Comments Add Comment

वैदेशिक रोजगारीमा जानेलाई स्मार्ट कार्ड दिने तयारी, श्रम स्वीकृति यसैमा

smart licens_bidesik_rojgari
३ जेठ, काठमाडौं । नेपालमा सवारी लाइसेन्स स्मार्ट विद्युतीय कार्डका रुपमा लागू भइसक्यो । राष्ट्रिय परिचयपत्रदेखि गरिब घरपरिवारको आइडी र ब्लु-बुक पनि ‘स्मार्ट’ बनाउने चर्चा चलिरहेको छ । यसै क्रममा अब रोजगारीका सिलसिलामा विदेशिने युवालाई पनि स्मार्टकार्ड दिने याजना अघि सारिएको छ ।

आधुनिकतालाई पछ्याउँदै श्रम तथा राजेगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्मार्ट कार्ड दिएर विदेश पठाउने योजना अघि सारेको हो । यसअघिका रोजगारमन्त्री टेकबहादुर गुरुङले स्मार्टकार्ड लागू गर्नेबारे अध्ययन गर्न एक समिति बनाएका थिए । त्यो समितिले सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको छ ।

प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा केही समयभित्रै निर्णय लिने तयारी भइरहेको श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले जानकारी दिए । उनले वैदेशिक रोजगारीमा जानेका लागि स्मार्ट कार्ड लागू गर्न विशेष चासो देखाएका छन् । आफ्नो ३ महिने प्रगति प्रतिवेदनमार्फत पनि मन्त्री बोहोराले स्मार्ट कार्ड लागू गर्ने तयारी सुरु भएको जानकारी दिएका छन् ।

कार्डको प्रयोजन

सबैलाई लाग्न सक्छ कि विदेश जानेलाई स्मार्टकार्ड किन चाहियो ? यसको प्रयोजनबारे भने सरकार स्पष्ट छ । प्रस्तावअनुसार सरकारले विदेश जानेहरुलाई यही स्मार्ट कार्डमा श्रम स्वीकृति दिनेछ ।

अहिले सरकारले श्रम स्वीकृति दिएपछि सम्बन्धित कामदारको पासर्पोटमा श्रम स्टीकर टाँस्ने प्रचलन छ । स्टीकरका आधारमा नै कामदारले श्रम इजाजत पाएको भन्ने पुष्टी हुन्छ । तर, यो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -आइकाओ)को मान्यता विपरित हो । यस्ता स्टीकर टाँस्दा पासपोर्ट फोहोरमात्रै भएको छैन, यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली पासपोर्टको स्तरमाथि पनि प्रश्न उठाइरहेको छ ।

फेरि श्रमको स्टीकर टाँस्ने काम श्रम मन्त्रालयका अधिकारीले गर्छन् । आइकाओका नियमअनुसार भने पासपोर्टका अध्यागमन अधिकारीहरुले मात्रै कुनै कुरा लेख्न, टाँस्न, छाप लगाउन वा हटाउन सक्छन् । तर, रोजगार मन्त्रालयका अधिकारीलाई नै राहदानीमा स्टीकार टाँस्ने अधिकार दिँदा अन्तर्राष्ट्रिय नियम नै मिचिएको ठहर अध्यागमनका अधिकारीहरुको छ ।

‘यो प्रणाली परम्परागत मात्रै हैन, अन्तर्राष्ट्रिय मान्यता विपरित र पासपोर्टको दुरुपयोगसँग पनि जोडिएको छ’ रोजगार मन्त्रालयका एक उच्च अधिकारीले भने-‘त्यसैले सरकारी तवरबाटै नागरिकको पासपोर्टमा नियमवितरित स्टीकर टाँस्नेका काम रोक्नैका लागि स्मार्ट कार्डको तयारी भएको हो ।’

कस्तो हुन्छ स्मार्ट कार्ड  ? 

विदेश जाने कामदारलाई दिएने कार्ड स्मार्ट लाइसेन्स जस्तै हुनेछ । यो पर्स वा खल्तिमा सहजै अटाउने खालको हुनेछ भने यसमा पनि धातुको इलेक्टि्रक चीप जडान गरिएको हुनेछ । यो चीपमा डाटाहरु स्टोर गर्न सकिन्छ ।

अब विदेश जानेहरुले यो स्मार्टकार्ड बोकेर जानुपर्नेछ । जसमा सम्बन्धित कामदारबारेको सम्पूर्ण विवरणहरु राखिएका हुन्छन् । यसले विदेशमा कामदारको परिचयपत्रको काम पनि गर्नेछ ।

यस भित्र राखिएका विवरणलाई स्मार्ट कार्डरिडर वा कम्प्यटुरमा राखेर हेर्न सकिन्छ । अब सरकारले श्रम इजाजत दिएपछि कम्प्युटरमार्फत श्रम स्वीकृति, कामदार, उसले काम गर्न जाने देश, कम्पनी लगायतका सम्पुर्ण विवरणहरु यसैमा राख्ने योजना छ ।

विमानस्थलमा कार्ड रिडरमार्फत श्रम इजाजतको परीक्षण हुनेछ । यसबाट पासर्पोट फोहोर हुने समस्या हट्नेछ भने कामदारको विवरणलाई स्मार्टकार्डमा राख्न सकिने अपेक्षा गरिएको छ । यो कार्डलाई लोकेशन ट्रयाक गर्न सक्ने प्रविधियुक्त बनाउने योजना छ । यसबाट कामदार रहेको स्थान पत्ता लाग्ने भएकाले यो प्रणाली महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

अर्थमा प्रस्ताव  

यो स्मार्ट कार्ड लागू गर्न ८ देखि १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको रोजगार मन्त्रालयका सह-प्रवक्ता बाबुराम खतिवडाले जानकारी दिए । यसका लागि आवश्यक रकम भने जुटसकेको छैन । योजना कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको उनले बताए । आगामी आर्थिक वर्षको बजेटमार्फत यसमा रकम विनियोजन गर्ने मन्त्रालयको अपेक्षा छ ।

निःशुल्क हुनसक्ने

मन्त्रालयका एक अधिकारीले स्मार्टकार्ड वितरण गर्दा कामदारसँग अतिरिक्त शुल्क लिन नहुने पक्षमा आफूहरु रहेको बताए । ‘कमाउन विदेश जान लागेको कामदारलाई थप आर्थिक भार पार्ने काम राम्रो हैन’ ति अधिकारीले भने-‘निःशुल्क यो कार्ड वितरण गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

तर, यसबारे कुनै औपचारिक निर्णय भने भएका छैनन् । अर्थले बजेट दिएमा आगामी आर्थिकवर्षमा स्मार्ट कार्ड लागू हुने मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment