Comments Add Comment

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १३ स्रष्टा पुरस्कृत

Pragya-Puraskar

५ जेठ, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न् १३ जना स्रष्टाहरुलाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भाषा, साहित्य र संस्कृतिका स्रष्टाहरुलाई पुरस्कार प्रदान गरेकी हुन् ।

प्रतिष्ठानले भाषातर्फको नेपाल प्रज्ञा पुरस्कार प्रा. डा. माधवप्रसाद पोखरेल र प्रा. डा. नोबलकिशोर राईलाई प्रदान गरेको छ । यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिनेमा पोखरेललाई ०६९-७० तथा राईलाई २०७१-७२ का लागि प्रदान गरिएको हो । पुरस्कारको राशी जनही एक लाख रुपैयाँ छ ।

यस्तै, एक लाख रुपैयाँ राशीको सामाजिक शास्त्र, संस्कृति र दर्शनतर्फको प्रज्ञा पुरस्कार ०६९-७० का लागि राजेन्द्रप्रसाद विमल र ०७१-७२ का लागि डा. जगमान गुरुङलाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने नेपाली साहित्य तर्फको प्रज्ञा पुरस्कार दधिराज सुवेदी, गीता केशरी र नरेशकुमार शाक्यलाई प्रदान गरेको छ । सुवेदीलाई ०७०, केशरीलाई ०७१ र शाक्यलाई ०७२ का लागि पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कारको राशी पनि जनही एक लाख रुपैयाँ रहेको छ ।

५० हजार रुपैयाँ राशीको मातृभाषा साहित्य पुरस्कार भने धनप्रसाद लावती, प्रतिसरा सायमी, गडुलमान राई, महेश चौधरी, सच्चिदानन्द चौबे र फुलसिंह राजवंशीलाई प्रदान गरिएको छ । लावतीलाई लिम्बु, सायमीलाई नेपाल, राईलाई चाम्लिङ, चौधरीलाई थारु, चौबेलाई अवधी तथा राजवंशीलाई राजवंशी भाषाका लागि पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले भाषा, साहित्य र संस्कृति मुलुकको गहना भएकाले अन्तर्राष्ट्रिय जगतमा मुलुकको पहिचान बढाउन स्रष्टाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले भाषा, साहित्य र संस्कृतिको संरक्षण एवं प्रबर्द्धनका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले आफूलाई बदलिंदो परिवेश अनुसार परिवर्तन गर्नुपर्ने र सरकारले पनि प्रतिष्ठानलाई स्रोतको अभाव हुन दिन नहुने बताइन् ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरुका तर्फबाट प्रा. डा. माधवप्रसाद पोखरेलले पुरस्कारले भाषा र साहित्यको विकासमा लाग्न थप प्रेरणा मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment