Comments Add Comment

कांग्रेस, एमाले र माओवादी करोडपति, मधेसी दल लखपति !

कुनै दलको वार्षिक आम्दानी डेढ सय रुपैयाँमात्र

७ जेठ, काठमाडौं । विभिन्न राजनीतिक पार्टीहरुले निर्वाचन आयोगमा बुझाएको आम्दानी-खर्चको विवरण अनलाइनखबरले फेला पारेको छ । यो सूचीअनुसार कांग्रेस, एमाले, माओवादी र राप्रपा नेपाल करोडपति देखिएका छन् । मधेसवादी र अन्य साना दलहरु लखपति मात्रै छन् । र, एउटा त्यस्तो पार्टी पनि फेला परेको छ, जसको वाषिर्क आम्दानी डेढ सय रुपैयाँ मात्रै छ । तर, उसले डेढ लाख रुपैयाँ भन्दा माथि खर्च देखाएको छ ।

भाषणमा सुशासनको डिङ हाँक्ने नेताहरुमाथि आफ्नै पार्टीको आर्थिक हिसाव-किताव चुस्त दुरुस्त राख्न नसकेको आरोप लाग्ने गरको सुनिन्छ । धेरै दलहरु आफ्नो आम्दानी र खर्चको विवरण परदर्शी रुपमा राख्दैनन् । उनीहरुको आयको स्रोत पनि प्रायः गोप्य हुन्छ ।

निर्वाचन आयोगले दलहरुलाई आफ्नो वार्षिक आय-व्यय विवरण पेश गर्न निर्देशन दिने गरेको छ । धेरै दलले त आयोगमा यस्तो विवरण नै दिँदैनन् । दिनेहरुको पनि हिसाव-किताव पनि विश्वासिलो हुँदैन ।

आर्थिक वर्ष ०७१/७२ मा दलहरुले आयोगमा पेश गरेका धेरै आर्थिक विवरणहरु रोचक छन् । कति त बालबालिकाले सुने पनि विश्वास गर्न नसक्ने खालका छन् ।

4 parties expensesयी हुन् चार करोडपति दल

अहिले संसदमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी (हालको नेकपा माओवादी केन्द्र) र राप्रपा नेपाल प्रमुख राजनीतिक दलका रुपमा छन् । सबैभन्दा ठूलो दल कांग्रेस आम्दानीका हिसावले प्रमुख स्थानमा आउँछ ।

कांग्रेसले धेरै कमाए पनि खर्च गर्न भने कांग्रेसभन्दा एमाले अब्बल देखिएको छ । कांग्रेसले ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गर्दा १ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । उसले एकै वर्षमा पार्टीको खातामा ७ करोड रुपैयाँ बचत गरेको विवरणमा देखिन्छ ।

तर, ७ करोड २४ लाख मात्रै आम्दानी गरेको एमालेले कांग्रेसलाई उछिन्दै १ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । आम्दानी भन्दा निकै कम खर्च गरेपछि एमालेको बचत पनि कम हुने कुरै भएन । एमालेले एकै वर्षमा ५ करोड ६६ लाख रुपैयाँ बचत गरेको छ ।

तेस्रो ठूलो दल एकीकृत माओवादी प्रमुख दलहरुमध्ये आम्दानी र खर्चमा पनि तेस्रो मै देखिएको छ । माओवालदीले एक वर्षमा ४ करोड २१ लाख लाख कमाउँदा ७० लाख रुपैयाँ मात्रै खर्च गरेको । एकीकृत माओवादी बचतमै छ । उसले एक वर्षमा ३ करोड ५१ लाख रुपैयाँ बचाउन सकेको छ ।

चौंथो ठूलो दल राप्रपा नेपाल पनि आम्दानीका हिसाबले करोडपतिकै सूचीमा छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले १ करोड ८ लाख रुपैयाँ एकै वर्षमा आम्दानी गर्‍यो । उसले साढे १ लाख मात्रै खर्च गरेको विवरण निर्वाचन आयोगसमक्ष गरेको छ ।

धार्मिर्क सभाका नाममा  ठूलो खर्च गर्ने राप्रपा नेपालले एक लाख ७१ हजारले वर्षभरिको खर्च कसरी धान्यो होला भन्ने प्रश्न यहाँ जन्मिन सक्छ । ठूला दलको आर्थिक विवरण पनि पत्याइ हाल्नुपर्ने किसिमको देखिँदैन ।

मधेसी दलहरु कति कमाउँछन्, कति खर्चन्छन् ?

दलहरुको आम्दानी र खर्च विवरणको प्रशंगमा मधेस केन्द्रित दलहहरुप्रति पनि धेरैको चासो हुन्छ । विवरणमा आधारित हुँदा मधेस केन्दि्रत दलहरुमध्ये सवैभन्दा धेरै कमाउने सदभावना पार्टी हो । तराई मधेसलाई आधार बनाएर राजनीति गर्ने दलहरुमध्ये सबैभन्दा धेरै खर्च गर्ने दल पनि सद्भावना नै हो । एक वर्षमा ३६ लाख रुपैयाँ आम्दानी गरेको सद्भावनाले २६ लाख रुपैयाँ खर्च गरेको छ ।

विजयकुमार गच्छदारको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले भने भने वर्ष भरिमा झण्डै २८ हजार मात्रै खर्च गरेको जानकारी निर्वाचन आयोगमा पेश गरेको छ । पार्टीले आम्दानी भने २२ लाख ५० हजार गरेको थियो ।

madesh parties expensesमहन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले भने २० लाख ९२ हजार रुपैयाँ कमाएर १८ लाख ७० हजार खर्च गरेको विवरणमा देखिन्छ ।  यसैगरी मधेस समता पार्टीले १ लाख ९३ हजार आम्दानी गरेर १ लाख २४ हजार रुपैयाँ खर्चेको छ ।

राष्ट्रिय मधेस समाजवादीले ३२ लाख १३ हजार रुपैयाँ कमाएको छ भने २१ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ । राष्ट्रिय मधेस बहुजन सवाजवादी पार्टीले २ लाख ३५ हजार आम्दानी गरे खर्च पनि त्यति नै भएको विवरण पेश गरेको छ ।

तराई मधेस सदभावना पार्टी नेपालले ९ लाख ९८ हजार रुपैयाँ आय देखाएको छ भने खर्च ८ लाख ९८ हजार रुपैयाँ भएको जनाएको छ ।

यस्तै थरुहट तराई पार्टीले १३ लाख ३९ हजार रुपैयाँ आम्दानी गर्दा १० लाख ७४ हजार रुपैयाँ खर्च गरेको छ ।

मधेसी जनाधिकार फोरम गणतान्त्रिक ४ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेर ४ लाख २१ हजार रुपैयाँ खर्च गरेको छ ।

संसदमा रहेका दलको अवस्था

जननिर्वाचित भएर संसदमा पुगेका अधिकांश दलले आफ्नो आम्दानी खर्चको विवरण आयोगमा बुझाएका छन् । संसदमा रहेका प्रमुख दलहरुको चर्चा माथि नै भइसक्यो । संसदमा रहेका साना दलहरुको आर्थिक विवरण बाबरे यहाँ केही चर्चा गरौं ।

संसदमा प्रतिनिधित्व गर्ने पूर्वपञ्चहरुको राष्ट्रिय  प्रजातन्त्र पार्टीले ३५ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको छ भने खर्च २७ लाख ५८ हजार रुपैयाँ भएको जनाएको छ ।

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले वर्षभरिमा ९४ लाख ४१ हजार आम्दानी गर्दा ५६ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ ।

यसैगरी नारायणमान बिजुक्छेको नेपाल मजदुर किसान पार्टीले ३० लाख ८ हजार कमाएर २९ हजार ३ सय रुपैयाँमात्रै खर्च गरेको छ ।

नेकपा कम्युनिष्ट पार्टी संयुक्तले २५ लाख ८ हजार रुपैयाा आय र ९८ हजार ३ सय रुपैयाँ मात्रै खर्च गरेको विवरण आयोगमा दिएको छ ।

अखण्ड नेपाल पार्टीले आफ्नो आम्दानी ५ लाख ४५ हजार हुँदा खर्च १ लाख ३५ हजार भएको जनाएको छ । खुम्बुवान राष्ट्रिय मोर्चाले ६ लाख ४२ हजार कामउँदा ३ लाख १५ हजार रुपैयाँ खर्चिएको छ ।

यसैगरी दलित जनजाति पार्टीले १ लाख २० रुपैयाँ आम्दानी र १ लाख १५ हजार खर्च भएको देखाएको छ । संविधानसभा भित्रै रहेको अर्को दल राष्ट्रिय जनमुक्ति पार्टी ११ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेर ११ लाख ८८ हजार रुर्पैयाँ ब्यय गरेको विवरण आयोगमा दिएको छ ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा दलहरुले आफ्नो आम्दानी र खर्च बराबर भएको देखाएका छन् । यसरी आम्दानी र खर्च बराबर देखाउनेमा संसदमै रहेका दलहरु पनि छन् ।

नेपाः राष्ट्रिय पार्टीले ५ लाख ३० हजार कमाउँदा २५ सय रुपैयाँ मात्रै खर्च गरेको प्रतिवेदन पेश गरेको आयोगले जनाएको छ ।

आम्दानी र खर्च बराबर

दलहरुको खर्च विवरण केलाउँदा कतिपय रमाइला पाटाहरु पनि भेटिन्छन् । निर्वाचन आयोगमा बुझाएको विवरणमा दलहरुले आफ्नो आम्दानी र खर्च बराबर भएको देखाएका छन् । यसरी आम्दानी र खर्च बराबर देखाउनेमा संसदमै रहेका दलहरु पनि छन् ।

नेकपा माले, जनता दल, जनगागरण पार्टी, संघीय लोकतान्कि राष्ट्रय मञ्च लगायतका दलले आफ्नो आम्दानी र खर्च एक रुपैयाँ तलमाथि नभएको विवरण आयोगमा दिएका दिएका छन् ।

नेकपा मालेले २१ लाख ३७ हजार ८ सय नै आम्दानी र त्यति नै खर्च भएको देखाएको छ । संसदमा प्रतिनिधित्व गर्ने जनजागरण पार्टीले १ लाख ८६ हजार १ सय २०, नेपाली जनता दलले ५ लाख ७५ हजार, लोकतानिक राष्ट्रय मञ्चले ४ लाख ४४ हजार १ सय ८३ रुपैयाँको समान आयव्यय देखाएका छन् ।

यस्ता अन्य धेरै दलहरु छन्, जसले आम्दानी र खर्च बराबर गरेको बताएका छन् ।  राष्ट्रवादी मोर्चा (१ लाख २५ हजार), नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी (२ लाख ३५ हजार), नेपाल आमा पार्टी (एक लाख ३० हजार, नेपाल समावेशी पार्टी (७५ हजार), संघीय विकासवादी (२ लाख ४ हजार) संघीय सद्भावना पार्टी (३ लाख ८५ हजार), मंगोल नेशनल अर्गनाइजेशन (४ लाख १ सय), नेकपा माक्र्सवादी -३ लाख ६८ हजार) र हिन्दु प्रजातान्त्रिक पार्टी (३९ हजार ४ सय) रुपैयाँको समान आय-ब्यय देखाएका छन् ।

यसैगरी समान कमाइ र खर्च बराबर देखाउनेमा संयुक्त राष्ट्रवादी मोर्चा ( १ लाख ९० हजार), नयाँ संघीय जनधारणा पार्टी -८ हजार), युनाइटेड नेशनल रिपब्लिकन पिपुल्स पार्टी -३२ सय), नेपाल समाजवादी पार्टी लोहियावादी (२ लाख १० हजार) र नेपाल समता पार्टी ( १ लाख ८५ हजार रुपैयाँ ) छन् ।

आम्दानी भन्दा खर्च धेरै

विवरणमा कतिपय दलहरुको आम्दानी गजवकै देखिन्छ भने कसैको खर्च अजीवको देखिन्छ । आम्दानी एक सुको नभएपनि खर्चमात्रै देखाउने दल पनि छन् । थुप्रै दलहरुले आम्दानी भन्दा बढी खर्च भएको विवरण पनि दिएका छन् ।

लोकतान्त्रिक जनता पार्टी नेपाल नामको पार्टीले एक पैसा पनि आफ्नो आम्दानी नभएको जनाएको छ । लाहानमा केन्द्रीय कार्यालय रहेको पार्टीको खर्च भने ८० हजार रुपैयाँ छ ।

वर्तमान मन्त्रिमण्डका सदस्य समेत रहेका एकनाथ ढकालको पार्टीको खर्च पनि आम्दानी भन्दा धेरै देखाइएको छ । संसदमै रहेको नेपाल परिवार दलले १३ लाख १७ हजार रुपैयाँ आम्दानी गरे पनि खर्च भने १४ लाख ६७ हजार भएको जनाएको छ ।

यसैगरी नेपाल जनलोकतन्त्र पार्टीले ३ हजार रुपैयाँ आम्दानी गरेर २४ हजार रुपैयाँ खर्चेको छ । हाम्रो नेपाल दलले नेपाल नौलो जनवादी पार्टी आय व्यव विवरण झनै रोचक छ । पार्टीले वर्षभरिमा २ सय ५० रुपैयाँ आम्दानी गरेर ६८ हजार ८ सय रुपैयाँ खर्च गरेको छ ।

यस्तै नेपाल गौरवशाली पार्टीले २५ सय आम्दानी गरेर ७३ हजार ४ सय रुपैयाँ खर्चिएको छ । लोकतान्त्रिक पार्टी नेपाले १५ हजार रुपैयाँ कमाएपनि १ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ ।

सय रुपैयाँमै चलेका पार्टी

नेपालमा दलहरु धेरै हुँदा सर्वसाधारण सबै दल चिन्न पनि सक्दैनन् । अधिकाकंश दल त निस्कृय नै छन् । आम्दानी थोरै भएर पनि खर्च धेरै देखाउने पार्टी मात्रै छैनन्, आम्दानी जति भएपनि सय रुपैयााकै ‘रेञ्ज’ मा खर्च  गरेर धानिएका पार्टी पनि छन् ।

विवरणअनुसार नेपाल वाद नामको पार्टीले वर्षभरिमा १ लाख ८३ हजार रुपैयाँ कमायो । तर, पार्टीले १ सय ५० रुपैयाँमा नै वर्षभरिको खर्च धानेको छ ।

गरिव एकता समाज पार्टीले ७१ हजार आम्दानी गरेपनि खर्च भने ८ सय रुपैयाँ मात्रै गर्‍यो । युवा नेपाल पार्टीले २ लाख ६३ हजार रुपैयाँ कमाउँदा ८ सय ५ रुपैयाँ खर्च गरेको विवरणमा देखिन्छ ।

युवा शक्ति नेपाल पार्टीले १ हजार, नेपाल गणतान्त्रिक एकता पार्टीले १२ सय ७०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १३ सय ९५, नेपाल जनता पार्टीले १३ सय ७४ र बहुजन शक्ति पार्टीले ३७ सय रुपैयाँमै वर्षभरिएको खर्च धाने ।

कुकर चुनाव चिन्ह लिएर विगतको चुनावमा भाग लिएको विवेकशील नेपाली नामक पार्टीको आम्दानी भने वर्षभरिमा २ करोड ४५ लाख देखिएको छ । उसले एक वर्षमा १ करोड ६७ लाख खर्च देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment