Comments Add Comment

राजु परियारको दोस्रो इनिङः पुरानै लयको खोजी

'बीचमा यसो रेस्ट लिएको थिएँ, फेरि जुर्मुराएको छु'

Raju-Pariyar

कुनै समय नेपाली लोकदोहोरीमा राजु परियारको ठूलै साम्राज्य थियो । तर, नाटकीय रुपमा उनको करिअर चम्किदाचम्किदै एकाएक निभ्यो ।

लोकपि्रयताको शिखरबाट उनलाई कसैले फेदीमा हुत्याएको होइन, आफैं चिप्लेका हुन् । लामो अन्तरालपछि फेरि आफूलाई ब्यूझाँउने प्रयत्न गर्दैछन् । फेरि उकालो उक्लिन खोज्दैछन् । के राजू फेरि त्यो शिखर चुम्न सक्लान् त ?

राजुलाई आफ्नो जिन्दगी पहिले जुन लयमा थियो आज पनि त्यही लयमा हिँडेकोजस्तो लाग्छ । त्यसो भए यो बीचमा उनी कहाँ बरालिएका थिए ? उनी दावी गर्छन्, ‘बीचमा रेस्ट लिएको हो । उत्कृष्ट गीतको खोजीमा देश-विदेशमा दौडने क्रममा यसो हुन गएको हो ।’

लामो समयको अन्तरालमा उनले गाएको ‘दरौं सिरुबारी’ गीतले २०७२ मा सर्वोत्कृष्ट लोकगीतको अवार्ड पायो । यही गीतले उनको पुनरागमनको ढोका खोलेको छ । उनकै रचना/स्वर र जयकुमार परियारको संगीत रहेको यो गीतलाई युट्युबमा हेर्ने दर्शक बढिरहेका छन् । यही गीतबाट उनी फूलमा भमरा, मौरी फूलमाथि, मिर्मिरेको घाम, लमजुङ जाने दाइ जस्ता गीतकै राजु परियार हुन् भनेर प्रमाणित गर्न कस्सिएका छन् । उनको पुनरागमनले उनका आफन्त, शुभचिन्तक, लोक गीतप्रेमी हौंसिएका छन् । राजु पनि पुनः स्टुडियोदेखि स्टेजसम्म छाउने सुरसारमा छन् ।

उनको अनुपस्थितिमा धेरै गायक जन्मिए । केहीलाई राजु परियारको विकल्पका रुपमा हेरियो । यसबीचमा धेरैजना ठट्टैठट्टामा यो क्षेत्रमा आएको देखेका छन् उनले । ‘टेलिभिजनमा अनुहार देखाउनु मात्रै ठूलो कुरा होइन,’ उनी भन्छन्, ‘वर्षको एउटा बनाउनुपर्छ तर उत्कृष्ट बनाउनुपर्छ ।’

त्यसैले त झलकमान गन्धर्व, बिमाकुमारी दुरा, हरिदेवी कोइरालाका सदावहार गीतलाई ‘मिस’ गर्दारैछन् राजु ।

राजुले अहिलेसम्म कति गीत रेकर्ड गराए होला ? उनले गाएका थुप्रै गीत आफैले बिर्सिसकेका छन् । कतिपयले राजुलाई मात्रै गाउन लगाएर आˆनो नाम अगाडि राख्दै एल्बम निकालेका छन् । कतिले त उनको स्वर राखेर नामै उल्लेख गरेका छैनन् ।

कुनपापीले छोड्दियो जात बनाई
पानी पनि नचल्ने हात बनाई
रुमाल धोको छु,
यो खोलीको पानी कोही नखानु मैले छोको छु ।

गाउँघरमा हुँदा छुवाछूत यिनले पनि खेपे । अरु दलितले जस्तै पीडा यिनले पनि भोगे । गायक भएपछि उनले ‘सुनपानीले छर्क मायालु’ र ‘रुमाल धोको छु’ गीतबाट पीडा पोखे । तर जब उनी चर्चित बने उनलाई अरुले गर्ने व्यवहार फेरियो । उनी गाउँ-गाउँका कार्यक्रममा पुग्थे । कहींकतै उनलाई विभेदमा परेको महसुस भएन । अहिले उनलाई सबैभन्दा पहिले दलित भन्ने शब्दको अन्त्य गरिदिए हुन्थ्यो भन्ने लाग्छ । भन्छन्, ‘यहाँ कोही दलित छैन, सबै मान्छेले बनाएका हुन् ।’

समाजलाई गाली गर्नुभन्दा पनि दलित शब्दभित्र घेरिएका मान्छेलाई गाली गर्न उचित लागेर उनले गीत नै ल्याएका छन्, ‘आफै राम्रो बन तिमी आफै राम्रो बन, हेपिए थिचिए भन्दै नभन ।’ यद्यपि ‘सुनपानीले छर्क मायालु’ र ‘रुमाल धोको छु’ गीतले समाजलाई केही दिन सकेको र गर्व गर्नलायक सम्झन्छन् उनी ।

लमजुङको गाउँसहरबाट युरोपका अधिकांश देश, खाडी, अस्टे्रलिया, हङकङ, सिंगापुर, मलेसियासम्म गीतसंगीतले पुर्‍यायो उनलाई । आफूले गीतसंगीत बुझेकै विदेश गएर हो भन्छन् उनी । संगीतिक प्रस्तुतिकै क्रममा राजु पहिलोपटक नेपाल बाहिर बहराइन पुगेका थिए । उनले ‘बाई-बाई माया छड्के सलामी, एकैचोटि हुने भो निरमाया तिम्रो जन्ति मेरो मलामी’ बोलेको गीत गाए । कार्यक्रम हेरेर बसेकामध्ये तीन-चारजना युवा डाँको छोडेर रोए । माहोल नै भावुक बन्यो । उनले गीत सुनेर मान्छे रोएको पहिलोपटक देखे । राजु भन्छन्, ‘त्यतिबेला बल्ल बुझेँ गीतसंगीत के रहेछ भन्ने ।’

रत्यौलीदेखि दोहोरी साँझसम्म

गीतसंगीतमा उनको सानैदेखिको लगाव हो । गाउँको हावापानी नै गीताङ्गे थियो । आठ नौं वर्षको उमेरदेखि नै उनी रोधी धाउन सुरु गरेका हुन् । साथीभाइको संगतमा सत्यनारायण पूजा, रत्यौलीमा गीत गाउन पुगिहाल्थे उनी । ‘रत्यौलीमा केटाहरुलाई अनुमति थिएन,’ उनी सम्झन्छन्, ‘केटीको जस्तो स्वर थियो मेरो सानोमा । आमाको लुङ्गी ओढेर रत्यौलीमा भाग लिन्थेँ ।’

वल्लो गाउँ, पल्लो गाउँ विवाह-वर्तन हुने वित्तिकै उनी पुराना हात्तीछाप चप्पल बटुल्नतिर लाग्थे । बेलुका घरमा सबै सुतिसकेपछि साथीभाई बटुल्थे र ती चप्पल दाउरामा उनेर बाल्थे । त्यसैको उज्यालोमा ३-४ घन्टा टाढाको गाउँसम्म दोहोरी गाउन पुगेका छन् उनी । टर्च लाइट नहुँदाको बाध्यता थियो त्यो । विहान आमा उठ्नभन्दा पहिले नै घरमा आइपुग्नुपथ्र्यो । गाउँकै देवीबहादुर गुरुङ, धनबहादुर गुरुङ र उनकै दाइ रामबहादुर परियारले गीत गाउन हौस्याइरहन्थे उनलाई । त्यतिखेरका उनका साथीभाई कोही विदेशमा छन्, कोही लाहुरे भए, कोही खाडीमा छन् ।

गाउँसहरबाट २०५६ सालमा काठमाडौं झर्दा उनी लोर्के ठिटो थिए । राजु कामको खोजीमा काठमाडौं छिरेका थिए । उनी एक साँझ सुन्धाराको गल्लीतिर बरालिँदै थिए । एउटा गल्लीमा कता-कता मादल बजेको आवाज आयो । राजुले भने, ‘कहाँ होला यो मादल बजेको भनेर सुन्दै जाँदा पुकार दोहोरी साँझ रहेछ ।’ पुकार नेपालकै पहिलो दोहोरी साँझ हो ।

उनी गेस्टको रुपमा दोहोरी साँझ छिरे । एउटा कोक लिएर बसे । ‘मलाई पनि गाउन मन लाग्यो, मैले गाउन पाउँछु कि पाउँदिन भनेर साधेको अडियन्सले पनि गाउन पाउँछ भनेर भन्नुभयो,’ विगत सम्झिँदै उनले सुनाए, ‘एउटा गीत मात्रै के गाएको थिएँ, साहुजी मुक्त गुरुङले गुरुङ भाषामा तिमी यहीं बस्न पर्‍यो भन्नुभयो । मलाई त्यहाँभन्दा ठूलो कुरा के हुन सक्थ्यो र !’

त्यहींबाट सुरु भएको हो उनको औपचारिक दोहोरी यात्रा । पुकारमा तीन वर्ष काम गरे । त्यसपछि दोभान दोहोरी साँझमा दुई वर्ष दोहोरी गाए । दोभानमा हुँदा शिला आलेसँग उनको खुब जोडी जम्यो । राजु र शीलाको दोहोरी घम्साघम्सी सुन्न टाढा टाढाबाट दर्शक आउने गर्थे । दोभानमा दोहोरी गाउँदा गाउँदै उनले पहिलो गीत रेकर्ड गरे, ‘किसिमकोटमा चरी नाचेको’, जुन राम्रै चल्यो । त्यसपछि सुरु भयो उनले चर्चित गीत दिने शृंखला । उनले गाएका फुलमा भमरा, मौरी फूलमाथि, मिर्मिरेको घाम, लमजुङ जाने दाई, लालुपाते नुह्यो भुइँतिर, धोका दिनेलाई के भनौं र खोई लगायत सयौं गीत चर्चित बने ।

करिब ७-८ वर्ष रेडियो, टेलिभिजन, बस, ट्रक, मेला महोत्सव, दोहोरी साँझ राजुमय बन्यो । उनले नाम र दाम दुबै कमाए । दिनमा १७ वटासम्म गीत रेकर्ड गर्थे । दिनमै डेढ लाख रुपैयाँसम्म कमाएका थिए उनले । घरका दराज अवार्डले भरिएका थिए ।

अनि ओरालो लागे

शिखर चढेपछि झर्नुपर्ने चलिआएको नियम उनमा पनि लागू भयो । आफ्नै कारणले ओरालो यात्रा सुरु भयो । परिवारिक झमेला पनि उनको प्रगतिको बाधक बन्यो । त्यसपछि हो उनी विरक्तिन थालेको ।

त्यसपछिका केही वर्षमा उनी सार्वजनिक कार्यक्रममा देखिन छाडे । गीत पनि फाट्टफुट्ट मात्रै रेकर्ड गर्न थाले । विस्तारै गायबै भए । उनी कहाँ छन्, के गर्दैछन् भन्ने उनी नजिककैलाई पनि थाहा भएन । अनेक आशंका गरियो । उनको स्वरका पारखी भने चिन्तित बने ।

अहिले उनको पुनरागमन भएको छ । गीत रेकर्ड गराउन थालेका छन् । भ्याएसम्म मेला महोत्सव पुग्छन् । श्रीमती, एक छोरा र एक छोरीसँग हाँसीखुसी जीवन बिताइरहेका छन् ।

अब फिल्म खेल्ने !

अबको योजना के छ त ? उत्तर चकित बनाउने खालको आयो । फिल्म पो खेल्दै रै’छन् ! त्यो पनि प्रमुख पात्र भएर । उनकै जीवनीमा फिल्म बन्दै छ । उनको जीवनी अध्ययन गरेर आधाआधी स्त्रिmप्ट पनि तयार भइसकेको छ । ‘फिल्म नै खेल्ने मन त होइन तर आˆनै विषयमा बन्ने भएकोले मात्रै हो,’ अलिकति लजाउँदै उनले भने । त्यसो भनिरहँदा उनको जीवनलाई सही ढंगले देखाइए खेल्ने, नत्र नखेल्ने भाव झल्किन्थ्यो । डाइरेक्टर को हुन् र टिममा को-को छन् भन्ने उनले खुलाउन चाहेनन् ।

करिब ५-६ महिनामा निर्माण सुरु हुनेसम्म सूचना दिए । त्योबाहेक अरु फिल्म भने नखेल्ने उनी बताउँछन् । ‘गीतसंगीत कसम खाएर आएको क्षेत्र हो,’ उनी भन्छन्, ‘यसरी नै माया पाइरहे भने सांगीतिक क्षेत्र छोड्नेवाला छैन, अन्य पेशा पनि अंगाल्नेवाला छैन ।’

(पोखराबाट दिपक परियार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment