Comments Add Comment

तेरिया मगरको नाममा खुल्यो फाउण्डेसन, तेरियाले एक लाख हाल्ने

teriya-magar

बुटवल । रुपन्देहीकी चर्चित डान्सर तेरिया मगरको नाममा फाउन्डेसन स्थापना भएको छ । फाउन्डेसनले कलाकारिता र सामाजिक सेवाका क्षेत्रमा काम गर्ने भएको छ ।

भारतको जिटिभीले आयोजना गरेको डान्स इण्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स-२०१४ मा एकलाख बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेपछि रुपन्देही रुद्रपुरकी तेरिया फौजामगर चर्चित बनेकी थिइन् ।

तेरियाको चाहना अनुसार कला र सामाजिक क्षेत्रमा योगदान गर्दै अघि बढ्ने उद्देश्यले फाउन्डेसन दर्ता गरिएको संस्थाका अध्यक्ष कृष्णबहादुर फौजामगरले सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

फाउन्डेसनले तेरिया मगरको कलाकारिताको यात्रालाई संस्थागत ढंगले व्यवस्थित गर्ने, तेरियाको शिक्षा, स्वास्थ्य र क्षमता विकासका कामहरु गर्ने, गरीब, अनाथ र अपांग बालबालिकालाई शिक्षा, स्वास्थ्यमा पहुंचका लागि सक्दो योगदान गर्ने, जस्ता उद्देश्यहरु राखेको छ ।

फाउण्डेसनमा समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने र कला क्षेत्रमा रुचि राख्ने व्यक्तिहरु छन् । फाउण्डेसनले साधारण सदस्य र आजीवन सदस्य विस्तार गर्न लागेको जानकारी गराएको छ ।

फाउन्डेसनका लागि तेरिया मगरले शुरुमा एक लाख रुपैयां उपलब्ध गराउने र हरेक कार्यक्रमबाट प्राप्त हुने आम्दानीको ५ प्रतिशत दिने भएकी छन् ।

सामाजिक कार्य अन्तर्गत फाउण्डेसनले रुद्रपुरको एक सरकारी विद्यालयका दुईजना गरीब तथा जेहेन्दार विद्यार्थीलाई १८ सय रुपैयाँका दरले तीनहजार ६ सय रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गरिएको अध्यक्ष फौजाले बताए ।

तेरियाले गत वर्ष नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पीडित धादिङका भूकम्पपीडित विद्यार्थीलाई एकलाख नगद प्रदान गरेकी र भूकम्प पीडितकै सहयोगार्थ दुबईमा आयोजित वृहत सांस्कृतिक कार्यक्रममा कुनै शुल्क नलिई आफ्नो प्रस्तुति दिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा बोल्दै तेरियाले आफ्नो जितमा नेपाली मिडिया र संसारभरका नेपालीले गरेको सहयोग धेरै महत्वपूर्ण रहेको भन्दै धन्यवाद दिइन् । जीटीभीको ३ वर्षे सम्झौतामा रहेकी उनी हाल मुम्बईमा बसेर कक्षा ७ मा अध्ययनरत छन् ।

उपाधि जितेपछि उनी जापान, हङकङ, बेलायत, अष्ट्रेलिया, स्पेन, बेल्जियम, दुबई, मलेसिया, कतार लगायतका देशहरुमा गई आफ्नो प्रस्तुति दिइसकेकी छन् ।

तेरियाले यही जेठ २८ र २९ गते काठमाडौंमा हुने सांस्कृतिक कार्यक्रममा आफ्नो नृत्य कला देखाउंदैछन् । पत्रकार सम्मेलनको संचालन फाउण्डेसनका सचिव गिरिप्रसाद पुनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment