Comments Add Comment

अटोमेकानिकको बढ्दो स्कोपः गरेर सिक्ने कि पढेर ?

auto-mechanic2
५ जेठ, काठमाडौं । सवारीसाधन प्रविधिको देन हो । हरेक प्राविधिक बस्तुहरुमा जस्तै सवारीसाधनमा पनि विभिन्न कारणले गडबडीहरु आउँछन् । त्यसको समाधानका लागि प्राविधिक चाहिन्छ ।

बिग्रेका सवारीसाधनहरुको मर्मत-सम्भार गर्ने प्राविधिकहरु अटोमेकानिक भनेर चिनिन्छन् । उनीहरुको कामलाई सामान्य भाषामा ‘सर्भिसिङ’ भनिन्छ ।

बिग्रिएका सवारीसाधन दुरुस्त गर्नु र सवारीसाधनको कार्यक्षमतालाई कायमै राख्ने काम अटोमेकानिकले गर्छन् । तर, अटोमेकानिक्स क्षेत्रलाई सवारीको मर्मतसँग मात्रै जोडेर हेर्नु अहिलेका लागि पुरातन कुरा हो ।

सवारीको सजावट गर्ने र त्यसमा विभिन्न विशेषताहरु थप्ने काम पनि उनीहरुले गर्छन् । बिस्तारै अटोमेकानिक्स पेशालाई स्मार्ट र सम्मानजनक मान्न थालिएको छ । किनभने यसका व्यवसायिक पाटाहरु विस्तारै आधुनिक हुँदै गएका छन् ।

गरेर जान्नेहरु धेरै

नेपालमा झण्डै वार्षिक १ हजार नयाँ अटोमेकानिकको माग हुने गरेको नेपाल अटोमेकानिक्स एसोसियनले जनाएको छ । अहिले देशभित्र यो क्षेत्रमा झण्डै १ लाख जनाले रोजगारी पाइरहेको अनुमान छ ।

अटो मेकानिकका रुपमा कार्यरतहरु अधिकांश ‘गरेरै जानेका’हरु छन् । पढेर वा सैदान्तिक तथा प्रयोगात्मक शिक्षा लिएर यो क्षेत्रमा आउने युवाको संख्या पनि विस्तारै बढ्दै छ ।

अहिले बजारमा उपलब्ध ९० प्रतिशतभन्दा धेरै प्राविधिकहरु काम गर्दागर्दै पोख्त भएकाहरु हुन् । सञ्चालनमा रहेका मोटर ग्यारेज र मर्मत केन्द्रमा काम गर्ने मेकानिक अधिकांश यही प्रकृतिका छन् ।

सानै उमेरदेखि ग्यारेजमै बस्ने र त्यहीँ काम गरेरै सिक्नेहरुले अहिले अटो मेकानिकको माग धानेका छन् । यसमा पनि भारतबाट आएर काम गर्ने अटोमेकानिक्सको संख्या उच्च छ ।

काम गर्ने क्रममा कालो गि्रज, लुब्रीकेन्ट्स र तेलमा खेल्नुपर्दा फोहोरी देखिने मध्यमवर्गीय युवाहरु यो पेशामा आउन रुची नदेखाएको पाइन्छ । तर, सफा लुगा लगाएर सरक्क काम गर्न नसकिने होइन ।

अहिले पढेरै पनि यसै पेशामा आउने युवाहरुले यो पेशालाई मर्यादित बनाउन थालेका छन् । प्रविधिको प्रयोगलाई बढाएर मोटरको मर्मतको कामलाई थप सहज र सम्मानजनक बनाउन उनीहरुले कसरत गरिरहेका छन् ।

सिक्ने तीन तरिका

शहरमा अत्याधुनिक सुविधायुक्त मोटर वर्कसपहरु खुल्दैछन् । जसले यो पेशाको प्रतिष्ठालाई थप उँचो बनाएको छ । यो पेशामा आउन ३ किसिमका विकल्प छन् ।

पहिलो विकल्प परम्परागत हो- ग्यारेज तथा मोटर वर्कसपमा  बस्ने र सिपालुले काम गरेको हेरेर सिक्ने । दोस्रो विकल्प हो, विभिन्न संघ-संस्थाले सञ्चालन गर्ने आवधिक तालिम लिने । तेस्रो विकल्प-यही विषय पढेर नै पेशामा प्रवेश गर्ने ।

अहिले नयाँ प्रविधिमा आधारित गाडीहरु भित्रिने क्रम बढेकाले पढेका जनशक्ति नै चाहिने अबस्था बनिरहेको छ । नपढेकाहरु प्रविधिमा ‘अपडेट’ हुन नसक्ने कारण तालिम लिएका वा पढेका जनशक्तिको माग बजारमा बढ्दै छ ।

पढेकाहरुको माग

अटो मर्मतसम्भार क्षेत्रमा अहिले पनि दक्ष जनशक्तिको माग बढ्दो दखिएको प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का प्रवक्ता शिवशंकर घिमिरेले अनलाइनखबरलाई बताए । अहिले पढेरै आएका आटो मेकानिक राख्न खोज्ने वर्कसपहरु प्रशस्तै छन् शहरमा ।

यसरी पढेर र सैद्धान्तिक सीप पनि लिएर आउने मेकानिक ज्यादै न्युन छन् । नयाँ प्रविधमा आधारित र इलेक्टि्रकल मोटरहरु मर्मत गर्न परम्परागत ढंगको काम गराइले नहुने भएकाले यस्ता जनशक्तिको माग उच्च भएको हो । यसैकारण वर्कसपहरुलाई नयाँ मोडलका गाडी मर्मत गर्नु परेमा आधिकारिक विक्रेताको शो-रुममै पठाउनुपर्ने बाध्यता छ ।

बजारमा गाडीका डाइरेक्ट्रीहरु समेत पढ्न नआउने प्राविधकको बोलावाला भएकाले शैक्षिक ज्ञान लिएकाहरुको माग विस्तारै बढ्दै गएको हो । अटो इञ्जिनियरिङमा डिप्लोमा अध्ययन गरेका जनशक्ति रोजगारीका लागि विदेशिने क्रम पनि बढेको छ ।

विदेशमा यो क्षेत्रका प्राविधिकको माग पनि उच्च रहेको प्रवक्ता घिमिरेले बताए । नेपालमा भन्दा धेरै आम्दानी हुने भएकाले अटोमा भविष्य खोज्न विदेशिने संख्या पनि उकालो लाग्दैछ ।

auto-mechanic1
अटोमोबाइल इञ्जिनियरिङमा डिप्लोमा गरेको व्यक्तिले राम्रो सैद्धान्तिक ज्ञान र प्राविधिक दक्षता राख्छन् । काम गर्दै जाँदा व्यावहारिक ज्ञान पनि चाँडै सिक्ने भएकाले यो तालिम वा पढाई महत्वपूर्ण बनिरहेको छ ।

अहिले ठूला लगानीमा अत्याधुनिक अटो वर्कशपहरु खुल्दै गर्दा स्वदेशमा पनि यो पेशाका लागि उचित वातावरण तयार हुँदै गएको छ ।प्राविधिक पेशा भएकाले यसमा कमाइ थोरै हुन की भन्ने चिन्ता हुँदैन । आफैंले वर्कसप चलाउन सक्ने झनै मनग्य कमाउन सक्छ ।

पढाइ र तालिम

अटोमोबाइल इञ्जिनियरिङमा नेपालमा डिप्लोमासम्म पढ्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा थापाथली इञ्जिनियरिङ क्याम्पसमा पनि अटोमोबाइल इञ्जिनियरिङको अध्यापन हुन्छ । माथिल्लो अध्ययनका लागि विदेश जानुको विकल्प छैन ।

सीटीइभीटीबाट पनि बुटवलमा अटो इञ्जिनियरिङ कोर्सको पढाइ हुन्छ । युसेफ अन्तरगत सानोठिमी प्राविधिक शिक्षालयले ८ महिने अटो मेकानिक सम्बन्धी तालिम पनि दिने गरेको छ । यसमा पनि सहभागी भएर यो क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।

सिटीइभीटी अन्तरगत नै काभ्रेको पनौति र बाँकेको नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा ‘टीएसएलसी इन अटो इञ्जियरिङ’को पढाइ हुन्छ । काठमाडौंसहित देशका केही प्राविधिक संस्थाले यसको तालिम पनि सञ्चालन गर्ने गरेका छन् । अटोमोबाइल इञ्जिनियरिङ पढ्न धेरै ठूलो रकम खर्च नहुने सीटीइभीटीका प्रवक्ता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment