Comments Add Comment

एमाले निकट पत्रकारलाई चुनाबी रन्को, पार्टीमा जस्तै गुट भिडन्त

photo

३ जेठ, काठमाडौं । एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालमा चुनावी रन्को सुरु भएको छ । जेठ ६ देखि ८ गतेसम्म काठमाडौंमा हुने आठौं अधिवेशनले नयाँ नेतृत्व छनौट गर्दैछ ।

अहिले उम्मेदवारका प्रत्यासीहरु उम्मेदवारी घोषणामा व्यस्त छन् । यसका लागि सबैले उपयोग गरेका छन्, सामाजिक सञ्जाल फेसबुकलाई । यसपालिको अधिवेशनमा लगभग सबै उम्मेदवारहरुले फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षमा चार आकांक्षी

अध्यक्ष पदका लागि अहिलेसम्म चार जना उम्मेदवार चर्चामा छन्- गणेश बस्नेत, माधव नेपाल, दुर्गा शर्मा र उपेन्द्र केसी ।

बस्नेत चौतारीका पूर्वउपाध्यक्ष एवं सल्लाहकार हुन् । संस्थापन पक्ष (ओली निकट)बाट अध्यक्षका रुपमा अघि सारिएका बस्नेत चौतारीका संस्थापकसमेत हुन् । बस्नेत राजधानी दैनिकमा कार्यरत छन् ।

शर्मा हाल चौतारीका वरिष्ठ उपाध्यक्ष छन् । उनी अन्य तीन प्रतिस्पर्धीभन्दा सिनियर हुन् । माधव नेपाल निकट शर्माको उपत्यका बाहिर र श्रमजिवी पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका राम्रो पकड छ ।

अध्यक्षका अर्का दाबेदार केसी पनि चौतारीका उपाध्यक्ष हुन् । भक्तपुर घर भएका उनी छलफल साप्ताहिकमा कार्यरत छन् । उनी पनि केपी ओली निकट मानिन्छन् ।

वर्तमान महासचिव माधव नेपाल अध्यक्षका अर्का दाबेदार हुन् । उनी एमाले नेता माधव नेपाल निकट मानिन्छन् ।

अध्यक्षका दाबेदार चार जना भए पनि चुनावी प्रतिस्पर्धा हुँदा दुई जना मात्रै रहने सम्भावना धेरै रहेको स्रोत बताउँछ । केसीले कुनै समय छलफल साप्ताहिकमा सँगै काम गरेका बस्नेतलाई समर्थन गर्ने सम्भावना छ ।

शर्माले त सर्वसम्मत आफूले नेतृत्व नपाए नेपाललाई समर्थन गर्दै चुनावमा जाने बताइसकेका छन् । ‘सर्बसम्मत नेतृत्व चयन भयो भने अध्यक्षमा मेरो दाबी कायमै रहन्छ, यदि त्यो सम्भावना नभए मेरो समर्थन माधव जीलाई हुन्छ,’ शर्माले अनलाइनखबरसँग भने ।

अर्याललाई निरन्तरता दिन लबिङ

चार जना अध्यक्षको आकांक्षी रहेका बेला वर्तमान अध्यक्ष राजेन्द्र अर्याललाई नै निरन्तरता दिन केहि नेताहरुले लबिङसमेत गरिसकेका छन् । अर्यालको नेतृत्वलाई सर्वसम्मत बनाउने अभियानमा एमालेकै केही नेताहरु लागेका छन् ।

अर्याल नेतृत्वको चौतारीले नेपाल पत्रकार महासंघमा बामपन्थी विचार बोक्ने पत्रकारलाई बिजयी गराएको भन्दै पुनः उनैलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने उनीहरुको राय छ ।

‘प्रेस युनियन र क्रान्तिकारी पत्रकार संघलाई साथमा लिएर हिँड्नसक्ने क्षमता अर्यालमा छ । यो पहलकदमी गुम्न नदिन पनि अर्यालको अझै खाँचो छ,’ एमालेका एक नेताले भने ।

१० उपाध्यक्षमा को-को ?

अबको चौतारीमा वरिष्ठसहित १० उपाध्यक्ष हुनेछन् । प्रस्तावित विधानमा वरिष्ठ उपाध्यक्ष एकजना, महिला र समावेशीबाट एक-एक जना तथा सात प्रदेशबाट एक-एक जना गरी १० उपाध्यक्ष रहने व्यवस्था छ ।

कुशलबाबु बस्नेत, केशव अधिकारी, रामकुमार एलन, नरेन्द्र साउद, टिका विष्ट, निमा काफ्ले, जीवन बिसी, द्वारिका काफ्ले, सबिन प्रीयासन, लीलाराज भट्टराई, रामकृष्ण शर्मा, वीरबहादुर गीरिलगायतले आफूलाई उपाध्यक्षको उम्मेदवार घोषणा गरेका छन् । उपाध्यक्षको उम्मेदवारको सूचीमा अझै केही नाम थपिने सम्भावना छ ।

महासचिवमा अहिले तीनजना उम्मेदवार मैदानमा देखिएका छन् । राजेश राई, विश्वमणी सुवेदी र गणेश पाण्डे महासचिवका प्रमुख दाबेदार हुन् ।

राई नेपाल पक्षीय उम्मेदवार हुन् भने पाण्डे र सुवेदी ओली पक्षीय उम्मेदवारका रुपमा चिनिन्छन् । राई नेपाल पक्षका एक्ला उम्मेदवार भए पनि सुवेदी र पाण्डे ओली पक्षका भएकाले उनीहरुबीच आधिकारिकताको प्रतिस्पर्धा हुने देखिएको छ । सुवेदीेले आफूलाई केपी-वामदेवका उम्मेदवार भनेर खुलेरै प्रचार गरिरहेका छन् ।

उप-महासचिमा तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् । प्रस्तावित विधानमा दुई उप-महासचिवको व्यवस्था छ । शुरोजंग पाण्डे, अमृतनाथ तिमल्सिना, चेतन अधिकारी अहिले उपमहासचिवका दाबेदार छन् ।

पाण्डे र तिमल्सेना नेपाल पक्षीय हुन् भने अधिकारी ओली पक्षीय उम्मेदवारका रुपमा चिनिन्छन् । अधिकारी हाल प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजकसमेत छन् ।

अबको प्रेस चौतारीमा ७ सचिव हुनेछन् । चार जना खुलाबाट तथा महिला, मधेसी र आदिवासी जनजातीबाट एक-एक जना गरी ७ सचिव पद रहनेछन् ।

७ सचिव पदका लागि टिका विष्ट र निमा काफ्ले, सुभाष प्रसाद शाह, सुरेश सुमन डाँगी, गणेश पौडेल, इन्द्र आचार्य र विक्रम लुइँटेलले दाबी गरेका छन् । सचिवका उम्मेदवार थपिने क्रम बढ्दो छ ।

कोषाध्यक्षमा नबराज छत्कुली र टेकराज थामीले उम्मेदवारी घोषणा गरेका छन् ।

खुल्ला १५ केन्द्रीय सदस्य हुनेछन् भने आरक्षण छुट्टै छ । मणिराज बास्तोला (मोहन), माधबराज तिवारी, शान्तराम बिडारी, गणेश पौडेल, विष्णु तारुके, देबीप्रसाद शर्मा, रामेश्वर कार्की, राजन दाहाल, पार्वती पाण्डे, नारायण कुमार शाह, भवानी कार्की, ध्रुव सुवेदी, छोटु शेर्पा, सटेन्द्र जगेबु, फणी महत, दिनेश थापा, शिशिर सिंखडा, शालिग्राम नेपाल अहिलेसम्म केन्द्रीय सदस्यको दाबेदारको रुपमा देखिएका छन् । केन्द्रीय सदस्य पदका लागि मात्रै ५० बढीले उम्मेदवारी दिन सक्ने चौतारीकै एक नेताको भनाई छ ।

चौतारीले हरेक तीन वर्षमा नयाँ नेतृत्व छनौट गर्छ । तीनवर्ष अघि बिराटनगरमा सम्पन्न सातौं महाधिवेशनमा ओली पक्षीय राजेन्द्र अर्याल र नेपाल पक्षीय विष्णु रिजाल अध्यक्षमा भिडेका थिए भने अर्याल विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment