‘नानीलाई फुर्सद छ भने उता पछाडीको रेष्टुरेण्टमा बसेर गफ गरौं, यता साह्रै गर्मी छ’- हातमा लिएको सानों पंखा अनुहार तिर फर्काएर फिरफिर पारी नानीले । ‘अति गर्मी छन्त है दाजु, बरु चिसो ख्वाउनु न ।’

आˆनो मित्रनगरको पुरानो बानी र चेपारो सहित केटी तयार भई । पछाडि ठुलो पार्किङ विल्डिङ छ । त्यही विल्डिङको भुईतलाको यौटा कोठामा मेरो अफीस छ । बाहिर पट्टी बम्बै चौपाट्टी भन्ने चिया पसल छ । बम्बै चौपाट्टी देखाउदै मैले सयपत्रीलाई भनें, ‘हेर त यो होटल मित्रनगरको जस्तै छ नी है ?’ केटीले पुलुक्क मलाई हेरी । उसको अतीत कोट्टीएकोले अनुहारको भंगीमा बिग्रीयो । मैले बुझें केटीले अतीत सम्झन चाहान्न । त्यो यौटा बाध्यता थियो जुन यसले विर्सन चाहन्छे । त्यसैले मैले प्रसंग बदलें ।

०००

नानी कतिजना कलाकार आएका छौ त यता ? उसले दुई- तीनजना गायिका र एकजना गायकको नाम लिई । त्यो कार्यक्रम त दुई हप्ता पहिला भएको थियो । म कार्यक्रममा जान त पाईनँ तर र्फकदै गरेका गायकले एयरपोर्टबाट फोन गरेर भेट्न नपाएकोमा थकथक मानिरहेका थिए । त्यही समुहमा आएकी रहिछन् यिनी पनि । यतिका दिन के गरेर बस्यौ त नानी ? मैले फेरी प्रश्न तेस्र्याएँ । त्यतिन्जेलमा वेटरले टेवलमा चिसो र समोसा चाट राखेर गैसकेको थियो । समोसा चाटसँगै यो पटक भने नानीले खुलेर कुरा गरी ।

त्यो दुई हप्ता अगाडीको कार्यक्रम त सकियो दाजु । अर्को हप्ता पनि कार्यक्रम छ रे, अर्कै संस्थाले गरेको । त्यो कार्यक्रममा पनि पर्फर्मेन्स दिनुपर्यो भनेर आयोजकले अनुरोध गरेको कारण रोकिएकी रहिछ सयपत्री..!

अनी मैले सोधें, कहाँ कोसँग बसेकी छौ त तिमी ? होटल त कमसेकम पनि दैनिक दश हजार भाडा पर्छ । कहाँ राखेका छन् त तिमीलाई आयोजकले ? केटीले पुलुक्क मलाई हेरी र मसक्क मस्केर भनी, ‘हृया.. होटलमा हैन के …! उतै नेपालमै चिनजान भएको यौटा दादा होइसिन्छ । ‘गुणराज दा’ । उहाँकै फ्ल्याटमा राख्नु भएको छ अहिलेलाई । शुक्रबार बाहेक अरु दिन दाहरु दिउसो भरी अफिस गैसीन्छ । म खाली हुन्छु, त्यै भएर यसो घुम्न निस्केको मात्र । दा हरु आइसेपछी त फुर्सदै हुदैन नी !’

ए बरै नानीले साँस्कृतीक कार्यक्रमको मर्म राम्रैसँग प्रष्ट्याई । मैले पनि सोध्न अफ्ठ्यारो मानीनँ । उसको अतीत पुरै थाह पाएको म । त्यसैले मैले गरेका प्रश्नहरु उसको लागि अनपेक्षित थिएनन् । र वास्तविकता थाहा पाएको मलाई जवाफ दिन उ हिच्किचाउन पनि छोडीसकेकी थिई ।

०००

धनकुटा तिरबाट काठमाडौ आइपुगेकी हो सयपत्री । उ जसरी संघर्ष गरेर कलाकार बन्न सफल भई त्यही सफलतासँगै देश विदेश घुम्न पाउनु उसको अधिकार हो । उसलाई उसको लोकप्रियताले दिएको कुरा हो । उसको नाम फैलिएको छ स्वदेश र विदेशमा समेत । धेरै देशमा आयोजकहरु आफ्नो कार्यक्रममा उसको पर्फर्मेन्स राख्न तँछाडमछाड गरिरहेछन् । सयपत्रीको कार्यक्रमको रेट आकासिदो छ । उ जमीनमा कम जहाजमा बढी हुन्छे अचेल । चितवनबाट अरव आईपुगेको कमाउ अड्डामा काम गर्ने दादा सयपत्रीको दाई जस्तै हो र दादाको नजरमा सयपत्री ‘सानु’ हो..!

मित्रनगरले यिनीहरुको भेट गराइदिएको हो । त्यहीँ सहृदयी बनेका यिनीहरुको पहिलो भेट मित्रनगर तिरै भएको हुनपर्छ मैले अनुमान लगाएँ ! सानुको म्युजिक भिडीयोमा लगानी गर्ने पनि यही ‘दादा’ रहेछ । बल्ल कुरोको चुरो फुत्काई सयपत्रीले । मैले कुरो बुझें । केटी टिभीमा देखिएको सत्य हो र चर्चा बढेको पनि सत्य हो । तर सयपत्री फेरीएकी छैन । ठाउँ फेरीयो, रकम फेरीयो तर पुतलिको पेसा फेरिएन !

‘दा हजुर पनि यसो आइस्योस न बरु…!’ मलाई साँस्कृतीक कार्यक्रमको लागी निम्तो दिई । केटीले समोसा सक्याएर पाईप घुसारेको चिसो तन्काउदै थिई । ‘मलाई समाज सेवा गर्न त्यति आउन्न नानी’ भन्दै मैले सिधा जवाफ दिएँ । सयपत्रीले समाज सेवाको अर्थ त बुझी कि बुझीन कुन्नी तर मैले बुझेको साँस्कृतिक कार्यक्रमको अर्थले म अहिले सम्म रन्थनिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment