Comments Add Comment

कम्युनिष्ट पार्टी यसरी चल्न सक्दैन , बेलुन फुट्न सक्छ !

६ जेठ, काठमाडौं । कम्युनिष्टहरु शुभ-अशुभमा खासै विश्वास गर्दैनन् । तर, बबरमहलको कार्की पार्टी प्यालेसमा विहीबार दुई माओवादीवीच पार्टी एकताको घोषणा भइरहँदा राजधानीमा झमझम पानी परिरहेको थियो ।

कार्की पार्टी प्यालेसबाट पानीमा भिज्दै कर कार्यालयको क्यान्टिनतिर खाजा खान आइपुगे कार्की थरका माओवादी नेता पार्थ क्षेत्री । अर्थात राम कार्की ।

वाइवाइ चाउचाउको झोल खाँदाखाँदै हामीले कार्की कामरेडलाई पार्टी एकता र अब यसले पार्ने प्रभावबारे विश्लेषण सुनाउन अनुरोध गर्‍यौं । ६९९ सदस्यीय जम्बो केन्द्रीय समिति घोषणा गरेको माओवादीले अब यसमा विराम लगाउनुपर्ने कार्कीले बताए । पार्टी एकता भयो भनेर भावनामा मात्रै बहकिने हो भने पार्टी बेलुनजस्तै फुट्ने उनले घोषणा गरे ।

पार्टी नेताका साथै कुशाग्र राजनीतिक विश्लेषकसमेत रहेका कार्कीसँग अनलाइनखबरले गरेको छोटो कुराकानीः

Ram-Karki

यो पार्टी एकताको प्रभाव मनोवैज्ञानिक रुपमा कति र भौतिक रुपमा कति पर्ला ?

स्वाभाविकरुपमा हिजो छुट्टएिकाहरु एक ठाउँमा आउँदा बलियो भएको अनुभूति भइहाल्छ । तर, हामी जब विवेकको प्रयोग गर्छौं, भावनाबाट विवेकमा जाँदा हामी कमजोर किन भयौं त भन्ने कुरा आइहाल्छ । हामी फुटेर कमजोर भएका हैनौं, हामी कमजोर भएर फुटेका हौं ।

नफुटिकन कसरी कमजोर भयो माओवादी ?

कमजोर भनेको संख्याको कुरोमात्रै होइन । क्युबाको क्रान्तिमा ८२ जना गएका थिए, ७० जना मारिए । १२ जनाबाट सुरु भएको अभियानले ५/७ वर्षमै हवाना कब्जा गर्‍यो । कतिपय देशमा असाध्यै ठूला पार्टीहरु थिए, जस्तै इण्डोनेसियामा । त्यो पार्टी खत्तम भयो । मलायामा त्यस्तै भयो । त्यसैले सदस्यहरुको संख्या कति थियो भन्दा पनि जब वैचारिक रुपमा पार्टी कमजोर हुन्छ, जब उसको आचरणमा कमी कमजोरी आउन थाल्छ, राम्रा कुराहरु किताबमा सीमित हुन्छन् र जीवनमा अर्कै कुराहरु हुन्छन्, यो अन्तरविरोधले गर्दा पार्टी कमजोर हुन्छ । अब अहिलेको पार्टी एकताले एउटा वातावरण बनेको छ । अब यसलाई हामीले अगाडि बढ्न प्रयोग गर्न सक्छौं कि त्यसै भावनामा बहकिएर अरु गर्नुपर्ने महत्वपूर्ण कामचाँहि गर्दैनौं ?

नेपाली जनतालाई अहिले एउटा नयाँ माओवादी चाहिएकै छ । जसरी ०५२ सालको माओवादीले उत्पीडित तप्कामा एउटा उद्धेलन ल्याइदियो, अहिले त्यसलाई सम्हालेर लैजाने पार्टी चाहिएको छ । त्यसरी नै जनतालाई परिचालित गर्न सक्ने, त्यस्तै आचरण भएको पार्टी चाहिएको छ । सुरुमा माओवादीको चर्चा कुनै देवदूतको जस्तै रुपमा हुने गर्दथ्यो । अहिले फेरि एउटा नयाँ माओवादी चाहिएको छ ।

अहिले जुन प्रकारका जातीय कुराहरु आएका छन्, क्षेत्रीय मुद्दाहरु छन्, त्यसलाई सम्बोधन गर्न सक्ने एउटा नयाँ पार्टी चाहिएको छ । यसलाई सम्वोधन गर्ने इतिहास माओवादीसँग छ । त्यो उद्धेलनको कणर्ाधार माओवादी भएको हुनाले उसले कुनै जातिलाई भन्न सक्छ, तपाईको अहिले यतिमात्रै माग पूरा हुन सक्छ । योभन्दा बढी अधिकार माग्नुभयो भने अर्को बन्धुजातिलाई असर पर्न सक्छ भनेर माओवादीले भन्न सक्छ ।

अब माओवादीका सामु देखिएका चुनौति के हुन् ?

एउटा कुरा त वैचारिक राजनीतिक कुरालाई अगाडि ल्याउनुपर्ने छ । योवीचमा के देखियाृे त भन्दा पञ्च पञ्चजस्तो कांग्रेस देखियो । अनि कांग्रेसजस्तो एमाले देखियो । कांग्रेसले सम्पूर्ण सार्वजनिक उद्योगहरु सिध्याइदियो । अहिले वामपन्थीहरु पनि ‘थ्री पी’ ‘तीनखुट्टे इकोनोमी’ भन्दै हिँडेका छन् । नेपाललाई चाहिने मौलिक समाजवादी इकोनोमीको बाटो के हो ? राजनीतिको बाटो के हो ? यो बाटो अब ल्याउनुपर्छ माओवादीले ।

एउटा त नेपालमा जुन प्रकारको सामाजिक चेतना आएको छ, त्यसलाई सम्बोधन गर्ने एउटा बलियो शक्ति चाहियो, जसले सबैलाई एकतावद्ध गर्न सकोस् । दोस्रो, नेपाललाई अगाडि लैजाने बाटो दिन सक्नुपर्छ । र, त्यो भन्दा पनि महत्वपूर्ण चाहिँ हामी माओवादीको आचरण फेरिएको छ भन्ने जनतामा विश्वास जगाउनुपर्छ । नेपाली जनतालाई हामीले त्यसरी विश्वास दिलाउन सक्छौं कि सक्दैनौं ? हाम्रा सबै व्यवहारहरु पारदर्शी छन् कि छैनन् ?

अहिले यही संगठनकै कुरामा पनि विधि र प्रणाली निर्माण गर्न सक्छौं कि सक्दैनौं । सधैभरि विवेकमा चल्ने पार्टी न रहे नेपालमा । उदाहरणका निम्ति जेल परेकोमा पूणर्ाङ्क १० । शत्रुको कब्जामा रहँदा उसले कमजोरी गर्‍यो कि ? उसले बहादुरी देखायो कि ? उसले कहाँ गएर संगठन गर्‍यो ? काठमाडौंको वल्लो गल्ली र पल्लो गल्लीमा गएर संगठन गर्नु र चेपाङ जातिकहाँ गएर संगठन गर्नु, गोरखाको उत्तरी भागमा गएर गुरुङहरुका वीचमा काम गर्नु फरक कुरा हो ।

ताप्लेजुङको माथिल्लो भागमा शेर्पा वस्तीमा अथवा मुस्लिम वस्तीमा गएर काम गर्नु, त्यसलाई एउटा मापन गर्ने सिस्टम हुनुपर्‍यो नि । मुस्लिम, दलित र महिलाहरुलाई धेरै संगठित गरेको छ भने त्यो बाहुन होस् कि दलित, उसले नम्बर पाउनुपर्छ । हाम्रो देशमा महिलाहरुको हकमा उनीहरुले नानी जन्माएकोमा पनि नम्बर दिनुपर्छ । उनीहरु कम्युनिष्ट कार्यकर्ता हुन् र नानी जन्माएका छन् भने त्यहाँ पनि नम्बर दिनुपर्छ । यसरी विभिन्न ढंगले अंक दिने र त्यो अंक लिएर चुनावमा जाने ।

यस्तो ढंगको प्रणाली बनाएर र विवेकको आधारमा मात्रै चल्न थाल्यो भने त बेलुन भएर फुट्छ पार्टी । अहिले छ पार्टी तर, हड्डीबाट छुट्टएिको मांसपेशीजस्तो । सम्बन्ध नभएको मांशपेशीजस्तो । एउटै पार्टीमा छ, तर जोडिएको छैन । कम्युनिष्ट पार्टी त यसरी चल्दैन, एकदमै इन्ट्याक्ट रहनुपर्छ ।
 
पार्टी एकता भएर जम्बो केन्द्रीय समिति बनेपछि अब मासु र हड्डी जोडिएला नि ?

यसलाई विराम दिनुपर्छ क्या हामीले । यो ५ सय, ३ सय , ४ सय बनाउने भन्ने जुन कुरा छ, यसलाई विराम दिनुपर्छ । एउटा विन्दुमा गएर पार्टीको सदस्यमात्रै हुँदा गौरब गर्ने ठाउँमा हामी पार्टीलाई पुर्‍याउन सक्छौं कि सक्दैनौं ? युवा पुस्ताका आएर घँचेटेर मलाई एरिया कमिटीमा पुर्‍याउँदा मैले खुशी हुनुपर्ने, गौरब गर्नुपर्ने ठाउँमा हामी पुग्नुपर्छ ।

तर, अहिले त्यस्तो देखिएन नि ? ६९९ को जम्बो कमिटी बन्यो….

यो त संक्रमण हो । यसलाई त अहिले मान्न सकिन्छ ।

पार्टी एकता हुनुअघि ६ बुँदे इत्यादि प्रस्तावमा छलफल र बहस भइरहेको थियो, तर अहिले चुपचाप एकताको घोषणा भयो,  यो एकतामा विचारलाई भन्दा भावुकतालाई प्राथमिकता दिइएको हो ?

पहिलेदेखि नै मेरो अडान के हो भने पार्टीको फुटको औचित्य सावित हुन सकेन । फरक देखाउनलाई भनिएका लेखिएका कुरा फरक होइनन् । सिंगो पार्टीको जीवन र कर्मलाई हेर्ने गरिन्छ नि त । यसरी हेर्दा फुटको औचित्य सावित हुन सकेन । एउटै सोच र चिन्तन लिएर दुईवटा टेबुलमा अलग-अलग बसेर के हुन्छ र ?

उसोभए यो पार्टी एकता नभएर विलय नै हो ?

यसलाई कसैको कसैमा विलय त नभनौं । तर, फुटको औचित्य सावित हुन सकेन ।

तर, मोहन वैद्य किरण त एमाओवादीमा विलय हुन आउनुभएन नि ?

किरणजीले के गरिरहनुभएको छ भने लेनिनका पालामा उदाहरण दिने गरिन्थ्यो, बाख्राको, सुँगुरको केही खोर छ र त्यो फोहोर छ भने तपाईले त्यो फोहोर सफा गर्न खोरभित्र जानैपर्छ । संसदीय व्यवस्थाको विकल्पमा अर्को राम्रो व्यवस्था छ भन्ने देखाउनका लागि तपाईले संसदमा गएर  त्यसको सीमा देखाइदिन सक्नुपर्छ । तपाईले सीमा देखाउन सक्नुभएन भने तपाई डुब्नुहुन्छ । यो चुनौती हामीसँग छ । किरणजीको समस्या के हो भने उहाँ खोरमा जानै डराउनुहुन्छ । अहिलेसम्म नेपालका कम्युनिष्टहरु जो गए, ती डुबे ।

अब वैद्यजी माओवादीमा आउनुहुन्छ त ?

व्यवहारिक जीवनमा कतिपय मानिसहरु के सोच्छन् भने राम्रो काम गर्न सकिँदैन भने केही पनि नगर्ने । नराम्रो नगर्ने भनेर उनीहरु आफ्नो भूमिकालाई सीमित गर्दै लैजाने क्या । तपाई राम्रो लेख्न सक्नुुहुन्न भने नराम्रो पनि नलेख्ने । कोहीचाँहि कस्ता हुन्छन् भने राम्रो नराम्रो लेखिरहने क्या । त्यसैले अहिले किरणजीले आफ्नो भूमिका सीमित गर्दै हुनुहुन्छ ।

अनि बाबुराम भट्टराई नि ? उहाँ पनि माओवादी केन्द्रमा आउनुहुन्छ भन्ने लाग्छ ?

राजनीतिमा असम्भव केही पनि हुँदैन ।

बाबुरामजीको फुटको औचित्य सावित हुन बाँकी छ कि औचित्यहीन सावित भइसक्यो ?

उहाँ तरल स्थितिमा हुनुहुन्छ ।

विप्लवजी एकतामा आउनुहुन्छ ?

एकचोटि ठोक्किएर आउनुहोला । वहाँका केही मानिसहरु आउनुभयो । तिलक परियारजी आउनुभयो । कहिलेकाहिँ तपाई आफ्नै घोषणाले आफू बाधिँदै जानुहुन्छ क्या । यस्तो कुरा बोलिदिनुहुन्छ कि तपाईलाई पछि हट्नै गाह्रो हुन्छ ।

तपाईका सबै कुरा सुन्दा यो एकता एउटा प्रारम्भमात्रै हो, आफैंमा ठूलो उपलब्धि होइन….

म यस्तो शब्द त प्रयोग गर्दिँन । माओवादीका कार्यकर्तामा जुन प्रकारको उत्साह आएको छ नि, यो नयाँ कोही आएर होइन, हिजो आफूसँगै लगेको मान्छे आज सँगै आउँदाखेरि ऊ यति उत्साहित भएको छ नि, यतिबेला चाँहि हामीले पोलिटिकल लाइन दिन सक्ने हो भने फलाम एकदम तातो छ क्या यतिबेला ।

अहिलेचाँहि माओवादीमा लाइन नभएको हो ? अलि बढी एमालेजस्तो देखिएको हो कि ?

जनताले फरक देख्नुपर्‍यो नि । हामी त फरकै हौं भनेका भन्यै छौं । अहिले पनि हाम्रा नेताहरुले घोषणा गरे नि त अब नयाँ पार्टी बनाउँछौं भनेर । नयाँ माओवादी ।

अब यो पार्टी एकताले समसामयिक राजनीतिमा केही प्रभाव पार्छ कि पार्दैन ? जस्तो बादल समूहको दबावका कारण पार्टी सरकारबाट बाहिरिँदैन ? अहिले एमालेसँग ९ बुँदे समझदारी गरेको अवस्था छ, त्यो कार्यान्वयन भएन र ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएनन् भने के हुन्छ ?

हाम्रा एजेण्डाहरुलाई हाम्रो पार्टनरले सम्वोधन गरेन भने त ….। तर यो हाइपोथेटिकल भयो । अहिले हामी ९ बुँदेको कार्यान्वयनको चरणमा छौं । शान्ति प्रक्रियालाई एउटा निश्कर्षमा पुर्‍याउने त एउटा राष्ट्रिय दायित्व हो नि सबैको । कि त थुन्नुपर्‍यो । हैन त ? हैन भने त यसलाई एउटा निश्कर्षमा पुर्‍याउनुपर्‍यो नि त ।

प्रधानमन्त्री केपी ओलीबाट ९ बुँदे कार्यान्वयन भएन भने पार्टीले नयाँ ढंगले सोच्छ ?

यस्तो नेगेटिभ अनुमानमा नजाऔं हामी । यसले (पार्टी एकताले) हामीलाई अलि बलियो बनाएको छ, सरकारमै पनि ।

अब माओवादीले देब्रे खुट्टो उचाल्छ कि दाहिने ?  कि बुरुक्क उफ्रिन्छ ? अहिलेसम्म दाहिने खुट्टो अलिकति अगाडि सारेको जस्तो देखिएको छ…

टेक्ने त देब्रे नै हो । तपाई यही प्रणालीमा गएर पनि जनताका लागि काम गर्न सक्नुहुँदोरहेछ भन्ने भेनेजुएला र ब्राजिलबाट देखिएको छ । जनताका लागि काम गर्न खोज्दाखेरि तपाईलाई कसरी संसारका सारा पुँजिपतिहरुले फाल्दारहेछन् भन्ने देखिएको छ, तर त्यसरी फालेर ब्राजिल कमजोर हुन्छ त ? हुँदैन नि । भेनेजुएलाको सोसलिष्ट मुभमेन्ट कमजोर हुन्छ र ? हुँदैन नि त ।

जस्तो अहिले हामीले राम्रो काम गर्न खोज्दा हामीलाई मिल्काइयो भने नेपाली जनताले झन माया गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment